खानेपानी व्यवस्थापनमा दीर्घकालीन योजनाको खाँचो

विश्वनाथ खरेल

प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ। नेपालमा मनाउन लागिएको जल–सप्ताहको उद्देश्य शहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरुको दिगो व्यवस्थापनबारे चेतना जगाउने, सर्वसाधारण तथा स्कुल⁄कलेजका विद्यार्थीमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसंगबारे चेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने रहेको आयोजकले जनाएको छ। स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबै सक्रिय हुनुपर्ने भन्दै यस वर्षको विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ राष्ट्रिय जल सप्ताहका रुपमा मनाइने भएको छ। नेपालले सन् २००९ देखि विश्व पानी दिवस मनाउँदै आएको छ। यस वर्षको जल सप्ताहमा बढ्दो पानीको मात्रालाई सम्बोधन गर्ने, सेवा पुर्याउने, देखिएका चुनौतीहरुको व्यवस्थापन सहकार्यका लागि सचेतना फैलाउने कार्य गर्ने जानकारी जल तथा ऊर्जा आयोगले जनाएको छ।

यसरी शहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरुको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, पानीको व्यवस्थापन, विद्यमान नीतिहरुमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्ने लगायतका कार्यक्रमहरु रहेका छन्। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, जल प्रदूषणलाई रोक्न र प्रदूषणले गर्दा खाद्य सुरक्षामा परेको असरबारे पनि सरोकारवालहरुलाई सचेतना जगाउने कार्यक्रमहरु वर्षभरि गर्नेतर्फ आयोगले सोचिरहेको पनि बताइएको छ। कार्यक्रमअनुसार उपत्यकाभरिका ढुंगेधाराको संरक्षण र संवद्र्धन गर्न समितिको गठन गरिने, काठमाडौं उपत्यकाको भूमिगत पानीको स्रोतको अवस्था, चुनौती तथा संरक्षणसम्बन्धी सम्मेलन आयोजना गरिने भएको छ।

पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। पानीविनाको जीवन कल्पना गर्न पनि सकिँदैन। अझै पनि करोडौं जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन्। काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ। यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ। केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल ३ सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ। राजधानीको मुख्य शहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ। यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ। यसरी प्रत्येक वर्ष मागमा १० प्रतिशतका हिसाबले वृद्धि हुने कुरा नेपाल खानेपानी संस्थानको छ। यहाँ वर्षायाममा १५ करोड लिटर पानी आपूर्ति भए तापनि अन्य समयमा १० करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको छ।

यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ। जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गई सवा २ करोड लिटर जति मात्र पर्न आउँछ। काठमाडौंमा रहेका रिजभ्र्वायरहरुको क्षमता सबैभन्दा बढी चाबहिल रिजभ्र्वायरको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट ८ लाख लिटर रहेको छ। काठमाडौंमा प्रत्येक वर्ष ४–५ हजार नयाँ धारा थपिने गरेका छन्। यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाको पानीको प्रतीक्षामा रहेका छन्।
शहरी विकास मन्त्रालयको तथ्यांकअनुसार १ लाख ८० हजार निजी र १ हजार १ सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन्। यो कार्यका लागि केयुकेएलले ३५ वटा सतह स्रोत, ५९ वटा ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल वितरण गर्दै आएको छ। सन् २०१७ सम्म उपत्यकामा खानेपानीको माग दैनिक ४० करोड लिटर पुग्नेछ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदको याममा ३० करोड लिटर मात्रै हुनेछ। मेलम्चीको पानी पनि आउँदो २०७४ सालको असोज महिनाभित्रमा काठमाडौं ल्याउने योजना रहेको छ। तर यो समय पनि पर सर्ने संकेत देखिन्छ। त्यस्तै गरी राजधानीको बढ्दो खानेपानी समस्यालाई ध्यानमा राखी दोस्रो चरणमा याङ्ग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७⁄१७ करोड लिटर पानी ल्याउने योजना छ। यो पानी आएपछि मात्रै उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने देखिन्छ।

विकसित देशहरुमा पनि पानीको दुरुपयोग एवं पाइप लाइनमा चुहावट नभएको होइन, जुन लगभग २० प्रतिशत देखि ३० प्रतिशतसम्म भएको पाइन्छ। तर नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ। बदलिँदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ। यी समस्याको समाधानको लागि वैकल्पिक उपायहरु अपनाउनुपर्ने हुन्छ। बर्सातको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा ठूलो सहयोग मिल्नेछ। सम्बन्धित निकायले बेलैमा विचार पुर्याएर कार्य गरेको खण्डमा मुलुकवासी विशेष गरी उपत्यकावासीहरु पानीको समस्याबाट मुक्त हुनेछन्। बेलैमा पानीको स्रोत संरक्षणमा ध्यान पुर्याउन सकेको खण्डमा भोलिका सन्ततीलाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ। अनि मात्र विश्व पानी दिवस मनाउनुको सार्थकता हुनेछ।

Source : http://www.newsofnepal.com/2017/03/22/18516/731209.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s