स्वस्थानी व्रत–कथाको सामाजिक महत्त्व

 

(विश्वनाथ खरेल) यस वर्षको स्वस्थानी व्रतकथा तथा माघ स्नान गत पुस २८ गतेदेखि शुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिलाहरूले पौष शुल्क पूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटी, स्नान गरी, चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रतको शुरुवात गर्दछन् । माघ शुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एकछाक चोखो खाई १०८ पान, त्यत्तिनै संख्यामा कुड्का सुपारीलगायतका सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ ।

व्रत समाप्तिको दिन आठ रोटी, आठ पान, आठ सुपारी आदि आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी एक सय प्रसादको रुपमा आफूले खाने चलन छ । स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ । एक महिनाभर काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिक स्थलहरू तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ । ती स्थानहरूमा एक महिनाभर मेला पनि लाग्ने गर्दछ । स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीको घर–घरमा गरिन्छ । नेपालमा स्वस्थानी भगवतीको पूजाको ठूलो महत्व छ । अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवं शिवशक्तिको कृपा पाउनको निमित्त स्वस्थानी भगवतीको पूजन गरिन्छ ।

स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन् । प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ । यो कथा एक महिनामा सक्नुपर्छ । नसकिएमा कुनै दिन २–२ अध्याय भनेर पनि सक्नुपर्छ । यद्यपि माघस्नानको नियम र महत्व छिमेकी देश भारतमा पनि देखिन्छ । किन्तु स्वस्थानी भगवतीको पूजा नेपालीहरूको आफ्नो विशेषता हो । स्वस्थानी व्रतको कथामा शिव शर्मा ब्राह्मण र उनकी ब्राह्मणी सतीलाई कुनै सन्तान नहुँदा दुःखी भएको कुरा आउँछ । तर उनीहरूको पुण्यले गर्दा एउटी गाईको गोबरमा रुपवती कन्या उत्पन्न हुन्छिन् । तिनको गोमा नाम राखेर शिव शर्माले पाले । ठूली भएपछि संन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा उनले ‘असी वर्षको बूढो पति होस्’ भन्ने श्राप पाइन् । पछि त्यस्तै भयो र वृद्धबाट गोमाको गर्भमा पुत्र रह्यो ।

वृद्ध पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन् । गोमाले छोरो पाइन् र छोराको नाम नवराज राखियो । छोरा ठूलो भएपछि पिताजी कहाँ जानुभयो भनेर सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन् । छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरी फर्के । उता गोमाले ऋषिहरूको उपदेशले ‘मेरो छोरो चाँडै फर्कोस्’ भनेर स्वस्थानी भगवतीको पूजा व्रत गरिन् । छोरा नवराजले पनि हरिहर भगवान्को स्तुति गरेर राज्य पाउने वरदान पाए । सोही अनुसार हात्तीले फूलमाला लगाइदिएकाले नवराज लावण्य देशको राजा भए ।

राजा भएपछि नवराजले आमालाई पनि राज्यमा बोलाए । उनले अर्को विवाह पनि गरे । प्रथम पत्नीचाहिँ माइत गएर बसेकी थिइन् । उनलाई पनि बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले शालीनदीमा खसेर कुष्ठी भई बसिन् । पछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन् ।

स्वस्थानी भगवतीको निन्दा र अपमानले कुष्ठरोगयुक्त भएकी नवराज राजाकी प्रथम पत्नी पुनः भागवतीको व्रत र पूजाले स्वस्थ भई आफ्नो स्थान पाउन सफल भएको कथा स्वस्थानीमा छ । त्यसो हुँदा स्थान च्यूत व्यक्तिले स्थान प्राप्त गर्न स्वस्थानीको व्रत–पूजा गर्नुपर्छ भन्ने तथ्य यसमा पाइन्छ । स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा हो । यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ । त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्यहरू गर्न छोड्न हुन्न ।

सगम्रमा भन्नुपर्दा, नेपाली समाजमा स्वस्थानीको महिमा महत्वपूर्ण रहेको छ । यसका कारण घर–घरमा स्वस्थानी माताको विधिपूर्वक पूजा–आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत–पूजा गर्ने परम्परा रहिआएको छ । यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने, स्वस्थानी महात्म्यको पूर्वभागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको र दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आउँछ । मध्यभागतिर भने हिमालय पर्वतकी पुत्री पार्वतीको रुपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रुपमा प्राप्त गरेको प्रसंग आउँछ । स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश पाइन्छ । काम र उमेरले पाका भएका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गरे मात्र स्वस्थ समाज बन्ने दृष्टान्त पनि स्वस्थानी महात्म्यले दिन खोजेको छ ।

Source :http://www.newsofnepal.com/2017/01/18/7503/731005.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s