प्याजको माग, आपूर्ति र मूल्यवृद्धि – 720601

विश्वनाथ खरेल,

प्याज दैनिक भान्सामा नभई नहुने मसलादारको रुपमा प्रयोग हुने एक प्रकारको मसला हो । खास गरी तरकारीको रुपमा वा मसलाको रुपमा प्याजको प्रयोग गरिँदै आएको छ । हरेक उपभोक्ताको भान्सामा प्रयोग हुने सुकेको प्याजको भाउ भदौ लागेसँगै ह्वात्तै बढेको छ । एक हप्ताको बीचमा प्याजको भाउ थोक बजारमै एक सयदेखि एक सय ३० रुपैयाँ पुगेको छ । यो मूल्य यस वर्षकै उच्च भएको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमै गत हप्ताको तुलनामा यो हप्ता सुकेको प्याजको मूल्य दोब्बरसम्म वृद्धि भएको छ भने खुद्रा बजारमा त अझै बढेको छ । समितिका अनुसार केही दिनदेखि तराईका जिल्लामा बन्द भइरहेको र भारतबाट दैनिक नेपाल भित्रिने सुकेको प्याजको परिणाम झण्डै आधा घटेपछि मूल्य बढेको हो । दैनिक एक सय टन सुकेको प्याजको माग भएको उपत्यकामा तीन÷चार दिनदेखि ५० देखि ५५ टन मात्र प्याज भित्रिने गरेकाले मूल्य आकाशिएको समितिले जनाएको छ । कालीमाटी बजारका प्याज थोक व्यापारीहरूले सुकेको प्याजको भाउ महँगिएपछि उपभोक्ताहरूले पनि निकै कम मात्र खरिद गर्न आउने गरेको बताउँछन् ।

पछिल्लो समयमा प्याजको भाउ महँगिएकाले नेपाली बजारमा अझै महँगो हुनसक्ने व्यापारी बताउँछन् । यो वर्षको सुरुमा ३५ देखि ३८ रुपैयाँ थोक मूल्यमा कारोबार भएको प्याजको भाउ बर्खा लागेपछि बढेर किलोमा ७० देखि ७५ रुपैयाँ थोक मूल्य पुग्यो । साउनको बीचमा मूल्य केही घटेर प्रतिकिलोको ६५ देखि ६८मा थोकमा कारोबार भएको प्याजको मूल्य भदौ लागेपछि ह्वात्तै बढेर एक सयदेखि १२० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । प्याजको मूल्य गत वर्ष यही सिजनभन्दा पाँच गुणा बढेको छ । गतवर्ष साउनमा १९ रुपैयाँ प्रतिकिलो थोक कारोबार भएको प्याज यस वर्ष भने मुलुककै प्रमुख  तरकारी बजार कालीमाटीमा ९२ रुपैयाँमा किनबेच भएको छ । यो तीन सय ८४ दशमलव २१ प्रतिशत वृद्धि हो । खुद्रा बजारमा भने एक सय २० रुपैयाँभन्दा बढी छ । नेपालमा प्याजको उत्पादन त्यति नहुने भएकाले सुकेको प्याजका लागि भारतको भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष प्याज भारतमै कम उत्पादन भएकाले नेपाल भित्रिने प्याजको परिणाम घटेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । भारतबाट आउने प्याजको परिणाम नबढेमा प्याजको भाउ घट्ने सम्भावना कम रहेको सम्बन्धित समितिहरुले जनाएका छन् । हाम्रो देशमा प्याजको उत्पादन निकै थोरै मात्रामा हुन्छ । जेठ, असार महिनामा काभ्रे,  धादिङलगायतका केही जिल्लाबाट प्याज आउने भए पनि निकै कम मात्रै उत्पादन हुने भएकाले प्याजका लागि बारैमास भारतको भर पर्नुपर्ने बाध्यता छ । पूर्वी र पश्चिमी तराईमा भइरहेको लगातार बन्दका कारण पहाडमा तरकारी र फलफूलको मूल्य आकाशिएको छ । बन्दले सामान ढुवानी हुन नसक्दा व्यापारीले स्टक मालको मूल्य बढाएका हुन् । भान्सामा दैनिक नभई नहुने प्याज, टमाटर, आलु, लसुन, बोडी, करेला, खुर्सानी, स्याउ, अंगुर, केरालगायत तरकारी र फलफूलको सातायता बजारमा अभाव चुलिएको छ । एकाध पसलमा भेटिने यी वस्तुको मूल्य व्यापारीले चार गुणासम्म बढाएका छन् । भारतबाट आयातित प्याजको मूल्य ७० बाट बढेर प्रतिकिलो एक सय ३० रुपैयाँ पुगेको छ । स्थानीय स्तरमा उत्पादन हुने प्याजले लामो समय बजारको माग थेग्न नसक्ने भएकाले प्याजमा भारतमै निर्भरता रहेको छ । भारतमै हाल प्याजको मूल्य बढेकाले यहाँ पनि त्यसको प्रभाव बढेको हो । स्थानीय स्तरमा उत्पादित बोडीको मूल्य ३० बाट बढेर ६०, घिरौंला १० बाट ३०, भिन्डी १५ बाट ४०, परवर ४० बाट ८०, करेला ३० बाट ५०, झिंगनी २० बाट ५०, भान्टा ३० बाट ६० रुपैयाँ प्रतिकिलो पुगेको छ । बजारमा केही दिनयता प्याजको मूल्य थेग्नै नसक्ने गरी चुलिएको छ । मूल्य आकाशिएपछि सर्वसाधारणको भान्सा थप महँगिएको छ । पछिल्ला दिनमा भएका बन्दहडतालका कारण बजारमा प्याजसँगै हरियो तरकारीको मूल्यसमेत आकाशिएको हो ।

भारतबाट प्याज आयात कम भएपछि स्थानीय बजारमा मूल्य आकाशिएको हो । अहिले बजारमा प्याजको खुद्रा मूल्य एक सयदेखि एक सय ४० रुपैयाँ पुगेको छ । दुई साताअघि प्रतिकिलो ५० रुपैयाँ रहेको प्याजको भाउ अहिले झन्डै तीन गुणा बढेको हो । उपत्यकाको मुख्य तरकारी बजार कालीमाटीमा अहिले कम मात्रामा प्याज भित्रिँदा बजारमा मूल्य एक्कासी आकाशिएको हो । कालीमाटी बजार विकास समितिका अनुसार केही समय पहिले होलसेल ८० देखि ८५ रुपैयाँ रहे पनि बाहिरी बजारमा एक सय ३० देखि ४० रुपैयाँ पुगेको छ । तराई बन्द भएकाले पनि बजारमा पर्याप्त प्याज भित्रिन नसक्दा अभाव भई मूल्य बढेको हो । यो वर्ष भारतमै प्याजको उत्पादन कम भएकाले स्थानीय बजारमा मूल्य आकाशिन पुगेको हो । दिनहुँजसो भइरहेका बन्दहडतालले प्याज आयात हुने सबै नाका बन्द भएकाले बजारमा कम भित्रिएको छ ।

नेपालमा बिक्री हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । प्याजको आयात ९५ प्रतिशत भारतबाट हुन्छ भने हाम्रो देशको उत्पादनले पाँच प्रतिशतमात्र हुने गरेको छ । मुलुकमा करिब साढे ३२ लाख घरपरिवार तरकारीखेतीमा आबद्ध रहेका छन् । यो संख्या मुलुकको कुल घरपरिवारको ६९ दशमलव तीन प्रतिशत हो । यी घरपरिवारबाट दुई लाख ३२ हजार दुई सय ९५ हेक्टर जग्गामा तरकारीखेती गरिएको र त्यसबाट २८ लाख २० हजार पाँच सय २७ मेट्रिकटन तरकारी उत्पादन भएको सर्वेक्षणले देखाएको छ । त्यस्तै गरी प्याज पनि एक किसिमको मसलाजन्य वा तरकारीको रुपमा प्रयोग गरिने गरिन्छ । यो बालीको खेती देशको हिमाल, पहाड र तराई सबै क्षेत्रमा गरिने गरिन्छ । हाल आएर देशको बजारमा प्याजको मूल्य प्रतिकिलो खुद्रा न्यूनतम मूल्य एक सय ३० रुपैयाँ छ । यहाँको उत्पादन सामान्य चैतपछि मात्रै बजारमा आउने भएकाले यतिबेला भारतीय उत्पादन नै निर्भर हुनुपर्छ । गत वर्ष कालीमाटीमा बिक्री भएको प्याजमध्ये झन्डै ९७ प्रतिशत प्याज भारतबाट आएको थियो ।
भारतले पनि विगत वर्षहरुमा खाडी मुलुकलगायत श्रीलंका र मलेसियामा ११ लाख ५८ हजार मेट्रिकटन प्याज निर्यात गरेको जनाएको थियो । भारतकै सबैभन्दा ठूलो प्याजको थोक बजार लासालगाउँमा प्याजको थोक मूल्य बढेको छ । त्यो बढ्नु कारण के हो भने भारतमा पनि विभिन्न कारणहरुले गर्दा प्याजको उत्पादन कम भएको र उत्पादन भएको प्याज पनि विभिन्न देशमा निर्यात गरेको कारणले गर्दा त्यहाँ बजारलाई आवश्यक पर्ने प्याजमा कमी आएको हो । विगतमा प्याजको भाउमा वृद्धि हुँदा भारतका प्रान्तीय सरकारहरु ढलेका समेत छन् । यस्तो किसिमको मुद्रास्फीति देशका लागि गम्भीर चिन्ताको विषय बनेको अनुमान गरिएको छ ।

भारतबाट आयात हुने राम्रो प्याजको एक दृश्य ।
अबका दिनमा भारतबाट प्याज आपूर्तिमा कमी आएपछि सरकारले नेपाली व्यापारीहरुलाई  चीनबाट प्याज आयात गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार चीनबाट प्याज आयात गरी आपूर्ति गर्दा ठूलो रकम घाटा व्यहोर्नुपरेको एकातिर बताएका छन् भने अर्कोतिर भारतबाट पनि खुला सिमानाका कारण वैध÷अवैध रुपमा बढी मूल्य तिरी प्याज औपचारिक रुपमा आउन सक्छ । त्यसको लागि सरकारले बेलैमा होस पु¥याएर जनतालाई राहत दिने कार्यको थालनी गर्नुपर्ने देखिन्छ । अहिले परिस्थितिले गर्दा भारतबाट आयात हुने प्याजको मूल्य आकाशिएर काठमाडौंको थोक बजारमा प्रतिकिलो प्याज एक सय ३० रुपैयाँभन्दा बढीको हाराहारीमा पुगिसकेको छ । २०६६ सालको तथ्यांक हेर्दा सो अवधिमा १५ हजार एक सय ३५ मेट्रिकटन प्याज बजार भित्रिएको थियो । सोमध्ये करिब १४ हजार छ सय ९४ मेट्रिकटन प्याज भारतबाट भित्रिएको थियो । यो कुल प्याजको करिब ९७ प्रतिशत हो । बाँकी तीन प्रतिशत प्याज नेपालको उत्पादन रहेको छ । २०६५ सालमा नेपालमा सबैभन्दा बढी पर्सा जिल्लाबाट एक सय ८९ मेट्रिक टन प्याज उत्पादन भएको थियो । यस्तै गरी काभ्रेपलाञ्चोकबाट ८९ मेट्रिक टन, काठमाडौं उपत्यकामा ६४ मेट्रिक टन, सर्लाहीमा ५० मेट्रिक टन, चितवनमा ३० मेट्रिक टन र धादिङमा १९ मेट्रिक टन उत्पादन भएको थियो । देशमा प्याज खेती राम्रो हुने भए पनि स्थानीय तहमै बढी खपत हुने हुनाले कमै मात्र प्याज काठमाडौं आउने गरेको छ । त्यसकारणले गर्दा काठमाडौं बजार या उपभोक्ताहरु भारतीय प्याजको आपूर्तिमा भर परेका छन् । २०६५ सालको पुस र माघको मध्यसम्ममा करिब तीन हजार मेट्रिकटन चिनियाँ प्याज काठमाडौं आएको थियो ।

अन्त्यमा भन्नुपर्दा प्याज सबैको भान्सामा नभई नहुने महत्वपूर्णको मसलादार अर्थात तरकारीको रुपमा प्रयोग गरिन्छ । हाल आएर प्याजको भाउ अधिक भएर यो वर्षकै सबैभन्दा बढी मूल्य तिर्नुपर्ने भएको छ । बजारको ९० प्रतिशत माग भारतबाट आयातित प्याजले धान्ने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा आयातित प्याजमा आत्मनिर्भर बन्नुपरेको छ । मुलुकमा उत्पादित प्याजले एक महिना मात्र माग धान्ने गरेको व्यवसायीको भनाइ छ । देशमा आउने प्याज ९५ प्रतिशत स्रोत भारतको नासिक र त्यस वरिपरिको ठाउँ हो । खाली पाँच प्रतिशत मात्रै स्वदेशमा उत्पादन हुने गरेको र त्यो पनि यस वर्ष उत्पादन हुन नसक्दा प्याजको अभाव भएको हो । स्वदेशमा यसको उत्पादन बढाउने उद्देश्यले सरकारले जिल्लामा लागू गरेको प्याज अभियान कार्यक्रम प्रभावकारी हुन नसक्दा बर्सेनी ठूलो परिमाणमा भारतबाट प्याजको आयात हुने गरेको छ । प्याज उत्पादन वृद्धि गर्न मन्त्रालयले आर्थिक वर्ष २०६४÷०६५ देखि बारा र पर्सालगायत तराईका १० जिल्लामा प्याज अभियान कार्यक्रम सञ्चालन गरेको हो । यसका लागि गत आर्थिक वर्षमा सरकारले एक करोड ९२ लाख रुपैयाँ लगानी गरेको तथ्यांक छ । सो कार्यक्रम प्रभावकारी हुनसकेको छैन । गत वर्ष वीरगञ्ज नाकाबाट १५ करोड ५६ लाख ६१ हजार मूल्यबराबरको १२ हजार तीन सय ३६ मेट्रिक टन प्याज भित्रिएको छ । सबै नाका मिलेर गत वर्ष कुल एक अर्ब १७ करोड मूल्यबराबरको प्याज भारतबाट आयात भएको कृषि विकास मन्त्रालयको तथ्यांकले देखाएको छ ।  अब सरकारले जनतालाई राहत दिने हो भने देशमा चिनियाँ प्याजको आयातलाई अगाडि बढाउनुपर्ने देखिन्छ । त्यसको लागि सरकार यथाशीघ्र लागिपर्ने देखिन्छ । यस्तै गरी चिनियाँ प्याज किलोको ३० देखि ४० रुपैयाँ थोक मूल्यमा कारोबार भयो भने सर्वसाधारण जनताले खुद्रा बजारमा ६० देखि ६५ रुपैयाँसम्ममा प्रतिकिलो प्याज पाउन सक्ने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा भित्रिने प्याज भारत र चीनबाट आउने गर्छ । भारतीय बजारमा पनि प्याज अभाव भएकाले नेपालमा निर्यात निकै कम भएको छ । नेपालमा उत्पादन हुने प्याज घरायसी प्रयोजनमै खपत हुने र बजारमा थोरै मात्रै पुग्ने भएकाले भारतीय प्याजकै भर पर्नुपर्ने अवस्था छ । व्यवसायीका अनुसार भारतमा अभावको बेलाका लागि भन्दै १० हजार टन प्याज भण्डारण गर्ने लक्ष्य राखिए पनि नौ हजार टन मात्रै भण्डारण भएको थियो । यो वर्ष विहारलगायतका ठाउँमा उत्पादनमा केही ह्रास आएकाले पर्याप्त भण्डारण हुनसकेको थिएन । भारतको प्याज भण्डारमध्येको एक महाराष्ट्रमा गत वर्ष प्याज पुगेको थियो । भारतमा प्याजको थोक मूल्य ७० प्रतिशतसम्मले बढ्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Source : http://www.aarthikdainik.com.np/news_details/14194/BF.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s