जुनार खेतीको बढ्दो सम्भावना

विश्वनाथ खरेल,
हाम्रो मुलुक कृषिप्रधान देश हो । यहाँको कुल जनसंख्याको ६५ दशमलव ७ प्रतिशत जनसंख्या कृषि पेशामा निर्भर रहँदै आएका छन् । देशको कुल गार्हस्थ उत्पादनमा करिब एक तिहाइ योगदान कृषिक्षेत्रको रहेको छ । राष्ट्रको भौगोलिक विविधताका कारण विभिन्न प्रकारका बालीहरुको उत्पादन सम्भव रहेको छ । यस परिपे्रक्ष्यमा खाद्यान्न बाली, बागवानीजन्य फलफूल, नगदे बाली, मसला बाली मुख्य रुपमा रहिआएका छन् । यस्ता बालीहरुको उत्पादनबाट आम्दानी बढाउन, खाद्यसुरक्षाको स्थिति सुदृढ पार्न, कृषिजन्य प्रशोधन उद्योगहरुको विस्तारका साथै रोजगारीका अवसरहरु वृद्धि गर्न सहयोगी भूमिका निर्वाह हुने गरेको पाइन्छ । साथै मानिसलाई स्वस्थ जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने विभिन्न कृषि उपजहरुमध्ये फलफूलले अति नै महत्वपूर्ण स्थान राख्दछ । फलफूल बाली नेपालको सबै क्षेत्रमा उत्पादन गर्न सम्भव मानिएको छ । मुलुकमा उत्पादित बालीहरुमध्ये फलफूल महत्वपूर्ण बाली हो । देशको भौगोलिक विविधता एवं उत्पादनको दृष्टिकोणले उच्च पहाड, पहाड र तराईको भू–भागको आ–आफ्नै  विशेषता कारण एकै वर्षमा विभिन्न बालीहरु उत्पादन गर्न सम्भव तुल्याएको छ ।

मुलुकमा उत्पादन हुँदै आएका फलफूलहरुमा स्याउ, सुन्तला, आँप, लिची, केरा, मेवा, कागती, जुनार, आरु, आरुवखडा, ओखर नरिवल, नास्पाती प्रमुख छन् । यी फलफूलहरु देशको आवश्यकताअनुसार आपूर्ति गर्न आयात प्रतिस्थापन गर्न र कृषकहरुको आम्दानी बढाउन सहायकसिद्ध भएका छन् । फलफूलको बिक्रीबाट तुरुन्तै नगद प्राप्त हुने भएकाले यसतर्फ कृषकहरु आकर्षित भएका छन् । यसमध्ये रामेछाप जिल्ला जुनार उत्पादनको दृष्टिले नेपालकै पहिलो जिल्लामा पर्दछ । जुनारको खेती समुद्री सतहबाट ६ सय ५० देखि १ हजार ४ सय मिटरको उचाइमा पाइने नेपालको पहाडी भू–भागको करिब ४७ जिल्लामा फल्ने अमिलो जातको फलफूलमा पर्ने तर सुन्तलाभन्दा फरक र गुलियो जातको ठूलो दाना भएको फल हो । मुलुकलाई सरसर्ति हेर्दा व्यापक रुपमा जुनारखेती गरिने पूर्वाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी रामेछाप र सिन्धुली जिल्लामा पर्न आउँदछन् ।

रामेछाप जिल्लामा खेती गरिने प्रमुख बालीहरुमा धान, मकै, कोदो, गहुँ, जौ रहेका छन् । मुलुकमा उत्पादन हुने विभिन्न प्रकारका अल्पउपभोग्य फलफूलहरुमा जुनार पनि एक हो । रामेछाप जिल्लाको सालु गाविस वडा नं. ३ का श्री शिवलाल अधिकारीले वि.सं.२०१७ सालमा १८ वटा विरुवाबाट सुरु गरेको जुनारखेतीले अहिले व्यापकता पाएको छ । जुनारको बिरुवा लगाइसकेपछि फल लाग्न लामो समय कुर्नुपर्ने भएकाले पनि जुनार उत्पादनमा चाहे जति प्रगति हुन नसक्दा यो फल अल्प उपभोग्य फलको रुपमा रहिरहेको थियो । वि.सं. २०२५ मा जुनार कृषक श्री शिवलाल अधिकारीले बिरुवाबाट दाना उत्पादन गर्न थालेपछि तिनै दानाबाट बिरुवा उत्पादन गरी तिनै दाना गाउँभर वितरण गरेका थिए । जुनारको बोट वेर्ना विकास गर्न उनी सर्वप्रथम सफल भएका थिए । अगुवा कृषक तिनै अधिकारीका छोरा मदन अधिकारीले वि.सं. २०३५ सालमा जुनार बिरुवाको नर्सरी तयार गरी जिल्लाभर विस्तार गरेको बताउँछन् । त्यस्तै गरी माटोमा सुन फलाउन सकिने आत्मविश्वासका साथ व्यावसायिक रुपमा जुनारखेतीमा लागेका गेहेन्द्र बहादुर थापालाई रामेछाप जिल्लामा जुनारका पिता भनेर पनि चिनिन्छ । विशेषगरी रामेछाप र सिन्धुली जिल्लाहरुमा धेरै पहिलेदेखि नै जुनारको व्यावसायिक रुपमा उत्पादन हुने र यसलाई फलको रुपमा सिधै खाने चलन अधिक मात्रामा रहेको पाइन्छ । सुन्तलाभन्दा जुनारमा पौष्टिकतत्व बढी हुन्छ । यसैले जुनारलाई फलको रुपमा बढी उपभोग गरिने र प्रशोधन गरी उपभोग कम गरिने चलन छ । भिटामिन सीको मात्रा प्रचुर मात्रामा भएकोले यो फल खानमा गुलियो स्वादको छ । गुलियो स्वादकै कारण यसको प्रयोग तथा प्रशोधन गरी चिसो पेयपदार्थको रुपमा सर्वत, जाम, जेली, मार्मलेट, चाना (प्रशोधित) र जुनार धुलो (पाउडर) आदिको रुपमा काठमाडौंलगायत देशका अन्य विभिन्न सहरहरुमा समेत उल्लेखनीय रुपमा बिक्रीवितरण भइरहेको छ । धेरैजसोले यो फलको बोक्रा सुन्तलाको तुलनामा बाक्लो भएकाले छोडाएर खान रुचाउँदैन भने पाकेको जुनारको रस निचोरी सर्वत बनाई पिउने चलन बढ्दै गएको छ ।

समग्रमा भन्नुपर्दा जुनार पनि अमिलो जातको फलफूलमा पर्न आउँदछ । बीपी, मध्यपहाडीजस्ता ठूला राजमार्ग निर्माणसँगै जुनारको महत्व बढेको छ । देशका विभिन्न ठूला तथा साना सहरलगायत विदेशमा समेत यहाँको जुनार निर्यात हुन थालेको छ । जुनार भारत–चीनलगायत देशमा निर्यात हुन थालेपछि यसको महत्व बढेको हो । यसको विदेश निर्यात सम्भावना भएपछि बाह्रैमास ताजा राख्न जिल्लामा फलफूल प्रशोधन उद्योग नेपालमै पहिलोपटक बनेको छ । निर्माण सम्पन्न हुनै लागेको उद्योगले यसै वर्षदेखि जुनार खरिद गर्ने जुनार केन्द्रीय विकास संघ अध्यक्ष तथा उद्योग सञ्चालक समितिका दीपक कोइरालाले जनाए । ३३ जुनार सहकारी संघमार्फत संकलन गरी जुनारलाई उद्योगसम्म ल्याउने तयारी छ । सरकारको २ करोड ५० लाख, विभिन्न उद्योग व्यवसायीबाट १ करोड २५ लाख, जुनार केन्द्रीय सहकारी संघअन्तर्गत जुनार किसानबाट १ करोड २५ लाख र अन्य निकायबाट रकम जम्मा गरी ७ करोड रुपैयाँको लगानीमा जुस उद्योग खोल्ने तयारी छ । उद्योग खुलेपछि ३ हजार १ सय ८५ किसान परिवार प्रत्यक्ष लाभान्वित हुने छन् । जुनारखेती विस्तारका लागि जापान सरकारले आर्थिक वर्ष २०३८/०३९ मा सहयोगको हात बढाएको थियो । उक्त सहयोगले जुनार उत्पादन गर्न बोट वेर्नाबाट रोपेको ३/४ वर्षपश्चात् फल दिने र हरेक वर्ष एउटा रुखबाट ४ सयदेखि ६ सय किलोसम्म जुनार फल लिन सकिएको थियो । एक रोपनी क्षेत्रफलमा ४० वटा जुनारको बोट लगाउन सकिन्छ । साथै सुन्तलालाई भन्दा असिनाले जुनारलाई बोक्रा बाक्लो भएको कारणले खासै नोक्सानी नपु¥याउने र स्वाद गुलियो हुने यस फलबाट विभिन्न परिकारहरु तयार गर्न सकिने भएकाले यसको महत्व दिनानुदिन बढ्दै गएको छ । समयानुसार बजारहरुमा यसको उपभोग विस्तारै बढ्न गई यसको माग पनि बढ्न थालेको छ । सुन्तला जातका फलफूल यहाँ बढी उत्पादनको सम्भावना छ । जुनार सिन्धुलीमा मात्र नभई अन्य जिल्लामा पनि थोरै मात्रामा उत्पादन हुन्छ ।

तर, सिन्धुलीमा फल्ने जुनार फरक विशेषतायुक्त छ । जुनारको दाना पहेंलो मात्र होइन, अन्य स्थानको तुलनामा बढी रसिलो र गुलियो छ भनिन्छ । वर्षको ४ महिना बगैंचामा पसिना बगाउँदा लाखौं रुपैयाँ आम्दानी गर्न सकिने भएपछि जुनार खेतीमा किसान आकर्षित छन् । बर्सेनि करिब ८ लाख रुपैयाँ आम्दानी गर्ने रतनचुराका किसान योगेन्द्र थापा जुनार बगंैचामा पसिना बगाँउदा छुट्टै आनन्द आउने बताउँछन् । २०३६ सालमा जुनारको व्यावसायिक खेती सुरु भएको इतिहास छ । सुरुमा यसको खेतीबाट किसान निराश थिए । सहज बजार पु-याउन नसकिने र डोकोमा बोकेर बजार पु¥याउँदा पनि राम्रो मूल्य नपाउने भएपछि किसानले उत्पादन गरेको जुनार बोटमै कुहिन्थ्यो । तर, जुनारले सिजन नै नभई राम्रो आम्दानी दिन थालेपछि यसको व्यावसायिक खेती गर्ने किसान थपिँदै छन् । पकेट क्षेत्रका रूपमा चिनिएका गाविसबाट वर्षमा ५ करोड रुपैयाँभन्दा बढीको जुनार बिक्री हुने गरेको सिन्धुलीस्थित जुनार विकास संघले जनाएको छ । संघका अनुसार जुनारबाट जिल्लामा बर्सेनि २५ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ ।

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीमा यस वर्ष जुनारबाट २२ करोड भित्रिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । गत वर्ष जुनारबाट २६ करोड भित्रिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए । उनका अनुसार यस वर्ष ८ हजार ४ सय मे. टन जुनार उत्पादन भएको छ । १२ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिए पनि ७ सय हेक्टरमा राम्रोसँग जुनार फल्ने गरेको अधिकारीले बताए । उत्पादन भएको जुनारमध्ये २० देखि २५ प्रतिशत जुनार कोशेली र खानको लागि प्रयोग भएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको कारोबार कम देखिएको उनले जानकारी दिए । सिन्धुलीको जुनार सहकारी संघमार्फत जुनार चीनसम्म पुग्ने गरेको छ । छिमेकी देश चीनमा सिन्धुलीको जुनार तीन सय रुपैयाँ केजीले बिक्रीवितरण हुने गरेको जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष कृष्णप्रसाद गौतमले बताए । पछिल्लो समयमा सिन्धुलीमा जुनारखेती गर्ने किसानहरुको संख्या बढ्दै गएको छ । जिल्लामा तीन हजार चार सय बेरोजगार समुदायले जुनारखेतीमा रोजगारी पाएका कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लाको ४५ गाविसमा जुनार खेती हुने गरेको भए पनि हालसम्म व्यावसायिक खेती भने आधा दर्जन गाविसमा मात्र भइरहेको छ । जुनार विकास संघ, सिन्धुली उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको पहलमा आगामी वर्षदेखि ४५ गाविसमै जुनारको व्यवसायीकरण गरिने जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपकप्रसाद कोइरालाले बताए । सिन्धुलीका किसानहरुले ४ महिना दुःख गरेर लाखौँ आम्दानी गर्ने गरेका छन् । किसानहरुको लागि जुनार व्यवसाय आम्दानीको दरिलो माध्यम बन्दै गएको छ । पहिला सडक सञ्जाल र बजारको अभाव हुँदा जुनारखेतीबाट आम्दानी लिन नसकेका किसानले सडकको पहुँचसँगै हाल छिमेकी देश चीन–भारतसम्म जुनार निर्यात गर्ने गरेका छन् । रतनचुरा, जलकन्या, तीनकन्या, मझुवा, वाशेश्वर, भुवनेश्वरी र वितिजोर गरी सातवटा गाविसहरुलाई जुनार पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

Source : http://www.aarthikdainik.com.np/news_details/14985/.html -721128.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s