घोडेजात्रा र यसको सांस्कृतिक पक्ष

विश्वनाथ खरेल
संस्कृतिमा निकै धनी छ हाम्रो देश। हरेक दिन एक न एक पर्व परेकै हुन्छ। हाम्रो मुलुकमा वर्षदिनभरि मनाइने पर्वमध्ये घोडेजात्रा पनि एक प्रमुख पर्व हो। यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ। यसलाई पिशाच चतुर्दशी पनि भन्दछन्। यस दिन टुँडिखेलमा घोडा दौडाउने जात्राका साथै अरु विभिन्न देवी–देवताका रथयात्राहरू पनि हुन्छ। यस दिन भगवान् शिवजीको धूमधामसँग पूजाआजा गरिन्छ। अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषामा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन।

यस दिन काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा ‘पिशाचेश्वर महादेव’को पूजा–अर्चना पनि गर्ने परम्परा छ। यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकेर नुहाइदिई सफा तुल्याएर मद्य, मांस आदि तामसी भोग चढाइन्छ। यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचूर्य हुन्छ। घोडेजात्रापछि लसुन छिप्पिएको हुन्छ, खानलायक हुँदैन भन्ने किम्बदन्ती पनि आजसम्म त्यतिकै चरितार्थ रहेको पाइन्छ।

धार्मिक लोकोकृतनुसार लुकुवा महादेवका बारेमा एउटा कथा पाइन्छ। अघि शिवजीले भष्मासुर दानवको तपस्यादेखि खुशी भएर जसको शिरमा हात राख्लास् त्यो भष्म हुनेछ, भनेर वरदान दिएपछि भष्मासुर शिवजीकै शिरमा हात राख्न जाइलाग्यो। शिवजी लुक्न गए। सो कुरा थाहा पाएर विष्णु नारायणले मोहिनी रूप लिई भष्मासुरलाई उसको आफ्नै शिरमा हात राख्न विवश गराए। भष्मासुर आफैं भष्म भयो। यसरी भष्मासुरको नाश गराएपछि शिवजीलाई रछानबाट उतारी स्नान गराएर पवित्र गराए। त्यसैले यस दिनलाई पिशाच चतुर्दशीका रूपमा प्रतिष्ठित गरी लुकुवा महादेवको पूजा गर्ने परम्परा चलाए। यो चलन काठमाडौंमा मात्र नभई अधिराज्यका नेवार समाज भएका प्रायः सबै ठाउँमा देखिन्छ। यसै दिनदेखि काठमाडौंमा टंकेश्वरी, भद्रकाली आदि मातृका देवीहरूको खटयात्रा हुन्छ र मातृका देवीहरूमध्ये पनि यस यात्रामा मुख्य भद्रकालीको यात्रा मानिन्छ।
पहिला घोडेजात्रा आजको जस्तो रूपमा हुँदैनथ्यो। तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। राजा घोडामा जाने गर्थे भने राजाका पछि–पछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। राजाको दर्शन यात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे। यसरी राजाको घोडेयात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप लिन गएको अनुमान गर्न सकिन्छ।

यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजोआजसम्म पनि देख्न पाइन्छ। आज आएर विभिन्न मनोरञ्जनहरू थपिँदै गए। यो घोडेजात्राको तयारी धेरै दिनअघिदेखि गरिन थालेको हो। यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेसजस्ता खेलहरूको प्रतियोगिता हो। यस अलवा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ। फौजीले विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रमहरू गर्नाले बढी लोकप्रिय हुन थालेको छ। जसले गर्दा घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ। अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन्। त्यस्तै गरी महिलाहरूले पनि विभिन्न खेलमा भाग लिन थालेका छन्। टुँडिखेल मञ्चमा राष्ट्रपतिलगायत, प्रधानमन्त्री, अन्य मन्त्रीहरू, विदेशका प्रतिनिधिहरू, उच्चपदस्थ सरकारी कर्मचारीहरू पनि यस अवसरमा सरिक भएको पाइन्छ। विभिन्न प्रतियोगितात्मक खेलमा पहिलो, दोस्रो, तेस्रो हुने व्यक्ति र समूहलाई सोही अवसरमा पुरस्कार प्रदान गरिन्छ। यस दिन काठमाडौंमा मात्र नभएर टाढा–टाढादेखिका मानिस घोडेजात्रा हेर्न टुँडिखेलमा आउने गर्दछन्।
घोडेजात्राको आफ्नै ऐतिहासिक मूल्य–मान्यता र महत्व रहेको छ। यस किसिमको प्रचलनको शुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन्। यो जात्रा खास गरी काठमाडौं उपत्यकाको तीन शहरमा भव्यरूपमा मनाइन्छ। यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ। यो चाड तीन दिनको हुन्छ। अन्तिम दिन चैत्र शुक्ल परेवाको दिन मातृका देवीका खटहरू शहरमा परिक्रमा गराई, ६ वटा गल्लीबाट ल्याई असनको चोकमा ७ वटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको भन्ने किंवदन्ती छ।

हाम्रो समाजमा विभिन्न चाडपर्वहरू आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन्। त्यसमध्ये घोडेजात्रा पनि एक महत्वपूर्ण पर्व हो। यसको धार्मिकभन्दा सामाजिक महत्व बढी भएको पाइन्छ। जसले गर्दा नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ। यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ। अतः नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ। त्यसैले हिन्दू संस्कृतिमा आफ्ना पूर्वजहरूप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरको रूपमा यस जात्रालाई लिन सकिन्छ। यो घोडेजात्रा पर्व विशेषता कृषकवर्गले आनन्द गर्ने चाड हो। यस चाडमा ठूलो भोज हुन्छ र सड्कमै मानिसहरू टन्न रक्सी, जाँड खाएर हिँडेको पनि देखिन्छ। खानपिनले मस्त भएर कसैले कसैको वास्ता गर्दैनन्। त्यसैले होला घोडेजात्रामा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यङ्ग्य गरिएको पाइन्छ। प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ।

Source : http://www.newsofnepal.com/2017/03/27/19524/731214.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s