विपद् व्यवस्थापनमा इन्डोनेसियाको अनुभव एउटा उपयोगी पाठ

२०७२ वैशाख २१ गते ६:३५ मा प्रकाशित

indonesia_before‘आजभन्दा ११ वर्षअघि गएको विध्वंशकारी समुद्री आँधी (सुनामी) मा इन्डोनेसियाको आचेहका दुई लाखभन्दा बढी नागरिक बेपत्ता भए । समुद्रमा हराएकामध्ये केहीको शव भेटिए पनि अधिकांश बेपत्ता छन् । तर, घटनाको आठ वर्षभित्रै आचेहले आफ्नो स्वरूप फेर्‍यो । राजनीतिक परिवर्तनपछि देशले सोच्दै नसोचेको आर्थिक विकास गर्‍यो ।’
बन्द आचेह पुग्दा जोकोही छक्क पर्छन् । इन्डोनेसियाको उत्तरी राज्यको राजधानी हो, बन्द आचेह । त्यहाँको व्यस्त बजार, कालोपत्रे सडक, भर्खरै रंग्याइएका सुन्दर भवन र व्यस्त दैनिकी देख्दा सन् २००४ मा ध्वस्त भएको सहरको सम्झना मानसपटलबाट हराउन सक्छ । प्रलयकारी भूकम्प र त्यसपछि आएको सुनामीबाट ध्वस्त भएको यस सहरले सन् २०१२ भित्रै आफ्नो स्वरूप फेरिसकेको थियो । पहिलेभन्दा सहर आजकल केही पृथक छ । ठूला–ठूला भवनको सट्टा साना घर देख्न सकिन्छ । सुनामी जानुपूर्व हरेक दिन आन्दोलनका कारण बन्द हुने बजार अहिले सधैँ खुला रहन्छन् ।
आठ वर्षसम्मको अनवरत संघर्ष र त्रासदीले जन्माएको इच्छाशक्तिले धेरथोर परिवर्तन ल्याइसकेको छ । अहिले आचेहवासीहरू कफी उत्पादनमा सक्रिय छन्, बालबालिकाहरू गुणस्तरीय शिक्षा लिन्छन् र पर्यटनमा वृद्धि भएको छ । तर, सन् २००४ को बक्सिङ डेको त्रासदी अझै कसैले बिर्सेका छैनन् । आचेहवासीहरू बाँकी विश्वका जनताले झैँ प्रत्येक डिसेम्बर २६ मा सुनामीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अपर्ण गर्छन् । उत्तरी सुमात्रा केन्द्रबिन्दु बनाएर आएको ९ दशमलव १ रेक्टरस्केलको भूकम्प र त्यसपछि भारतीय महाद्वीपमा गएको सुनामीले सन् २००४ मा सुमात्रानजिकैको आचेहलाई ध्वस्त बनाएको थियो । आठदेखि १० मिनेटसम्म निरन्तर जमीन हल्लिरहँदा भारतीय महासागरले समेत आफ्नो सीमा बिर्सिएको थियो । त्यसयता त्रास कायम रह्यो, हजारौँले ज्यान गुमाएको समेत पत्तो पाएनन् । जनधनको क्षतिको हिसाब हुन सकेन । भूकम्प र सुनामीमा १४ देशमा दुई लाख ८६ हजार जनता हराएका थिए । समुद्रमा हराएकामध्ये केहीको शव भेटिए पनि अधिकांश बेपत्ता छन् । घटनामा आचेहका मात्रै दुई लाख २१ हजारभन्दा बढी हराएका थिए । पछिल्लो १० वर्ष पुनर्निर्माण कार्यलाई नजिकबाट नियालिरहेका इन्डोनेसियाका पत्रकार टोमी सोइटजिप्टो भन्छन्, ‘प्रकृतिलाई मानिसले रोक्न सक्दैन, वशमा राख्न पनि सक्दैन । तर, प्राकृतिक विपद्लाई कम गर्न सकिन्छ । अझै आँट हुनेहरूले विपद्को मिलेर सामना गर्छन् र त्यसपछि फेरि उस्तै संचरना जोड्न सक्छन् । आचेहवासीको मूलमन्त्र यही हो ।’
इन्जिनियर एन्डी वास्टाबल सुनामी गएपछिका सुरुवातीदिन आचेहको जीवन निकै कठीन रहेको स्मरण गर्छन् । ‘सुरुवातमा हामी इंग्लिसहरूलाई देश फर्काउन होइन उनीहरूलाई उद्धार गर्न आएका हौँ भनेर बुझाउन निकै कठीन थियो । तर, विस्तारै स्थानीयले नसोचेको साथ दिए । हामीले स्थानीय अधिकारीसँग काम गर्‍यौँ र फेरि सहरलाई पुरानै स्वरूपमा फर्काउन लाग्यौँ ।’
यूएनडीपीकी इन्डोनेसियास्थित प्रमुख बेटी ट्रान्कम्यान अचेहलाई पुरानै अवस्थामा फर्काउन निकै कठीन रहेको बताउँछिन् । ‘संरचना सबै ध्वस्त थिए, अहिलेको अवस्थामा ल्याउने कल्पनासमेत गर्न सकिँदैन थियो । तर, सबैको मिहिनेतले केही सुधार भयो ।’ सन् २००८ पछि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम रोकिएका कारण विकासमा अझै केही ढिलासुस्ती भएको उनको भनाइ छ ।
उत्तरी सुमात्रानजिकै नियासमा सन् २००५ मा आएको अर्को प्रलयकारी भूकम्पले इन्डोनेसियालाई थप कमजोर बनाएको थियो । सुनामीपछि इन्डोनेसिया सरकारले आचेह र नियासको पुनर्निर्माणका लागि सात बिलियन अमेरिकी डलर विनियोजन गरेको थियो । उत्तिकै रकम अन्तर्राष्ट्रिय समूदायले समेत पीडित परिवारको राहत र उद्धार तथा पुनर्निर्माणका लागि छुट्यायो । यसको झन्डै १० प्रतिशत सहयोग अचेह र नियासका लागि मल्टि डोनर फल्ड (एमडीएफ) मार्फत भित्रिएको थियो । विश्वबैंकले व्यवस्थापन गरेको यस सहयोग रकमलाई काममा लगाउनका लागि उपयुक्त जनशक्तिसमेत परिचालन गरियो । विभिन्न राजनीतिक संगठनमा विभाजित आचेहवासीले पीडाको घडीमा एक भएर काम गरे । जसको प्रतिफल स्वरूप, घटनाको आठ वर्षभित्रै एमडीएफले पुनर्निर्माण कार्य सम्पन्न भइसकेको घोषणा गर्‍यो ।
सुनामीसँगै आन्दोलनको अन्त्य
सुनामीको छालसँगै आएको सामाजिक तथा राजनीतिक परिवर्तनले आचेहलाई अहिलेको अवस्थासम्म डोहोर्‍याउन महत्वपूर्ण भूमिका खेलेको छ । सुनामी झन्डै तीन दशक इन्डोनेसियामा चलेको द्वन्द्वको अन्त्यको कारणसमेत बन्यो । त्यसअघि भएको आन्दोलनमा १५ हजारले ज्यान गुमाएका थिए । आचेह देशभर चलेको आन्दोलनबाट सबैभन्दा प्रभावित क्षेत्र थियो । त्यसकारण यस क्षेत्रको विकास तथा आर्थिक उन्नति रोकिएको थियो । सुनामीकै त्रासपछि सन् २००५ मा इन्डोनेसियामा सत्तापक्ष र विपक्षीबीच शान्ति सम्झौता सम्पन्न भयो । सन् २००५ मै आचेहमा गभर्नरका लागि पहिलो निर्वाचन सम्पन्न भयो । त्यसयता सात वर्षमा आचेहमा दुईवटा निर्वाचन सम्पन्न भए । आन्दोलनबाट नचेतेको राष्ट्रले सुनामीबाट पाठ सिक्दै विकास, लगानी र आर्थिकोपार्जनका लागि ढोका खुला राख्यो । नयाँ घर निर्माणसँगै अधिकांश जनताले आपसी कटुता र वैमनस्यता बिर्सिएका थिए । सबैको जीवनस्तर समान र उस्तै भएपछि एक भएर अघि बढ्नुपर्छ भन्ने भावनाको समेत विकास भयो । त्यसैले घर केवल घर मात्रै रहेन, नवनिर्मित घरहरू मानिसको गुणस्तर र सोचाइको परिभाषा बदल्ने कारक तत्वसमेत बने । घरहरूले कसरी मानिसलाई एक बनाउन भूमिका खेल्छन् भन्ने गतिलो प्रमाण आचेहको नयाँ जीवनशैली बनेको छ ।
विपद् व्यवस्थापनमा नयाँ अनुभव
पुनर्निर्माणका लागि अघि बढेको इन्डोनेसियाली सरकारले एमडीएफको सहयोगमार्फत विपद् व्यवस्थापनमा थुप्रै अनुभव हासिल गर्‍यो । इन्डोनेसियामा सन् २००८ र सन् २०१० मा भूकम्प, सुनामी र ज्वालामुखी विस्फोटको क्रम जारी रह्यो । तर, सरकारले आचेहमा गएको सुनामीबाट पाठ सिकिसकेको थियो, त्यसैकारण घटनामा जन–धनको क्षति भए पनि सरकारले संयमता गुमाएन । त्यसपछि दैवी विपद्सँग कसरी लड्ने भन्ने विषयमा सरकार निकै चनाखो रहेको थियो । सरकारले राम्रा नीतिहरू तर्जुमा मात्रै गराएन, सम्बन्धित निकायबाट कडाइका साथ त्यसलाई कार्यान्वयनसमेत गरायो । अचेहमा एमडीएफले कुनै पनि विपद् गएपछि तत्काल समुदाय तथा घरहरू मर्मत गर्न ध्यान दिने, त्यसपछि बाँकी भवन तथा संरचना निर्माण गर्ने र आर्थिक विकासमा ध्यान दिने रणनीति तयार पारेको थियो । उसको प्रस्ताव समुदायलाई दैवीविपद्को त्रासबाट मुक्त गर्नका लागि स्थानीय संचरना तथा घरहरूको पुनर्निर्माणमा सक्रिय गराउने थियो । पुनर्निर्माणमा गुणस्तर कायम गर्नका लागि विभिन्न सतर्कता अपनाउने नीतिसमेत एमडीएफले तयार पारेको छ । एमडीएफको नीति अचेहमा सफल भइसकेको छ । त्यसपछि इन्डोनेसियाका अन्य क्षेत्रमा विपद् निम्तदासमेत यही नीति कार्यान्वयनमा ल्याइएको थियो । अध्ययनपछि अहिले विश्वका अन्य देशमा दैवी विपद् जाँदासमेत यस नीतिलाई कार्यान्वयनमा लैजाने गरिएको छ ।
जनता थप हिम्मत जुटाउदै
भौगोलिक संरचनाका कारण इन्डोनेसियामा प्राकृतिक विपत्ति नौलो होइन । भविष्यमा पनि यस्तै विपद् निम्तन सक्ने खतरा छ । तर, फेरि आउनसक्ने सम्भावित विपद्का लागि अहिले इन्डोनेसिया सरकार तयार छ । भविष्यमा आउन सक्ने विपद्का लागि तयार हुनु भनेको धेरैभन्दा धेरैको ज्यान जोगाउन सक्नु तथा पुनर्निर्माणका क्रममा हुने फजुल खर्च नियन्त्रण गर्नसक्नु हो । एघार वर्षअघि भयानक विपत्तिका कारण आफ्नो सर्वस्व गुमाएका आचेहवासी अहिले बाँकी इन्डोनेसिया तथा विश्वका लागि आफ्नो अनुभवबाट प्राप्त अमूल्य ज्ञान बाँड्नसक्ने अवस्थामा छन् । सुनामी, भूकम्प र ज्वालामुखीसमेतको विध्वंश मच्चिएको छोटो समयमै सम्हालिएका आचेहका जनता हतोत्साही होइन बरु थप हिम्मतिलो बनेका छन् । (एिजेन्सीको सहयोगमा)

Source :http://www.souryadaily.com/2015/05/101914.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s