महाभूकम्पबाट आर्थिक क्षति र न्यूनीकरण-720121

विश्वनाथ खरेल,
गत वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्र बनाई गएको ७ दशमलव ६ रेक्टर महाभूकम्पले नेपाल र नेपालीले अकल्पनीय मानवीय तथा भौतिक क्षतिको सामना गर्नुपरेको छ । यो महाभूकम्प २१औं शताब्दीमा पृथ्वीमा गएको सातौं ठूलो भूकम्प मानिएको विज्ञहरुको भनाइ रहेको छ । भूकम्पको शाब्दिक अर्थ कुनै पनि कारणबाट हुने पृथ्वीको कम्पन हो । पृथ्वीको कम्पन दुई प्रकारको हुन्छ । क्षितिजीय र ऊध्र्व । यी दुईमध्ये क्षितिजीय कम्पन बढी डरलाग्दो हुन्छ । हामी पृथ्वीबासीका लागि भूकम्प कुनै नौलो कुरा होइन, यो एउटा प्राकृतिक घटना हो । विभिन्न प्राकृतिक प्रकोपमध्ये भूकम्प अत्यन्त शक्तिशाली, डरलाग्दो एवं विनाशकारी प्राकृतिक प्रकोप हो । भौगोलिक कारणले पृथ्वी दायाँबायाँ वा तलमाथि हल्लिँदा पृथ्वीको धरातलमा हुने उथलपुथललाई नै सजिलो अर्थमा भूकम्प वा भुइँचालो भनिन्छ ।

भूकम्पशास्त्रीहरुले मुलुकमा कुनै पनि समयमा महाभूकम्प हुनसक्ने सम्भावना देखाउँदै आएका छन् । आठ रेक्टर स्केलभन्दा बढीको भूकम्पलाई महाभूकम्प भनिन्छ । यो सम्भावना विगतमा उपत्यकालाई निकै प्रभावित पार्नेमा सबैको एकमत पाइन्छ । भूकम्प रोक्न सकिन्न । यसको निश्चित भविष्यवाणीसमेत हालसम्म सम्भव छैन । बेलैमा सचेत भएर सुरक्षाका उपाय अपनाउनुबाहेक यसबाट हुनसक्ने क्षतिबाट बच्ने अन्य उपाय हालसम्म पत्ता लगाउन सकिएको छैन । भूकम्पबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न विकसित मुलुकहरुले धेरै सफलता हासिल गरिसकेका छन् । त्यसका लागि जनचेतनालाई नै महत्वपूर्ण मान्न सकिन्छ ।

नेपालमा प्राकृतिक प्रकोपसम्बन्धी घटनाहरुको इतिहास पल्टाउँदा वि.सं. १२५५ मा गएको भूकम्प नै पहिलो सुन्नमा आएको पाइन्छ । यसपछि क्रमिकरुपमा आजसम्म विभिन्न किसिमका प्राकृतिक प्रकोपका घटनाहरु भइरहेका छन् । त्यसमध्ये उल्लेखनीय घटनाहरुमा वि.सं. १८९० भदौ १२ गते, १९९० माघ २ गते, २०४५ साल भदौ ५ गतेका भूकम्पहरुलाई लिन सकिन्छ । हाम्रो देशको भूकम्पसम्बन्धी इतिहासलाई केलाउँदा वि.सं. १२५५, १४०८, १६८१, १८१०, १८३३, १८६६ मा ठूल्ठूला भूकम्पहरु गएको थाहा हुन्छ । यससम्बन्धी आंकलन भएको पाइँदैन ।

भूकम्पलाई प्राकृतिक घटना मान्न सकिँदैन, किनभने प्रत्येक वर्ष पृथ्वीमा हजारौंको संख्यामा भूकम्प जाने गर्दछन् । अन्तर्राष्ट्रिय भूकम्पमापन केन्द्र बेलायतको एक वार्षिकी प्रतिवेदनअनुसार पृथ्वीमा वर्षभरि सानाठूला गरी २५ हजारदेखि ३० हजारको संख्यामा भूकम्प जाने गर्दछन् । त्यसमध्ये धेरै भूकम्पहरु साना र मानिसले अनुभव गर्न नसकिने खालका हुन्छन् । अध्ययनअनुसार वर्षभरि जाने भूकम्प २–३ वटा ८ रेक्टरभन्दा माथिका महाभूकम्प, १५–२० वटा भूकम्प ७ रेक्टरभन्दा ठूला, १००–१५० वटा भूकम्प ६ रेक्टरभन्दा ठूला र ४००–६०० वटा भूकम्प ५ रेक्टरका बीचमा पर्दछन् । यसबाहेक अन्य भूकम्पहरुलाई साना भूकम्पमा गनिन्छ । विश्वका महाभूकम्पहरुमा लिस्चन सन् १७७५, क्यालिफोर्निया १९०६, मेक्सिको १९०८, टोकियो १९२३, इरान १९३५, चिली १९३९ र १९६०, निकारागुवा १९७२, ग्वाटेमाला र चीन १७७६, आमेर्निया १९८८ र कोवे १९९५, सन् २००४ डिसेम्बरको सुनामीमा झन्डै दुई लाख ५० हजारको ज्यान गएको अनुमान छ भने त्यस्तै गरी सन् २००५ अक्टोबर ८ मा पाकिस्तान कश्मीर क्षेत्रमा गएको भूकम्पमा झन्डै ७३ हजारको मृत्यु भएको थियो भने लाखौं मानिस घरबारविहीन भएका थिए ।

नेपालमा वि.सं.१९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टरको महाभूकम्पबाट आठ हजार ५ सय १९ जनाको मृत्यु हुनुको साथै दुई लाख सात हजार ७ सय ४० वटा भौतिक संरचना भत्किएको उल्लेख पाइन्छ । त्यसपछि सबैभन्दा ठूलो भूकम्पको रुपमा भने वि.सं. २०४५ सालमा नेपलाको पूर्वी भागमा भएको भूकम्प रहेको छ । उदयपुरमा जिल्लामा केन्द्रबिन्दु भएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पमा ४० सेकेन्डसम्म धक्का महसुस भएको थियो ।  उक्त भूकम्पबाट ७ सय २१ जनाको मृत्यु हुनुका साथै ६५ हजार घर भत्किएको थिए । संसारको कुनै भागमा धेरै भूकम्प गइरहन्छ भने कुनै भागमा भूकम्प त्यति साह्रो जाँदैन । भौगोलिक दृष्टिकोणबाट हेर्दा नेपाल एक अति भूकम्पीय क्षेत्रमा अवस्थित भएकोले यहाँ भूकम्प गइरहँदा विगतका अनुसन्धानलाई अवलोकन गर्ने हो भने नेपालमा निकै ठूला भूकम्प गएको अनुमान छ । भूकम्पको अध्ययन गर्ने क्रममा अमेरिकाको कोलोराडो विश्वविद्यालयका भूकम्प विशेषज्ञ रोजर विलहोमले केही वर्षपहिले काठमाडौंमा आयोजित एउटा सम्मेलनमा उद्घोष गरेका थिए –यस भारतीय उपपहाद्वपमा आगामी केही दशकभित्र ८ दशमलव ५ रेक्टर मापदण्डका भयावह भुइँचालाहरु आउने सम्भावनाहरु धेरै छन् । भूकम्पविद्हरुले खासगरी हिमाल क्षेत्रलाई इंगित गरेका छन् । विगत तीन दशकभित्र हाम्रो देशमा सिर्जना भएका दैवीप्रकोपका कारण  हजारौं हजारको मृत्यु भएको लाखौं लाखको  घरवारविहीन भएको तथ्यांक प्रकाशमा आएको थियो ।

मुलुकको कुरा गर्ने हो भने काठमाडौं उपत्यका भूकम्पीय दृष्टिले उच्च जोखिममा छ भन्ने निष्कर्ष नयाँ होइन, भूगर्भविद्हरुले यो ठम्याइ गरेका छन । ४० लाखभन्दा बढी मानिस बसोबास गर्ने राजधानीमा अनुमानित ५ लाख घर छन् ती अधिकांश भूकम्पीय प्रतिरोध क्षमताविहीन अवस्थामा छन् । विगत २०६८ साल असोज १ गते साँझ ६ बजेर २५ मिनेटमा ६ दशमलव ८ रेक्टरस्केलको भूकम्प डेढ मिनेटसम्म गएको थियो । यसको असर देशव्यापीरुपमा परेको थियो । भूकम्पको कम्पन महसुस गर्नेबित्तिकै राजधानी र बाहिरको जनजीवन भयपूर्ण भएको थियो । छिमेकी देश भारतको उत्तरपूर्वी राज्य सिक्किमको मगन र साकयाङ्क क्षेत्रमा मुख्य केन्द्र विन्दु भएको शक्तिशाली भूकम्पमा परी भारतमा आधा दर्जनको मृत्यु हुनुका साथै पचासौं घाइते भएको अनुमान गरिएको छ । भूकम्प पछिको पहिलो ३० मिनेटमा ५ दशमलव ७, ५ दशमलव ३ र ४ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको बताइएको थियो । त्यसरी नै भूकम्पको झड्का आधा मिनेटदेखि एक मिनेटसम्म महसुस गरिएको थियो ।
त्यस्तै गरी हाम्रो देशको भने ६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ६१ जनाभन्दा बढी घाइते भएका थिए, संरचनातिर हेर्दा उपत्यकामा २० घर र पूर्वका सबैजसो जिल्लामा सरदर एक दर्जन घर भत्किएको बताइएको थियो । मुलुकमा नब्बे सालको भूकम्प दोहोरिए अर्थात् विगतका जस्तै ठूलो क्षमताको भूकम्प गएको खण्डमा यहाँ मात्र कम्तीमा दुई लाख मानिस मारिने र त्यसभन्दा बढी घाइते हुने विज्ञहरुको अनुमान छ, देशभर यो संख्या दोब्बर हुन सक्नेछ । त्यसैगरी दुई लाख व्यक्ति घाइते हुने, ६० प्रतिशत भवन क्षतिग्रस्त हुने, सात लाख व्यक्ति घरवारविहीन हुने, ५० प्रतिशत पुल, १० प्रतिशत बाटो र ९५ प्रतिशत खानेपानी पाइप नष्ट हुने औंल्याइएको छ । विद्यमान भूकम्पको जोखिम घटाउन कमजोर भवन र कमजोर संरचनालाई भूकम्पीय दृष्टिले सुदृढीकरण गरे जोखिममा ५० प्रतिशत कम आउने पनि बताइएको छ । यस्तो जोखिम रहेका अवस्थामा सरकारले तत्काल भूकम्पीय क्षती न्यूनीकरण गर्ने उपाय पहिल्याउन आवश्यक तयारी थालिहाल्नुपर्छ । विपत्ति आफैंमा एउटा दुःखद, संयोग हो । विश्वभरिमा सन् १९५९ डिसेम्बर ३१ देखि २००४ डिसेम्बर ३१ सम्म ६ लाख पाँच हजार ८ सय २२ र एसियामा सन् १९५९ देखि २००५ डिसेम्बरसम्म २० हजार ३ सय ७५ वटा भूकम्प गएको जानकारी सुन्नमा आएको थियो ।

समग्रमा भन्नुपर्दा प्रत्येक ८० देखि सय वर्षको सेरोफेरोमा ठूला भूकम्प जाने, नेपाल इन्डो–एसियाली प्लेटसिस्टमको घर्षण क्षेत्रमा परी भूकम्पीय खतरा बढी भएको भू–क्षेत्रमा अवस्थित रहेका तथा परम्परागत घर निर्माण, अव्यवस्थित सहरीकरण र भूकम्पीय चेतनाको न्यूनताको कारण बढी क्षति व्यहोनुपर्ने खतरा विद्यमान रहेको स्थिति रहेको छ । यसको समाधानको लागि चेतनामूलक कार्यक्रमले क्षति न्यूनीकरणमा सहयोग पुग्ने आशा गरिनु स्वाभाविक हो । रोक्न नसकिने तर बच्न सकिने यो खतरासँग जुध्न अब ‘हल्ला’ वा औपचारिकताभन्दा केही ठोस कदम चाल्ने बेला भइसकेको छ । गाउँ वा सहर जहाँ भए पनि घर निर्माण गर्दा र घरभित्रको सजावट गर्दा भूकम्प प्रतिरोधक विधि प्रयोग गर्न सकियो भने भूकम्पबाट कसैलाई पनि क्षति पुग्दैन । हामी कहाँ सबैतिर परम्परागत घर निर्माण विधिमा जोखिम न्यूनीकरणभन्दा लगानी न्यूनीकरणलाई ध्यान दिइन्छ । जसले गर्दा भूकम्प आउँदा घर भत्कने तथा त्यस्ता क्षेत्रमा उद्धारका कार्य समेत समयमा गर्न नसकिने भएकाले जनधन क्षतिको सम्भावना बढी हुन्छ । टोलटोलमा खुला ठाउँ, फराकिला सडक, दमकल वा उद्धारकर्ता छिटो पुग्नसक्ने गरी घर टोलको निर्माण, अस्पतालमा वेड संख्या बढाउने, हरेक व्यक्ति र परिवारमा भूकम्प आउँदा अपनाउनुपर्ने सतर्कतासम्बन्धी चेतना नै यसबाट बच्ने उपाय हुन सक्छन् । मित्रराष्ट्रहरूले जीवनजलदेखि चियापत्तीसम्म सहयोग गरेका छन् ।

भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, टर्की, दुबई, अमेरिका, थाइल्यान्ड, इजरायल, लक्जमबर्ग, इटाली, जर्मनी, सिंगापुर, दक्षिण कोरिया, क्यानडा, फ्रान्सलगायतका देशले राहत सामग्री सहयोग पठाएका छन् । गत वैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक ठाउँलाई केन्द्रबिन्दु बनाएर सात दशमलव ६ रेक्टर स्केलको महाभूकम्प गयो । सो महाभूकम्पमा करिब सात हजार व्यक्तिको ज्यान गुमेको छ भने घाइतेको संख्या करिब १५ हजारको हाराहारीमा पुगेको छ । प्रारम्भिक अनुमानअनुसार मुलुकभर करिब तीन लाख घर क्षतिग्रस्त भएका छन्, जसको विस्तृत विवरण सरकारीस्तरमा आउन भने बाँकी नै छ । पछिल्लो भूकम्पले कुल प्रभावित जिल्ला ३१ वटा रहे पनि मुख्य रूपमा १४ वटा जिल्ला बढी प्रभावित देखिएका छन् । यसमा ८१ लाख नेपाली प्रभावित भएका छन् । तीमध्ये पनि सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, भक्तपुर, ललितपुर, गोरखा र धादिङ बढी नै प्रभावित छन् । उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा रहेका हनुमानढोका क्षेत्रका मुख्य गरी काष्ठमण्डप, मैजुदेवल, नौतले दरबार तथा दस अवतार मन्दिरलगायत अनेकौँ पुरातात्विक महत्वका सम्पदा ध्वस्त भएका छन् । त्यसैगरी, पाटन दरबार क्षेत्र परिसरका कृष्ण मन्दिर वरपरका संरचना, भक्तपुर दरबार क्षेत्रअन्तर्गत वत्सला देवल, शिलु महादेव, तव सतल, भैरव पाटी, लाल बैठक, लास्कु ढोका तथा चाँगुनारायण क्षेत्रभित्रका अमात्य सत्तलजस्ता महत्वपूर्ण सम्पदा पनि क्षतिग्रस्त भएका छन् । चाँगुनारायणको मुख्य मन्दिर नै महाभूकम्पले गर्दा ढल्ने अवस्थामा छ ।
त्यसैगरी, उपत्यकाभित्रका स्वयम्भूनाथ क्षेत्रभित्र पर्ने प्रतापपुर मन्दिरलगायत अन्य सम्पदासमेत क्षतिग्रस्त भएका छन् । काठमाडौं उपत्यकाको धरोहरका रूपमा रहेको पुरातात्विक महत्वको ५० मि. अग्लो धरहराको भौतिक संरचनासमेत ध्वस्त भएको छ । मुलुकभर विश्वसम्पदा सूचीमा रहेका सम्पदासहित अर्बौँ लागतका भौतिक संरचनासमेत ध्वस्त भएका छन्, जसको यथार्थ विवरण यकिन हुन बाँकी नै रहेको छ । सरकारी भवनमा भूकम्पका कारण भएका क्षतिको विवरण प्राप्त गर्न मुख्य रूपमा हाल सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले विभिन्न सातवटा टोली काठमाडौं उपत्यका तथा उपत्यकाबाहिर खटाएको छ । सहरी विकास विभागअन्तर्गत परिचालित टोलीले संवैधानिक निकायका प्रमुखहरूको भवन, सिंहदरबारभित्रका प्रशासनिक भवनहरु, सिंहदरबारबाहिरका सरकारी भवनहरू, अस्पतालका भवनहरू, प्रधानमन्त्री कार्यालय, अपार्टमेन्टका भवनहरू तथा काठमाडौं उपत्यकाबाहिरका सम्पूर्ण सरकारी भवनको अध्ययन गर्नेछन् । सो टोलीले सरकारी भवनहरूको क्षति यकिन गर्नेछ भने सहरी विकास मन्त्रालयको समन्वयमा नेपाल इन्जिनियरिङ एसोसिएसनको संयोजकत्वमा शैक्षिक तथा विभिन्न पेसागत समूहहरूको संयुक्त टोलीले व्यक्तिगत घरहरूसमेतको क्षति मूल्यांकन गर्ने कार्यक्रम अगाडि बढाइएको छ ।

Source :http://www.aarthikdainik.com.np/news_details/.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s