मच्छिन्द्रनाथको जात्रामा भोटो देखाउनुको कारण

bishwonath-kharel

(विश्वनाथ खरेल) हिन्दु संस्कृतिमा वर्षभरिमा मनाइने चाडहरूमध्ये रातो मच्छिन्द्रनाथको रथ तान्ने र भोटो देखाउने जात्रा पनि एक प्रमुख हो । सर्वप्रथम यो जात्राको शुरुवात नेपाल मण्डलमा कसरी भयो भन्नेतिर जाऔं । एक अथनअनुसार लिच्छविकालमा १२ वर्षसम्म पानी नपरी सुख्खा भएछ । जसले गर्दा दुर्भिक्ष वा अनिकाल परेछ । त्यस बेलाका भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामय रातो मच्छिन्द्रलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ । यिनीहरूले आपसमा सल्लाह गरी मच्छिन्द्रनाथलाई सूर्य दक्षिणायणमा हुँदा ६ महिनासम्म बुङ्मतीमा र सूर्य उत्तरायण हुँदा अर्को ६ महिना पाटनमा राख्ने निधो गरेछन् । पाटनबाट दक्षिणायण उक्त ठाउँ बुङ्मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बुङ्मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अहिलेसम्म चली नै रहेको छ ।
हाम्रो देश संस्कृतिमा निकै धनी छ । आफ्नो संस्कृतिको संरक्षण र संवद्र्धनमा नेपालीहरू लागिपर्छन् । यो उनीहरूको कर्तव्य पनि हो । यसैले होला चाडपर्वहरूमा नेपालीहरू रमेरै मनाउने गर्छन् । यसमा पनि नेवार समुदायमा रातो मच्छिन्द्रनाथको जात्राले विशेष महत्व राख्दछ ।
लगभग १ हजार ६ सय वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएर आषाढ शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवम् धार्मिक महत्व रहिआएको संस्कृतिविद्हरूको भनाइ छ । पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा यस जात्रालाई लिइन्छ ।
एक कथनअनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप रत्नजडित भोटो दिएछन् । किसान वैद्यले खेतको आलीमा भोटो राखेर काममा व्यस्त भएको बेला सो भोटो हराएछ । पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दाबी गर्यो । यसरी दुवैका बीचमा भोटो खोसाखोस भई विवाद पर्यो । सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवि राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए । अनि अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले रथमा राखेर त्यसलाई देखाउने गरे ।
सोही परम्पराअनुसार आजसम्म पनि प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानबाट आउने अधिकारीले तीन पटकसम्म देखाउने प्रचलन रहिआएको छ । जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ ।
धार्मिक लोकोक्ति अनुसार रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा मानिएको छ । शुक्र अस्तका कारण ठटी टोलबाट अगाडि बढाउन नसकिएको रथ श्रावण ११ गते ठटी टोलबाट जाउलाखेल ल्याइएको छ । यसरी जाउलाखेलमा रथ आएको चारौं दिनमा हिरामोती जडित बहुमूल्य प्रसिद्ध भोटो देखाउने प्रचलन रहँदै आएको छ । यसर्थ भोटो देखाउने जात्रा गर्नुपर्ने परम्पराअनुसार यसपल्ट श्रावण १४ गते भोटो देखाइने भएको छ । भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जाउलाखेलबाट बुङ्मतीको मन्दिरमा ६ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ ।
सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दुधर्मावलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । राजा नरेन्द्रदेव मल्लको पालादेखि प्रारम्भ भएको रथजात्रा उपत्यकामै लामो जात्राका रुपमा मनाइँदै आएको छ । मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट शुरु भएर गाःवहाल, मंगलबजार, पाटन सुन्धारा, मिखावहाल, लगनखेल, थटिटोल, कुमारीपाटी हुँदै जाउलाखेल पुर्याएर भोटो देखाउने जात्रा सम्पन्न गरिने चलन छ ।
हिन्दु संस्कृतिमा सांस्कृतिक धरोहरको रुपमा यस जात्रालाई लिन सकिन्छ । तोकिएको दिन कुलदेवता पूर्ण मन्दिरमा मत्स्येन्द्रनाथसहित बाराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जाउलाखेलतर्फ तान्ने साइत हेरिन्छ । साइत नजुरेसम्म रथलाई त्यसै ठाउँमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जाउलाखेल पुर्याइन्छ । त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङ्मतीस्थित उनकै मन्दिरमा पुर्याइने परम्परा छ ।
समग्रमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न जात्रा, चाडपर्वहरूको आ–आफ्नै किसिमको महत्व छ । आफ्नै ऐतिहासिक मूल्य–मान्यता रहेको छ । लिच्छविकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा वा राष्ट्राध्यक्ष भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ्र । यो जात्रा खासगरी काठमाडौं उपत्यकाको तीन शहरमा भव्यरुपमा मनाइन्छ । यसको धार्मिकभन्दा सामाजिक महत्व बढी भएको पाइन्छ ।

Published Date: July 29, 2016

Source: http://www.newsofnepal.com/?p=107046-730414.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s