प्रमुख समाचार सरकार ! कसरी बन्छ दुई लाखमा घर ?

मापदण्डअनुसार घर बनाउँदा जग हाल्नै पुग्दैन सरकारी अनुदान

ध्रुव लम्साल / राजधानी
काठमाडौं, २ चैत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आइतबारदेखि दोलखाको उत्तरी केन्द्र सिंगटी बजारबाट भूकम्पपीडितका घर बनाउन अनुदान रकम वितरण थालेको छ । सरकारले घोषणा गरेको २ लाख रुपैयाँमध्ये पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ दोलखाकै लादुक गाविस–८ र लामिडाँडा गाविस–६ का लगभग १ हजार ५ सय भूकम्पपीडितले पाउनेछन् । बाँकी रकम क्रमशः वितरण गरिने प्राधिकरणको भनाइ छ ।

सरकारले दोलखाबाट अनुदान वितरण थालेपछि राम्रै घर बन्ने आशामा हर्षित भइयो भने पछुतोमा पनि पर्नुहुन्छ । सरकारले तोकेको मापदण्डअनुरूप घर बनाउने हो भने २ लाख रुपैयाँले जग हाल्न पनि पुग्दैन । सरकारी अनुदानमा घर बनाउनेले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नियम पालना गर्नैपर्छ । प्राधिकरणले बनाएको नियमअनुसार एउटा सामान्य घर बनाउन पाँच फिट गहिरो जग खन्नुपर्छ भने १२÷१२ इन्चको पिल्लर ठड्याउनुपर्छ । १२ इन्चभन्दा कमको पिल्लर राखेर बनाएको घरको नक्सा नगरपालिकाले पास गर्नै पाउँदैन । गाउँको एउटा सामान्य चारकोठे घर बनाउ“दा पनि कम्तीमा ११ वटा पिल्लर अनिवार्य राख्नुपर्छ ।

भूकम्पप्रतिरोधी घर निर्माणका लागि तालिमप्राप्त प्राविधिक सुकुमान शाक्यका अनुसार जगसम्म मात्रै (डीपीसी) को कुरा गर्ने हो भने एउटा पिल्लरका लागि (हात्तीपाइलेसहित) १२ बोरा सिमेन्ट, ३६ बोरा बालुवा र ३६ बोरा गिटी चाहिन्छ । बजार मूल्यअनुसार सिमेन्ट, बालुवा र गिटीका लागि २० हजार खर्च गर्नुपर्छ । शाक्यका अनुसार १६ एमएमको दुईवटा, १२ एमएमको तीनवटा रड र ८ एमएमको ३० किलो रड (चुरी) अनिवार्य हुन्छ । हालको बजार मुल्यअनुसार एउटा पिल्लर निर्माणका लागि रडमा मात्रै ८ हजार लगानी गर्नुपर्छ ।

त्यसमा स्थानअनुसार ढुवानी खर्च थप तिर्नुपर्छ । ‘चार कोठाकै घरमा टाइबिमका लागि सिमेन्ट, रड, गिटी, बालुवा गरेर कम्तीमा १ लाख ३० हजार खर्च गर्नुपर्ने हुन्छ,’ प्राविधिक शाक्य भन्छन्, ‘टाइबिम बनाउन मात्रै कम्तीमा पाँच कामदार आवश्यक पर्छ ।’

एउटा पिल्लर बनाउन मात्र कम्तीमा २० जना कामदार आवश्यक पर्ने र एक जनाले एक दिनको १ हजार रुपैयाँ पारिश्रमिकमा काम गरे भने पनि २० हजार ज्याला लाग्ने अर्का प्राविधिक नवराज नेपालीको भनाइ छ ।

अब हिसाब गरौं, ११ वटा पिल्लरको । एउटा पिल्लरका लागि ४८ हजार खर्च हुन्छ भने ११ वटा पिल्लर बनाउँदा ५ लाख २८ हजार खर्च हुन्छ । यसमा टाइबिम खर्च जोड्दा लागत ६ लाख ५८ हजार पुग्छ । रड, सिमेन्ट, गिटी र बालुवा भएर मात्रै घर निर्माण हुँदैन । घरमा झ्याल, ढोका, इँटा वा ढुंगा अनिवार्य राख्नैपर्छ । त्यसका लागि सिमेन्ट, बालुवा र रोडा उत्ति नै आवश्यक पर्छ । बिजुली पुगेको ठाउँमा वायरिङ खर्च छुट्टै लाग्छ भने शौचालय, बाथरुम निर्माण र रंगरोगन खर्च थप गर्नुपर्छ ।

जग बनाइसकेपछि एक तला मात्र बनाउन कम्तीमा काम गर्ने समयका हिसाबले २ सय कामदार चाहिन्छ । कामदारको औसत ज्याला दिनको ८ सय रुपैयाँ हिसाब गर्ने हो भने १ लाख ६० हजार रुपैयाँ हुन्छ ।

यी सबै हिसाब गर्दा एकतले पक्की घर बनाउन १० लाखले पनि नपुग्न सक्छ, त्यो पनि छानामा फलामको डण्डी वा स्थानीय काठ र जस्ता लगाउँदा । प्राविधिक नेपाली भन्छन्, ‘यदि ढलान गर्ने हो ढलानका लागि थप २ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ ।सरकारले दिएको अनुदानले घर निर्माणको प्रारम्भिक आवश्यकता त धान्दैन नै, यो रकमअनुसार काम गर्दा मापदण्डअनुसारको घरसमेत बन्दैन । प्राधिकरणका अनुसार सरकारले तोकेको मापदण्डअनुसार घर बनाइदिने दक्ष जनशक्तिसमेत छैनन् ।

पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सुरेश अधिकारी भूकम्पप्रतिरोधी घर निर्माणका लागि नेपालमा दक्ष प्राविधिक अपुग भएको स्विकार्छन् । सरकारी तथ्यांकलाई नै आधार मान्ने हो भने पनि भूकम्पपछि ५ लाखभन्दा बढी घर निर्माण गर्नुपर्ने भएको छ । तर, ती घर निर्माणका लागि आवश्यक प्राविधिक छैनन् । प्रवक्ता अधिकारी भन्छन्, ‘एउटा घर बनाउन कति कामदार आवश्यक हुन्छ ? प्राधिकरणलाई राम्रो जानकारी छैन ।’

प्रकाशित मिति: २०१६-०३-१६ ०५:४४ | ९९ पटक हेरिएको

Source : http://www.rajdhani.com.np/article/0096628001458086383/721203.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s