रामनवमी पर्वको धार्मिक एवं सांस्कृतिक महत्व

विश्वनाथ खरेल

हाम्रो देशलाई राम्ररी मनन गर्ने हो भने धर्म र संस्कृतिमा धेरै धनी छ। जहाँ प्रत्येक दिन एक न एक चाड या पर्व नपरेको हुँदैन। यस्तै महान् चाड पर्वमध्ये रामनवमी पनि एक हो। यसलाई हिन्दु धर्मावलम्बीहरूको लागि एक महत्वपूर्ण पर्वको रुपमा लिइएको छ। यो पर्व प्रत्येक वर्ष चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथीका दिन पर्छ।प्रख्यात हिन्दु धर्मग्रन्थ रामायणका अनुसार यो दिनलाई भगवान् रामचन्द्रको जन्मदिनको रुपमा लिइन्छ। यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान् श्रीरामका साथै आद्यशक्ति नवदुर्गा देवीको पनि पूजा हुन्छ। त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका श्रीरामले दानवीय प्रवृित्तका रावणको अन्त्य गरी जनकल्याण गरिएको सम्झनामा यो पर्व मनाइन्छ।

श्रीराम एक असल स्वभाव र मर्यादा पुरुषोत्तमका रुपमा यो संसारमा जन्म लिएका थिए। आजसम्म पनि पृथ्वीभरमा यिनको नाम अमर भएको छ। यिनले असत्यताको अन्धकारमाथि सत्य अनि मर्यादाको उज्यालोको ज्योति विश्वभरि फैलाएका छन्। यसै कारणले होला यस्ता महान् व्यक्तिको सम्झनामा श्रद्धा, भक्ति अनि आराधनाका माहौलबीच आज नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्यान्ड, श्रीलंका, फुजी टापु, साउथ अफ्रिका अनि इन्डोनेसियासम्म रामको जीवन अनि घटनाक्रम झल्काउने नाटक, सभा, कीर्तनलगायतका कार्यक्रमहरु गरिन्छ।

हिन्दु धर्ममा आस्थावान् जो–कोही रामनवमीका दिन सवेरै नुहाइधुवाइ पवित्र बनेर विभिन्न ठाउँमा रहेका राममन्दिरहरुमा पुगी पूजा आराधना गर्दछन्। रामनवमीका दिन राजधानीको बत्तीसपुतली, ललितपुर र भक्तपुरका अन्य राममन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्दछ। रामनवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ। उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गंगासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन्। आज देशभरका नदी, ताल एवं कुण्डहरुमा स्नान गरी व्रत बस्ने गरिन्छ र रामगीता पाठ गरिन्छ। साथै अध्यात्मयुक्त वाल्मीकिकृत्य भानुभक्तीय रामायणसमेत वाचन गरिन्छ।

भगवान् श्रीरामको जन्म इशापूर्व ७३९३ तिर दिनको मध्याह्न समयमा भएको अनुमान गरिएको थियो। वाल्मीकि पुराणअनुसार भगवान् रामको जन्म हुँदा पाँचवटा ग्रहहरु उच्च स्थानमा रहेका थिए। दशरथ राजाका चार छोराहरुमा राम, भरत, लक्ष्मण र शत्रुघन नाम गरेका थिए। भरतकी माता कैकेयीले छलपूर्वक दशरथ राजालाई परिबन्धमा पारेर रामलाई १४ वर्ष वनवास पठाएकी थिइन्। तर रामका प्रिय भक्त भएका कारण भरतले पनि वनमै पुगेर रामले लगाउने खराउलाई सिंहासनमा राखी पुजेको किंवदन्ती छ। भगवान् रामका सबैभन्दा असल साथी हनुमान हुन्। रामभक्त हनुमान रावणराज्य लंका तहसनहस बनाउने प्रमुख पात्र पनि हुन्। रामलाई हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै पुजिने भगवान्का रुपमा लिइन्छ। राम अनि रावणको कुरा गर्दाखेरि दक्षिणी भारतलगायत श्रीलंका अनि माल्दिभ्ससम्ममा अझै पनि रावणलाई पनि राम जत्तिकै श्रद्धा मानेर पूजा गर्ने चलन छ।

रामायणले समावेश नगरेको भए तापनि रावण आफैं अत्यन्त ज्ञानी भएको अनि मर्यादा पुरुषोत्तम रामको हताबाट वध भएमा मात्र आफू वैकुण्ठलोक पुग्ने भएकाले सीताको अपहरण गरी रामलाई आफूसँग युद्ध गर्न घटना रचेको भन्ने तर्कहरु पनि छन्। यिनै राम अनि सीताको जीवनको परिवेशमा रहेर तुलसीदासले अवधी भाषामा कथेका छन्, रामचरित्रमानस। यसै रामचरित्रमानसका अवधी श्लोकहरुका आधारमा आज नेपालको तराईलगायत भारतका विभिन्न ठाउँमा रामलीला अनि श्लोकहरुकै लय अनि माधुर्यतामा रामसीताका कथाहरु प्रस्तुत गरिन्छ। हाम्रो देशको पवित्र नगरी जनकपुरको गंगासागर मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ। पवित्र पोखरी गंगासागरमा स्नान गरी श्रद्धालुले जानकी मन्दिरसहित विभिन्न मठ–मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ।

अन्त्यमा भन्नुपर्दा, यिनको त्रेतायुगको चैत शुक्ल नवमीका दिन यस संसारमा जन्म भएको थियो। यसै कारणले गर्दा यिनको धार्मिक, सांस्कृतिक, सामाजिक आदि क्षेत्रमा धेरै महत्वपूर्ण स्थान रहेको छ। यसै धर्तीमा जन्म लिएका यिनै रघुवंशी सत्यवक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी पुरुष हुन्। अहिलेसम्मको खोज–अनुसन्धानअनुसार भगवान् रामको जन्म रामले राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो। भगवान् रामको राज्य पनि न्यायका लागि नमुना मानिन्छ।

वैकुण्ठ निवासी भगवान् विष्णुका सातौं अवतारका रुपमा श्रीरामले असत्यका प्रतिरुप रावणको दुराचार र अन्यायका विरुद्ध विजय प्राप्त गरेका थिए। अयोध्याका राजा दशरथका जेठा छोराका रूपमा जन्म लिएका रामको मिथिलापुत्री तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो। राम र रावणको जन्मकुण्डली एकै प्रकारको रहेको थियो। राम, उनको सत्यता अनि मर्यादा संसारमा सबैका लागि एउटा अनुकरणीय उदहारण हो, सत्यको जीत होस् अनि हामी सबैमा सत्य बोल्न सक्ने सार्मथ्य बढिरहोस्। यी विष्णुका अवतारको यस लोकमा आगमनको खुशीयाली आज हजारौ वर्षसम्म पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाइन्छ।

Source : http://www.newsofnepal.com/2017/04/05/21980/731223.

Advertisements