अन्य मुलुकमा भूकम्प जाँदा के भयो ?

Indonesia

सन् २००४ मा इन्डोनेसियामा गएको पहिरोले पुर्याएको क्षति । तस्विर : एजेन्सी

काठमाडौ, वैशाख १५ – ठूला खाले भूकम्पपछि विभिन्न खाले हल्ला र भ्रम फैलिन्छ । केही असामाजिक, उच्छृंखल, बदमास र अराजक तत्त्वहरूबाट कुप्रचारको प्रयास हुन्छ । आज यस्तो हुँदैछ है । भोलि यति वा उति बजे फेरि जाला जस्तो भ्रम फिँजाएर मज्जा लिनेको कमी हुन्न ।

सबै जना घर छाडेर हिँडेमा चोरी र लुट गर्न सजिलो हुने नियतले पनि यस्तो गरिन्छ । हरेक विकसित, अल्पविकसित र विकसित मुलुकमा विनाशकारी प्रकृति प्रकोपपछि यस्तो अवस्था उत्पन्न हुन्छ । सर्वसाधारणमा अन्धविश्वास सिर्जना गरेर यतिखेर व्यक्तिगत फाइदा लुट्नेको पनि कमी हुन्न ।

यस्तोमा स्वविवेकको प्रयोग गर्नु र भरपर्दो सरकारी तथा गैरसरकारी सञ्चार माध्यमबाट यथार्थ जानकारी लिएर घरभित्र वा बाहिर सुरक्षित व्यवस्थापन गरेर धैर्यतासाथ अघि बढ्नु उचित हुन्छ । हिन्दु पत्रिकाको अनुसार नेपालमा शनिबार गएको भुइँचालो ८० वर्षभन्दा बढीको अवधिमा हिमालय शृंखलाकै सबभन्दा नराम्रो हो । तर, भौगोलिक अवस्था र अहिलेको जनघनत्वको हिसाबले नेपालमा भयावह मानवीय हताहती भए पनि विश्वमा सन १९०० देखि अहिलेसम्म १७ वटा यस्तै प्रकृतिका भूकम्पहरू गइसकेका छन् । यी सब त्यो परिस्थितिमा अप्रत्याशित र असहनीय नै थियो ।

ती मुलुकका बासिन्दा र सरकारले त्यो स्थितिको मिलेर सामना गरी पुनर्निर्माणमा लागेको तथा पुरानै अवस्थामा फर्केको देखिन्छ । सन् १९०६ को ३१ जनवरीमा दक्षिण अमेरिकी मुलुक इक्वेडरको तटदेखि टाढा ८.८ रेक्टर स्केलको भुइँचालोपछि सुनामी जाँदा कम्तीमा ५ सयको मृत्यु भयो । धेरै दिनसम्म यसको प्रभाव रह्यो । प्रविधि र साधनस्रोतको विकासको हिसाबले त्यो बेला उक्त मुलुकका लागि यो अकल्पनीय घटना थियो । विभिन्न आदिवासी समूहको बसोबास भएको त्यो मुलुकमा नागरिकले एक अर्कामा सही सूचनाको परवाह गर्दै एकभएर यसको समाधान गरी स्थितिलाई सामान्य बनाए ।

सन १९२२ को ११ नोभेम्बरमा चिली र अर्जेन्टिनाको बोर्डरमा सुनामीलाई निम्तो दिनेगरी ८.५ रेक्टरको कम्पन गयो । यसबाट चिलीको पूरा समुद्री तट बर्बाद भयो । त्यसैगरी रुसको सुदूर पूर्वको कामचाट्कामा सन १९२३ को फेब्रुअरी ३ मा ८.५ रेक्टरको झट्का गयो । सन १९५२ को ४ नोभेम्बरमा उक्त क्षेत्रमा ९ रेक्टर स्केल तीव्रताको भुइँचालो जाँदा हवाई क्षेत्रमा ९.१ मिटरसम्म छाल उठेको थियो । ईश्वरको कृपा भएमा कसैको केही बिग्रन्न भनेझैं त्यहाँ कुनै क्षति भएन ।

भनिन्छ त्यहाँकावासीले नआत्तिई परिस्थितिको सामना गरे । यसले कम हताहती हुनुका साथै भौतिक क्षतिको पुनर्निर्माणमा सहयोग पुर्‍यायो । सन् १९३८ को १ फेब्रुअरीमा इन्डोनेसियाको बन्द समुद्रमा माथि उल्लेखित प्रकृतिको भूकम्प जाँदा सुनामी आयो ।

त्यो क्षेत्रमा बस्नेले पहिले तीतो अनुभवबाट पाठ सिक्दै यस्तो परिस्थितिमा एक अर्काको क्षमता र ज्ञानको साटासाट गर्दै अघि बढ्े । तिब्बती प्लेटहरूको गतिविधिलाई नेपालमा भुइँचालो मुख्य कारण मानिन्छ । त्यही तिब्बतमा सन् १९५० को १५ अगस्तमा ८.६ तीव्रताको भूकम्पमा कम्तीमा ७ सय ८० का ज्यान गयो । शोकको त्यो घडीबाट बाहिरिन उनीहरूलाई पनि समय लागेको थियो । तर, सामुदायिक मेलमिलापमा विश्वास राख्ने उनीहरू ढिलोचाँडो पुरानो स्थितिमा पुनरागमन गरे । सन् १९५७ को ९ मार्चमा अमेरिकी राज्य अलास्काको आन्द्रियानोफ द्वीपहरूमा ८.६ तीव्रताको जाँदा १६ मिटरसम्म अग्लो सुनामी गयो ।

सन १९६४ को २८ मार्चमा अलास्कामा ९ रेक्टर स्केलको भूकम्प जाँदा सुनामीमा १ सय २८ सहित १ सय ३१ को ज्यान गयो । सन १९६५ को ४ फेब्रुअरीमा उक्त क्षेत्रमै ८.७ गतिको झट्कामा ११ मिटरसम्म सुनामी उठ्यो । तर, सन् १९६० को २२ मेमा दक्षिण चिलीमा ९.५ तीव्रतासँगै सुनामीले १ हजार ७ सय १६ को ज्यान लियो । यसले चिलीलाई गहिरो शोकमा लग्यो । त्यहाँ महिनौंसम्म कम्पनहरू महसुस भइरहे ।

धेरै दिनसम्म अस्थायी शिविरमा बसेका उनीहरूलेपछि यस्तो अवस्थामा आश्रय लिन सक्ने घरभित्रै मजबुत थलोहरूको निर्माण गरे । घर निर्माणमा वैज्ञानिक मापदण्डमा जोड दिन थालियो । यस्तो खाले प्रकोपको भविष्यवाणी गर्ने संसारमा अहिलेसम्म कुनै यन्त्र वा सूत्रको विकास भएको छैन । त्यही भएर सन २०१० को २७ फेब्रुअरीमा कसैले अनुमान वा भविष्यवाणी गर्नै नपाउँनेगरी चिलीमै ८.८ रेक्टरको झट्कासहित सुनामी जाँदा थप ५ सय २४ ले ज्यान गुमाउनुपर्‍यो ।

सन् १९६३ को १३ अक्टोबरमा रुसको कुरिल द्वीपमा ८.५ तीव्रताको जाँदा पनि केही भएन । यसबाट सबै भुइँचालोले क्षति नै गर्छ भन्ने होइन । यो कुन ठाउँमा र कसरी गयो भन्नेमा भर पर्छ ।

सन् २००४ को २६ डिसेम्बरमा इन्डोनेसियामा गएको ९.१ रेक्टर स्केलको भूकम्पसहित आएको सुनामीमा दर्जनौं मुलुकमा २ लाख ३० हजारको ज्यान गयो । त्यहाँ पनि धेरै घण्टौं र दिनसम्म झट्का र कम्पनहरू महसुस भए । एक दशकपछि पनि त्यसको प्रभाव कायमै छ । त्यहाँको समग्र आर्थिक तथा सांस्कृतिक वातावरणमा यसको प्रभाव पर्यो । तर, त्यहाँ दलीय स्वार्थ र जातीय द्वन्द्वलाई थाँती राखेर सबैजना मुलुक बनाउनमा लागे । एक दशकमै त्यहाँको सामाजिक, सांस्कृतिक र ऐतिहासिक धरोहरलाई पुरानै अवस्थामा फर्काइयो ।

सन् २००५ को २८ मार्चमा इन्डोनेसियाकै उत्तरी सुमात्रामा ८.६ रेक्टर स्केलको शक्तिशाली झट्काले थप १ हजार ३ सयको ज्यान लियो । जानिफकारहरूका अनुसार यसअघिको अनुभवका कारणले पूर्व सतर्कता र सचेतनाका कारण त्यहाँ कम क्षति भएको थियो । पटक–पटकको भुइँचालोले जमिन र घर दुवै कमजोर भएकाले यसले निरन्तरता लिन सक्छ । सन् २००७ को १२ सेप्टेम्बरमा सुमात्रामै ८.५ रेक्टरको भुइँचालोमा फेरि २५ को ज्यान गयो ।

अनेक थरी ज्ञान, विज्ञान र प्रविधियुक्त अहिलेको समयमा पनि भूकम्पको त्राही जारी छ । २०११ को ११ मार्चमा जापानको उत्तरपूर्वी तटदेखि टाढाको क्षेत्रमा ९ रेक्टरको भुइँचालोमा १८ हजारभन्दा बढीको मृत्यु भयो । संवेदनशील भौगोलिक वनावटका कारण जापानमा भूकम्पको लामै इतिहास छ । अति विकसित र उच्च प्रविधिमा राम्रो पहुँच राख्ने जापानले पनि यसको भविष्यवाणी गर्न वा रोक्ने उपाय खोज्न सकेको छैन । उसले भूकम्प प्रतिरोधक भवन निर्माण र नागरिकबीच सही जानकारी प्रभावमा जोड दिएको छ ।

बुझ्नुपर्ने के छ भने तटीय वा सामुन्द्रिक क्षेत्रमा भूकम्प जाँदा मौसमविद्हरूले सुनामीको चेतावनी जारी गर्नसक्छन् । तर, उनीहरूसँग भूकम्पको पूर्व र किटान भविष्यवाणी गर्ने क्षमता वा हैसियत छैन । यस बारेमा अहिलेसम्म खोज जारी नै छ । उदाहरणको रुपमा सन २०१२ को ११ अप्रिलमा इन्डोनेसियाकै उत्तरपूर्वी सुमात्रामा ८.६ तीव्रताको भूकम्प जाँदा अन्तर्राष्ट्रिय विद्हरूले दुई दर्जनभन्दा बढी मुलुकहरूमा सुनामीको चेतावनी जारी गरे । तर यसअघि नै भूकम्प जाने भविष्यवाणी गर्न सकेनन् । त्यसैगरी भूपरिवेष्ठित राष्ट्रहरूमा पनि भूकम्प आउने वा नआउने किटानी गर्ने कुनै संयन्त्र छैन ।

विश्वको जुनसुकै कुनामा किन नहोस्, रहस्मय प्रकृति प्रकोप भुइँचालो जाँदा सबैको अनुभव उही हुन्छ । आफैंलाई पर्दा बढी पीडा हुनु स्वाभाविक हो । मनन गर्नैपर्ने कुरा के छ भने यो जहाँ र जतिसुकै बेला जानसक्छ । तर, कमजोर भवन निर्माण र हतास एवं हतारमा उम्कन खोज्दा ज्यान जाने हो । घरभित्र र बाहिर हामी जुनसुकै परिस्थितिमा रहेको बेला पनि यो प्रकोप आइलाग्न सक्छ । त्यस्तोमा एक छिन सोचेर पाइला चाल्नु उपयुक्त हुन्छ । कुनै पनि घटना भएपछि वा हुन थालेपछि आत्तिएर वा छटपटिएर वा चिच्याएर समाधान निस्कन्न । त्यसका लागि सोचविचार गर्नैपर्छ । सरकारले मित्र एवं छिमेकी राष्ट्रहरूसँग सहयोग मागेझैं हामी पनि नजिकको छरछिमेक र स्थानीयको सहयोगले हातेमालो गर्दै अगाडि बढ्न सक्छौं ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति: २०७२ वैशाख १५ ०३:२३

Source :http://www.ekantipur.com/np/2072/1/22/full-story/408077.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s