होलीको रौनकमा विकृतिको गन्ध

bishwonath-kharel

(विश्वनाथ खरेल) नेपाली समाजमा होलीपर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष आज चैत ९ गते परेको छ तर पूर्वको शुरुवात भने एक साताअघिदेखि हुने गर्दछ । उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागू उत्सवको उष्कर्ष फागू पूर्णिमा नै हो । सबै जाति, धर्म, संस्कृतिप्रेमीको यो चाड तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडमा पवित्र होली उत्सवले चिनिने फागू पर्वलाई ‘चिरदाह’ को रुपमा पनि लिइन्छ । असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रुपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ । विशेषगरी युवापुस्ताको लागि रंगिन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
यस पर्वमा भगवान्को भजन–कीर्तनका साथै नाचगान गरी एक–आपसमा अबिर दल्दै, आमोदप्रमोद गर्दै, हाँसखेल, ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ । यस पर्वलाई अनुशासितरुपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदबन्दी छैन । त्यस्तै राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बडो उल्लासमय वातावरणमा रम्ने गर्दछन् । खासगरी युवायुवतीहरू बढो जाँगरका साथ यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन् ।
फागूपूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने, विभिन्न धार्मिक कथाहरू भेटिन्छन्, जसको कारणले होली पर्व चलेको छ । प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए । बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । बाबुले आफ्नो छोरालाई विभिन्न कोशिश गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती छ ।
फागू पूर्णिमाको एक हप्ताअगाडिदेखि नै आफ्नो कार्यालय, स्कुल, क्याम्पसका साथी एवम् बाटो हिँड्ने व्यक्तिहरूलाई जथाभावी रंगाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भैसकेका छन् । यस्तै किसिमको सामान्य घटनाले उग्र रुप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । रंग उत्सवको खुशीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरुपमा मनाउनु मूर्खता हो । विभिन्न किसिमका रसायन मिसाइएको रंग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्नेजस्ता निन्दित एवम् घृणित कार्य हुने गरेको पाइन्छ । यस्तै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भाङ, गाँजा, रक्सी खाने र विभिन्न प्रकारका रंगका पुरिया राखेर मोटरसाइकलमा सार्वजनिक स्थलमा गई जथाभावी रंग दल्ने गरेको पनि देखिन्छ । शहरका युवकहरू र विदेशी पर्यटकलाई समेत रंगले विरुप पारिदिन्छन् । होलीको नाममा यस्ता उच्छृंखल गतिविधि दिन–प्रतिदिन बढ्दै गएको छ । विडम्बना, हाम्रा महान् पर्व हिजोआज विकृतिमा परिणत भएका छन् ।
अन्त्यमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागू वा होली पनि एउटा विशेष महत्वको चाड हो । फाल्गुण शुक्ल अष्टमीका दिन चीर गाडी शुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक–आपसमा अबिर दलादल गर्ने र मीठा–मीठा पक्वान्नहरू खाने चलन छ । वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू–आफूमा मात्र खेल्यौं भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल, भारतलगायत अन्य केही मुलुकमा पनि रमाइलो गरी मनाउने गरिन्छ । हाम्रो संस्कृति, सभ्यता, परम्पराअनुसार वर्षभरि नै कुनै न कुनै पर्व पर्ने गर्दछ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरुपले निरोगी हुनु हो ।
जुन विशुद्ध उद्देश्यबाट हेली पर्व परापूर्वकालदेखि शुरु भयो, सो अनुरुप हाल व्यवहारमा देखा पर्न सकिरहेको छैन । धर्म मान्ने र पर्व मनाउने क्रममा विदेशी तडकभडक र छाडा संस्कृति भित्र्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्वको खुसीयाली मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ । यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कदम चाल्नुपर्दछ । यसले गर्दा हाम्रो धर्म–संस्कृतिमा सृजित विकृतिको अन्त्य हुन जान्छ । नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको संस्कृति, संस्कार, सभ्यता, परम्परा एवम् रीतिरिवाजलाई विकृतिले जरो गाडी यसको अस्तित्व नै संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न ।

Published Date: March 23, 2016

Source : http://www.newsofnepal.com/?p=102321/721210.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s