घोडेजात्रा र यसको सांस्कृतिक पक्ष

विश्वनाथ खरेल
संस्कृतिमा निकै धनी छ हाम्रो देश। हरेक दिन एक न एक पर्व परेकै हुन्छ। हाम्रो मुलुकमा वर्षदिनभरि मनाइने पर्वमध्ये घोडेजात्रा पनि एक प्रमुख पर्व हो। यो चाड चैत्र कृष्ण औंसीका दिनमा पर्छ। यसलाई पिशाच चतुर्दशी पनि भन्दछन्। यस दिन टुँडिखेलमा घोडा दौडाउने जात्राका साथै अरु विभिन्न देवी–देवताका रथयात्राहरू पनि हुन्छ। यस दिन भगवान् शिवजीको धूमधामसँग पूजाआजा गरिन्छ। अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषामा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन।

यस दिन काठमाडौंको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा ‘पिशाचेश्वर महादेव’को पूजा–अर्चना पनि गर्ने परम्परा छ। यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकेर नुहाइदिई सफा तुल्याएर मद्य, मांस आदि तामसी भोग चढाइन्छ। यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचूर्य हुन्छ। घोडेजात्रापछि लसुन छिप्पिएको हुन्छ, खानलायक हुँदैन भन्ने किम्बदन्ती पनि आजसम्म त्यतिकै चरितार्थ रहेको पाइन्छ।

धार्मिक लोकोकृतनुसार लुकुवा महादेवका बारेमा एउटा कथा पाइन्छ। अघि शिवजीले भष्मासुर दानवको तपस्यादेखि खुशी भएर जसको शिरमा हात राख्लास् त्यो भष्म हुनेछ, भनेर वरदान दिएपछि भष्मासुर शिवजीकै शिरमा हात राख्न जाइलाग्यो। शिवजी लुक्न गए। सो कुरा थाहा पाएर विष्णु नारायणले मोहिनी रूप लिई भष्मासुरलाई उसको आफ्नै शिरमा हात राख्न विवश गराए। भष्मासुर आफैं भष्म भयो। यसरी भष्मासुरको नाश गराएपछि शिवजीलाई रछानबाट उतारी स्नान गराएर पवित्र गराए। त्यसैले यस दिनलाई पिशाच चतुर्दशीका रूपमा प्रतिष्ठित गरी लुकुवा महादेवको पूजा गर्ने परम्परा चलाए। यो चलन काठमाडौंमा मात्र नभई अधिराज्यका नेवार समाज भएका प्रायः सबै ठाउँमा देखिन्छ। यसै दिनदेखि काठमाडौंमा टंकेश्वरी, भद्रकाली आदि मातृका देवीहरूको खटयात्रा हुन्छ र मातृका देवीहरूमध्ये पनि यस यात्रामा मुख्य भद्रकालीको यात्रा मानिन्छ।
पहिला घोडेजात्रा आजको जस्तो रूपमा हुँदैनथ्यो। तबेलाबाट घोडा ल्याएर मत्याई दौडाइने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो। राजा घोडामा जाने गर्थे भने राजाका पछि–पछि मन्त्रीहरू र दरबारियाहरूको ताँती छुट्थ्यो। राजाको दर्शन यात्राको शोभा हेर्न टुँडिखेलमा जनता भेला हुने गर्थे। यसरी राजाको घोडेयात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप लिन गएको अनुमान गर्न सकिन्छ।

यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजोआजसम्म पनि देख्न पाइन्छ। आज आएर विभिन्न मनोरञ्जनहरू थपिँदै गए। यो घोडेजात्राको तयारी धेरै दिनअघिदेखि गरिन थालेको हो। यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेसजस्ता खेलहरूको प्रतियोगिता हो। यस अलवा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ। फौजीले विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रमहरू गर्नाले बढी लोकप्रिय हुन थालेको छ। जसले गर्दा घोडेजात्रा हेर्नेको संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ। अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन्। त्यस्तै गरी महिलाहरूले पनि विभिन्न खेलमा भाग लिन थालेका छन्। टुँडिखेल मञ्चमा राष्ट्रपतिलगायत, प्रधानमन्त्री, अन्य मन्त्रीहरू, विदेशका प्रतिनिधिहरू, उच्चपदस्थ सरकारी कर्मचारीहरू पनि यस अवसरमा सरिक भएको पाइन्छ। विभिन्न प्रतियोगितात्मक खेलमा पहिलो, दोस्रो, तेस्रो हुने व्यक्ति र समूहलाई सोही अवसरमा पुरस्कार प्रदान गरिन्छ। यस दिन काठमाडौंमा मात्र नभएर टाढा–टाढादेखिका मानिस घोडेजात्रा हेर्न टुँडिखेलमा आउने गर्दछन्।
घोडेजात्राको आफ्नै ऐतिहासिक मूल्य–मान्यता र महत्व रहेको छ। यस किसिमको प्रचलनको शुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन्। यो जात्रा खास गरी काठमाडौं उपत्यकाको तीन शहरमा भव्यरूपमा मनाइन्छ। यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ। यो चाड तीन दिनको हुन्छ। अन्तिम दिन चैत्र शुक्ल परेवाको दिन मातृका देवीका खटहरू शहरमा परिक्रमा गराई, ६ वटा गल्लीबाट ल्याई असनको चोकमा ७ वटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको भन्ने किंवदन्ती छ।

हाम्रो समाजमा विभिन्न चाडपर्वहरू आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन्। त्यसमध्ये घोडेजात्रा पनि एक महत्वपूर्ण पर्व हो। यसको धार्मिकभन्दा सामाजिक महत्व बढी भएको पाइन्छ। जसले गर्दा नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ। यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ। अतः नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ। त्यसैले हिन्दू संस्कृतिमा आफ्ना पूर्वजहरूप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरको रूपमा यस जात्रालाई लिन सकिन्छ। यो घोडेजात्रा पर्व विशेषता कृषकवर्गले आनन्द गर्ने चाड हो। यस चाडमा ठूलो भोज हुन्छ र सड्कमै मानिसहरू टन्न रक्सी, जाँड खाएर हिँडेको पनि देखिन्छ। खानपिनले मस्त भएर कसैले कसैको वास्ता गर्दैनन्। त्यसैले होला घोडेजात्रामा गरिब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यङ्ग्य गरिएको पाइन्छ। प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ।

Source : http://www.newsofnepal.com/2017/03/27/19524/731214.

खानेपानी व्यवस्थापनमा दीर्घकालीन योजनाको खाँचो

विश्वनाथ खरेल

प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ। नेपालमा मनाउन लागिएको जल–सप्ताहको उद्देश्य शहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरुको दिगो व्यवस्थापनबारे चेतना जगाउने, सर्वसाधारण तथा स्कुल⁄कलेजका विद्यार्थीमा पानीको गुणस्तर र यससँग सम्बन्धित प्रसंगबारे चेतना फैलाउने र क्षमता अभिवृद्धि गर्ने रहेको आयोजकले जनाएको छ। स्वच्छ पानीको संरक्षण र व्यवस्थापन गर्न सबै सक्रिय हुनुपर्ने भन्दै यस वर्षको विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ राष्ट्रिय जल सप्ताहका रुपमा मनाइने भएको छ। नेपालले सन् २००९ देखि विश्व पानी दिवस मनाउँदै आएको छ। यस वर्षको जल सप्ताहमा बढ्दो पानीको मात्रालाई सम्बोधन गर्ने, सेवा पुर्याउने, देखिएका चुनौतीहरुको व्यवस्थापन सहकार्यका लागि सचेतना फैलाउने कार्य गर्ने जानकारी जल तथा ऊर्जा आयोगले जनाएको छ।

यसरी शहरी क्षेत्रका पानीजन्य समस्या तथा जलस्रोतहरुको दिगो व्यवस्थापनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, पानीको व्यवस्थापन, विद्यमान नीतिहरुमा संशोधन तथा आवश्यक नीति निर्माणका लागि पहल गर्ने लगायतका कार्यक्रमहरु रहेका छन्। जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न, जल प्रदूषणलाई रोक्न र प्रदूषणले गर्दा खाद्य सुरक्षामा परेको असरबारे पनि सरोकारवालहरुलाई सचेतना जगाउने कार्यक्रमहरु वर्षभरि गर्नेतर्फ आयोगले सोचिरहेको पनि बताइएको छ। कार्यक्रमअनुसार उपत्यकाभरिका ढुंगेधाराको संरक्षण र संवद्र्धन गर्न समितिको गठन गरिने, काठमाडौं उपत्यकाको भूमिगत पानीको स्रोतको अवस्था, चुनौती तथा संरक्षणसम्बन्धी सम्मेलन आयोजना गरिने भएको छ।

पानी जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। पानीविनाको जीवन कल्पना गर्न पनि सकिँदैन। अझै पनि करोडौं जनता सुरक्षित पानीको अभावमा बाँच्न बाध्य छन्। काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ। यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ। केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल ३ सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ। राजधानीको मुख्य शहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ। यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ। यसरी प्रत्येक वर्ष मागमा १० प्रतिशतका हिसाबले वृद्धि हुने कुरा नेपाल खानेपानी संस्थानको छ। यहाँ वर्षायाममा १५ करोड लिटर पानी आपूर्ति भए तापनि अन्य समयमा १० करोड लिटर मात्र पानी आपूर्ति हुने गरेको छ।

यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ। जसमा लगभग ४० प्रतिशत चुहावटबाटै खेर गई सवा २ करोड लिटर जति मात्र पर्न आउँछ। काठमाडौंमा रहेका रिजभ्र्वायरहरुको क्षमता सबैभन्दा बढी चाबहिल रिजभ्र्वायरको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट ८ लाख लिटर रहेको छ। काठमाडौंमा प्रत्येक वर्ष ४–५ हजार नयाँ धारा थपिने गरेका छन्। यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाको पानीको प्रतीक्षामा रहेका छन्।
शहरी विकास मन्त्रालयको तथ्यांकअनुसार १ लाख ८० हजार निजी र १ हजार १ सय ९६ वटा सार्वजनिक धाराबाट करिब २६ लाख उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन्। यो कार्यका लागि केयुकेएलले ३५ वटा सतह स्रोत, ५९ वटा ट्युबवेलबाट पानी ल्याई २१ वटा खानेपानी प्रशोधन केन्द्रमार्फत हाल वितरण गर्दै आएको छ। सन् २०१७ सम्म उपत्यकामा खानेपानीको माग दैनिक ४० करोड लिटर पुग्नेछ भने मेलम्चीसमेत गरी आपूर्ति भने हिउँदको याममा ३० करोड लिटर मात्रै हुनेछ। मेलम्चीको पानी पनि आउँदो २०७४ सालको असोज महिनाभित्रमा काठमाडौं ल्याउने योजना रहेको छ। तर यो समय पनि पर सर्ने संकेत देखिन्छ। त्यस्तै गरी राजधानीको बढ्दो खानेपानी समस्यालाई ध्यानमा राखी दोस्रो चरणमा याङ्ग्री र तेस्रो चरणमा लार्केबाट दैनिक १७⁄१७ करोड लिटर पानी ल्याउने योजना छ। यो पानी आएपछि मात्रै उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने देखिन्छ।

विकसित देशहरुमा पनि पानीको दुरुपयोग एवं पाइप लाइनमा चुहावट नभएको होइन, जुन लगभग २० प्रतिशत देखि ३० प्रतिशतसम्म भएको पाइन्छ। तर नेपालमा यस किसिमको चुहावट ४० प्रतिशत हुने अनुमान छ। बदलिँदो आजको युगमा ४० देखि ६० प्रतिशतसम्म खानेपानी चुहावट र दुरुपयोग भइरहेको संयुक्त राष्ट्र संघले जनाएको छ। यी समस्याको समाधानको लागि वैकल्पिक उपायहरु अपनाउनुपर्ने हुन्छ। बर्सातको पानीलाई विभिन्न उपायबाट संकलन गरेको खण्डमा हाम्रो दैनिक पानीको मागको आपूर्तिमा ठूलो सहयोग मिल्नेछ। सम्बन्धित निकायले बेलैमा विचार पुर्याएर कार्य गरेको खण्डमा मुलुकवासी विशेष गरी उपत्यकावासीहरु पानीको समस्याबाट मुक्त हुनेछन्। बेलैमा पानीको स्रोत संरक्षणमा ध्यान पुर्याउन सकेको खण्डमा भोलिका सन्ततीलाई स्वच्छ, स्वस्थ र पर्याप्त खानेपानीको आपूर्ति हुने कुरामा आशा राख्न सकिन्छ। अनि मात्र विश्व पानी दिवस मनाउनुको सार्थकता हुनेछ।

Source : http://www.newsofnepal.com/2017/03/22/18516/731209.

पर्व मनाउने क्रममा विकृतिको आभास

विश्वनाथ खरेल
नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ। हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वको शुरुआत भने एक साताअघि अर्थात् फागुन शुक्ल अष्टमिदेखि हुने गर्दछ। फागु पर्वले नयाँ उत्साह, जोश, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भावमैत्री र भाइचारा जगाउने गर्दछ। उराठ लाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उष्कर्ष फागुपूर्णिमा नै हो। सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृति प्रेमीको यो सिंगो चाड तराई क्षेत्रमा त झनै विशेष धुमधामका साथ मनाइन्छ। मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा समेत पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चिरदाह’ को रूपमा पनि लिइन्छ। असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनश्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रूपमा लिइने यस पर्वलाई मैथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ। विशेष गरी युवापुस्ताका लागि रंगिन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ।

यस पर्वमा भगवान्को भजन–कीर्तनका साथै नाचगान गरी एक–आपसमा विभिन्न किसिमका रंग, अबिर दल्दै हासखेल गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ। यस पर्वलाई अनुशासितरूपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो। यस पर्वलाई उमेरको हदबन्दी छैन। राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बडो उल्लासमय वातावरणमा रम्ने गर्दछन्। खास गरी युवायुवती यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन्।

प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रह्लाद भने बडो विष्णुभक्त थिए। बाबुले आफ्नो छोरालाई विभिन्न कोशिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रह्लादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रह्लादलाई आगोमा हालेर मार्न लगाए। तर, प्रह्लादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भस्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन। सोही खुसीयालीमा होली पर्व चलेको हो भन्ने किम्वदन्ती छ।

फागु पूर्णिमाको एक हप्ता अगाडिदेखि नै कार्यालय, स्कुल, क्याम्पस, बाटो हिँड्ने आदि व्यक्तिहरूलाई जथाभावी रंगाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन्। यस्तै किसिमको सामान्य घटनाहरूले उग्र रूप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न। रंग उत्सवको खुसीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरूपमा मनाउनु मूर्खता हो। विभिन्न किसिमका रसायन मिसाइएको रंग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्ने जस्ता निन्दित एवं घृणित कार्य हुन्छ। साथै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भाङ, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रंगहरूका पुरिया राखी मोटरसाइकलमा चढी सार्वजनिक स्थलहरूमा पुग्दछन्। देशका शहरका युवकहरू र विदेशी पर्यटकलाई समेत रंगले विरूप पारिदिन्छन्। होलीको नाममा यस्ता किसिमका उच्छृंखल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको खसिस्कँदो चाहना दिन प्रतिदिन बढ्दै गएको छ। तर, विडम्बना हाम्रा यावत् यस्ता महान् र महामानव बनाउने यावत् कार्यहरू हिजो–आज आएर फेसन र मनोरञ्जनमा परिणत हुँदै छन्।
अन्त्यमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वहरूमध्ये फागु वा होली पनि एउटा विशेष महत्त्वको चाड हो। फागुन शुक्ल अष्टमिका दिन चिर गाडी अबिर छरेर पूजा गरी शुरु गरिने चाड पूर्णिमाको रातमा चिर बालेपछि समाप्त हुन्छ। मुख्य होलीको दिन एक–आपसमा अबिर दलादल गर्ने र मीठा–मीठा पकबानहरू खाने चलन छ। वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू आफूमा मात्र खेल्यौं भने मात्र सही अर्थमा होलीको महत्त्व रहन्छ। यो पर्व नेपाल र भारतलगायत विश्वभरि नै रमाइलो गरी मनाउने गरेका छन्। नेपालको आफ्नै संस्कृति र भेषभुषा रहेको छ। हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि नै कुनै न कुनै पर्व पर्ने गर्दछ। कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरूपले निरोगी हुनु हो। जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि शुरु भयो सो अनुरूप हाल व्यवहारमा देखापर्न सकिरहेको छैन।

यो पर्व नेपाल र भारतलगायत विश्वका अरू हिन्दु धर्मावलम्वीहरूले अति नै रमाइलो गरी मनाउने चाड हो। धर्म मान्ने र पर्व मनाउने क्रममा खास गरी हाम्रो मुलुकमा विदेशी तडकभडक र छाडा संस्कृति भित्त्याउने गरेको अवस्था कसैबाट छिपेको छैन। समाजमा अनेकौं विकृति–विसंगतिले प्रश्रय पाउँदै आएको देखिन्छ। यस्ता विकृतिले आफ्नै संस्कृतिचाहिँ लोप हुन बेर लाग्दैन। यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन सम्पूर्ण नेपाली सचेत हुनुका साथै सरकारले पनि कडाभन्दा कडा कानुनी प्रक्रिया अपनाई दरिलो कदम चाल्नुपर्दछ। यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ। नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको धार्मिक तथा संस्कृति संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न।

Source : http://www.newsofnepal.com/2017/03/12/16680/

कफी खेतीको विस्तार र निर्यातको बढ्दो सम्भावना

विश्वनाथ खरेल, फागुन १७,

संसारमा पेट्रोलियम पदार्थपछिको दोस्रो ठूलो परिमाणमा बिक्रीवितरण हुने वस्तु कफी हो र यसको खेती एक सयभन्दा बढी देशमा गरिएको छ । ब्राजिल विश्वको सबैभन्दा बढी कफी उत्पादन गर्ने देश हो भने अमेरिका सबैभन्दा बढी खपत गर्ने देश हो । संसारको कुल कफी निर्यात देशहरुको प्रतिवेदनलाई अवलोकन गर्दा विश्वमा सन् २००८ मा १३ करोड ४१ लाख ६३ हजार ब्याग कफी उत्पादन भई विभिन्न मुलुकहरुमा निर्यात भएको थियो भन्ने अनुमान गरिएको छ । यसरी विश्व बजारमा प्रवेशसँगै नेपाल पनि कफीको उपभोग र खेती हुन पुगेको हो । देशमा कफी उपयुक्त देखिएकाले हाल निदरल्याण्डबाहेक अमेरिका, बेलायत, अष्ट्रेलिया र जापानले समेत कफीको माग गर्न थालेका छन् । विश्वमा कफीका जाति र प्रजाति गरी ७० भन्दा बढी रहे पनि अरबिका, सेवस्टा, लाइबेरीका र उक्सेल्सा जातका कफी आर्थिक दृष्टिले अति उपयुक्त मानिएकामध्ये नेपालमा हाल अरबिका जातको कफी प्रचलित छ । समुद्र सतहबाट पाँच सयदेखि १३ सय मिटरसम्मको उचाइमा रहेको भित्री मधेस र पहाडी क्षेत्रमा अरबिका जातको कफी खेती गर्न उपयुक्त देखिएकाले नेपालमा यसै जातलाई नै अघि बढाउन थालिएको छ । गुल्मी, पाल्पा र कास्कीमा कफी बेर्ना प्रसस्त लगाउन थालिएको र बेर्ना रोपेपछि कफीको बोटले तीन वर्षपछि लगातार फल दिन थाल्ने र त्यही एउटै बोटले कम्तीमा ५० वर्षसम्म फल उत्पादन गर्नेछ ।
कफीको खेती सर्वप्रथम नेपालमा गुल्मी आँपचौर निवासी हिरा गिरीले बर्माको सिन्धु प्रान्तबाट वि.सं.१९९५ मा केही कफीको बोट ल्याई खेती गरिएको भन्ने ऐतिहासिक प्रमाण रहेको पाइन्छ । त्यसपछि विस्तारै विस्तारै देशव्यापी रुपमा यसको खेती गरिन थालियो । २०३३ देखि २०४६ सालसम्म आइपुग्दा पनि एक्लो सरकारी प्रयासबाट केही पनि प्रगति हुन सकेन । यसमा बजार र प्रविधिको अभावले यसको विस्तारमा कृषकहरुको नेतृत्वले कफी उत्पादक समूह गठन गरी २०४८ सालमा समूहहरु सो संघमा परिणत गराई नेपाल कफी व्यवसायी संघको स्थापना भयो । यसर्थ वि.सं. २०२० को दशकतिर नेपाल सरकारले भारतबाट कफीको बीउ ल्याई वितरण गरेपछि कफी खेतीले विस्तारै गति लिन थालेको बुझिन्छ । आर्थिक वर्ष २०४०÷४१ मा रूपन्देहीको मनिग्राममा नेपाल कफी कम्पनीको स्थापना भयो । यसले कृषकहरूले उत्पादन गरेको सुक्खा कफी खरिद गरेर आन्तरिक बजारको लागि प्रशोधन गर्ने गथ्र्यो । यसरी २०४८ सालमा नेपाल कफी उत्पादक संघको स्थापनाले कफी उत्पादकहरूलाई संगठित हुन मद्दत ग¥यो । यसैगरी २०५० सालमा बजार व्यवस्था र मूल्यलाई व्यवस्थित गर्न संघकै अनुरोधमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भई २०५१ देखि वार्षिकरुपमा मूल्य निर्धारण सुरु भई हालसम्म कायमै रहेको छ । त्यस्तै २०६१ सालमा जिल्ला कफी व्यवसायी संघहरुलाई आ–आफ्नै जिल्लामा दर्ता गर्ने स्वायत्तता दिई छाता संगठनको रुपमा राष्ट्रिय संघलाई महासंघमा रुपान्तरण गरियो । हाल यस महासंघमा पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लमजुङ, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर, गोर्खा, बागलुङ र मकवानपुर गरी १४ जिल्लाहरुको आबद्धता रहेको छ । अन्य केही जिल्लाहरु आबद्धताको तयारीमा छन् ।
देशमा विविध किसिमको भौगोलिक बनावट तथा हावापानी भएको हुँदा संसारका जुनसुकै देशमा जुनसुकै जातका कफी लगाउन सकिने अवस्था छ । त्यस हिसाबले हेर्ने हो भने नेपालको मध्यपहाडी जिल्लाको आठ सयदेखि १ हजार सात सय मिटरको उचाइसम्म अरेबिका जातको कफी खेती गर्न सकिन्छ । अरेबिका जातको कफी खेतीका लागि आवश्यक पर्ने ७० देखि ८० प्रतिशत सापेक्षिक आद्र्रता, १६ सयदेखि २५ सय मिलिमिटरसम्म वर्षा र कम्तीमा १० देखि १२ घण्टा घाम लाग्ने र १५ देखि २५ डिग्री सेन्टिग्रेड तापक्रम, अधिकांश उत्तरपूर्वी र दक्षिणपूर्वी मोहडा मध्यपहाडी क्षेत्रभित्र पाइन्छ । नेपालका सबै पहाडी जिल्लामा कृषिलगायत ग्रामीण सडक र यातायात सञ्जालको विकास हुने क्रम बढ्नुका साथै पछिल्लो समयमा सरकारका विभिन्न कार्यक्रमअन्तर्गत सिँचाइ, बिजुली सबै ठाउँमा पुगिसकेका कारण नेपालमा कफी खेतीको राम्रो सम्भावना देखिन्छ । हाम्रो देशमा पाइने सबै कफी एक हजारदेखि एक हजार छ सय मिटरसम्मको उचाइमा उत्पादित अरेबिका वर्णको टिपिका र बर्बन जातका हुन् । प्रायः सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।
मुलुकको कुरा गर्दा कफीको खेती मध्य पहाडका करिब ४० जिल्लामा २६ हजार पाँच सय कृषकहरुले गरेको अनुमान छ । यसको संगठित रुपमा १४÷१५ जिल्लामा व्यावसायिक रुपमा खेती भएको पाइन्छ । पाल्पा, गुल्मी, अर्धाखाँची, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लमजुङ, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर, गोर्खा, बागलुङ र मकवानपुर हुन् भने धादिङ, गोरखा, नुवाकोट, ओखलढुंगा, रामेछाप, इलाम जिल्लाहरुमा पनि कफी खेतीको विस्तार भइरहेको पाइन्छ । कफीको रोपण क्षेत्र पनि आर्थिक वर्ष २०५३÷०५४ २ सय ६० हेक्टर थियो भने उत्पादनतर्फ हेर्ने हो भने ड्राइ चेरी ३७ दशमलव ३५ मे.टन. भएको थियो । यसै क्रमलाई अवलोकन गर्दा विभिन्न आर्थिक वर्षमा २०६१÷०६२ मा ११४ मेट्रिक टन पार्चमेन्ट, २०६२÷०६३ मा १५६ मेट्रिक टन पार्चमेन्ट, २०६३÷०६४ मा २७० मेट्रिक टन पार्चमेन्ट,  २०६४÷०६५ मा २६५ मेट्रिक टन पार्चमेन्ट, २०६५÷०६६ मा २६७.६ मेट्रिक टन पार्चमेन्ट, २०६६÷०६७ मा एक हजार छ सय ३० हेक्टरमा लगाइएको कफीको उत्पादन ३४३ मेट्रिक टन ग्रिनविन, २०६७÷०६८ मा एक हजार सात सय ५२ हेक्टरमा लगाइएको कफीको उत्पादन पाँच सय दुई मेट्रिक टन ग्रिनविन र २०६८÷०६९ मा एक हजार सात सय ६० हेक्टरमा लगाइएको कफीको उत्पादन पाँच सय २३ मेट्रिक टन ग्रिनविन उत्पादन भएको तथ्यांक पाइन्छ ।

समष्टिरुपमा निर्यातकोे आँकडालाई अवलोकन गर्दा आर्थिक वर्ष २०६६÷०६७ मा पाँच करोड ४४ लाखबराबरको कफी आयत भई करिब तीन करोडबराबरको आयात घटेको तथ्यांकले देखाएको पाइन्छ । त्यसैगरी  मुलुकमा अहिले करिब तीन हजार कृषक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कफी खेतीमा लागेका छन् । २०७२ को उत्पादन रेकर्डअनुसार कुल एक हजार सात सय ६० हेक्टर क्षेत्रफलमा करिब चार सय ५० मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित अग्र्यानिक कफीको माग दिन प्रतिदिन बढिरहेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाब गर्ने हो भने वार्षिक १० हजार मेट्रिकटनभन्दा बढी छ । तर, उत्पादन कम भएका कारण उक्त मागको पाँच प्रतिशत पनि निर्यात हुन सकेको छैन । नेपाली कफी निर्यातबाट वार्षिक करिब साढे सात करोड वैदेशिक मुद्रा आर्जन हुने गरेको छ । तर, अन्य मुलुकबाट नौ करोडबराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली कफीको माग बढिरहेको छ । यसबाट के कुराको अवगत हुन्छ भने हाम्रो देशले अरु देशहरुलाई ठूलो धनराशी भुक्तानी दिएको पुष्टि हुन्छ । यस तथ्यलाई मध्यनजर राखेर हाम्रो देशले कफीको क्षेत्रफललाई विस्तार गरी प्रतिएकाइ उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने टड्कारो स्थिति रहेको देखाउँछ ।

अन्त्यमा भन्नुपर्दा नेपालमा कफी खेती गरिबी निवारण, रोजगारी सिर्जना, वातावरण सुरक्षा तथा दिगो आय–आर्जन गर्ने एक लोकप्रिय खेतीका रूपमा स्थापित हुँदै आएको छ । हाल देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट आठ सय मिटरमाथि हिउँ, तुषारो नपर्ने ठाउँमा लगाइएको कफी गुणस्तरीय कफीका रूपमा उत्पादन भई विदेश निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिनानुदिन बढ्दै गएको परिप्रेक्ष्यमा कफी उत्पादन क्षेत्रको विस्तार गर्नुका साथै उद्योगको विकास गर्नु आजको आवश्यकता रहेको छ । मुलुकको २४ जिल्लाहरु भन्दा बढीमा अधिकांश साना कृषकहरुले अभिरुचि देखाइ व्यावसायिक रुपमा कफी खेती भएको छ । विगतमा चेरी कफीको दाना उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०६३÷०६४ देखि कफीको पार्चमेन्ट उत्पादन हुँदै आएको छ । मुलुकमा २०३५ देखि कृषकहरुले व्यावसायिक रुपमा कफी खेतीको सुरुवात गरेका थिए । यसमा पनि कफीको उत्पादन घट्न जानुको मुख्य कारणहरुमा यसको बोटमा गवारो रोगका कारण केही जिल्लाहरुमा उत्पादनमा घट्न गएकोले यस्तो भएको हो । देशमा उत्पादित कफीमध्ये करिब ६० प्रतिशत निर्यात हुन्छ र ४० प्रतिशत मात्र नेपालमा खपत हुने गरेको छ । मुलुकमा उत्पादित कफी विदेश निर्यात भएपछि नेपाली बजारका लागि भारतबाट वा इटालियन कफीको आयात भइरहेको अवस्था छ । पछिल्लो रेकर्डअनुसार राष्ट्रमा वार्षिक चार सय ५० मेट्रिक टन कफी उत्पादन हुन्छ भने आन्तरिक तथा बाह्य मागलाई हेर्ने हो भने १० हजार मेट्रिक टनभन्दा बढीको वार्षिक माग भइरहेको पाइन्छ । यसबाट के बुझ्न सकिन्छ भने उत्पादित कफीका लागि अहिले मात्र होइन, वर्षौं वर्षसम्म पनि बजारको अभाव देखिँदैन । त्यस्तै गरी  त्यतिकै मात्रामा पहाडी गाउँ–गाउँमा विदेशी मुद्रा आर्जन गरी करिब २६ हजारभन्दा बढी कफी किसान लाभान्वित भएका छन् । यसरी यी कृषकहरु सात सय ५० भन्दा बढी समूहमा आबद्ध छन् । कफी उत्पादनको वर्तमान अवस्था तथा उत्पादकहरुको परिस्थितिलाई मध्यनजर गर्दै प्रांगारिक कफीको बजार सम्भावना हेरेर नेपाल कफी व्यवसायी महासंघले नेपालका लागि अरेबिका प्रजातिको कफी समुद्री सातहदेखि आठ सयदेखि एक हजार छ सय मिटरको उचाइसम्म प्रंगारिक व्यवस्थापनका साथ गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पादित गुणस्तरीय कफीको सम्भावनादेखि विदेशी दातृ निकायहरुको पनि आकर्षण बढ्दै गएको छ । त्यसैगरी कफी उद्यममा लगानी गर्न विभिन्न निकाय सक्रिय भएको देखिन्छ । मुलुकको मध्य पहाडी भागका ४० जिल्लामा कफी खेती हुने सम्भावना बढी रहेको पाइन्छ । यसबाट कृषकहरुको आयआर्जन बढ्नुको साथसाथै विदेशी मुद्रा आर्जन गर्न सकिने दरिलो आधारको रुपमा लिन सकिन्छ । अतः बोर्डले कफी उत्पादन बढाउनका लागि वर्षेनि नयाँ बिरुवा रोपण कार्यक्रम लागू गरिरहेको जनाएको छ । हाम्रो देशको कुरा गर्ने हो भने अहिले करिब तीन हजार कृषक प्रत्यक्ष र अप्रत्यक्ष रूपमा कफी खेतीमा लागेका छन् । २०७२ को उत्पादन रेकर्डअनुसार कुल एक हजार सात सय ६० हेक्टर क्षेत्रफलमा करिब चार सय ५० मेट्रिक टन ग्रिनविन कफी उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित अग्र्यानिक कफीको माग दिन प्रतिदिन बढिरहेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाब गर्ने हो भने वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी छ । तर, उत्पादन कम भएका कारण उक्त मागको पाँच प्रतिशत पनि निर्यात हुन सकेको छैन । नेपाली कफी निर्यातबाट वार्षिक करीब साढे ७ करोड वैदेशिक मुद्रा आर्जन हुने गरेको छ । तर, अन्य मुलुकबाट नौ करोडबराबरको विभिन्न ब्रान्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली कफीको माग बढिरहेको छ । यसकारणले गर्दा हालैका दिनमा विश्व बजारमा माग बढ्दै गएको हुँदा हाम्रो कफी खेतीको उत्पादन तेस्रो मुलुकतर्फ निकासिका कारण समेत कृषकहरु यसतर्फ आकर्षित भएको पाइएको छ । यसरी कफी खेतीबाट आफू व्यावसायिक हुने मात्र होइन, देशका बेरोजगार जनशक्तिलाई रोजगारको अवसर मिल्छ । स्वदेशमै बसेर पनि विदेशी धन आर्जन गरी देशको अर्थत्रन्त्रलाई बलियो बनाउन सहयोग पुग्छ ।

Source : http://www.sulsule.com/news_details/731118.