खाद्यान्नमा धान बालीको उच्च स्थान

खाद्यान्नमा धान बालीको उच्च स्थान

विश्वनाथ खरेल
संसारका विकासोन्मुख मुलुकहरूमा ८४ करोड जनसंख्या कुपोषणले ग्रस्त छन्, जसमा २० करोड बालबालिका पर्छन् र ४ वर्षमुनिका १ करोड ४० लाख केटाकेटी भोकमरीले गर्दा प्रत्येक वर्ष मर्ने गरेका छन् । त्यसैले संयुक्त राष्ट्रसंघले सन् २०१५ सम्म विश्वभर ८४ करोड कुपोषणको मारमा परेको जनसंख्यालाई आधामा झार्ने लक्ष्य किटान गरेको थियो । दिगो विकास लक्ष्यमा दोस्रो लक्ष्य खाद्य सुरक्षा कायम गर्ने नै रहेको छ । यो लक्ष्य पूरा गर्न कृषिको भूमिका महत्वपूर्ण छ । विगत पाँच वर्षभन्दा बढी समयदेखि बचतको अवस्थामा रहँदै आएको राष्ट्रको खाद्यसुरक्षाको स्थिति आर्थिक वर्ष ०६३÷६४ वर्षदेखि ऋणात्मक हुन पुगेको छ । जबकि १.४ प्रतिशतका दरले बर्सेनि बढिरहेको जनसंख्यालाई भरणपोषण गर्न कृषिक्षेत्रको कुल गार्हस्थ्य उत्पादनलाई बृहत् रूपमा हेर्ने हो भने सबैभन्दा बढी योगदान खाद्यान्न बालीमा धानको २१ प्रतिशत रहेको अनुमान छ ।

देशको केही भागमा मात्र बाह्रमासे सिँचाइ छ भने अधिकांशमा मौसमी सिँचाइ मात्र छ । केही दशकअघिसम्म धान निर्यात गर्ने नेपालले अहिले आफैंलाई ठिक्क हुने उत्पादन गर्छ । कुल खेतीयोग्य जमिनको ३४ प्रतिशतभन्दा कम जमिनमा सिँचाइ सुविधा प्राप्त भएका कारण नेपालको कृषि व्यवस्था मूलतः मनसुनमा निर्भर रहेको स्पष्ट हुन्छ । देशको ६५.६ प्रतिशतभन्दा बढी जनसंख्या कृषि पेसामा लाग्नु, राष्ट्रिय आयको ४० प्रतिशत अंश कृषिक्षेत्रबाट प्राप्त हुनु, विदेश व्यापारको ८० प्रतिशत अंश कृषिक्षेत्रले ओगट्नु र ८६ प्रतिशत जनसंख्याले ग्रामीण जीवन बिताउनुले नेपालको अर्थव्यवस्था भनेको पनि कृषि नै हो भन्ने पनि संकेत गर्छ ।

प्रतिव्यक्ति सरदर आय केवल ७ सय ५५ अमेरिकी डलर र २५ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको दृश्यले नेपालको अर्थव्यवस्था र कृषिको पछौटेपनको बोध स्वतः स्पष्ट हुन जान्छ ।

मुलुकका ७५ जिल्लामध्ये ४० देखि ४५ जिल्लामा आफ्नै उत्पादनले खान नपुग्ने कुरा सरकारी तथ्यांकले देखाएको एकातिर छ । अर्कातिर बढ्दो जनसंख्याको भारले गर्दा ६० वर्षअगाडि ८० लाख जनसंख्या थियो भने अहिले वृद्धि भई २ करोड ८० लाखभन्दा बढी पुगेको अनुमान छ । किसानहरूमा सबैभन्दा बढी आवश्यक खाद्य वस्तु धानको खेतीप्रति वितृष्णा बढ्दै गएको छ । किसानहरूले धानखेतीलाई नोक्सान मात्र पार्ने खेतीका रूपमा परिभाषित गर्न थालेका छन् । यसले गर्दा खाद्यान्न उत्पादन घटाउँदै लगेकोे छ ।

विश्वभर करिब ९० प्रतिशतभन्दा बढी धान उत्पादन तथा खपत एसियाली देशमा हुने गरेको छ । यसरी संसारभरमा ६० करोड मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने अनुमान छ । धान उत्पादक राष्ट्रहरूमध्ये सबैभन्दा बढी क्षेत्रफल, उत्पादन र उत्पादकत्व भएको देश चीन हो । त्यसपछि अरू विश्वमा धान उत्पादन गर्ने प्रमुख राष्ट्रहरू क्रमशः भारत, इन्डोनेसिया, बंगलादेश, भियतनामलगायतका छन् ।

हाम्रो देशमा भने बीसवर्षे दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ । अब देशमा चैते, भदैया, वर्षे, हिउँदे आदि गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । धानखेतमा माछापालन गर्दा प्रतिहेक्टर ५ सय २९ किलोग्राम माछाका साथै धानको उत्पादन पनि १२ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्ष ०७२/७३ मा कुल खाद्यान्न उत्पादनमा (धान, मकै, गहुँ, कोदो, जौ र फापर) बालीहरूमा अघिल्लो वर्षको तुलनामा करिब ६ दशमलव २ प्रतिशतले घट्न गई ८६ लाख मेट्रिक टनभन्दा करिब ५ लाख ७४ हजार मेट्रिक टनले कमी हो । चालू आर्थिक वर्ष २०७२/०७३ मा धानको उत्पादन गत वर्षको तुलनामा करिब १०.२ प्रतिशतले घट्न गई करिब ४२ लाख ९९ हजार मेट्रिक टन हुने प्रारम्भिक अनुमान छ । त्यो उत्पादन गत वर्षको ४७ लाख ८८ हजार मेट्रिक टनले भन्दा करिब ४ लाख ९० हजार मेट्रिक टनले कमी हो । धानको उत्पादन घट्नुको मुख्य कारणहरूमा ढिलो सुरु भएको कमजोर मनसुन, समयमा रोपाइँ हुन नसकी जमिन बाँझो रहनु, सिमानाका बन्दका कारण रासायनिक मललगायतको ढुवानी सहज नहुनु तथा इन्धन अभावका कारण भूमिमा सिँचाइसमेत प्रभावित हुनु रहेका छन् । चालू आर्थिक वर्षमा धानबाली लगाएको क्षेत्रफलमा समेत ४.४ प्रतिशतले कमी आएको छ । सम्बन्धित निकायले धानको उत्पादन बढ्नका लागि हाल सिफारिस गरिएका धानका जातहरू जस्तै तराईमा सावित्री, बिन्देश्वरी, राधा–४ र १२, मध्यपहाडमा खुमल–४, १०, ११ तथा उच्च पहाडमा चन्दननाथ आदि छन् ।

सन् १९५० मा नेपालमा १२ लाख ९५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्थ्यो भने त्यतिखेर धानको उत्पादन २४ लाख ६० हजार मेट्रिक टन थियो । नदीनाला, मलिलो माटो, मिलेको हावापानी भएको हुँदा नेपाल धानमा आत्मनिर्भर हुने सम्भावना धेरै छ । यद्यपि भन्नुपर्दा देशमा उत्पादन भएको चामल भारतबाहेक अरू देशहरूमा निकासी भएको आँकडा पाइँदैन । तर, मुलुकले नपुग हुने चामल भारतबाट आयात गरि नै रहेको छ । मुलुकको प्रमुख बालीका रूपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । मुलुकको अधिकांश क्षेत्र पहाडी भूभागका रूपमा रहेको नेपालको कुल क्षेत्रफल १ करोड ४७ लाख १८ हजार १ सय हेक्टर मध्ये केवल २१ प्रतिशत भू–भाग अर्थात् ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य र ६ हजारभन्दा बढी नदीनाला छन् । त्यस्तैगरी यो क्षेत्रफल कुल सिँचाइयोग्य जमिनको ७७ दशमलव ५१ प्रतिशत अर्थात् १३ लाख ६८ हजार ९ सय १४ हेक्टर भूमि सिञ्चित रहेको अनुमान छ । यसरी अधिकांश खेती गरिने क्षेत्रफलबाट अतिरिक्त उत्पादन नभई प्रतिएकाइ उत्पादन स्थिरतामै रहनु निश्चय पनि सोचनिय कुरो हो । यसको प्रमुख कारण कहिलेकाहीं मौसमको प्रतिकूलताले बढी ह्रास हुने गर्छ । तर, सिँचाइ सुविधा नभएर बाँझै राख्नुपर्ने स्थिति छ । बाँकी खेत आकाशे वर्षामा भर पर्नुपर्छ ।

हाल मनसुनको सुरुवात भइसकेकाले देशभर धान रोपाइँ गर्न थालिएको छ । अतः वर्षाले साथ दिँदै गएमा यस वर्ष धानबालीमा केही अंश सुधार हुन सक्ने अनुमान गरिएको छ ।

Source : http://np.karobardaily.com/2016/07/91167/730320.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s