कर्मले सम्झौं शहीदलाई

janataPost
विश्वनाथ खरेल

विश्वमा हरेक राष्ट्रले आफ्ना वीर सपुत तथा शहीदहरूलाई उच्चकोटीमा राखेको हुन्छ । जसले राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र जनताप्रति कुदृष्टि राख्नेहरूको विरुद्धमा शारीरिक तथा मानसिकरूपले संघर्ष गर्दागर्दै इहलीला समाप्त गर्छ, त्यस्तो व्यक्तिलाई नै शहीद भनिन्छ । थोरै बाँचेर पनि आफ्नो अदम्य जोश–जाँगर, सुरता, वीरता, रगत र पसिनाले मातृभूमिको सेवा गर्दागर्दै शहादत प्राप्त गरेका व्यक्तिहरू नै शहीद हुन् । उनीहरू युगयुगान्त बाँचिरहन्छन्, बलभद्र कँुवर, भक्ति थापा, दशरथ चन्द, शुक्रराज शास्त्री आदि ।
हाम्रो देशमा यस्ता वीर शहीद हजारौं छन् । उनीहरूले नेपाली जनता र नेपाल आमाको खुसीको लागि आफ्नो जीनव अर्पेका छन् । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रप्रेमीहरूका लागि महत्वपूर्ण दिवस हो । ठूलो उत्सव हो । उनीहरूको बलिदानबाट प्रजातन्त्रको पुनस्थार्पना भएको हो भनेर शहीद दिवसका दिन फलाक्दैमा शहीदहरूप्रति राजनीतिक व्यक्तिहरूको कर्तव्य सम्पन्न भएको मान्न सकिन्न ।
शहीदगेट बनाउँदैमा, फोटोमा माल्यार्पण गर्दैमा, एक मिनेट मौनधारणा गर्दैमा शहीद दिवसको सार्थकता पूरा हुँदैन् । तिनै शहीदका परिवारहरू बिचल्लीमा छन्, त्यसतर्फ हाम्रो दृष्टि पुगेको छैन । एक सय चार वर्षीय जहानियाँ राणाशासन समाप्त पारी प्रजातन्त्र ल्याउन र तीस वर्षीय निरंकुश पञ्चायती कालरात्रीको व्यवस्थालाई लत्याएर बहुदलीय व्यवस्था ल्याउन आफ्नो बुद्धि र विवेकले भ्याएसम्म ज्यानको पर्वाह नगरी आहुति दिने वीर शहीदहरू नै सच्चा शहीद हुन् । शहीदको सम्मान र संस्मरणस्वरूप सामाजिक एवं गैरसरकारी क्षेत्रबाट भएका र हुने गरेका कामहरू सह्रानीय छन् ।
अतः राणा शासनको विरुद्ध प्राण उत्सर्ग गर्ने चार महान् शहीद गंगालाल, धर्मभक्त, दशरथ चन्द्र र शुक्रराज शास्त्रीलगायत ज्ञात–अज्ञात शहीदहरूको सम्झनामा मनाइने शहीद सप्ताह पञ्चायती व्यवस्थाविरुद्ध लड्ने शहीदप्रति पनि समानान्तर रूपले समर्पित हुनु आजको आवश्यकता हो ।
शहीदलाई सम्झँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ । १९९७ साल माघको जाडोमा शुक्रराज र धर्मभक्तलाई रूखमा झुन्ड्याइएको, दशरथ चन्द्र र गंगालाललाई बाँसमा बाँधेर ठाउँ–ठाउँमा गोली हानियो । हुन त त्यसभन्दा अगाडि पनि राणाशासनको विरोध गरेबापत जेलमै वा बन्दी रूपमै कृष्णलाल अधिकारी, खण्डमान सिंह, मैनाबहादुर खत्री आदि शहीद भएका थिए । तर राजनीतिक दल गठन गरी सर्वप्रथम क्रान्तिकारी गतिविधि चलाएका कारणले शहीद भएका थिए उपर्युक्त चारजना । देशव्यापी संघर्षकै सिलसिलामा सयौं कार्यकर्ताले जेलनेल र यातना भोगेका थिए ।
२००७ सालसम्म राजबन्दीहरूले जेल टनाटन भरिएका थिए । वि.सं. २००७ सालको संघर्षको फलस्वरूप राणा सरकारको पतन भई प्रजातन्त्रको उदय भयो । यही क्रममा २०१७ पुसदेखि २०४६ सालसम्म देशका विभिन्न भागमा शहादत प्राप्त गर्ने देशभक्तको संख्या कम छैन । सरकारी तथ्यांकअनुसार  झापादेखि बैतडीका ४८ जिल्लाका २६८ जना थिए । पक्रिएका, थुनिएका, जेलभित्र वा बाहिर पिटिएर घाइते भएका मानिसको लेखाजोखा नै छैन ।
देशमा पञ्चायती व्यवस्थाको तीब्र विरोध नेपाली कांग्रेस र संयुक्त वाममोर्चाकोे पहलमा देशभरि नै भयो । २०४६ साल चैत्र २७ गते रातिदेखि २०४७ साल बैशाख १० सम्म शहीदहरूको संख्या ८१ र घाइतेहरूको संख्या हजार नाघेको थियो । यो तथ्यांक एक मानव अधिकारवादी संगठनसँग भए पनि सरकारी तथ्यांकमा कतै प्रकाशित छैन । हामी शहीद दिवस मनाएर गमक्क पर्छौं, त्यति मात्र हाम्रो कर्तव्य होइन् । यस्ता वीर अज्ञात सपुतहरूको खोजी हुनुपर्छ, जो भएकै छैन ।
मुलुकमा यस्ता शहीदहरू नभएका भए आज पनि नेपालीले जनअधिकार र स्वतन्त्रता पाउने थिएनन् । ती सपुतहरूले ज्यानको बाजी लगाएर तानाशाही प्रवृत्तिसँग सिंगौरी खेले । उनीहरूले नै स्वतन्त्रता प्रदान गरे । त्यसैले शहीदहरूको स्मृति मात्रले पनि हामीलाई कर्तव्यपथतिर डो¥याँछ । देशमा व्याप्त अराजकता, स्वार्थीपना, भ्रष्टाचार, अनियमितता, जनउपेक्षाजस्ता अनुत्तरदायी व्यवहारले शहीदले देखाएको बाटो हामीले भुलेका हौं कि भन्ने प्रमाणित हुँदै गएको छ । शहीदहरू जसले आफ्नो देशको स्वतन्त्रता र रक्षाकोलागि जीवन बलिदान दिए, त्यस्ता व्यक्तिको भावना र आकांक्षालाई सम्मान गरिनुपर्छ ।
शहीदको योगदानको चर्चा परिचर्चा शहीद दिवसको दिनमा मात्र गर्नाले यिनीहरूको सम्मान हुँदैन । शहीद स्मारक, शहीद पुरस्कार, शहीद आवासगृह, शहीद स्मारिका, पुस्तिका प्रकाशित गर्नु, शहीदहरूको नाममा पार्कको स्थापना गर्नु पर्दछ । उनीहरूको योगदानलाई वर्षमा एकपटक मात्र सम्झने होइन, पल–पलमा आदर र सम्मान हुनुपर्छ । उनीहरूको विचार, लक्ष र सोच साकार पार्ने बाटो अपनाउनुपर्छ । हाम्रो प्रमुख दायित्व भनेको शहीदहरूको सपना साकार पार्नु हो । राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक आदि क्षेत्रका विकृति र विसंगतिलाई निर्मुल पार्नुपर्छ ।
शहीदहरूको रातो रगतले लेखिएको हाम्रो गौरवमय इतिहासलाई अवलोकन गरी अज्ञान र अशिक्षाले तड्पिरहेका शहीदका परिवारहरूलाई शिक्षाको उज्यालो धामले सिन्चीत गरेर रोजगारका अवसर दिलाउनुपर्छ । उनीहरूको सन्ततीहरूको उचित शिक्षाको सम्वद्र्धन र विकासको लागि अक्षयकोष स्थापना गर्नुपर्दछ । उनीहरूको मर्म, भावना र उद्देश्यलाई बुझाउनका लागि विभिन्न सञ्चार–माध्यमहरूबाट प्रचार हुनुपर्छ ।
संसारका हरेक राष्ट्रले आफ्ना वीर सपुत तथा शहीदहरूलाई उच्चकोटीमा राखी मूल्यांकन गर्दै आएका छन् । त्यस्ता हिमायती, कर्मठ देशभक्तलाई शब्दभन्दा कर्मले सम्झनुपर्छ । उनीहरूको योगदान मुखले होइन मनले सम्झनुपर्छ । अनि शहीद दिवसको सार्थकता हुनेछ । शहीदको सम्मान हुनेछ ।

Source : http://www.janatapostdaily.com/news-details/714/2018-01-29-741015.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s