जापानमा भूकम्पको तयारी

जापानमा भूकम्पको तयारी

जापानमा भूकम्पको तयारी

भूकम्प गइरहने मुलुकको सूचीमा पर्छ, जापान । तर, शक्तिशाली भूकम्पले पनि त्यहाँ मानवीय तथा भौतिक क्षति कम गराउने गर्छ । भूकम्पबाट बच्न जापानले गर्ने पूर्वतयारीका कारण क्षतिको न्यूनीकरण सम्भव भएको हो ।

ड्रिल गराइन्छ
जापानमा स्कुलेजीवनदेखि नै मानिसलाई भूकम्पलगायत प्राकृतिक विपत्तिका वेला ज्यानको सुरक्षा कसरी गर्ने भन्ने सिकाउन ड्रिल गर्ने गरिन्छ । ड्रिलका क्रममा अलार्म साउन्ड पहिचान गर्न, घरमा भए खाटामुनि लुक्न, स्कुलमा भए डेस्कमुनि लुक्न आदि सिकाइन्छ । यस्तो ड्रिल हरेक महिना हुने गर्छ । डेस्क अथवा खाटमुनि लुक्दा हातले डेस्क अथवा खाटको खुट्टा समात्न सिकाइन्छ ।

भूकम्पका क्रममा आगलागी भएको अवस्थामा बच्न भनेर आगलागी भएको हाउभाउ गरी बच्ने उपाय सिकाइन्छ । स्कुल दुई अथवा बढी तलाको छ भने आगलागीको वेला आकस्मिक द्वार कहाँबाट खोल्ने भन्ने सिकाइन्छ । प्राय: सबै स्कुलमा आकस्मिक द्वार एउटै ठाउँमा बनाइएको हुन्छ र यस्तो द्वार बालबालिका तथा वृद्धवृद्धा सबैले खोल्न सक्ने गरी सजिलो बनाइएको हुन्छ ।

धैर्य सिकाइन्छ
भूकम्पका क्रममा र भूकम्पपछि धैर्य गुमाउनुहुँदैन भन्ने संस्कार जापानीहरूलाई बच्चैदेखि दिने गरिन्छ । भूकम्पका क्रममा सिसिटिभीबाट खिचिएका दृश्यले जापानका मानिस भूकम्पका क्रममा पनि कति शान्त र धैर्यपूर्वक होसियार भएर सुरक्षाका उपाय अपनाउँछन् भन्ने देख्न पाइन्छ ।

विद्यार्थीहरू स्कुलमा भएका वेला भूकम्प गयो भने घरबाट अभिभावक नआई उनीहरूलाई घर पठाइँदैन । भूकम्पले अभिभावकहरू हताहत भएका छन् र विद्यार्थीलाई घर पठाइयो भने उनीहरू अलपत्र पर्लान् भन्नेप्रति पनि त्यहाँ सचेत हुने गरिन्छ । भूकम्पपछि घर जाँदा सबैले स्कुल, कलेज, अफिस आदि ठाउँमा व्यवस्था गरिएको हेलमेट लगाउने गरेका छन् । भग्नावशेष खसेर चोट नलागोस् भनेर यसरी हेलमेटको व्यवस्था गर्ने गरिन्छ ।

अनुगमन गरिन्छ
सन् १९९५ मा ६ हजार चार सय मानिसको ज्यान जाने गरी जापानमा भूकम्प गएपछि आवासीय भवन, कार्यालय तथा भौतिक पूर्वाधारहरू कत्तिको भूकम्पप्रतिरोधी छन् भन्ने जाँच्ने अभियान जापानमा सुरु भएको थियो । अनुगमनका क्रममा भूकम्पीय दृष्टिकोणले कमजोर रहेका घर तथा पूर्वाधारलाई भत्काएर अर्को बनाउने गरिन्छ ।

भूकम्पनिरोधी घर बनाइन्छ
जापानमा घर बनाउँदा अनिवार्य रूपले यसलाई भूकम्पनिरोधी बनाउनुपर्छ । घर बनाउँदा फाउन्डेसन गहिरो बनाउने र फाउन्डेसनमा भूकम्पका झड्काबाट घरलाई जोगाउने गरी निर्माण सामग्री राखिन्छ ।

सञ्चारमा एकरूपता अपनाइन्छ
भूकम्प जानसाथ जापानका सबै टेलिभिजन तथा रेडियो स्टेसनले सरकारी प्रसारणकर्ताको प्रसारणलाई आफ्ना च्यानल तथा स्टेसनमार्फत खुला गर्छन् । यसले गर्दा जनताले एउटै सूचना पाउँछन् । संकटको घडीमा धेरै सञ्चारमाध्यमले आ–आफ्नै पारामा सूचना, सन्देश र घटना विवरण दिइएमा आपत्मा परेका जनतालाई अझ अन्योलमा पर्न सक्छन् भन्नेमा त्यहाँका रेडियो तथा टेलिभिजन प्रसारणकर्ताले सचेतना प्रदर्शन गर्ने गरेका छन् । भूकम्पलगत्तै सुनामी आउने–नआउने कुरा पनि अफिसियल प्रसारणकर्ताले दिने गर्छन् । कतिपय ग्रामीण क्षेत्रमा सरकारले नागरिकलाई संकटका वेला सुन्न भनेर रेडियो नि:शुल्क वितरण गर्छ । साथै, सहरका विभिन्न ठाउँमा राखिएका लाउडस्पिकर सिस्टममार्फत समेत आधिकारिक निकायबाट भूकम्पसम्बन्धी सूचना प्रवाहित गरिन्छ ।

इमर्जेन्सी किटको व्यवस्था गरिन्छ
भूकम्पले गर्दा भवन भत्किएर भग्नावशेष अथवा घरभित्रै कैद हुन सकिने अवस्थालाई ध्यानमा राखेर समेत जापानमा तयारी गरिन्छ । यस्तो अवस्था आउने कल्पना गरी ड्राइ खाना, पानी र फस्र्ट एडका सामग्रीसहितको एमर्जेन्सी किटको व्यवस्था घरका हरेक व्यक्तिका लागि गरिएको हुन्छ ।

मनिटर सिस्टम स्थापना गरिन्छ
भूकम्प, सुनामीलगायत प्राकृतिक विपत्ति आउने सम्भावनाको अध्ययन गर्न जापानले बर्सेनि लाखौँ डलर खर्च गरेर मनिटरिङ सिस्टमलाई अध्यावधिक गरिन्छ । यस्ता सिस्टमले नजिकको क्षेत्रमा भूकम्प गएको तीन मिनेटभित्र साइरन बजाएर समुद्रका तटीय क्षेत्रमा बस्ने मानिसलाई सचेत गराउँछ ।

Source :http://www.enayapatrika.com/2015/05/4857

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s