विवाहको साइत नचाहिने पर्व

 

विश्वनाथ खरेल

धार्मिक एवं सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने  चाडपर्वमध्ये विवाह पञ्चमी मेला विशेषगरी जनकपुरधाममा मनाउने गरिन्छ ।  प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमी मेलामा नेपालको मात्र नभएर छिमेकी मित्रराष्ट्र« भारतबाट भक्तजनको घुइँचो लाग्ने गर्छ ।  मर्यादा पुरुषोत्तम रामचन्द्र र आदर्श नारी सीताको विवाह महोत्सवका रूपमा मनाइने विवाह पञ्चमी मेला अरू ठाउँमा पनि मनाइने भए पनि जनकपुरधाममा लाग्ने मेला विशेष प्रकारको हुन्छ ।  त्रेतायुगमा अयोध्याका राजा दशरथका पुत्र रामचन्द्र र जनकपुरका राजा जनककी पुत्री सीताको विवाह जनकपुरधामको विवाह मण्डपमा भएको थियो ।  अहिले पनि त्यही विवाह महोत्सवको सम्झना दिलाउन विभिन्न किसिमका धार्मिक विधिबाट यो पर्व सम्पन्न गरिन्छ ।
यस पर्वका बेला छिमेकी मुलुक भारतका बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, पश्चिम बङ्गाल, राजस्थान आदि ठाउँबाट लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउँछन् ।  विवाह पञ्चमीका दिन जनकपुरका गङ्गा सागर, धनुष सागर र अरगजा सागर लगायतका धार्मिक एवं पवित्र पोखरीहरूमा स्नान गरी जानकी मन्दिर, राममन्दिरलगायत विभिन्न मन्दिरको पूजा, अर्चना गर्दछन् ।  बेलुकीपख स्थानीय रङ्गभूमि मैदानमा आयोजना गरिने रामजानकी स्वंयवर समारोहमा असङ्ख्य भक्तजनको भेला हुन्छ ।  उक्त अवसरमा भारतको अयोध्या राममन्दिरबाट जन्तीका रूपमा साधु–सन्तहरू, ऋषि, मुनि, महन्त पनि आउँछन् ।
तत्कालीन मिथिला राज्यका राजा जनकको राज्यमा भोकमरी परको थियो ।  त्यसबेलाका ऋषिमुनिहरूको राय सल्लाहअनुसार राजर्षि जनकले हलो जोत्दाजोत्दै हलोको सियोबाट एक कन्याको उत्पत्ति भएको र तिनै कन्यालाई जानकी भनिन थालिएको कथा छ ।  ती कन्या किशोरी भएपछि राजा जनकको पूजा कोठामा रहेको शिवधनुष एक हातले उठाएर भुइँ पुस्दै गरेको देखेर राजा छक्क परे र उनले मनमनै कल्पना गरे यिनी त सामान्य नारी होइनन् ।  यिनका लागि त वीर पुरुष नै वर आवश्यकता पर्छ ।  अनि प्रस्ताव राखे–जसले यिनीसँग विवाहको प्रस्ताव राख्न आउँछ उसले शिवधनुष उठाएर भाँच्न सकोस् ।  त्यस्तो व्यक्तिसँग मात्र यिनको विवाह योग्य हुन्छ ।  जानकीको वर चयन गर्न जो कोही आएमा उसले शिवधनुष भाँच्न सक्ने प्रस्तावअनुसार धनुषयज्ञको आयोजना गरे ।  उक्त यज्ञमा भाग लिन देश विदेशबाट राजा, रजौटा, महाराजा, राजकुमार, वीर, पुरुषहरूको आमन्त्रण गरियो ।  गुरुकुलमा शिक्षा आर्जन गर्न आएका अयोध्याका राजा दशरथका छोराहरू रामचन्द्र र लक्ष्मणको पनि उपस्थिति थियो ।  विश्वामित्रले राम र लक्ष्मण राजकुमार भएको र उनीहरू पनि स्वयम्बरमा भाग लिन आएको खबर राजा जनकलाई दिए ।  अरू राजकुमारजस्तै राम र लक्ष्मणलाई पनि भव्य स्वागत भयो ।  त्यसपछि स्वयम्बरको बेला सुरुभयो ।  त्यहाँ उपस्थित विभिन्न राजकुमार, वीरहरूले आ–आफ्नो बुद्धि, ज्ञान अजमाए तर धनुषलाई डगाउन पनि कसैले सकेन ।  त्यसपछि विश्वमित्रले रामलाई धनुष चलाउने आज्ञा दिए ।  गुरुको आज्ञानुसार रामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर तीन टुक्रा भयो ।  यस बीचमा लक्ष्मण र परशुरामको ठूलो विवाद पनि भयो तर रामले दुवैलाई शान्त पारे ।  परशुरामको शक्ति खिचेर आफूले थिए ।  त्यसपछि जानकीले रामलाई नै वबरमाला पहिराइन् ।  अनि राजाले शुभ लगन हेरी मार्ग शुक्ल पञ्चमीका दिन अयोध्याबाट जन्तीका साथ आएका राम र जनक नन्दिनी जानकीको विवाह जनकपुरधाममा सुसम्पन्न गरिदिए ।  केही दिन मिथिलामा बसेपछि राजा जनकले राम, लक्ष्मण र सीतालाई ठूलो सम्मानका साथ बिदाइ गरे ।
हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमीको पर्व हिन्दुहरूको महान् पर्व तथा मेला हो ।  सामान्य व्यक्तिले पनि यस दिनलाई शुभ मुर्हूतको रूपमा लिई विवाह गर्ने चलन अद्यावधि छ ।  यस दिन विवाह गर्न कुनै पनि वर वधुले साइत जुराइरहनु आवश्यक पर्दैन ।

Source: http://gorkhapatraonline.com/news/33254-730818.

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s