नाकाबन्दी र तराई बन्दको मारमा कृषिक्षेत्र

 

विश्वनाथ खरेल ,
नेपाल कृषिप्रधान देश हो । पौने तीन करोड नेपालीले पेटभरि खाएर निकासीसमेत गर्ने गरी कृषि उत्पादन गर्न सकिने खेतीयोग्य जमिनको नेपालमा अभाव भएको होइन । केवल यस क्षेत्रलाई अपेक्षित रूपमा उजागर गर्न सकिने सोच र कार्यान्वयनको प्रतिबद्धताको अभावमात्रै देखिएको हो । धेरै वर्ष पहिले हामीले २० वर्षे दीर्घकालीन कृषि योजना लागू गरेका थियो तर त्यसलाई बीचैमा रोक्नुपर्ने स्थिति पनि आयो । हाल पुनः अर्को २० वर्षे कृषि विकास रणनीति तयार भएको छ । तर सोअनुसार काम गर्ने प्रतिबद्धता कहीँ–कतै देखिँदैन । यसको कार्यान्वयनमा स्वतन्त्र आयोग गठन गर्नेसम्मको प्रस्ताव भए पनि हामीले यसतर्फ आफूलाई गम्भीर बनाउन सकेका छैनौं । देशमा रहेका करिब ६ हजार खोलानालालाई थोरैमात्रै व्यवस्थापन गरेमा पनि सबै खेतीयोग्य जमिनमा सजिलै सिँचाइ सुविधा पु¥याउन सक्छौं । एउटा सय मेगावाटको जलविद्युत् आयोजना र रासायनिक मल कारखानालाई संयुक्त रूपमा सञ्चालन गर्नसके कृषिक्षेत्रमा क्रान्ति ल्याउन सकिन्छ ।

हुन त नेपालमा प्रांगारिक मल कारखाना र अर्गानिक खेतीको पूर्ण सम्भावना छ । यसका लागि चक्र प्रणालीमा खेती गर्नुपर्छ । हामीलाई आवश्यक पर्ने धान, मकै, गहुँजस्ता खाद्यान्न विदेशबाट आयात हुनु कृषिप्रधान देशका लागि लाजमर्दो कुरा हो । सामान्यतः नेपालमा वर्षमा एक बाली वा अधिकतम दुई बाली भित्र्याउने चलन छ । यसलाई सजिलै तीन बाली भित्र्याउने गरी स्तरोन्नति गर्न सकिन्छ । छिटो बाली भित्रिने, बढी उत्पादन हुने, कम किरा लाग्ने जातिको बीउ र बिरुवा संसारभर नै उपलब्ध छ । धेरै मानिसले चिकित्सा र इन्जिनियरिङका क्षेत्रमा लाखौं खर्च गरेर अध्ययन गरेर बेरोजगार भए भनिरहँदा नेपालमा धेरै मानिस कृषि विज्ञान अध्ययन संस्थानबाट अध्ययन गरी उपयोगहीन भए भन्ने सुनिएको छैन । बरु ती नेपालमा प्रयोग हुने अवसर नपाएर ‘ब्रेन ड्रेन’ भई पलायन भए भन्ने सुनिएको छ । यसर्थ लोकसेवा आयोगको खरिदार, नायब सुब्बा र शाखा अधिकृत पदका लागि उम्मेदवार हुने गरी स्नातक र स्नातकोत्तरको अध्ययन गराउनुको सट्टा कृषि विज्ञानको डिग्री वा तालिम दिने गरी शिक्षण संस्थाहरूलाई रूपान्तरित गरी आममानिसलाई कृषि पेशामा संलग्न गराउनसके मुलुक आर्थिक रूपमा आत्मनिर्भर हुने पक्का छ ।

आन्तरिक खपतबाट बचत हुने खाद्यान्नलाई निकासी गर्न सकिन्छ । खाद्यान्न उत्पादन गर्ने कृषकले सहजै हरियो तरकारी उत्पादन गर्छ । मौसमी र बेमौसमी तरकारी उत्पादनबाट कृषकको आयस्तर माथि जाने सहजै अनुदान गर्न सकिन्छ । उच्च मूल्यमा बिक्री हुने जडीबुटी, अदुवा, मह, अर्गानिक चिया र कफीलगायत कैयौं नगदे बालीसहितको उत्पादन गर्न नेपालको भूमि सक्षम छ । तर, विविध कारणले यसलाई हामीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वीकार गर्नै सकेनौं । कृषिसँगै फलफूल, माछा र मासुमा आत्मनिर्भर हुने योजना पनि कार्यान्वयन गर्न सकिन्छ । मुलुकभित्रै यी सबै वस्तु पुग्ने गरी उत्पादन भएपछि विश्व रंगमञ्चमा नेपालको अस्तित्व र पहिचान नै फरक बन्छ । सबै कुरामा परामुखी भएपछि नेपाल र नेपालीको आत्मबल नै खस्किनु स्वाभाविकै हो । आदि–अनादि कालदेखि स्वतन्त्र र आत्मनिर्भर भएर स्वाभिमानसहित बाँचेका नेपालीलाई पुरानै स्थानमा पु¥याउन नेपालको सम्पूर्ण शक्ति र स्रोत खर्चेर कृषिलाई पूर्णतः आधुनिक तुल्याई लगानीका आधारमा प्रतिफल दिने क्षेत्र तुल्याउन हामी सबै अग्रसर हुनुपर्छ ।

नेपालको निकासी व्यापारमा महत्वपूर्ण योगदान गर्न सक्ने जलविद्युत् क्षेत्र हो । यसैगरी बाह्य मुद्रा आर्जन गर्न सक्ने क्षेत्र पर्यटन व्यवसाय नै हो । यी २ क्षेत्रमा आधारभूत रूपमै नेपाल र नेपालीले सोच्ने, बुझ्ने र प्रयोग गर्ने पद्धतिमा परिवर्तन नल्याई हामीलाई कुनै लाभ हुने सम्भावना देखिन्न । नेपालमा जलविद्युत्् उत्पादनको कति सम्भावना छ भनी एक प्रकारले वैज्ञानिक अध्ययन नै भएको छैन, यो अत्यधिक सम्भावनाभित्र छ मात्रै भन्न सकिन्छ । निरन्तर खोलामा पानी बगेर गइरहने तर त्यसबाट विद्युत्् उत्पादन गरी सो पानी पुनः सोही खोलामा खन्याउने हो, पानी कसैले लैजाँदैन भन्नेसम्मको न्यूनतम बुझाइ पनि हामीसँग हुन सकेन । राम्रो वा खराब दुवै उद्देश्यले नेपालमा आइरहेका अनगिन्ती बाह्य लगानीकर्तामध्ये असल मनसायले नेपाल भित्रिएकालाई पनि हामीले चिन्न सकेनौं । आगामी १० वर्षभित्रमा १० हजार मेगावाट जलविद्युत् शक्ति उत्पादन गर्ने हामीसँग रोडम्याप हुने हो भने भारतीय र चिनियाँ जनताका लागि उत्पादन गर्ने गरी कैयौं भारतीय र चिनियाँ कम्पनीलाई नेपालमा विविध उत्पादनको योजनासहित कारखाना स्थापना गर्न आह्वान गर्न सकिन्छ ।

बढी उत्पादन गरेर तत्कालै भारत र बंगलादेशसम्म विद्युत् शक्ति निकासी गर्न सकिने सम्भावनासँग प्रायः हामी सबै परिचित छौं । हामीसँग करिब ३ हजार मेगावाट जलविद्युत् शक्ति उत्पादन भएका दिन वैदेशिक रोजगारीमा जाने युवाको संख्या प्रायः नगण्य संख्यामा झर्ने थियो । कारण ती स्वरोजगारी बन्न चाहे पनि विद्युत्शक्तिको अभावमा यी कुरा सम्भावनाबाहिर भएको छ । यसर्थ मुलुकलाई आत्मनिर्भर तुल्याउने हो भने जलविद्युत्मा लगानी गर्नुको विकल्प छैन । पर्यटनक्षेत्रको सम्भावना पनि अथाह छ । प्राकृतिक रूपमा विश्वका सीमित सुन्दर देशभित्र नेपाल पर्छ । तथापि हामीले बर्सेनि १० लाख पर्यटक पनि पु¥याउन नसक्नु भनेको एक प्रकारले यस क्षेत्रमा सिन्को पनि नभाचेसरह हो ।

अर्को कुरा, भारत र चिनियाँ पर्यटकमा हाम्रो ध्यान, शक्ति र सामथ्र्य लगाउन नसक्नु भनेको श्रीखण्ड र खुर्पाको बिँडबीच भेद छुट्याउन नसकेसरह हो । हाल नेपालमा फस्टाएको साहसिक पर्यटन व्यवसायमा हिमाल आरोहण, पदयात्रा, ¥याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, रक क्लाइम्बिङजस्ता केही क्षेत्रमा मेगा लगानी गरी विज्ञता र विश्व ट्रेडमार्क तयार गर्न सकिन्छ । यदि सबै मुलुकवासी र सरकार एकचित्त भएर व्यापक रूपमा कृषि उत्पादन गर्ने, जलविद्युत् उत्पादन गरेर मुलुकलाई औद्योगीकरणमा रूपान्तरित गर्ने र पर्यटन उद्योगबाट विदेशी मुद्रा आर्जन गरी यी ३ क्षेत्रमा केन्द्रित हुने हो भने मुलुक आर्थिक रूपमा आत्मनिर्भर हुन सक्छ । यसका लागि २ वा ३ दशकभन्दा बढी समय पनि लाग्दैन । नाकाबन्दीपछि नेपाली भान्छामा शुद्ध नेपाली तरकारी पाक्न थालेको छ । यतिखेर सहरका तरकारी पसलहरूमा कुनै पनि किसिमको तरकारीको अभाव छैन । बजारमा काउली, बन्दा, मुला, सिमी, बोडी, थरिथरिका भन्टा, फर्सी, गोलभेँडा, स्कुस, लौका आदि र त्यसमा पनि अर्गानिक उत्पादनहरू पर्याप्त मात्रामा उपलब्ध छन् । सागहरूको त कुरै गर्नुपर्दैन । रायो, तोरी र चाइनिज सागका थुप्राहरू बजारका नाका–नाकामा देख्न पाइन्छ । मूल्य कुनैको बढेको होला, कुनैको घटेको पनि होला । त्यसै त नेपालमा मनसुन फर्केपछि तरकारीको सिजन सुरु हुन्छ । त्यसमाथि तलबाट तरकारी आउन छाडेपछि यताका कृषकहरूमा उत्साह आउनु अर्थशास्त्रको सामान्य नियम हो । त्यसो त नेपालमा बेमौसमी तरकारीखेती गर्ने चलन पनि निकै बढेको रहेछ । होइन भने तलबाट नआउँदा यतिखेर बन्दा, काउली र मुला यसरी पाइने समय अलि भइसकेको थिएन । तर अहिले यी तरकारी तलबाट नआउँदा पनि बजारमा छ्यापछ्यापती पाइन्छ । यसबाट लाग्छ, नाकाबन्दी भएकोमा नेपालका खासगरी तरकारी कृषकहरू बेखुसी छैनन् । तिनका तरकारी पहिलेभन्दा बढी बिक्री भइरहेका छन् र आम्दानी पनि राम्रै भइरहेको छ । भर्खरै सञ्चारमाध्यममा आएको छ कि २०४५ सालको नाकाबन्दीपछि डडेल्धुरा तरकारी उत्पादनमा आत्मनिर्भर भयो । तर, आप्mना उत्पादन ठूला बजारसम्म पु¥याउन ढुवानीको समस्या परेको छ । तेल नआएपछि त्यो त हुने नै भयो । त्यसैले तरकारी कृषक र उपभोक्ताहरूका निमित्त डिजेल आपूर्ति सर्वाधिक महत्वपूर्ण छ । पेट्रोलको आपूर्ति स्थिति उनीहरूको चासोको विषय होइन ।

नाकाबन्दी हुनु निश्चित रूपमा सामान्य र स्वाभाविक अवस्था होइन र यसरी देश र जनताको दैनिकी सधंैभरि चल्दैन । यस्तो नाकाबन्दी स्थायी हुन्थ्यो भने देश र जनताले अवश्य सहज विकल्प खोज्थे र व्यवस्थापन गर्थे । नेपालमा जति संकट परे पनि स्थायी विकल्प खोज्ने काम अर्ध–मनले मात्र हुने गर्छ, अहिले पनि त्यही भइरहेको छ । यसरी नेपालका तरकारी कृषकहरू नेपालमा नाकाबन्दी लाग्दा मात्र खुसी हुने अर्थतन्त्र हामीले हुर्काइरहेका रहेछौं, काठमाडांैमा चक्काजाम हुँदा मात्र रिक्साचालकहरूको दिन आएजस्तो । हामीले वास्तवमा नेपालभित्र हामै्र कृषकले हामीलाई पुग्ने गरी उत्पादन गर्न सक्ने वस्तुहरूमा पनि परनिर्भरता बढाउँदै आयौं । समान गुणस्तरका र अझ राम्रा आप्mना उत्पादनहरूको बेवास्ता गरेर बाहिरबाट आयात गर्नुमै हामीले आधुनिकता र सभ्यता देख्यौं । गत वर्ष तरकारीको आयात झन्डै ८ अर्ब रुपैयाँ पुगेबाट यो कुरा प्रमाणित हुन्छ । त्यस्तो नीतिले गर्दा एकातिर पटक–पटक हामीले यस्तो धोका खानुपरेको छ भने अर्कातिर हाम्रा उत्पादनहरूले टाउको उठाउन पाइरहेका छैनन् । आत्मनिर्भरता आवश्यक हुनासाथ पाइने कुरा होइन ।

यो त दीर्घकालसम्म यस्तो नीति कार्यान्वयन गरेमा मात्र सम्भव हुने कुरा हो । देशभित्रका उत्पादन मौलाउन पाउने वातावरण बनाइदिए मात्र हासिल हुने कुरा हो । आयातलाई सकेसम्म सहज र सस्तो पार्ने नीतिलाई सनातन धर्मजस्तो मानेपछि संकट पर्दामात्र आप्mना उत्पादन सम्झेर कहाँ पाइन्छ ? यसरी आत्मनिर्भरता नेपालमा नाकाबन्दी लाग्दा मात्र सम्झिइने विषय भएको छ । आपूर्ति सहज हुँदा त हामीलाई बजारमा सामान पाइए पुग्छ, कहाँको उत्पादन हो भन्नेतर्फ हाम्रो चासो हँुदैन । पूर्ण आत्मनिर्भरता कोरा कल्पनामात्र हो । त्यसो हुन पेट्रोलदेखि हवाईजहाजसम्म देशभित्रै उत्पादन गर्नुपर्ने हुन्छ, जुन असम्भव छ । यदि त्यसो हँुदो हो त दुनियाँमा अन्तर्राष्ट्रिय व्यापार भन्ने शब्दावलीको उत्पत्ति नै हुने थिएन होला । कतिपय अत्यावश्यक वस्तु प्रकृति र भूगोलप्रदत्त हुन्छन् । त्यसैले सबै वस्तु सबै ठाउँमा उपलब्ध हुँदैनन् । त्यसैले गर्ने भनेको के हो भने आफूकहाँ उत्पादन हुन सक्ने वस्तुहरूको उत्पादन बढाउन प्रोत्साहन गर्नु । त्यसमा पनि सापेक्षिक लाभ (कम्प्यारेटिभ एड्भ्यान्टेज) को कुरा आउँछ । अर्थात् आफूले उत्पादन गर्नुभन्दा आयात गर्दा सस्तो पर्छ भने त्यस्ता वस्तु आयात गर्नु र अरूले भन्दा आफूले सस्तोमा उत्पादन गर्न सकिने वस्तुको उत्पादनमा जोड दिई निर्यात गर्नु नै आर्थिक दृष्टिले तर्कसंगत हुन्छ । त्यसो गर्दा आयात र निर्यात गर्ने दुवैथरि मुलुकलाई अधिकतम फाइदा हुन्छ । यो नै आजको प्रचलित औद्योगिक तथा अन्तर्राष्ट्रिय व्यापारको मान्यता हो । तर, उत्पादन र आयात गरिने प्रत्येक वस्तु आप्mनोभन्दा कुन देशको सस्तो वा महँगो छ भन्ने जानकारी सहज ढंगले उपलब्ध हँुदैन । त्यसैले धेरै मुलुकले सस्तो–महँगो जे भए तापनि हुन सक्ने उत्पादन आप्mनो देशभित्रै गर्ने गर्छन् । नेपालले पनि त्यसै गर्दै आएको छ । तर फरक के छ भने नेपाल उद्योगमुखी न्यूनतम र व्यापारमुखी अधिकतम छ । बजारमा उपभोक्ताले अभाव महसुस नगरे हामीलाई पुगेको छ । यस्तै नीतिले पनि चलेकै छ । त्यसैगरी आयात अवरुद्ध हुँदा मात्र आप्mना उत्पादन सम्झिने गर्छाैं ।
समग्रमा भन्नुपर्दा तुलनात्मक लाभकै आधारमा चल्ने हो भने पनि नेपालको पक्षमा तुलनात्मक लाभ भएका २ दर्जनजति वस्तुको पहिचान भइसकेकोे छ । त्यसमा पनि हामी अकर्मण्य रहेका छौं । नेपालमा सस्तो–महँगोको वास्ता नगरी उत्पादन गरिने वस्तु हजारौं नभए पनि सयौं होलान् । तर, ती सबै हाम्रो नियति, नीति र नियतबाट टाक्सिएका छन् । नियति यस मानेमा कि हामी भूपरिवेष्टित र अझ भारतवेष्ठित छौं । असल छिमेकी हिमाल, पहाड र नदीहरूका कारणले छिमेकी भएर पनि टाढाको जस्तो भएको छ भने खुला सिमाना भएको र आवागमन सजिलो भएको छिमेकी कमसल छ । नीति यस मानेमा कि हामीकहाँ औद्योगिक विकासलाई ’ड्राइभ’ दिने नीति नै अहिलेसम्म निर्माण गरिएन । आयातले उद्योगलाई थिचोमिचो गरेको छ । आयातबाट बजार भरिपूर्ण हुने, उपभोक्ता सन्तुष्ट हुने र सरकारलाई टन्न राजस्व आउने भएपछि हामीलाई पुगेको छ । आयातका लागि रेमिट्यान्सका रूपमा आउने विदेशी मुद्रा जति पनि छ । अनि किन उद्योगबारे चिन्ता गर्नुप¥यो ? नियत यस मानेमा कि नेपालमा उद्योगहरूले टाउको उठाउन नसकून् भन्ने छिमेकीको नियतबाट नेपालका उद्योगहरू नराम्ररी प्रभावित भएका छन् । विभिन्न छुट र सुविधा दिएर हामी आयातलाई प्रोत्साहित गरिरहेका छौं र उद्योगलाई मरे मरून्, बाँचे बाँचून् भनेजस्तै व्यवहार गरिरहेका छौं ।

Source : http://www.aarthikdainik.com.np/news_details/720814

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s