कृषिउपजका लागि बजारको माग

bishwonath-kharel

(विश्वनाथ खरेल) सामान्य अर्थमा बजार भन्नाले त्यस्तो ठाउँ हो जहाँ वस्तु वा सेवाहरूको खरिद–बिक्री हुने गर्दछ । बजारको परिभाषाले त्यस्तो स्थान भन्ने जनाउँछ जहाँ क्रेता र विक्रेताले एक–अर्कालाई भेटेर वस्तु वा सेवाको खरिद–बिक्री गर्दछन् र स्वामित्वको हस्तान्तरण गर्दछन् । बजारले वस्तु तथा सेवाको विनिमय गर्ने, वस्तु तथा सेवा संग्रह गर्ने, उपभोक्ताका लागि थरी–थरीका वस्तु सजिलै उपलब्ध गराउने, खाद्यपदार्थको गुणस्तरमा सुधार गर्ने र उत्पादनपछि हुने क्षतिमा न्यूनीकरण गर्नेजस्ता कार्यहरू गर्दछ । व्यावसायिक कृषि उत्पादन वृद्धि गर्न कृषि बजारको अहम् भूमिका रहेको हुन्छ । कृषि बजार सञ्चालनका लागि कृषि बजारसित सम्बन्धित बजारका पूर्वाधारहरूको निर्माण हुनु पनि त्यत्तिकै आवश्यक हुन्छ । हाम्रो जस्तो देशमा सातौं पञ्चवर्षीय योजनासम्म कृषिक्षेत्रको उत्पादनमा मात्रै विशेष जोड दिइयो भने यसको बजार विकासको क्षेत्रलाई गौणरुपमा हेरियो, जसको कारण आज विभिन्न फलफूल तथा तरकारी पकेट क्षेत्रहरू जस्तै– मुस्ताङ, जुम्ला, डोल्पा आदि ठाउँका स्याउ उत्पादक कृषकहरू बजार पूर्वाधारको कमीले गर्दा आफूले लगाएका फलफूलका बिरुवाहरू नष्ट गर्नसमेत पुगेका छन् । त्यसरी नै खाद्य तथा कृषि संगठनको परिभाषाअनुसार बजार सूचना प्रायः सरकारी क्षेत्रबाट सञ्चालित सेवा हो । जसमा नियमित रुपमा मूल्यसम्बन्धी जानकारी र केही हदसम्म उल्लेख्यरुपमा ग्रामीण संकलन केन्द्र, थोक बजार तथा खुद्रा बजारहरूबाट कारोबार भएका वस्तुको परिमाण नियमितरुपमा संकलन गर्ने तथा यी सूचनाहरूलाई विभिन्न सञ्चारमाध्यमद्वारा कृषक, व्यापारी, सरकारी निकायहरू, नीति निर्माता र अन्य क्षेत्रलाई समयमै नियमितरुपमा पठाउने कार्यहरू समावेश हुन्छन् ।
कृषि बजार प्रणालीमा समयानुकूल परिवर्तन गर्नका लागि उपर्युक्त विषय र समस्यालाई उचित प्रकारले सम्बोधन र समाधान गरिनुपर्दछ । बजार प्रणालीमा गरिने यस प्रकारको सुधारले उपभोक्ताको हितका साथै उचित मूल्यमा वस्तुको निमित आपूर्तिलाई समेत सुनिश्चित गर्दछ । यसबाट व्यावसायिक कृषि उत्पादनमा संलग्न किसानले आफ्नै उत्पादनको उचित मूल्य पाउनुका साथै बजारको सुनिश्चितताले गर्दा उत्पादन वृद्धिमा समेत निरन्तरता रहने गर्दछ । यसर्थ कृषि बजार सेवाले व्यवस्थित बजार क्रियाकलापहरू एवम् सेवाहरूलाई जनाउँछ । बजर सेवाभित्र कुनै वस्तु वा उपजको उत्पादन स्थलदेखि उपभोक्तासम्म पुग्ने क्रियाकलापका साथै बजारको लागि आवश्यक सूचना उपलब्ध गराउने कार्यहरूसमेत पर्दछन् । यसै गरी व्यावसायिक कृषि उत्पादनका साथसाथै कृषिउपज बजार पूर्वाधार निर्माणसम्बन्धी माग पनि दिन–प्रतिदिन बढ्ने क्रममा रहेको छ । तर बजार पूर्वाधारका लागि नेपाल सरकारबाट स्वीकृत मापदण्डविनाका बजारहरू अव्यवस्थितरुपले सञ्चालन भएका पाइन्छन् । यस्ता बजारहरू दीर्घकालसम्म सञ्चालनमा समेत आउन सकेका छैनन् ।
व्यवस्थितरुपमा सञ्चालन भएका कृषि बजारहरूले किसान तथा उपभोक्तालाई दीर्घकालसम्म सेवा पुर्याएको पाइन्छ । व्यवस्थित बजारमा उत्पादन योजना, बाली लिने, केलाउने, किसान थलोबाट ढुवानी गर्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ साधनको खोजी, ओसारपसार, भण्डारण, प्रशोधन तथा क्रेतासँग सम्पर्क, बजारको खोजी, बिक्री वितरण, उत्पादनस्थल र बजारबीच दोहोरो पारदर्शी बजार सूचना आदानप्रदान गर्ने आदि कार्यहरू पर्दछन् ।
जबसम्म कृषिको चौतर्फी विकास हुन सक्दैन तबसम्म देशको भाग्यरेखा कोरिन नसक्ने कुरामा कसैको पनि दुईमत हुन सक्दैन । यसको लागि कृषकले फसल उत्पादन गरेर मात्र हुँदैन, बजारको पनि सोही रुपमा व्यवस्था हुनु आवश्यक छ । त्यसका लागि किसानले बजार सूचनाका आधारमा नै आफ्ना उपजको बढी मूल्य पाउन सक्छन् । यस्ता बजार सूचनाहरू कृषि प्रसार कार्यकर्ता, गैरसरकारी संस्था, योजना अधिकृतलगायतका व्यक्तिले किसानलाई उपलब्ध गराई सघाउ पुर्याउन सक्छन् । यस्ता सूचना पाएर कृषकले थोक बजारमा लगेर बिक्री गर्दा उचित फाइदा लिन सकिन्छ भन्ने विषयमा सोच्न सक्छन् । किसानको व्यापारीसँग मोलमोलाइ गर्ने क्षमता यस्ता बजार सूचनामा भर पर्दछ । विशेषतः थोक बजार, हाटबजार, संकलन केन्द्रमा धेरै व्यापारी जम्मा भए भने मोलमोलाइ धेरै गर्न सकिने सम्भावना रहन्छ ।
स्थानीय संकलन केन्द्र वा हाटबजारमा किनिएका कृषि उपजहरूको मूल्य उपभोक्तासँग धेरै तह पार गरेर आउनुपर्दा बढी हुने गर्दछ । यसमा किसानले आफूले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच जे–जति फरक छ, त्यसबारे पनि जानकारी लिएर उचित निर्णय लिन सक्छन् । बजार सूचना दिने बजार प्रसार कार्यकर्ता⁄संस्था⁄व्यक्तिले किसानलाई कुरा बुझाउन सक्नुपर्दछ । यदि टाढाको बजारमा मूल्य रु. १५ छ र स्थानीय संकलन केन्द्रमा किसानले रु. १० पाउँछ भने त्यसबीचको मूल्य अन्तरलाई केलाएर ठीक–बेठिक छुट्याउनुपर्दछ । यसर्थ कृषि बजार योजना तयार गरी उत्पादन गरेमा निश्चय पनि आफ्नो उत्पादनबाट चाहेजस्तो फाइदा लिन सकिन्छ । आज विकसित देशहरूले कम लगानी तथा कम श्रम गरेर कृषिक्षेत्रबाट अधिकभन्दा अधिक फाइदा लिएको हामी पाउँछौं । जबकि हाम्रो जस्तो अविकसित मुलुकले बढी लगानी र बढी श्रम खर्च गरेर पनि नगन्यरुपमा नाफा लिएको हुन्छ । यो कृषि बजार योजनाको अभावले गर्दा नै हो भन्नुमा अत्युक्ति नहोला ।

Published Date: March 16, 2016

Source : http://www.newsofnepal.com/?p=102076/721203.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s