पराकम्पनसित तर्सिनुपर्दैन

पराकम्पनसित तर्सिनुपर्दैन

पराकम्पनसित तर्सिनुपर्दैन
डा. दीपकराज भाट, इन्जिनियर

जिओ टेक्निकल इन्जिनियरिङ (भू–इन्जिनियरिङ)मा जापानको एहिमे विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. दीपकराज भाट अहिले निकै व्यस्त छन् । गत १२ वैशाखका दिन गएको भूकम्पपछि उनलाई भ्याइनभ्याई छ । भूकम्प र भवन संरचना सम्बन्धमा विभिन्न जिज्ञासाहरू राख्दै फोन कलको ओइरो लाग्ने गरेको छ । भूकम्पपछि घरहरूको अवस्थाबारे पनि उनले विभिन्न ठाउँ पुगेर परामर्श दिइरहेका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यायमा प्राध्यापनसमेत गर्दै आएका डा. भाटले नयाँ पत्रिकासित भूकम्प र भवन निर्माणबारे धेरै उपयोगी कुराहरू सेयर गरे ।

भूकम्प के हो ?
भू भनेको जमिन र कम्प भनेको कम्पन हो । सामान्य भाषामा भूकम्पले जमिन हल्लिने प्रक्रियालाई इंगित गर्छ । यो प्राकृतिक दुर्घटना हो, जसको अनुमान सामान्यतया गर्न सकिँदैन ।

जमिनभित्र रहेका ‘टेक्टोनिक चट्टान’को चालले गर्दा जमिनमा कम्पन उत्पन्न हुन्छ । पृथ्वीमा सातवटा चट्टान छन् । नेपालको हिमालयन रेन्जमा मात्रै दुई चट्टान छन्, एउटा युरेसियन (तिब्बतियन) र अर्को इन्डियन । युरेसियन चट्टान लगभग स्थिर अवस्थामा छ । तर, इन्डियन चट्टानचाहिँ दुई सेन्टिमिटर प्रतिवर्षका दरले युरेसियन चट्टानतिर सरिरहेको छ । यसरी सर्दा विकास हुने दबाबका कारण शक्ति पैदा हुन्छ । यस्तो शक्ति चट्टानको सीमारेखाबाट निस्कन खोज्छ । यसैले कम्पन उत्पन्न हुन्छ । अनि हामीमुन्तिरको जमिन हल्लिन्छ । यस्तो प्रक्रिया दिनहुँ भइरहेको हुन्छ । फलस्वरूप स–साना भूकम्पहरू दैनिक गइरहेका हुन्छन् । जसलाई हामीले महसुस गर्दैनौँ ।

संसारमा आउने ९० प्रतिशत भूकम्पको कारण पृथ्वीको गर्भमा रहेका चट्टानको घर्षण हो । बाँकी १० प्रतिशत ज्वालामुखीलगायत कारणले हुन्छ, जसको सम्भावना नेपालमा छैन ।

नेपाल कति जोखिममा छ ?
भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको ११औँ स्थानमा छ । यसैले नेपालमा भूकम्पको जोखिम निकै छ भन्ने मान्नुपर्छ । विश्वका सातवटामध्ये दुईवटा चट्टान नेपालमा भएकाले यो जोखिम उत्पन्न भएको हो । दुई करोड वर्षपहिले पृथ्वी एक ढिक्को थियो । तात्ने र चिसो हुने क्रममा यो टुक्रियो । यसरी सात टुक्रा बने, जसमध्ये दुई टुक्रा नेपालमा पर्छ । यी दुई टुक्राको ठक्करबाट नै पहाडहरू बनेका हुन् ।

नेपालमा १२५५ सालमा पहिलो ठूलो भूकम्प गएको रेकर्ड भेटिन्छ । सो भूकम्पमा परी तत्कालीन राजा अभय मल्लको मृत्यु भएको थियो । काठमाडौंको एकतिहाइ भाग क्षतिग्रस्त भएको थियो । त्यतिवेला भूकम्प मापन गर्ने प्रविधि थिएन । तर, क्षतिको हिसाबले सो भूकम्प डरलाग्दो थियो भन्ने अनुमान गर्न सकिन्छ । त्यसपछि हरेक ८० देखि १०० वर्षबीचमा काठमाडौंमा ठूलो भूकम्प गएको छ । यसलाई ‘रिटेन पिरियड’ भनिन्छ । योभन्दा अघिल्लोपटक १९९० सालमा ठूलो भूकम्प गएको थियो, जुन ८.४ रेक्टर स्केलको थियो ।

कस्तो थियो ९० सालको भूकम्प ?
९० सालको भूकम्पको केन्द्रबिन्दु काठमाडांैभन्दा टाढा थियो । नेपाल र बिहारको बोर्डरमा केन्द्रबिन्दु भएकाले भूकम्पबाट भारतमा पनि धेरै क्षति भएको थियो । भूकम्पबाट लगभग नौ हजार नेपालीको मृत्यु भएको थियो । म्याग्निच्युड र क्षति दुवै हिसाबले ९० सालको भूकम्प अहिलेको तुलनामा ठूलो हो ।

पानीमा ढुंगा फाल्दा उत्पन्न हुने तरंगजस्तो हुन्छ भूकम्पको प्रभाव । सात र आठ रेक्टरबीचको अन्तराल अत्यन्त बढी हुन्छ । सात रेक्टरको भन्दा आठ रेक्टरको भूकम्पले १० गुणा टाढासम्म असर गर्छ । तर, शक्तिको हिसाबले यो ३० गुणा बढी शक्तिशाली हुन्छ । क्षति पनि त्यही अनुपातमा बढ्ने नै भयो । त्यसैले अहिलेको भूकम्पभन्दा ९० सालको भूकम्प निकै चर्को थियो । केन्द्रबिन्दु अलि टाढा भएकाले अझ क्षति कम भएको हो ।

१९९० सालपछि २०४५ मा मध्यम खालको भूकम्प गएको थियो । केही क्षति भए पनि त्यसलाई शक्तिशाली भूकम्पको सूचीमा गणना गरिँदैन । १९९० सालको भूकम्पको निरन्तरता चाहिँ अहिलेको भूकम्प हो । नेपालमा भूकम्पको रिटेन पिरियड ८० देखि १०० वर्षबीच रहेको मानिन्छ । यो एउटा प्रवृत्तिले विकास गरेको मान्यता हो । तर, प्रमाणित तथ्य भने होइन ।

भूकम्पका पूर्वसंकेत के हुन्छन् ?
प्रकृतिले भूकम्प आउने सम्भावनाबारे केही विश्वसनीय पूर्वसंकेत दिँदैन । भूकम्पको सम्भावनाको आँकलन गर्न अहिलेसम्म विज्ञानलाई सफलता मिलेको छैन । यस सम्बन्धमा धेरै अध्ययनहरू भए तापनि ठोस उपलब्धि प्राप्त भएको छैन ।

भूकम्पको पूर्वसंकेतबारे नेपालमा र विश्वमा थुप्रै धारणा र भ्रमहरू स्थापित छन् । दुलाबाट सर्पहरू निस्कन्छन्, चराहरू कराउँछन्, कुकुर भुक्छन् आदि । तर, यो खालका धारणाहरू पुष्टि हुन सक्ने आधार छैनन् । विज्ञानले यसलाई मान्दैन । यो दिन, यति म्याग्निच्युडको भूकम्प आउँछ भनेर पत्ता लगाउने कुनै प्रविधि अहिलेको विज्ञानसित छैन । तर, समयको एउटा खास अन्तरालमा भूकम्प आउने गरेको देखिन्छ । त्यसैका आधारमा नेपालमा पनि यही समयको आसपासमा ठूलो भूकम्प आउने सम्भावना व्यक्त गरिँदै आएको थियो ।

कति शक्तिशाली थियो यो भूकम्प ?
मानिसले ३ रेक्टरसम्मको भूकम्प महसुस गर्न सक्छन् । पाँच रेक्टर स्केलभन्दा तलका भूकम्पले भने इन्जिनियरिङ संरचनाहरूलाई असर गर्दैनन् । त्यसैले ५ रेक्टर स्केलसम्मको भूकम्पलाई हल्का मानिन्छ । ५ देखि ६ सम्मकोलाई मध्यम भनिन्छ । ६ देखि ७ सम्मकोलाई प्रभावशाली मानिन्छ । यहीँबाट क्षति सुरु हुन्छ । ६ भन्दा माथिको भूकम्पले नन–इन्जिनियरिङ स्ट्रक्चरहरूलाई असर गर्छ । भवनहरू भत्किन, चर्किन सक्छन् । ७ देखि ८ सम्मको भूकम्पलाई शक्तिशाली मानिन्छ । त्यसमा धेरै ननइन्जिनियरिङ र कमजोर माटोमा बनेका आरसिसी संरचना पनि ढल्न सक्छन् । आठ रेक्टरभन्दा ठूलोलाई भीषण मानिन्छ । यसले तवाही मच्चाउँछ । नेपालमा अहिले आएको भूकम्प शक्तिशाली वर्गमा पर्छ ।

कसरी हल्लाउँछ भूकम्पले ?
भूकम्प दुई किसिमका हुन्छन् । एउटा जमिनभन्दा माथि आउने कम्पन । अर्को जमिनभन्दा तल । जमिनभन्दा तल आउनेलाई ‘बडी वेभ’ भनिन्छ । बडी वेभ पनि दुईवटा हुन्छन् । पहिलो प्राइमरी र दोस्रो सेकेन्डरी । प्राइभरी वेभ धेरै छिटो चल्छ । १५–१६ किलोमिटर प्रतिसेकेन्डका दरले । सेकेन्डरीले त्यति असर गर्दैन ।

जमिनमाथि आउने पनि बडी वेभ र लभ वेभ हुन्छन् । जब बडी र लभ वेभको मिश्रण हुन्छ, त्यतिवेला अत्यधिक क्षति हुन्छ । प्राइमरी वेभ तेर्सो हुन्छ । खुम्चिन्छ र तन्किन्छ । सेकेन्डरी वेभ भनेको भर्टिकल हुन्छ । लभ वेभ भनेको साइड बाई साइड तेर्सो हुन्छ । बडी वेभ भनेको घुम्ने खालको, धेरै खतरनाक हुन्छ ।

कस्तो संरचनामा ठूलो क्षति ?
अहिले आएको भूकम्पका क्षतिलाई मैले दुई कारणले भएको देखेको छु । पहिलो माटोका कारण र दोस्रो संरचनाका कारण । भवन बनाउँदा जमिनको माटो चेक गरिएको हुँदैन । त्यसले कति भार थाम्छ भनेर आँकलन नगरी भवन निर्माण गरिन्छ । कमजोर खालको माटोमा बनेका भवनको संरचना सग्लै रहे पनि घर पल्टिएको पाइएको छ । माटोमा बालुवाको मात्रा बढी भएको अवस्थामा त्यस्तो हुन्छ । बालुवामा गुच्चा राखेर थोरै पानी हालेर हल्लायो भने गुच्चा बिस्तारै भित्र जान्छ । कम्पन आउँदा जमिनमुनिको पानी बालुवाको कणमा जान्छ । त्यसपछि बालुवा लुज हुन्छ । त्यसलाई ‘लिक्विफ्याक्सन’ भनिन्छ । माथिको संरचना सद्दे भए पनि तल लुज भएपछि भवन ढलेको पाइएको छ । बालाजु, गोंगबु साइडतिर त्यस्तो बढी देखिन्छ ।

दोस्रो कारण निर्माण कमजोर हुनु हो । जस्तो माटोका घरहरू, पिलररहित इँटाका घरहरू धेरै भत्केका छन् । धरहरा नै एउटा उदाहरण हो । अग्लो भएकाले यसको प्रत्येक ठाउँमा ज्वाइन थियो । इँटा राखेर चुनले जोडेको थियो होला । त्यो कमजोर निर्माणकै कारणले ढलेको हो । मन्दिरहरूको अवस्था पनि त्यही हो । मन्दिरनजिकैका आरसिसी गरेका घरहरू ढलेका छैनन् ।

आश्चर्यजनक रूपमा असन, इन्द्रचोकतिरका घरहरू ढलेनन् । सायद एउटा घरले अर्को घरलाई सपोर्ट गरेको हुनुपर्छ । टाइट गरेर बनाएकाले ती सुरक्षित देखिए । तर, यसैलाई उदाहरणका रूपमा लिएर घरहरू आपसमा च्यापेर बनाउने सल्लाह म दिन सक्दिनँ । यसबारेमा अध्ययन नै हुनुपर्छ ।

दुई अग्ला घरको बीचमा सानो घर छ भने यो सानो घरले धक्का दिएर ठूलो घर भत्किन सक्छ । त्यस्तो पनि भेटिएको छ । अहिले काटमाडौंका घरहरू सोचेभन्दा बलिया देखिए । भूकम्पको हिसाबले ७.८ को भूकम्पले डिस्टर्भ त धेरै गरेको छ । कमजोर बनाएको छ । तर, अहिले जति जोगिए त्योचाहिँ सन्तोषजनक नै मान्नुपर्छ ।

पराकम्पनहरू कति दिनसम्म जान्छन् ?
सामान्यतया पहिले शक्तिशाली भूकम्प आएपछि त्यसपछि आउने झट्काहरू त्योभन्दा कमजोर हुन्छन् । अहिलेसम्म विश्वको प्रवृत्ति हेर्दा ९८ प्रतिशत घटनामा सुरुको भन्दा पछि कम रेक्टर स्केलका भूकम्प गएका छन् । भूकम्प जति शक्तिशाली हुन्छ, त्यति नै धेरै दिनसम्म पराकम्पनहरू जाने सम्भावना रहन्छ । ९० सालको भूकम्पपछि एक हप्तासम्म पराकम्पनहरू महसुस गरिएका थिए । २००१ मा बिहारको गुजरातमा आएको भूकम्पपछि लगभग ३० दिनसम्म पनि साना धक्काहरू आएका थिए । जापानमा पनि लगभग एक महिनासम्म महसुस गरिएका थिए ।

अब कस्ता घरमा बस्ने ?
भूकम्पपछि चर्केका घरहरूलाई लिएर मलाई धेरै जिज्ञासाहरू आइरहेका छन् । मेरो सुझाब के छ भने गाह्रोवाला घरहरूको हकमा स–साना क्र्याकहरूबाट डराउनुपर्दैन । गाह्रोमा पेन्सिल र औँला नै पस्ने चार–पाँच एमएमका क्र्याकहरू छन् भनेचाहिँ बस्नु राम्रो हुँदैन । माथि कंक्रिटको स्ल्याब छ र तल एक एमएमसम्मको । झ्याल–ढोकामा पनि एक एमएमसम्मको क्र्याक छ भने बस्दा हुन्छ ।

घर कोल्टिएको छ, भास्सिएको छ भने बस्न मिल्दैन । आरसिसीमा स्ल्याब हुन्छ, स्ल्याबको तल बिम हुन्छ । बिमको तल पिलर हुन्छ । स्ल्याबमा जति भार छ त्यो बिममा जान्छ, बिमबाट पिलर र पिलरबाट जगमा जाने हो । पिलरमा क्र्याकहरू ठाडो वा चारकुने खालको छैन भने गाह्रो सामान्य चर्कंदा डराउनुपर्दैन ।

पराकम्पन जाँदा के गर्ने ?
शनिबारको भूकम्पपछि साना धक्काहरू जाने क्रम अझै रोकिएको छैन । धक्का महसुस हुनासाथ मानिसहरू आत्तिएर बाहिर कुद्ने गरिरहेका छन् । जुन ठीक होइन । घरभित्र भएको अवस्थामा भूकम्प जाँदा टाउको निहुराएर ढोकाको मुन्तिर बस्नु सबैभन्दा उत्तम हुन्छ । भूकम्पले एक–दुई सेकेन्डभित्रै शक्ति देखाउने हुँदा बाहिर भाग्न भ्याइँदैन । हामीले आयो, आयो भन्दैमा सिद्धिसकेको हुन्छ । त्यसैले ढोकामुनि वा टेबुलको मुनि घुस्रनुपर्छ । घरहरू भत्किँदा ढोकाको तल त्यति धेरै खसेको हुँदैन । कि बाहिर जान्छ, कि भित्र । त्यो ठाउँ बढी सुरक्षित हुन्छ ।

बाहिर हुँदा खुला चौरमा वा वरिपरि भौतिक संरचना नभएको ठाउँमा बस्दा राम्रो हुन्छ । गाडीभित्रै पनि सुरक्षित रहन सकिन्छ । ठूलो धाँजा फाटेर मानिस पुरिने खालका घटना हाम्रो जमिनमा सम्भव छैन । साना धाँजा फाट्न सक्छन्, तर विकराल रूपमा होइन । नेपालमा ज्वालामुखी आउने कुरा त बेतुकको हल्ला मात्रै हो ।

अब केको खतरा ?
अहिले हाम्रो भूगोल हल्लिएको छ । असार–साउनमा पानी पर्छ । अबको खतरा पहिरो हो । अहिले हल्लिएको जमिनलाई पानीले झन् कमलो बनाउनेछ । पानीले गर्दा माटोको कण बगाउँछ र भित्र छिद्र बन्छ । छिद्र बनेपछि भार वहन गर्न सक्दैन र पल्टिन्छ । त्यसैले बाटोहरू पुरिने गरी पहिरो जान सक्छ । बर्खामा अलिकति गाह्रो छ । त्यसैले राहत वितरण र पुनर्निर्माण छिटो गरिहाल्नुपर्छ ।

भूकम्पप्रतिरोधी घर कस्तो हुन्छ ?
हामीकहाँ भवन विभागले प्रत्येक नगरपालिकामा भवन निर्माण आचारसंहिता लागू गरेको छ । तर, त्यसको पालना नभएको देखिन्छ । त्यही आचारसंहिता मात्रै पालना गरे पनि धेरै सुरक्षित भइन्छ ।

भूकम्पप्रतिरोधी घरहरूले कतिसम्म रेक्टरको भूकम्पलाई धान्छ भन्ने कुराहरू आइरहेका छन् । हामी के कुरामा प्रस्ट हुनुपर्छ भने यतिसम्म धान्ने भन्ने नै हुँदैन । शतप्रतिशत जोगाउन सम्भव छैन । यसले क्षति कम गर्ने हो । यो गणितजस्तो हुँदैन । भूकम्पप्रतिरोधी भवन बनाउँदा माटोको परीक्षण गरेर त्योअनुसार कति भारसम्म, कति तल्लासम्म जान सकिन्छ भन्ने आँकलन गरिएको हुन्छ । यसमा एउटा संरचनालाई एकढिक्का बनाइएको हुन्छ । पिल्लर, बिम, स्ल्याब सबैलाई सिंगल बनाइएको हुन्छ । हल्लिँदा सिंगो संरचना नै हल्लिन्छ । त्यसैले खस्ने भत्किने हुँदैन ।

के अब ठूलो भूकम्प जान्छ ?
जाँदैन । ९९ प्रतिशत जाँदैन । त्यसैले ढुक्क भएर घरमा सुत्दा हुन्छ । शनिबारको भूकम्पपछि आएका पराकम्पनहरू क्रमश: घट्दै गएका छन् । सुरुको भन्दा ठूलो जान्छ भनेरु डराउन जरुरी छैन । चट्टानहरू सेटल हुने क्रममा छन् । तर, ठूलो भत्केको घर छ भने सानो झट्काले पनि असर गर्न सक्छ । भवनसम्बन्धी काम गरेको मान्छे वा इन्जिनियरलाई देखाउनु उचित हुन्छ ।

प्रस्तुति : चिरञ्जीवी पौडेल

Source : http://www.enayapatrika.com/2015/05/4585

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s