दैनिक जीवनमा पानीको आवश्यकता

सन्दर्भ : २४औं विश्व पानी दिवस

दैनिक जीवनमा पानीको आवश्यकताविश्वनाथ खरेल,
पानी र मानवसभ्यताको विकासको गहिरो सम्बन्ध छ । भनिन्छ, संसारका प्रमुख नदी किनाराहरू मानवसभ्यताको विकासका केन्द्रविन्दु थिए । पानी सम्पूर्ण जीवजन्तु एवं वनस्पतिहरूका लागि नभई नहुने वस्तु हो । पानीविना कुनै पनि प्राणी बाँच्न सक्दैन । त्यसैले पानीको महत्व ठूलो छ । तर जिज्ञासा उठ्न सक्छ, पानी कस्तो पदार्थ हो ? र, यो केबाट बनेको हुन्छ ? दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिलेर बनेको एउटा कम्पाउन्ड हो पानी । त्यसकारणले गर्दा पानी मानव जीवनका लागि नभई नहुने एक महत्वपूर्ण तरल पदार्थ हो । जसरी पृथ्वीको ७० प्रतिशत भू–भाग पानीले ओगटेको छ, त्यसरी नै मानिसको शरीरमा पनि ७० प्रतिशतभन्दा बढी पानी रहेको अनुमान छ । स्वस्थ रहनका लागि एक व्यक्तिले दिनमा दुईदेखि तीन लिटरसम्म सफा पानी पिउनुपर्छ । जीवनको हरेक पक्षमा आवश्यक पर्ने स्वच्छ तथा सक्षम जनशक्तिको विकास र अन्ततः गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने न्यूनतम आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी क्षेत्रको विकासको लागि विगत योेजनाहरुदेखि नै प्राथमिकताक्रमको आधारमा कार्यक्रमहरु संचालन हँुदै आइरहेका छन् । प्रत्येक साल मार्च २२ तारिखका दिनलाई विश्व पानी दिवसको रुपमा मनाइँदै आएको छ । यस साल २४औं विश्व पानी दिवसको अवसरमा नेपालले भने स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउने उद्देश्यले यो दिवस प्रत्येक साल मनाइने गरिएको छ ।

जलसप्ताह आयोजक समितिले स्वच्छ पानीको महत्वका बारेमा सचेतना फैलाउँदै यसको दिगो व्यवस्थापकका लागि वकालत गर्नु र यसको चुनौती तथा फाइदाहरुका बारेमा सचेतना फैलाउने उद्देश्य रहेको बताइएको छ । स्वच्छ पानीको दिगो व्यवस्थापनको वकालत गर्न सन् १९९२ मा वातावरण र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनले सिफारिस गरेअनुसार सन् १९९३ देखि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइने गरेको छ । विश्वको कुल भागमध्ये १३ करोड ४ लाख ४० हजार वर्गमाइल पानीले ओगटेको अनुमान छ । विभिन्न देशमा खानेपानीको समस्या आ–आफ्नै किसिमले चर्कँदै गइरहेको छ । विश्वका प्रमुख सहरहरु र केही औद्योगिक राष्ट्रहरुको कहालीलाग्दो जनसंख्याको चाप र बढ्दो रुपमा रहेको सहरीकरणले गर्दा सम्पूर्ण मानव समुदायहरुलाई एकातिर फोहोरमैलाको सामना गर्नुपर्ने टड्कारो स्थिति विद्यमान छ भने अर्कोतिर पानीको आपूर्तिमा पनि दिन परदिन माग बढी रहेको छ । जसमा मानव तथा सम्पूर्ण चराचरलाई नभई नहुने जल नै हो । त्यस्तै गरी सन् २०१६ सम्म एसियाका हरेक उपभोक्ताले हालको भन्दा अधिक मात्रामा स्वच्छ जल उपलब्ध गर्नुपर्ने स्थिति सम्बन्धित विशेषज्ञहरुको भनाइ रहेको छ । यसै क्रममा वासिटनस्थित प्राकृतिक स्रोत संचयसम्बन्धी अनुसन्धान निकाय औडुवनले तयार गरेको एक कार्यपत्रमा पानीसम्बन्धी सही नीति कार्यान्वयन गर्न नसकिएमा विश्वले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । नेपाल पनि अपार जलस्रोतको भण्डारले भरीभराउ भएता पनि कृषि विकासलगायत पिउने पानीको समेत अभाव दिन प्रतिदिन बढ्दै छ । देशमा बग्ने ६ हजारभन्दा बढी खोलानालाबाट प्रतिवर्ष २७० अर्ब क्यू.मि. पानी बगेर विदेशिने गरेता पनि जनतालाई दैनिक पिउने पानीदेखि ६०–८० लाख हेक्टर भूमि सिँचाइ गर्न र ८३ हजार मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने सम्भावनालाई मूर्तरुप दिन सकिएको छैन । अतः देशमा विद्यमान साधन र स्रोतलाई सहीरुपमा परिचालन तथा संवद्र्धन गर्नसकेमा सबै पानीका उपभोक्ताहरुको मागमा सुधार हुने आशा राख्न सकिन्छ । हाल खानेपानीको समुचित वितरण अभाव, बढ्दो जनसंख्या र सहरीकरणको कारणले गर्दा जलको आपूर्तिमा समस्या झेल्नु परिरहेको सर्वविदितै छ ।

काठमाडौं उपत्यकामा खानेपानीको प्रमुख स्रोत नै जमिनमुनिको पानी रहेको जानकारी नेपाल खानेपानी संस्थानले दिएको छ । संस्थानको तथ्यांकअनुसार, ५० प्रतिशतभन्दा बढी पानीको स्रोत भूमिगत छ । सार्वजनिक ढुंगेधारा, इनार, कुवा र घरघरमा बनाइने ट्युबवेलको स्रोत पनि भूमिगत पानी नै हो । भूमिगत पानी सुकेमा उपत्यकामा खानेपानीको ठूलो समस्या हुने निश्चित छ । जाइकाले राखेको तथ्यांकअनुसार प्रत्येक वर्ष दुई दशमलव पाँच मिटर जमिनमुनिको पानी घट्दै गएको छ । अर्को एक सरकारी तथ्यांकअनुसार, जमिनमुनिको पानी नौदेखि ६८ मिटर तल झरेको छ । काठमाडौंमा मात्र प्रत्येक वर्ष १० हजार घर बनिरहेको अनुमान छ । यही हिसाबमा घर बनिरहेमा आगामी ३५ वर्षभित्र काठमाडौं महानगरपालिकाभित्रका सबै भूभाग घरैघरले ढाक्नेछ । केन्द्रीय तथ्यांक विभागका अनुसार, काठमाडौं जिल्लाको क्षेत्रफल तीन सय ९५ वर्गकिमि (३९ हजार पाँच सय हेक्टर) छ ।

राजधानीको मुख्य सहर काठमाडौंमा खानेपानीको समस्या झन् जटिल हुँदै गएको छ । यहाँको दैनिक खानेपानीको माग ३५ करोड लिटर आवश्यकता छ । यसरी प्रत्येक वर्ष मागमा दश प्रतिशतका हिसावले वृद्धि हुने कुरा उपत्यका खानेपानी लिमिटेडको छ । यहाँ वर्षायाममा १५ करोड लिटर भएता पनि १० करोड लिटरमात्र पानी आपूर्ति भएको कुरा सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । यसरी उपलब्ध गरिएको पानीमध्ये ६ करोड लिटर सतह स्रोतबाट र ४ करोड लिटर जमिनमुनिबाट निकालिएको छ । जसमा लगभग चालीस प्रतिशत चुहावटबाटै खेर गई सवा दुई करोड लिटर जति मात्र पर्न आउँछ । काठमाडौंमा रहेका रिजभ्र्यायरहरुको क्षमता सबैभन्दा बढी चाबहिल रिजभ्र्यायरहरुको क्षमता ८५ लाख लिटर, बालाजु ३६ लाख लिटर, बाँसबारी २० लाख लिटर, सुन्दरीघाट ८ लाख लिटर रहेको छ । काठमाडौंमा प्रत्येक वर्ष ४/५ हजार नयाँ धाराहरु थपिने गरेका छन् । यहाँका जनता कोट्कु र मेलम्ची आयोजनाहरुको प्रतीक्षामा नै लालायित रहेका छन् ।

समग्रमा भन्नुपर्दा सरकारले २०५५ सालदेखि नै मेलम्चीको पानी काठमाडौंमा ल्याउने योजना बनाए पनि स्पष्ट योजना बनाएर काम सुरु गरेको सात वर्षभन्दा बढी भयो । अघिल्ला केही वर्ष मेलम्ची खानेपानी आयोजनाले कागजी काम गरेर समय बिताए पनि अहिले भने भौतिक पूर्वाधारको काममा सक्रियतापूर्वक लागेको छ । तर, २०७३ वैशाखमै पानी आइपुग्न जुन अनुपातमा काम हुनुपथ्र्याे त्यो भने अझै भएको छैन । मेलम्चीको पानी काठमाडौं ल्याउन मेलम्चीदेखि सुन्दरीजलसम्मको अडिटसहित २७ दशमलव ५ किलोमिटर लामो सुरुङ खन्नुपर्छ । निर्धारित समयमै पानी ल्याउन दैनिक कम्तीमा ४० मिटर सुरुङ खन्ने काम गर्नुपर्ने भए पनि अहिले दैनिक २४/२५ मिटर मात्रै काम भएको छ । सुरुङ निर्माणका क्रममा दुईओटा क्षेत्रमा समस्या आएकाले पनि सुरुङ निर्माणकार्य ढिला भएको हो । यद्यपि, यो समस्या समाधान भएपछि भने दैनिक ३६ मिटरसम्म सुरुङ निर्माण गर्न सकिने सम्भावना छ । रक (चट्टान) को समस्या चाँडो समाधान गर्ने हो भने पनि चाँडो पानी आउने सम्भावना हुन्थ्यो । मेलम्चीको पानी आउला र निर्धक्कले पानी उपभोग गरौंला भनेर बसेका काठमाडौंबासी फेरि एकपटक निराश हुनुपर्ने अवस्था आएको छ । कारण, पूर्वघोषित समय २०७३ वैशाखमा मेलम्चीको पानी काठमाडौं आइपुग्ने सम्भावना लगभग क्षीण भएको छ । आयोजना निर्माणमा भएको सुस्त शैलीले समयमै पानी आउने सम्भावना टरेको हो । बाह्रै महिना सीमित खानेपानीमा चित्त बुझाउँदै आएका काठमाडौंबासीले अझै केही महिना त्यही सीमिततामा चित्त बुझाउनुपर्ने भएको छ । मेलम्चीको पानी आउने सम्भावना बढेपछि सहरका प्रत्येक टोलमा खानेपानीको नयाँ पाइप गाड्नेदेखि पुरानो पाइप मर्मतको कामसमेत एक चरण सकिएको छ । खानेपानी पाइम मर्मत र नयाँ पाइप बिछ्याएको हेरेका उपभोक्ताले अझै केही महिना त्यही पाइप हेरेर चित्त बुझाउनुपर्ने अवस्था बाँकी नै छ । राजधानीबासीले खानेपानीको समस्या भोगेको दशकौं भइसकेको छ । राजधानीमा जनघनत्व सानो हुँदा पानीको स्रोत जुन थियो, अहिले जनसंख्या बढेर ४० लाखको हाराहारी पुग्दा पनि स्रोतमा विकास हुन सकेको छैन ।

राजधानीमा बस्ती विस्तार द्रुतगतिमा भइरहेकाले अबका केही वर्षमा खानेपानीको समस्या अझै भयावह हुनेमा कुनै शंका छैन । राजधानीमा बढ्दो जनसंख्या र घट्दो पानीको स्रोतका कारण यहाँका बासिन्दा वर्षौंदेखि काकाकुल जीवन बाँचिरहेका छन् । खानेपानीको अभाव त छँदै छ, समग्रमा पानीको स्रोत नै सुक्दै गएकाले यहाँका बाग्मती, विष्णुमतीलगायत नदीमा पनि जलप्रवाह कम हुँदै गएकाले ती पवित्र नदी नाम मात्रैको बन्न पुगेका छन् । राजधानीबासीलाई खानेपानीको समस्या हल गर्न मेलम्ची खानेपानीको सोच ल्याएर योजना अगाडि बढाएको पनि करिब डेढ दशक भइसकेको छ तर अझै यो आयोजना कहिले सम्पन्न हुने भन्ने कुनै टुंगो लाग्न सकेको छैन । बहुप्रतीक्षिक मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणकार्य लक्ष्यभन्दा निकै कम गतिमा भइरहेकाले यो आयोजनाप्रति झन् निराशा छाउन थालेको छ । फेब्रुअरीबाट सुरुङ निर्माण सुरु गरेको इटालियन कम्पनी सिएमसीले सात महिनाको अवधिमा जम्मा साढे दुई किमि मात्र सुरुङ खनेको छ । आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार मासिक एक हजार २ सय मिटर सुरुङ खन्ने लक्ष्य भए पनि गत अगस्त महिनामा ३ सय ३० मिटर मात्र सुरुङ निर्माण भएको छ । तीन वर्षअगाडि चिनियाँ कम्पनीले खनेर छोडेको ६ किमिसहित हाल साढे ८ किमि सुरुङ मात्र खनिएको छ । मेलम्ची खोलाको पानी काठमाडौं ल्याउन २९ किमि सुरुङ खन्नुपर्ने हुन्छ । मेलम्ची आयोजनाका प्राविधिकका अनुसार इटालियन कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माणकार्य सम्पन्न गर्छु भनेको भए पनि अहिलेकै गतिमा काम हुने हो भने कम्तीमा अरू चार वर्ष लाग्ने अवस्था देखिएको छ । आयोजनाको सुरुङ निर्माणका लागि सुन्दरीजल, सिन्धु, ग्यालथुम र अम्बाथान अडिट समेतबाट ६ प्वाइन्टबाट सुरुङ निर्माणकार्य भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s