ठूलो भूकम्प आउँदैन, धक्का दिइरहन्छ

डा. अनन्त गजुरेल|२०७२ बैशाख २१ सोमबार

फोटो :भूकम्पका चार तरंग डायग्राममा।
भूगर्भविद् डा. अनन्त गजुरेल भन्छन्, ‘सन् १८३३ मा रसुवा क्षेत्रलाई केन्द्र बनाएर आठ रेक्टरको भूकम्प गएको थियो। त्यसको सय वर्षपछि मात्र ९० सालमा अर्को भूकम्प गयो।अहिले तीन मिटर भूभाग सर्ने गरी भूकम्प आउन ८० वर्ष लाग्यो। त्यसैले ठूलो भूकम्प आइरहँदैन। तर यो ठूलो भूकम्पपछि सानातिना धक्का आइरहन्छ। धक्का दिएन भने बरु खतरा हुन्छ।अहिले भूकम्प आइरह्‍यो भनेर डराउनु पर्दैन।  दुईवटा प्लेट ठोक्किएपछि सेटिङ हुन पनि यस्तो भइरहन्छ।’
अमेरिकाको कर्नेल युनिभर्सिटीका फुलब्राइट स्कलर गजुरेल भूगर्भ विषयमा फ्रान्सको जोजेफ फुरियर युनिभर्सिटीबाट पीएचडी गरेका छन्। नेपालको भूकम्पको जोखिम र संभावनाबारे उनले गहन अध्यन गरेका छन्। भूगर्भविद् डा. गजुरेलसँग अन्नपूर्णका विष्णु सुवेदीले गरेको कुराकानीमा आधारित आलेख यहाँ प्रस्तुत गरिएको छ। 
काठमाडौं : पृथ्वी एउटा जीवित ग्रह हो। पृथ्वी र यसमा रहेका भूभाग चलायमान छन्। पृथ्वीको सतहदेखि सय किलोमिटर मोटाइको मुनि तरलयुक्त तातो चट्टान हुन्छ। त्यसलाई हामी प्लेट भन्न सक्छौं।
यसको तापक्रम १३ सय डिग्री सेन्टिग्रेड हुन्छ। यो पग्लिएको अवस्थामा हुन्छ। प्लेटहरूको घर्षण र जुधाइका कारण भूकम्प आउँछ। नेपालमा भूकम्प आउने एउटै कारण यही हो।
भारतीय उपमहाद्वीप रहेको प्लेट प्रत्येक वर्ष पाँच सेन्टिमिटरका हिसाबले उत्तरतिर ठेलिन्छ। त्यसलाई तिब्बतको प्लेटले रोक्न खोजिरहेको हुन्छ। त्यो बीचमा हामी छौं। इन्डियन र चाइनिज प्लेटबीचको जुधाइ र घर्षणको मारमा हामी पर्छौं। यही कारण नेपाल भूकम्पीय उच्च जोखिममा परेको हो।
नेपालमा आएको भूकम्प र त्यसको प्रभावबारे डा‍. गजुरेलले तयार गरेको डायग्राम
इन्डियन प्लेट बर्सेनि पाँच सेन्टिमिटर उत्तरतिर ठेलिए पनि त्यो शक्ति नेपालसम्म आइपुग्दा जम्मा दुई सेन्टिमिटरमा कायम हुन्छ, तीन सेन्टिमिटर भारतमै खपत हुन्छ। ठेलिएर आउने दुई सेन्टिमिटरको त्यो शक्तिलाई हाम्रो चुरेदेखि उच्च हिमाली क्षेत्रले रोकेर वा थेगेर राख्छ।
त्यसलाई ‘फिरिक्सनल फोर्स’ भनिन्छ। बर्सेनि रोकिएको शक्ति एउटा बिन्दुमा पुगेपछि विस्फोट हुन्छ। त्यसले पृथ्वीमा तरंग आउँछ। हामीकहाँ भूकम्प आउने यसरी नै हो।
ठूलो भुइँचालोपछि सानातिना धक्का आइरहनु राम्रो हो। यसले ठूलो भूकम्पको जोखिम घट्दै जान्छ। वैशाख १२ को भूकम्पले नेपालको भूभाग तीनमिटर दक्षिणतिर सरेको छ र केही माथि उठेको छ। इन्डियन प्लेट उत्तरतिर धसिएकाले भूभाग दक्षिणतिर सरेको हो। दस किलोमिटर तलको क्षेत्र उत्तरतिर सरेको छ। त्योभन्दा माथिको भूभाग दक्षिणतिर सरेको छ।
हरेक वर्ष इन्डियन प्लेट ठेलिँदै गर्दा सञ्चित भएको दुई सेन्टिमिटरको ‘पावर रिलिज’ भएको अवस्था हो। यसले तत्काल अर्को ठूलो भूकम्पको जोखिम कम भएको छ। थुप्रिएको त्यो शक्ति रिलिज वा सञ्चार भएन भने झन् खतरा हुन्छ।
विगतका भूकम्पलाई अध्ययन गर्दा के देखिन्छ भने यो बारम्बार आइरहने अवस्था हुँदैन। बर्सेनि इन्डियन प्लेट उत्तरतिर ठेलिँदा अवरुद्ध हुने वा सञ्चय हुने दुई सेन्टिमिटरको शक्ति ५० देखि १०० वर्षको बीचमात्रै विस्फोट हुने गरेको देखिन्छ।
जस्तो अहिले तीन मिटर भूभाग सर्ने गरी भूकम्प आउन ८० वर्ष लाग्यो। एक वर्षमा रोकिने दुई सेन्टिमिटर पावरको हिसाब गर्दा एक मिटर जमिन सर्ने गरी भूकम्प आउन कम्तीमा ५० वर्ष लाग्ने देखिन्छ। तर सबै अवस्थामा यो लागू हुन्छ भन्ने छैन। किनकि सानातिना धक्का आइरहन्छन्।
अहिले गएको भूकम्पले १९९० सालको आठ रेक्टरको महाभूकम्पमा पनि सञ्चार हुन नसकेर रोकिएको शक्तिलाई विस्फोट गराएको अनुमान छ। सन् १८३३ मा रसुवा क्षेत्रलाई केन्द्र बनाएर आठ रेक्टरको भूकम्प गएको थियो। त्यसको सय वर्षपछि मात्र १९९० सालमा अर्को भूकम्प गयो।
असी वर्षपछि अहिले अर्को आयो। तर आठदेखि नौ रेक्टरसम्मको मेगा भूकम्प पाँचसात सय वर्षको बीचमा मात्रै गएको देखिन्छ। यो छिनछिनमा आइरहने कुरा होइन।
एउटा ठूलो भूकम्पपछि धक्का आइरहन्छ, डराउनु पर्दैन। यसरी धक्का आएन भने झन् बढी खतरा हुन्छ। दुईवटा प्लेट ठोक्किएपछि सेटिङ हुन पनि ठूलो भुइँचालोपछि सानातिना धक्का आइरहनु राम्रो हो।
नत्र अर्को विपत्ति आउन सक्छ। यस्ता धक्काले ठूलो भूकम्पको जोखिम घट्दै जान्छ। तर ‘आफ्टर सक’ महिनौंसम्म पनि आउनसक्छ। यसमा डराउनु पर्दैन।भूकम्प चार प्रकारले जान्छ। प्रारम्भिक चरणमा जानेलाई पी वेभ (प्राइमरी वेभ) भनिन्छ।
यो चरणमा भूकम्प आएको अनुभव हुन्छ। यसको गति अगाडिपछाडि हुँदै जान्छ। यसले खासै क्षति गर्दैन। लगत्तै एस वेभ (सेकेन्ड्री वेभ) आउँछ। यसले तलमाथि हल्लाउँछ। दुई चरणको वेभमा भाग्न सकेमा भूकम्पबाट बच्च सकिन्छ।
त्यसपछि आउने एल वेभ (लभ वेभ) खतरनाक हुन्छ। यसले मान्छेलाई नचाएको अनुभव हुन्छ। यो विनाशकारी हुन्छ। त्यसपछि भूकम्पको अर्को चरण पनि हुन्छ। त्यसलाई रेले वेभ भनिन्छ।
यो चरणमा पृथ्वी नै घुमाएजस्तो अनुभव हुन्छ। यसले पनि विनाश निम्त्याउँछ। वैशाख १२ गते यी चारै प्रकारका भूकम्पको अनुभव भएको छ। बच्नका लागि पी वेभ र एस वेभ आउँदा नै भाग्नुपर्छ।
भूकम्पको केन्द्र १० किलोमिटर माथि भएकाले यसपटक बढी क्षति भयो। पचास किलोमिटर माथि केन्द्र भइदिएको भए यति क्षति हुने थिएन। अहिलेको भूकम्पको फोकस ईपीसेन्टरबाट १० किलोमिटर तल थियो।
त्यसले जमिनलाई बढी चिरा पारेको हो। जीपीएस नेटवर्क राम्रो नभएकाले भूकम्पलाई राम्रोसँग मापन तथा अध्ययन गर्न सकिएको छैन। अहिले हामी अमेरिकन र युरोपियन वैज्ञानिकको अनुमान र अध्ययनमा भर पर्नुपरेको छ।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s