बालाचतुर्दशी र सांस्कृतिक पक्ष

Monday, 02 December 2013 02:01:26

विश्वनाथ खरेल
प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीको दिनलाई बाला चतुर्दशी भनिन्छ । यस पर्वको क्रममा मार्गकृष्ण त्रयोदशीका दिनमा नै श्रद्धालुहरू आ–आफ्नो चलन अनुसार भगवान् श्रीपशुपतिनाथ मन्दिरका आसपासमा बसी आ–आफ्ना दिवङगत पितृको आत्माको चिरशान्तिका लागि रातभर महादीप बालेर भजन कीर्तन गरी जाग्राम बस्दछन् र विहानीपख बागमीमा नुहाइ पशुपति क्षेत्रमा सम्पूर्ण देवीदेवताको परिक्रममा गरी पशुपति क्षेत्रमा शतवीज छर्दछन् । यो पर्व पनि नेपाली जन–जीवनमा एउटा महत्वपूर्ण र आफ्नै मौलिकता बोकेको पर्व हो । यो पर्वको पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणहरूले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराको बारेमा के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतवीज) छर्दा एउटा धानको गेडा छरेको पनि एक रत्ति सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनि हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ । कुुुनै पनि व्यक्ति समाज या राष्ट्रको जीवन त्यसको संस्कृतिमा निर्भर गर्दछ । साँच्चै भन्ने हो भने संस्कृति जीवनको त्यो ढोढ नशा हो जसमा जिन्दगी अवस्थित रहेको छ । जीवन कार्य छ भने संस्कृति त्यसको कारण छ । अतः त्यसमा कुनै प्रकारको फेरबदल गरी अर्कोको संस्कृति अंकाल्न खोेज्नु आफूमा आफैले बन्चरो प्रहार गर्नु बराबर हुन्छ । हाम्रो संस्कृति गाथामा एउटा भनाई छ “स्वधर्मे निधनं श्रेय ः परधर्मो भयावह । ” यसैले न हो वास्तविक विश्व विजेताहरू साम्राज्य बिजय हेरी साँस्कृति विजयलाई बढ्ता महत्व दिइन्छ । तसर्थ नेपाली समाजमा वर्षभरिमा विभिन्न चाडपर्वहरू मनाइन्छन् । धर्म र संस्कृतिको बाहुल्यता रहेको हाम्रो समाजमा, धार्मिक आस्था अनुसार मनाइने यस्ता चाडपर्वमा बालाचतृर्दशी पनि एक हो ।
शतवीज भन्नाले खास गरी सात चिजका गेडागुडीहरू भन्ने बुझिन्छ । यी शतवीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सस्र्यूं, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्छन् । शतवीज छर्न नेपाल अधिराज्यका विभिन्न भागहरू लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । मानिसहरू आउँछन् त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिंड्छन् । यस दिन टाडा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देबालयमा गई शिव प्रार्थना गरी रातभर जाग्रांम बस्ने प्रचलन पनि जनसमुदायमा बिद्यमान छ । शतवीज छरिसकेपछि खीर, फलाहार, दही, च्यूरा, पुलाउ इत्यादी मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ ।
हाम्रो समाजमा दुई थरी विश्वास बोकेका मानिसहरूको शतवीज छर्ने प्रचलन छ । एकथरी अधिल्ला वर्षहरूमा आफ्नो परिवारजनको स्वर्गरोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतवीज छदैं चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशा गर्दछन् । सार्वजनिकरूपले शतवीज छर्ने अधिल्लो दिन अर्थात मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमति गरगहना पहिराइन्छ । सक्कली एकमुखे रुद्धाक्ष, नागमणि जस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतवीज छरिन्छ । जसलाई “कएन्या” भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतवीज छर्ने कार्य समाप्त हुन्छ । बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तचातो स्नान गराउँछ । तातो पानीले गराइन्छ । चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । शतवीज छर्दा महत्व बुझनेहरू सवेरै बाग्मतीमा नुहाएर “ सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थली परिभ्रम्य पुनर्जन्म न विधते” भनी मन्त्र पढ्दै शतवीज छर्छन् । शतवीज छर्नेहरूको धुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यस दिन बौद्धवलम्वीहरू स्वयम्भूमा शतवीज छर्न धाउने गर्छन । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ्ग, गुरुङ्ग आदि जनजातिहरूले अन्न, फलफूल छर्ने गरको भन्ने उनीहरूको भनाई छ – बज्राचार्यले जनजातिहरूको भनाई उधृत गर्दै भन्नु भयो । सो दिनमा देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनीहरूको छ । देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको भिड लाग्ने गर्दछ ।
मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ । पसलेहरू सकेसम्म राम्रो ठाउँ ओगटे र पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरु यात्रुहरू जहाँ जहाँ मिल्छ त्यही त्यही आफ्ना डफ्फाका साथ आसन बसाउछन् साँझ पर्दा सम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुश्किीलले पाइने स्थिति हुन्छ । साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ । एकातिर परिवारका मूलि वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तिबाट पितृका नाउँको दियो वा महाद्धिप , जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरू पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन । त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रात झैं सुनिन्छ ।
कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुक जस्तो गाढा अंधकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहे झैं देखिन्छ । अनि चतुर्दशीको दिन चाँहि बिहान सबेरै महादिप वा दीप लगेर बागमतीमा सेलाइन्छ र मानिसहरू नुवाई धुवाई पशुपतिनाथको पूजा गरी शतवीज छर्ने कार्य गर्दछन् । समग्रमा भन्नुपर्दा त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र श्लेषमान्तक क्षेत्रमा शतवीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाइएको पाइएको छ । बर्तमान स्थितिमा सिंगो देशभरि नै रगत पोखिएको छ । यस नाजुक अवस्थामा अव कुनै पनि नारीको सिउँदो नपुछियोस्, कोही पनि बालबालिका टुहुरा नहुन्, कोही बुढा आमाबाबुको सहारा नमिचियोस् अनि कुनै पनि दिदी–बहिनीको भाइटीका खल्लो नहोस् भन्ने आशाका साथ पनि कतिपय मानिसहरूले शतवीज छर्ने
कार्य गर्ने गर्दछन् ।

Source : http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=12927&catId=9

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s