घट्दो दरमा फलफूलको आपूर्ति – 711124

विश्वनाथ खरेल,


देशको कुल राष्ट्रिय उत्पादनको ३३ प्रतिशत अंश कृषि क्षेत्रबाट नै उपलब्ध हुन्छ । त्यस्तै गरी कुल निकासीमा पनि कृषि क्षेत्रको योगदान ४०–४५ प्रतिशतभन्दा बढी नै रहेको पाइन्छ । देशमा कृषिजन्य क्षेत्रलाई सरसर्ति अवलोकन गर्दा जस्तै नगदेबाली, खाद्यान्नबाली, मत्स्य, पशुजन्य उत्पादन, तरकारी र फलफूलमा लगभग क्रमशः १७, ३४, २, २६, १३ र ८ प्रतिशत योगदान उत्पादनमा रहेको अनुमान छ । देशमा फलफूलको बढ्दो माग देखिएता पनि पूर्ति सोही अनुपातमा हुनसकेको देखिँदैन । मुलुकमा धेरैजसो फलफूल आयात हुने छिमेकी मुलुक भारत र चीनबाट हो । यी देशहरुमा हाल फलफूलको मूल्यवृद्धिका कारणले यहाँ पनि मूल्यवृद्धि भएको हो भने सम्बन्धित क्षेत्रको दाबी रहेको पाइन्छ । देशमा विभिन्न फलफूलमध्ये दुई वर्षदेखि केरा उत्पादनमा नेपाल आत्मनिर्भर रहे पनि अन्य फलफूल उत्पादनमा परनिर्भर रहेको अनुमान गरिएको छ । हाम्रो देशमा स्वदेशी फलफूलको आपूर्तिको कमीले गर्दा छिमेकी मुलुक भारत र चीनको स्याउले राजधानीलगायत विभिन्न सहरी क्षेत्रहरुको फलफूल बजार ओगटिरहेकोे छ । स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थानीय कृषकहरुको सक्रियतामा जुम्ला, मुस्ताङ, मनाङ आदि क्षेत्रहरुबाट राजधानीमा स्याउलगायत विभिन्न फलफूलहरु भित्रिएको हो । जस्तै जुम्लाको लाम्ब्रा गाविसका प्रकाश खड्काले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तार गर्नका लागि राजधानीमा स्याउ ल्याएको जानकारी दिएका थिए ।
तर यातायातको सुविधा नहुँदा कर्णाली अञ्चलमा फल्ने स्याउको उचित मूल्य नपाएर बोटमै लाखौं रुपैयाँको स्याउ कुहिनुभन्दा काठमाडौंमा बेच्न उपयुक्त ठानी ल्याइएको सम्बन्धित क्षेत्रका कृषकहरुको भनाइ रहेको पाइन्छ । हाल यस स्याउको बिक्री केन्द्रका रुपमा राजधानीमा भक्तपुर, ललितपुर र काठमाडौंमा रहेको छ । यी स्याउको गुणस्तर हेरी तीन किसिमको मूल्य तय गरिएको छ । यसको मूल्य १ सय १० देखि बढीमा १ सय ५० सम्म कायम भएको छ । उच्च हिमाली क्षेत्रको स्वच्छ हावापानीमा उत्पादन भएकाले पनि खानका लागि धेरै स्वादिलो रहेको कृषकहरु बताउँछन् । हाम्रो देशमा स्थानीय उत्पादनले माग धान्न नसकेपछि ७० प्रतिशत चीन र भारतबाट आयात हुने गरेको छ भने बाँकी ३० प्रतिशतले बढीमा तीन महिनासम्म पुग्ने सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको पाइन्छ । यसमा पनि सबैभन्दा बढी चीनबाट आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष नारायण धितालले बताए ।
स्थानीय उत्पादनले माग धान्न नसकेपछि करोडौं रुपैयाँको स्याउ आयात गर्नुपरेको छ । यसरी मुलुककै विभिन्न हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलाई काठमाडौंलगायत देशका विभिन्न सहरी क्षेत्रमा ल्याउनसके स्वदेशी स्याउको बजार विस्तार हुने कुरामा कसैको दुईमत नहोला । तर सरकारी प्रयास नभएपछि जुम्लाका स्याउ उत्पादक आफैं बजार प्रवद्र्धनमा लाग्न थालेका छन् । केही समयअगाडि चीनबाट आयातित स्याउ मात्र कारोबार भइरहेको काठमाडौं उपत्यकामा जुम्लाका कृषकले १० मेट्रिक टन स्याउ भित्र्याएका थिए । बजारको मागलाई हेरी पुनः स्याउ ल्याउने उनीहरुको भनाइ रहेको थियो । हाम्रो देशका उच्च तथा मध्यपहाडका ५४ जिल्लाहरुमा स्याउखेती गरिँदै आएको छ । यसमध्ये धेरैजसो हिमाली क्षेत्रका १२ जिल्लाहरुमा सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, मुस्ताङ, रुकुम, डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, मुगु, बझाङ र बैतडी जिल्लाहरुमा स्याउको खेती धेरै हुन्छ । यसको साथै कर्णालीको पाँचवटै जिल्लाहरुमा स्याउको राम्रो उत्पादन हुने गरेको र यी पाँचमध्ये जुम्ला जिल्लालाई अति राम्रो प्राङ्गारिक स्याउ खेतीको प्रमुख मानिएको छ । जुम्ला स्याउ खेतीको लागि हावापानी ज्यादै राम्रो रहेको सम्बन्धित विज्ञहरुको भनाइ छ । यो स्याउलाई आवश्यक पर्ने प्राकृतिक वातावरणले भरिभराउ छ । यस जिल्लाका सबै गाविसहरुमा प्राविधिक दृष्टिकोणबाट उत्तम स्याउ खेती गर्न सकिन्छ । स्याउसम्बन्धी विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पनि जुम्लालगायत कर्णाली अञ्चलकै आर्थिक, प्राविधिक, प्रशोधन कार्यमा सहयोग गर्दै आएको देखिएको छ । सरकारीस्तरमा पनि जुम्लाको स्याउ विस्तार गर्न एक घर एक बगैंचा जस्ता कार्यक्रमलाई घोषणा गरी आर्थिक विकासको प्रथम प्राथमिकतामा स्याउ खेतीलाई राखेको देखिन्छ ।
तर, अझ यसको गुणस्तर लाई वृद्धि गर्न प्राङ्गारिक स्याउ उत्पादन गरी भविष्यमा स्वदेशी तथा विदेशी बजारमा उच्च भाउमा बिक्री गरी स्याउ खेतीलाई प्राङ्गारिक व्यवसायीकरण गर्न सकिने उद्देश्य लिएको छ । आर्थिक वर्ष २०६३÷०६४ मा देशमा झन्डै ३४ हजार ५ सय ४६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । सोमध्ये कर्णाली अञ्चलमा ११ हजार ३ सय १८ मेट्रिक टन उत्पादन भएको थियो । यस हिसाबकिताबले पनि जुम्लाको मात्रै हिसाब गर्ने हो भने ३ हजार ५ सय मेट्रिक टनभन्दा बढी उत्पादन भएको छ । यस तथ्यांकको आधारमा हेर्दा जुम्लाले प्रथम स्थान ओगटेको देखिन्छ । यसको साथै स्याउ खेती प्रवद्र्धनका लागि कृषि क्षेत्रको दीर्घकालीन योजना २० वर्षे तथा दशैं योजनाले पनि उच्च पहाडी भेगमा स्याउ खेतीलाई उच्च मूल्य बालीको रुपमा पहिचान गरी प्राथमिकतामा राखेको थियो । त्यस्तै गरी तीन वर्षीय अन्तरिम २०६४÷६५–२०६६÷०६७ योजनामा पनि स्याउ खेतीको विकास उच्च प्राथमिकतामा परेको थियो । यसको व्यावसायिक खेतीको कारणले गर्दा सानाखाले किसानहरुको हौसलामा वृद्धि भई आर्थिक रोजगारीको गतिविधिमा थप वृद्धि हुन जाने देखिन्छ । जसले गर्दा गरिबीमा पिसिएका सानाखाले किसानको आयस्तरमा वृद्धि भई आर्थिक लाभ प्राप्त हुने नीतिगत रुपमा सरकारले महसुस गरेको बुझिन्छ ।

जुम्लामा स्याउ खेतीलाई अवलोकन गर्दा वि.सं. २०२४ सालदेखि स्याउ खेती गरिएको भन्ने भनाइ त्यहाँका स्थानीय किसानहरुले बताएका छन् । त्यसै बेला स्थापना भएको केही स्याउका बगैंचाहरुबाट हालसम्म उत्पादन भइरहेको बुझिन्छ । यसै अनुरुप सरकारीस्तरमा वि.सं. २०३१ सालमा बागबानी विकासको लागि चन्दननाथ गाविसअन्तर्गत पर्ने राजीकोटमा बागबानी अनुसन्धान फार्मको स्थापना भयो । यसै क्रममा वि.सं.२०३२ सालमा तत्कालीन कृषि तथा सहकारी मन्त्रालयले कृषि वर्ष–२०३२ मनायो । उक्त कृषि वर्षमा छिमेकी राष्ट्र भारतको हिमाञ्चल प्रदेश तथा युरोपियन देशहरुबाट स्याउका विभिन्न जातहरु कृषकहरुलाई वितरण गरियो । उक्त कार्यक्रमले दिएको परिणामस्वरुप जुम्लामा बागबानी विकासको लागि ठूलो कोशेढुंगा साबित भयो । हालसम्म जुम्लामा खेती भइरहेका भारतबाट झिकाइएका स्याउका पुराना जातहरुमा रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस आदिको खेती हुँदै आएको छ । जुम्लामा १ हजार ६ सय घरपरिवारमध्ये ७५ प्रतिशत अर्थात् १ हजार २ सय घरपरिवारभन्दा बढी स्याउ खेतीमा निर्भर रहेको अनुमान गरिएको छ ।

हालसम्म २ हजार ४ सय ७२ हेक्टर भूमिमा विभिन्न प्रकारको स्याउ खेती गरिएको एकातिर छ भने अर्कोतिर उत्पादन एवं क्षेत्रफलमा पनि क्रमिक रुपमा बढ्दै व्यवसायीकरणतर्फ उन्मुख हुँदै छ ।निचोडमा भन्नुपर्दा अन्य बालीनालीमध्ये फलफूल खेतीको उत्पादनमा लगभग आठ प्रतिशतको योगदान रहेको अनुमान छ । मुलुकमा आर्थिक वर्ष २०६९/०७०मा फलफूलको उत्पादनमा वृद्धि भई ९ लाख ३८ हजार ७ सय ३१ मे.टन पुगेको थियो । त्यस्तै गरी यसको क्षेत्रफलतर्फ हेर्दा गतवर्षको दाँजोमा घट्न गई एक लाख एक हजार चार सय ८० हेक्टर पुग्ने अनुमान गरिएको छ । व्यावसायिक केरा खेतीलाई यसवर्ष सम्पूर्णरुपमा गणनामा समावेश गरेका कारण स्याउ, सुन्तलाको उत्पादनमा समेत वृद्धि भई कुल फलफूल उत्पादन बढ्ने अनुमान गरिएको छ । तर आँपको उत्पादन भने यसवर्ष गतवर्षको दाँजोमा केही घट्ने अनुमान रहेको छ । विगतका विभिन्न वर्षहरुमा सरकारी तथा गैरसरकारी निकायहरुले जुम्लाको स्याउको बगैंचा निर्माण गर्न ९० प्रतिशतसम्म अनुदान दिँदै स्याउमा बिरुवा वितरण गर्दै आएको एकातिर देखिएको छ भने अर्कोतिर स्याउको उत्पादनलाई बजारसम्म पु¥याउनको लागि जुम्लाको हवाई मार्गबाट ढुवानी गर्दा प्रतिकिलो ग्राम ७ रुपैयाँ अनुदान दिँदै आएको सम्बन्धित निकायको भनाइ रहेको पाइन्छ ।
यहाँको स्याउ आन्तरिक खपतबाहेक खासगरी सुर्खेत, नेपालगञ्ज निर्यात हुँदै आएको छ । आर्थिक वर्ष २०६५÷०६६ मा जुम्लामा स्याउ उत्पादक किसानले ६ देखि ८ रुपैयाँ प्रतिकिलोग्राम बेचेका थिए । यस्तो किसिमको बजार भाउले किसानको लगानी तथा मिहिनेतमा उचित मूल्य पाउन नसकेको गुनासो बारम्बार आउने गर्छ । हाल जे जति स्याउ बजारमा आउँछ त्यो केवल जुम्लाको सदरमुकामसम्म जोडिएका ६ वटा गाविसहरुबाट मात्र आउँछ । बाँकी २४ गाविसको स्याउ बिक्रीवितरणमा आउँदैन । ती गाविसका स्याउ सबै सडेर, गलेर वा गाईवस्तुहरुलाई ख्वाएर नोक्सान भइराखेको बुझिएको छ । ती गाविसहरु सदरमुकाम बजारबाट टाढा एवं विकट गाविसहरुमा यातायातको अभावको कारणले गर्दा स्याउ ढुवानीमा कठिनाइ परेको छ । जसले गर्दा ती भेगका किसानहरु स्याउ बगैंचाको व्यवस्थापनमा ध्यान नदिई अन्य कृषिको खाद्यान्न बालीनालीहरुमा आकर्षित हुन बाध्य भएका छन् । यी कारणहरुले गर्दा जुम्लाको स्याउ व्यवसायीकरणको मुख्य बाधकको रुपमा यातायात रहेको देखिन्छ । केवल बगैंचा स्थापना, ढुवानीमा मात्र अनुदान दिँदैमा विपन्नस्तरका किसानहरुको दैनिक रोजीरोटीको लागि स्याउ खेतीले भरथेग नगर्ने देखिन्छ । तसर्थ यसलाई सरकारी निकायले बेलैमा ध्यान नदिने हो भने बालुका पानी हालेको जस्तो हुन जाने कुरामा कसैको दुईमत नहोला ।

Source : http://www.aarthikdainik.com.np/news_details/12706/-.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s