हिन्दु धर्म–संस्कृतिमा आमाको सम्झना

 

bishwonath-kharel

(विश्वनाथ खरेल) भोलि मातातीर्थ औंसी । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो राष्ट्रमा हरेक तिथिको आफ्नै प्रकारको मौलिक विशेषता देखिन्छ । हिन्दु धर्म र संस्कृतिअनुसार वैशाख कृष्ण औंसी तिथिलाई मातातीर्थ औंसी वा आमाको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । हाम्रो धर्मदर्शनले आमाबाबुलाई साथै गुरुलाई पनि स्वयम् तीर्थकै प्रतिरुप मानेको छ । यसमध्ये आमालाई गंगा नामक तीर्थ भनेको छ भने बाबुलाई पुष्कर तीर्थ र गुरुलाई केदारतीर्थ मानेको छ । त्यसकारण मातातीर्थ औंसी भनेको हरेक व्यक्तिको एक महत्वपूर्ण पर्व हो । यससम्बन्धी एउटा लोकोक्ति छ ।
धेरै वर्षअगाडि थानकोटनजिकै एउटा चौर थियो । त्यहाँ दिनदिनै एक बथान गोठालाले आफ्ना गाईवस्तु चराउने गर्दथे । एक दिन अचानक एकजना गोठालाले फ्याँकेको रोटीको टुक्राहरू बिलाएर गयो, त्यसले धेरै पटक रोटीका टुक्राहरू फ्याँक्दा पनि प्रत्येक पटक बिलाएर गएकोले त्यस कार्यको अनुशरण गरी अरु गोठालाहरूले पनि रोटीको टुक्रा फाले । तर त्यहाँ आमाको मृत्यु भइसकेका गोठालाहरूले फ्याँकेका रोटीका टुक्राहरू मात्र बिलाए र आमा जीवित रहेका गोठालाहरूले फ्याँकेका रोटीका टुक्राहरू बिलाएनन् । फेरि यस्तै प्रकारको घटना त्यही एक दिन मात्र भयो र भोलिपल्टदेखि भएन । किनभने त्यस दिन वैशाख कृष्णपक्ष औंसीको दिन थियो । त्यसकारण त्यस दिन र त्यस स्थानको महत्व बुझी त्यो ठाउँ वैशाख कृष्णपक्ष औंसीका दिन मृतआमाहरू आएर आ–आफ्ना छोराछोरीहरूको हातबाट प्रदान गरिएका खाद्यवस्तुहरू ग्रहण गर्न आउने ठाउँ रहेछ भनी विचार गर्न थालियो । अनि त्यसै स्थानमा एउटा कुण्ड बनाई मातातीर्थ नामकरण गरेर बर्सेनि मातृ दिवस मनाउन थालियो । सो कुण्डमा आफ्नै दिवंगत आमाको छाया पनि देख्न सकिन्छ भन्ने जनविश्वास रहेकाले प्रत्येक वर्ष मातातीर्थका दिन यहाँ घुइँचो लाग्छ । आमाको मुख हेर्ने दिनको रुपमा परिचित यस दिनमा आमा हुने छोराछोरीले आमालाई स्वादिष्ट व्यञ्जन, कपडा, सगुन उपहार दिई दर्शन गर्छन् भने आमा नहुनेले तर्पण, सिदादान दिई श्राद्ध गर्दछन् ।
आमाले हामीलाई यस धर्तीमा ल्याइन्, हुर्काइन्, पढाइन्, लेखाइन् र योग्य नागरिक बनाइन् । उनी भन्दा ठूलो तीर्थ हाम्रा लागि अरु केही हुन सक्दैन । सन्तानले जति दुःख दिए पनि उनी कहिल्यै कुभलो चाहन्नन् । हरबखत कुनै परबाह नराखीकन उनी निःस्वार्थभावले आफ्नो सन्तानको उद्धार मात्र चाहन्छिन्, भलाइ चाहन्छिन् । हाम्रो शास्त्रमा आमालाई राम्ररी खुशी पार्नेको सन्तानको समेत कल्याण हुने उल्लेख गरिएको पाइन्छ । त्यसै गरी आमा मरिसकेका छोराछोरीले चाहिँ आमाको सम्झनामा विभिन्न धार्मिक अनुष्ठानहरू गर्ने चलन छ । यस दिन आमा स्वर्गारोहण भइसकेका छोराछोरीहरू जन्म दिने आमाको सम्झना गर्दै तीर्थमा गएर स्नान, दान, श्राद्ध गर्ने गर्दछन् ।
यो पर्वसँग धार्मिक आस्था मात्र गाँसिएको नभई भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यही प्रेम, आस्था र श्रद्धालाई प्रत्येक व्यक्तिले आफ्नी आमाप्रति दर्शाउनुपर्छ । हाम्रो समाजले माता, पिता र गुरुलाई सम्मान गर्नकै लागि भए पनि वर्षको एक दिन पर्वकै रुपमा यी दिनहरूलाई अगाडि सारेर सोको गरिमा झन् बढाएको पाइन्छ । मातृऔंसी, कुशेऔंसी र गुरुपूर्णिमा यसका उदाहरण हुन् । यी दिनमा अर्थात् वर्षको एक दिन मात्र उनीहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्ने अनि बाँकी दिनमा कुनै वास्ता नगर्ने हो भने यी दिनको सार्थकता हुँदैन । गुरु, माता, पिता त सधैँ पूजनीय हुन्छन् । त्यसैले उनीहरूको सधैँ सेवा गर्नुपर्छ । यी पर्वहरू त केवल हाम्रा लागि मार्गदशक मात्र हुन् । यसबाट केही सिकेर सधैँभरि आमाबाबुलाई यस्तै व्यवहार गर्नुपर्छ भन्ने यस पर्वको वास्तविक उद्देश्य हो ।

 

Source : http://www.newsofnepal.com/?p=104200-730123.
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s