महाभूकम्पले सिकाएको पाठ

विश्वनाथ खरेल

महाभूकम्पले सिकाएको पाठगत वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ६ रेक्टरको भूकम्प गयो । सो महाभूकम्पमा परी अर्बाैं क्षति भएको छ, हजारौँको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् । अझै कति क्षतिको विवरण आउने हो, अनुमान गर्न कठिन छ । भूकम्पीय दृष्टिकोणले उच्च जोखिम रहेका राष्ट्रमध्ये नेपाल ११औँ स्थानमा छ । नेपालमा हरेक ८० देखि सय वर्षको अन्तरालमा ठूलो भूकम्प आउने गरेको विज्ञहरूको भनाइ छ । ०४५ सालको भूकम्पबाट क्षति भएका घरको अध्ययनपछि आगामी दिनमा सुरक्षित रहने किसिमले भूकम्प प्रतिरोधी घर बनाउन कानुन बनाइएको भए पनि सरकारले पालना गराउन सकेको छैन । ०६० सालमा लागू भएको राष्ट्रिय भवन निर्माण संहिता ०६२ बाटै ५८ नगरपालिका र एक सय २१ नगरोन्मुख गाविसमा लागू गर्नुपर्ने भनिए पनि कार्यान्वयन भएको छैन । भवन विभागका अनुसार हालसम्म ७५ जिल्लामा ७६ हजार पाँच सय ३० जना इन्जिनियर, ओभरसियर तथा घर निर्माणमा संलग्न कालिगढलाई भूकम्प प्रतिरोधक घर निर्माणसम्बन्धी तालिम दिइएको छ । यसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्को बैठकले जोखिम व्यवस्थापन राष्ट्रिय नीति ०६६ पारित गरेको छ ।

भूकम्पीय जोखिमका दृष्टिले काठमाडौं अत्यन्त बढी खतरामा छ । करिब डेढ लाख घर रहेको काठमाडौं महानगरपालिका (कामनपा) मा बर्सेनि चार हजार घर थपिइरहेका छन् । तर, घर नक्सापासको प्रमाणपत्र बिल्डिङ कोडअनुसार हुन सकेको छैन । जोखिमको दृष्टिले उपत्यकामा तीनवटै सहर खतरामा छन् । करिब ३५ हजार घर रहेको ललितपुर उपनपामा वार्षिक १५ सयको हाराहारीमा घर थपिँदै आएको अनुमान छ । भवन विभागका अनुसार कामनपा र नगरपालिकामा बिल्डिङ कोड हेर्ने अलग्गै निकाय नभएकाले नयाँ बन्ने घरको निरीक्षण र अनुगमन हुन नसकेको हो । कामनपाका भौतिक विकास तथा निर्माण विभाग कर्मचारीका अनुसार वार्षिक बन्ने चार हजार घरमा पनि राम्रोसँग निरीक्षण हुने गरेको छैन । राजधानीका पुराना घर मात्र होइन, देशकै प्रशासनिक केन्द्र, सिंहदरबार हाताका पुराना घर भूकम्पबाट प्राय: असुरक्षित छन् । अध्ययनअनुसार वि.सं. १९९० को जत्रो भुइँचालो आएमा काठमाडौं उपत्यकामा कति क्षति होला, अहिलेको क्षतिले नै संकेत गरिसकेको छ ।

भूकम्प एक प्राकृतिक प्रकोप हो । यो परापूर्वकालदेखि मानव समुदायले भोग्दै आएको खतरनाक तथा अति विनाशकारी प्रकोप हो । भूकम्पीय प्रकोप दुई कारणले हुन्छ : भौगर्भिक र ज्वालामुखी । नेपालमा ज्वालामुखी नभएको हुनाले भौगर्भिक कारणबाट भूकम्प जाने गर्छ । भौगर्भिक कारणबाट पृथ्वीभित्रको आन्तरिक प्रक्रियाबाट उत्पन्न यान्त्रिक शक्ति कुनै खास स्थानमा सञ्चित हुँदै जान्छ र कुनै सीमासम्म पुगेपछि भूकम्पनको माध्यमबाट क्षीण हुन्छ । यसरी शक्ति क्षीण हुने प्रक्रियालाई नै भूकम्प भनिन्छ । अत: करिब ६ करोड वर्षपूर्व युरेसियाली प्लेट र इन्डो–अस्ट्रेलियन प्लेटबीचको ठक्करका कारण भएको भूकम्पले सिर्जना गरेको नेपालको भौगोलिक अवस्थिति आज पनि भूकम्पप्रति उत्तिकै संवेदनशील छ । तरुण भौगोलिक अवस्था र चलायमान भारत–तिब्बत टेक्टोनिक प्लेटका कारण सिंगो नेपाल भूकम्पीय जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

नेपालमा धेरै वर्षपहिलेदेखि सानाठूला भूकम्पका धक्का हुँदै आएको छ । देशको भूबनोट र धरातलीय स्वरूपको कारणले गर्दा ‘नेपाल अति भूकम्पीय जोखिमयुक्त क्षेत्र’मा पर्छ । वि.सं. १९९० साल माघ २ गते सोमबार दिनको २ बजेर २४ मिनेट २२ सेकेन्ड जाँदा नेपालको पूर्वी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु भएको महाभूकम्पबाट मात्रै आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो, घरबास, देवालय र पाटीपौवासमेत गरी दुई लाख सात हजार सात सय ४० वटा संरचना भत्किएका थिए । त्यस्तै गरी वि.सं. ०४५ साल भदौ ५ गते बिहान ४ बजेर ५४ मिनेट ३५ सेकेन्डमा नेपालको पूर्वी भाग उदयपुर जिल्ला केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्पबाट सात सय २१ जानाको मृत्यु र करिब ६५ हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए । हाम्रो देशले यी विगतमा गएका भूकम्पबाट शिक्षा लिनु पनि त्यत्तिकै सान्दर्भिक हुन्छ । भनिन्छ, ‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो ।’ भूकम्पीय जोखिम न्यूनीकरणका लागि कार्य गर्दै आएको भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका अनुसार भूकम्पीय जोखिमलाई प्राथमिकतामा राखी यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य नगर्ने हो भने नब्बे सालको जत्रो महाभूकम्प गएमा काठमाडौं उपत्यकामा अकल्पनीय क्षति हुनेछ ।

समग्रमा भन्नुपर्दा अहिलेको भूकम्पले सयौँ मानिसको ज्यान जानुका साथै हजारौँ घर भत्किएका छन् । यसपटकको भूकम्पले पनि काठमाडौंलगायत मुलुकका अनेकौँ पुरातात्त्विक महत्त्वका मठ–मन्दिरलाई ध्वस्त बनाएको छ । भूकम्पले काठमाडौंको धरहरालाई पनि भत्काइदिएको छ । धरहरा मात्र होइन, उपत्यकाको ऐतिहासिक सम्पदा ध्वस्त भएका छन् । विश्व सम्पदामा सूचीकृत काठमाडौं, भक्तपुर र ललितपुरका सबैजसो सम्पदा क्षतिग्रस्त भएपछि ऐतिहासिक स्मारकको अस्तित्व मेटिने डर बढेको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति यति धेरै भएको छ कि जसको अनुमानसमेत गर्न कठिन छ । काठमाडौंमा रहेका धरहरादेखि वसन्तपुर दरबार स्क्वायर र पाटन तथा भक्तपुर दरबार स्क्वायरका सम्पदा हुन् वा अन्य मन्दिर तथा पुरातात्त्विक सम्पदा तथा धरोहर क्षत्–विक्षत् भएका छन् । नेपालको इतिहासमा भूकम्पबाट आएको यति ठूलो विपत्ति ८२ वर्षपछि दोहोरिएको हो । आगामी दिनमा फेरि दोहोरिन सक्ने यस्तो विपत्तिमा क्षति कम गराउन सरकारले तत्काल भूकम्पीय क्षति न्यूनीकरण गर्ने तयारी थालिहाल्नुपर्छ ।

Source :http://www.enayapatrika.com/2015/05/4207

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s