सातु–सर्बतसँग जोडिएको पर्व – 720109

bishwonath-kharel(विश्वनाथ खरेल) हिजो हिन्दूधर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने अक्षय तृतिया पर्व सातु–सर्बत दान गरेर र आगन्तुकहरूलाई यी खाद्यवस्तु खुवाएर मनाइयो। यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्बतले प्यास मेटाई शीतलता प्रदान गर्दछ। त्यसैले यी वस्तु खाने र खुवाउने वैशाख शुक्ल तृतिया तिथिले महत्वपूर्ण धार्मिक स्थान ओगटेको छ। यससँग जोडिएको धर्मशास्त्रीय धारणाअनुरूप यस दिन गरिएको सानोतिनो दानधर्म पनि अविनाशी भएर रहन्छ। यसले गर्दा यसको नाउँ नै अक्षय रहन गएको हो। यस पर्वमा स्नानको साथसाथै जौ हवन, जौबाट बनेको सातु दान र पितृका निम्ति श्राद्धजस्ता कार्यहरू गरिन्छ। नयाँ वर्षको आरम्भसँगसँगै आउने यो चाड ज्यादै गर्मी मौसममा आउने भएको हुँदा उपयोगी जुत्ता, छाता, लौरो, कमण्डलु आदि वस्तुहरूको साथै खुँदोको सर्वत दान गरिने प्रचलन अद्यावधिक नै छ। खास गरेर यस दिन हाम्रो पहाडी भेगका देउराली थुम्काहरूमा जौंको सातु र सर्वत ख्वाउने प्रचलन आजसम्म पनि यथावत् नै छ। यो प्रचलनले भोकाएका र तिखाएकाहरूलाई मौसमअनुसारको खाद्यवस्तु दिनुपर्ने प्रेरण जगाउँछ।
वर्ष शुरु हुने वैशाख महिनाको नाउँ माधव पनि हो र माधव विष्णुको पनि प्रसिद्ध नाम हो। जुनसुकै धर्म व्रत, तीर्थ गरिन्छ त्यसले धर्म मात्र प्राप्त नभएर सामाजिक मान्यता र आरोग्यलाई पनि छोएको वा आत्मसात् गरेको पाइन्छ। जसरी नागपञ्चमीमा हरियो मकै चढाएर वा दान गरेर मात्र खाइन्छ त्यस्तै गरी यस महिनामा पाक्ने गहुँ, जौ, चना, मटरजस्तै हिउँदे बालीलाई भित्र्याएर दान गरी खाने परम्परा वैदिककालदेखि नै शुरुवात भएको हो। धर्मशास्त्रमा दानमा सबैभन्दा ठूलो दान अन्न दान हो भनिएको छ। त्यस्तै गरी गर्मी याममा जलका मुहानहरू सुक्दै गएका हुन्छन्। यस्ता अवसरमा प्राणीलाई नभई नहुने जल ख्वाउने चलन व्यापकरूपमा रहेको हो। प्राणी मात्रको जीवन अन्न र जलमा अडेको कुरालाई स्मरण गर्दै अक्षय तृतिया पर्वमा प्राचीनकालदेखि नै बाटोघाटोहरूमा जौको सातु–सर्वत बटुवाहरूलाई ख्वाउने प्रचलन धेरै पहिलेदेखि भएको हो।
कालचक्रको गणना गर्दा कात्तिक शुक्ल नवमीका दिनदेखि सत्ययुगको आयु १७ लाख २८ हजार, वैशाख शुक्ल नवमीमा त्रेतायुगको आयु १२ लाख ९६ हजार, माघको पूर्णिमादेखि द्वापर युगको आयु ८ लाख ६४ हजार र भदौ कृष्ण त्रयोदशीदेखि कलियुग शुरु भएको पाइन्छ, जसको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ। यो युग परिवर्तनका दिनहरू पुण्यकाल मानिन्छ। यसरी राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतियाका दिन पृथ्वीमा झरेकी थिइन् र यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए।
अन्न र पानी प्राणी मात्रको लागि नभई नहुने वस्तु हो। त्यसकारण प्राणी मात्रको जीवन अन्न–पानीमा बचेको छ। गर्मी मौसममा चिसो पानीको सर्वतले प्राणीको आँत रसाउँछ, जौको उपयोगिता र गुणसम्बन्धमा के प्रसिद्धि छ भने फल पाकेपछि बोट सुक्ने औषधिहरूमा यसको श्रेष्ठ स्थान छ। यसको साथै आयुर्वेदमा जौको गुणबारे भनिएको छ– यो टर्रो, केही मधुर, खुर्कने स्वभावको र नरम पनि बताइएको छ। यसले स्वर विकार पार्ने कण्ठरोग, चर्मरोग, श्वास र कफ रोगलाई पनि फाइदा पुर्याउँछ। अक्षयको शुभ अवसरमा वैवाहिक सम्बन्ध कायम गर्नाले पनि ठूलो पूण्य प्राप्त हुन्छ भन्ने धारणा रहेको पाइन्छ। यसै समयमा विवाहका शुभ मुहूर्तका साइत परेको हुन्छ। यसै घडीमा विवाह भएका नवदम्पतीहरूको दाम्पत्य जीवन सधैँ सफल नै रहने जनविश्वास रहेको पाइन्छ।
तिथिको फरक नपरेको खण्डमा प्रायः वैशाख शुक्ल तृतियामा भगवान् विष्णुका छैटौं अवतारको रूपमा चिनिएका परशुरामको जन्म जयन्ती पनि यसै दिन पर्दछ। जसको जन्म त्रेतायुगमा भएको थियो। अष्टचिरञ्जीवीहरूमध्येका एक मानिने परशुरामको जन्म जमदग्निका पुत्रका रूपमा रेणुकाको गर्भबाट ६ ग्रह उच्च स्थानमा भएको बेला सन्ध्याकालमा भएको थियो। यसले गर्दा पनि यस दिनको महत्व छ।
अक्षय तृतिया पर्व पुरातन युगको शुभारम्भ सम्झाउने दिन हो। यसै दिन पवित्र धार्मिक स्थानहरूमा स्नान, दान, उपवास, समाजसेवालाई पुण्य सम्झने हिन्दू परम्पराले यसलाई महत्व दिएको छ। वैशाख महिनाको प्रचण्ड खडेरीमा अन्नदान, जलदान आदि गर्नु अवश्य नै महत्वपूर्ण कुरा हुन्। सम्भवतः श्रद्धा गर्ने रीतिरिवाज पनि यसै दिनदेखि शुरु भएको होला भन्ने जिज्ञासा राख्न सकिन्छ। जे होस्, यस्ता किसिमका पर्वहरूको मूल्य–मान्यतालाई बढवा दिँदै जानु हामी सबैको परम कर्तव्य हो। तसर्थ अक्षय तृतियाको गरिमालाई झन् महत्व दिनु आवश्यक छ।

Published Date: April 22, 2015

Source : http://www.newsofnepal.com/new/bichar/2015/04/87845

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s