भुकम्प सम्बन्धी आठ भ्रम

भुकम्प सम्बन्धी आठ भ्रम

भुकम्प सम्बन्धी आठ भ्रम

पृथ्वीको गर्भमा भएको प्रक्रियाले पृथ्वीको माथिल्लो सतह हल्लाउनुलाई भूकम्प भनिन्छ । पृथ्वीको गर्भमा ठुल्ठूला चट्टान हुन्छन् । यिनीहरूबीचको घर्षणका कारण पृथ्वीको सतह हल्लिने गर्छ । भूकम्प आउने प्रक्रिया यति सामान्य भए पनि भूकम्पबारे थुपै्र मनगढन्ते हल्ला र अफवाह चल्ने गरेको पाइन्छ । भूकम्पसम्बन्धी प्रमुख भ्रम यस्ता छन् :

भ्रम १
प्रलयकारी भूकम्प आउन सक्छ

सैद्धान्तिक रूपमा आउँदैन भन्न सकिन्न । तर, व्यावहारिक रूपमा त्यस्तो खालको ठूलो  भूकम्प आउँदैन । पृथ्वीको गर्भमा रहेका चट्टानी प्लेटबीच जति लामो घर्षण हुन्छ, उति नै शक्तिशाली भूकम्प आउने गर्छ । तर, पूरै संसारलाई विनाश गर्ने खालको प्रलयकारी महाभूकम्प ल्याउने चट्टान पृथ्वीको गर्भमा पाइँदैन ।

अमेरिकास्थित सान आन्ड्रेस क्षेत्रमा भूगर्भमा रहेका चट्टानहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । यी दुई चट्टानबीच आठ सय माइल लामो दूरीसम्ममा घर्षण हुने गर्छ । सो क्षेत्रमा १० दशमलब पाँच रेक्टर स्केलको भूकम्प आउन यी चट्टानबीच कैयौँ गुणा बढी दूरीसम्म घर्षण हुनुपर्ने हुन्छ । पृथ्वीको गर्भमा रहेका कुनै पनि चट्टानबीचको दूरीले १० दशमलब पाँच प्रतिशतभन्दा बढी रेक्टर स्केलको भूकम्प ल्याउने सामथ्र्य राख्दैन ।

चिलीमा मे २२, १९६० मा गएको नौ दशमलब ६ रेक्टर स्केलको भूकम्प अहिलेसम्मकै शक्तिशाली भूकम्प मानिन्छ । सो क्षेत्रको जमिनमुनि रहेका चट्टानबीच हजार माइल दूरीसम्म घर्षण भएको थियो ।

vukampa

भ्रम २
भूकम्पका क्रममा पृथ्वी फाट्छ
भूकम्पका क्रममा पृथ्वी फाटेर जनधन सोत्तर भएको दृश्य सिनेमाहरूमा देखाउने गरिन्छ । यस्ता सिनेमा र यससम्बन्धी चल्ने गरेका हल्लाका कारण भूकम्पका क्रममा पृथ्वीको सतह साँच्चिकै फाटेर सबैजना त्यही धाँजामा गल्र्यामगुर्लुम पुरिने पो हो कि भन्ने डर धेरैमा हुने गर्छ । तर, भूकम्पका क्रममा पृथ्वी फाट्ने कुरा दन्त्यकथा, फिल्म अथवा उपन्यासमा मात्र सम्भव छ, वास्तविक जीवनमा छैन ।

पृथ्वीको सतह फाट्नका लागि पृथ्वीभित्रका चट्टान एक–अर्काबाट टाढा जानुपर्ने हुन्छ । चट्टान टाढा गए भने यिनीहरूबीच घर्षण हुन पाउँदैन । चट्टानबीच घर्षण नभई भूकम्प आउँदैन । भूकम्पका कारण पृथ्वीमा सामान्य धाँजा फाट्ने भने गर्छ ।

भ्रम ३
भूकम्पमा पृथ्वी भित्रैदेखि हल्लिन्छ

यो हल्ला पनि सरासर झुट हो । पृथ्वीको माथिल्लो भागका दुई तह मात्रै भूकम्पका क्रममा हल्लिने गर्छ । सजिलोसँग भन्नुपर्दा पृथ्वीको सतहदेखि पाँच सय माइल तलसम्मको क्षेत्रमा मात्र भूकम्प आउने गर्छ । अर्थात्, भूकम्पमा यो क्षेत्र मात्र हल्लिने गर्छ।

भ्रम ४
भूकम्पका दृष्टिले नेपाल सबैभन्दा जोखिममा छ

यस्ता हल्ला पनि अहिले नेपालमा जोडसँग चलिरहेको छ । तर, यस्तो हल्लामा सत्यता छैन । नेपाल भूकम्पका दृष्टिकोणले संवेदनशील रहे पनि संसारलाई चकित तुल्याउने खालको महाभूकम्प नेपालमा अहिलेसम्म आएकै छैन ।

जनधनको ठूलो क्षति गराउने गरी ठूला स्केलका भूकम्प आउने राष्ट्र हाम्रो छिमेकी मुलुक चीन हो । सन् १५५६ मा चीनको सेन्सी प्रान्तमा आठ लाख ३० हजार मानिसको मृत्यु हुने गरी ठूलो भूकम्प गएको थियो । त्यस्तै, सन् १९७६ मा चीनकै ताङसान क्षेत्रमा अढाइ लाखदेखि आठ लाखबीचको संख्यामा मानिसको हताहती हुने गरी अर्को भूकम्प आएको थियो ।

सबैभन्दा बढी रेक्टर स्केलको भूकम्प आएको देशको सूचीमा पनि पर्दैन नेपाल । त्यही भएर यो हल्लामा विश्वास गर्नुपर्ने भरपर्दो आधार पाइँदैन ।

भ्रम ५
महाभूकम्पलगत्तै त्यस्तै शक्तिशाली भूकम्प आउँछ
महाभूकम्प भनेको एकै शृंखलामा गएका भूकम्पहरूमध्ये सबैभन्दा शक्तिशाली भूकम्प हो । महाभूकम्पअघि गएको भूकम्पलाई अंग्रेजीमा ‘फोरसक’ भनिन्छ भने महाभूकम्पपछि आउने धक्काहरूको शृंखलालाई ‘आफ्टरसक’ भनिन्छ । संसारमा अहिलेसम्म महाभूकम्प अघि वा पछि त्योभन्दा अथवा त्यतिकै शक्तिशाली भूकम्प गएको रेकर्ड छैन । र, यस्तो हुनु सम्भव पनि छैन ।

एउटा शक्तिशाली भूकम्पलगत्तै सोही क्षेत्रमा त्योभन्दा शक्तिशाली भूकम्प गयो भने पहिलेको भूकम्पलाई ‘फोरसक’ भन्नुपर्ने हुन्छ । भूकम्पका कारण एकपटक शक्तिशाली झड्का लागिसकेपछि सोही क्षेत्रमा त्योभन्दा शक्तिशाली झड्का लाग्ने सम्भावना नगन्य हुन्छ भन्ने भूकम्पको इतिहासले पुष्टि गरिसकेको छ ।

भ्रम ६
भूकम्प आउँदै छ भन्ने थाहा पाउन सकिन्छ

‘फलानो दिन यति बजे भूकम्प आउँदै छ रे’ भन्ने हल्लाले नेपाली जनजीवनलाई वेला–वेलामा अस्तव्यस्त बनाउने गर्छ । यस्तो हल्ला अहिले पनि जोडतोडका साथ चलिरहेको छ । तर, यस्तो हल्लामा रत्तिभर पनि सत्यता छैन ।

भूकम्प आउने क्षेत्र, समय र यसको सघनताबारे अग्रिम जानकारी हासिल गर्न सक्ने विधिको विकास अहिलेसम्म भएकै छैन । यद्यपि, कुन क्षेत्र भूकम्पका दृष्टिकोणले जोखिमपूर्ण छ भनी पत्ता लगाउन सकिन्छ । जस्तो कि, अमेरिकी वैज्ञानिकहरूले सन् फ्रान्सिस्को खाडीमा अबको ३० वर्षभित्रमा महाभूकम्प आउने सम्भावना ६२ प्रतिशत र दक्षिणी क्यालिफोर्नियामा त्यस्तै भूकम्प आउने सम्भावना ६० प्रतिशत छ भन्ने भविष्यवाणी गरेका छन् । तर, कुन मितिमा कति बजे भूकम्प आउँछ भनी भविष्यवाणी गर्ने सामथ्र्य उनीहरूसँग पनि छैन ।

भ्रम ७
जनावरले भूकम्प आउँदै छ भन्ने चाल पाउँछन्

जनावरले देखाउने अनौठा व्यवहारका आधारमा भूकम्प आउँदै छ भन्ने थाहा पाउन सकिन्छ भन्ने हल्ला पनि बेपत्तासँग फैलिएको छ । यस्तो हल्लामा पनि कुनै सत्यता छैन ।

भूकम्पअघि जनावरहरूले अनौठो व्यवहार देखाउने गरेको उदाहरण यदाकदा भेट्टाउन सकिन्छ । भूकम्पअघि कुकुरले भुक्ने, गाईबस्तुले तर्सिएजस्तो गर्ने, कागले कराउने गरेको कहिलेकाहीँ देख्न पाइन्छ । तर, जनावरले यस्ता व्यवहार देखाएपछिका अधिकांश क्षणमा भूकम्प आएका छैनन् । त्यही भएर जनावरका क्रियाकलापलाई भूकम्पसम्बन्धी भविष्यवाणी गर्ने आधार बनाउन सकिँदैन ।

भ्रम ८
भूकम्प र मौसमबीच सम्बन्ध हुन्छ

भूकम्प पृथ्वीको गर्भभित्रको क्रियामा आधारित हुन्छ । तर, मौसम तथा जलवायुको अवस्था पृथ्वीको बाहिरी भागबाट निर्देशित हुन्छ । त्यही भएर यी दुईबीच कुनै सम्बन्ध छैन ।

नेपालमा पछिल्लोपटक आएको भूकम्पसँगै झरी पर्ने र जाडो हुने मौसम सुरु भएकाले यिनीहरूबीच सम्बन्ध पो होला कि भन्ने आशंका व्यक्त गर्नेहरू बढेका छन् । तर, यस्तो आशंकालाई आजसम्म भएका कुनै पनि अनुसन्धानले पुष्टि गरेका छैनन् । पानी पर्ने प्रक्रिया पृथ्वीको माथिल्लो सतह र आकाशमा सीमित हुन्छ । घामको तापले पृथ्वीको सतहमा रहेको पानी बाफ बन्ने, आकाशमा गएर बाफ बादल बन्ने, बादल अग्ला–अग्ला पहाडमा ठोक्किने र पानी पर्ने गर्छ । तर, भूकम्प पृथ्वीको गर्भमा रहेका चट्टानहरूको घर्षणका कारण जाने गर्छ । यी दुईबीच गोरु बेचेको साइनो पनि छैन ।

सुजित मैनाली (एजेन्सीहरूको सहयोगमा)
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रि

Source :http://www.enayapatrika.com/2015/05/4233

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s