पर्व मनाउने क्रममा विकृतिको आभास

विश्वनाथ खरेल
नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वको शुरुआत भने एक साताअघि अर्थात् फागुन शुक्ल अष्टमिदेखि हुने गर्दछ। फागु पर्वले नयाँ उत्साह, जोश, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भावमैत्री र भाइचारा जगाउने गर्दछ। उराठ लाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उष्कर्ष फागुपूर्णिमा नै हो। सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृति प्रेमीको यो सिंगो चाड तराई क्षेत्रमा त झनै विशेष धुमधामका साथ मनाइन्छ। मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा समेत पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चिरदाह’ को रूपमा पनि लिइन्छ। असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनश्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रूपमा लिइने यस पर्वलाई मैथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ। विशेष गरी युवापुस्ताका लागि रंगिन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ।

यस पर्वमा भगवान्को भजन–कीर्तनका साथै नाचगान गरी एक–आपसमा विभिन्न किसिमका रंग, अबिर दल्दै हासखेल गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ। यस पर्वलाई अनुशासितरूपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो। यस पर्वलाई उमेरको हदबन्दी छैन। राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बडो उल्लासमय वातावरणमा रम्ने गर्दछन्। खास गरी युवायुवती यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन्।

प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रह्लाद भने बडो विष्णुभक्त थिए। बाबुले आफ्नो छोरालाई विभिन्न कोशिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रह्लादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रह्लादलाई आगोमा हालेर मार्न लगाए। तर, प्रह्लादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भस्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन। सोही खुसीयालीमा होली पर्व चलेको हो भन्ने किम्वदन्ती छ।

फागु पूर्णिमाको एक हप्ता अगाडिदेखि नै कार्यालय, स्कुल, क्याम्पस, बाटो हिँड्ने आदि व्यक्तिहरूलाई जथाभावी रंगाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन्। यस्तै किसिमको सामान्य घटनाहरूले उग्र रूप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न। रंग उत्सवको खुसीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरूपमा मनाउनु मूर्खता हो। विभिन्न किसिमका रसायन मिसाइएको रंग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्ने जस्ता निन्दित एवं घृणित कार्य हुन्छ। साथै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भाङ, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रंगहरूका पुरिया राखी मोटरसाइकलमा चढी सार्वजनिक स्थलहरूमा पुग्दछन्। देशका शहरका युवकहरू र विदेशी पर्यटकलाई समेत रंगले विरूप पारिदिन्छन्। होलीको नाममा यस्ता किसिमका उच्छृंखल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको खसिस्कँदो चाहना दिन प्रतिदिन बढ्दै गएको छ। तर, विडम्बना हाम्रा यावत् यस्ता महान् र महामानव बनाउने यावत् कार्यहरू हिजो–आज आएर फेसन र मनोरञ्जनमा परिणत हुँदै छन्।
अन्त्यमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरूमध्ये फागु वा होली पनि एउटा विशेष महत्त्वको चाड हो। फागुन शुक्ल अष्टमिका दिन चिर गाडी अबिर छरेर पूजा गरी शुरु गरिने चाड पूर्णिमाको रातमा चिर बालेपछि समाप्त हुन्छ। मुख्य होलीको दिन एक–आपसमा अबिर दलादल गर्ने र मीठा–मीठा पकबानहरू खाने चलन छ। वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू आफूमा मात्र खेल्यौं भने मात्र सही अर्थमा होलीको महत्त्व रहन्छ। यो पर्व नेपाल र भारतलगायत विश्वभरि नै रमाइलो गरी मनाउने गरेका छन्। नेपालको आफ्नै संस्कृति र भेषभुषा रहेको छ। हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि नै कुनै न कुनै पर्व पर्ने गर्दछ। कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरूपले निरोगी हुनु हो। जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि शुरु भयो सो अनुरूप हाल व्यवहारमा देखापर्न सकिरहेको छैन।

यो पर्व नेपाल र भारतलगायत विश्वका अरू हिन्दु धर्मावलम्वीहरूले अति नै रमाइलो गरी मनाउने चाड हो। धर्म मान्ने र पर्व मनाउने क्रममा खास गरी हाम्रो मुलुकमा विदेशी तडकभडक र छाडा संस्कृति भित्त्याउने गरेको अवस्था कसैबाट छिपेको छैन। समाजमा अनेकौं विकृति–विसंगतिले प्रश्रय पाउँदै आएको देखिन्छ। यस्ता विकृतिले आफ्नै संस्कृतिचाहिँ लोप हुन बेर लाग्दैन। यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन सम्पूर्ण नेपाली सचेत हुनुका साथै सरकारले पनि कडाभन्दा कडा कानुनी प्रक्रिया अपनाई दरिलो कदम चाल्नुपर्दछ। यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ। नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको धार्मिक तथा संस्कृति संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न।

Source : http://www.newsofnepal.com/2017/03/12/16680/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s