नेपाली जुनारको पहुँच चीन र भारतसम्म – 711029

विश्वनाथ खरेल,

नेपाल कृषिप्रधान देश हो । यहाँको कुल जनसंख्याको ६५ दशमलव ७ प्रतिशत जनसंख्या कृषि पेसामा निर्भर रहँदै आएका छन् । देशको कुल गार्हस्थ उत्पादनमा करिब एक तिहाइ योगदान कृषिक्षेत्रको रहेको छ । राष्ट्रको भौगोलिक विविधताका कारण विभिन्न प्रकारका बालीहरुको उत्पादन सम्भव रहेको छ । यस परिपे्रक्ष्यमा खाद्यान्नबाली, बागवानीजन्य फलफूल, नगदेबाली, मसलाबाली मुख्य रुपमा रहिआएका छन् । यस्ता बालीहरुको उत्पादनबाट आम्दानी बढाउन, खाद्यसुरक्षाको स्थिति सुदृढ पार्न कृषिजन्य प्रशोधन उद्योगहरुको विस्तारका साथै रोजगारीका अवसरहरु वृद्धि गर्न सहयोगी भूमिका निर्वाह हुने गरेको पाइन्छ । साथै मानिसलाई स्वस्थ जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने विभिन्न कृषि उपजहरु मध्ये फलफूलले अति नै महत्वपूर्ण स्थान राख्दछ । फलफूल बाली नेपालको सबै क्षेत्रमा उत्पादन गर्न सम्भव मानिएको छ । मुलुकमा उत्पादित बालीहरु मध्ये फलफूल महत्वपूर्ण बाली हो । देशको भौगोलिक विविधता एवं उत्पादनको दृष्टिकोणले उच्च पहाड, पहाड र तराईको भू–भागको आ–आफ्नै  विशेषता कारण एकै वर्षमा विभिन्न बालीहरु उत्पादन गर्न सम्भव तुल्याएको छ ।

मुलुकमा उत्पादन हुँदै आएका फलफूलहरुमा स्याउ, सुन्तला, आँप, लिची, केरा, मेवा, कागती, जुनार, आरु आरुवखडा, ओखर, नरिवल, नास्पाती प्रमुख छन् । यी फलफूलहरु देशको आवश्यकता अनुसार आपूर्ति गर्न आयात प्रतिस्थापन गर्न र कृषकहरुको आम्दानी बढाउन सहायकसिद्ध भएका छन् । फलफूलको बिक्रीबाट तुरुन्तै नगद प्राप्त हुने भएकाले यसतर्फ कृषकहरु आकर्षित भएका छन् । यसमध्ये सिन्धुली जिल्ला जुनार उत्पादनको दृष्टिले नेपालकै पहिलो जिल्लामा पर्दछ । जुनारको खेती समुद्री सतहबाट ६ सय ५० देखि १ हजार ४ सय मिटरको उचाइमा पाइने नेपालको पहाडी भू–भागको करिब ४७ जिल्लामा फल्ने अमिलो जातको फलफूलमा पर्ने तर सुन्तलाभन्दा फरक र गुलियो जातको ठूलो दाना भएको फल हो । मुलुकलाई सरसर्ति हेर्दा व्यापक रुपमा जुनार खेती गरिने पूर्वाञ्चल विकास क्षेत्रमा सबैभन्दा बढी रामेछाप र सिन्धुली जिल्ला पर्न आउँदछन् ।

जुनार खेतीको लागि राजधानी भनेर चिनिने सिन्धुली जिल्लामा यस वर्ष जुनार उत्पादनमा कमी आउने सम्बन्धित निकायले जनाएको छ । यस क्षेत्रमा जुनारको दाना लाग्ने समयमा असिनापानी आएकोले यस वर्ष २० देखि २५ प्रतिशत जुनार उत्पादनमा कमी आउने सम्बन्धित क्षेत्रले अनुमान गरेको छ । जिल्लाको विभिन्न गाउँ विकास समितिमा विगत वर्षमा १ हजार ५ सय हेक्टरमा जुनार खेती गर्ने गरिएको जुनार विकास संघले जनाएको छ । अघिल्लो गतवर्ष जिल्लामा १४ हजार २ सय ८ मेट्रिक टन जुनार उत्पादन भएको थियो भने गतवर्ष ११ हजार ८ सय ४०  मेट्रिक टन जुनार उत्पादन भएको अनुमान गरिएको छ । उक्त क्षेत्रमा विगत वर्षहरुको तुलनामा २ हजार ३ सय ६८ मेट्रिक टन जुनार उत्पादनमा कमी आएको जुनार विकास संघले जनाएको छ । स्वदेशमा मात्र नभई विदेशमा पनि सिन्धुलीको जुनार आफ्नै खालको छुट्टै विशेषता राख्न सफल भएको छ । जुनार फूल खेल्ने समय चैत महिनामा जुनार क्षेत्रमा असिनापानी परेको कारण उत्पादनमा कमी आएको बताइएको छ, गतवर्ष वार्षिक तीन लाखसम्म जुनार बिक्रीबाट आम्दानी हुने गरेको थियो । यस वर्ष उत्पादनमा कमी आउने कारण जुनारमा फल लाग्ने समय चैत र दाना लाग्ने समय वैशाखमा दुईपटक असिनापानीले चिचिलैमा जुनार झारेको थियो । जिल्लाको विभिन्न गाविसहरुमा एक रोपनीदेखि ६० रोपनीसम्म जुनार खेती गर्ने गरेका छन् । ४ हजार २ सय कृषकले जुनार विकास संघमा आबद्ध भएको जुनार विकास संघले जनाएको छ । जुनार क्षेत्रका ६५ प्रतिशत कृषकहरुले व्यावसायिक रुपमा जुनार खेती गर्ने गरेको संघले जनाएको छ । जुनार खेतीको लागि विशेष गरी तीनकन्या र बाशेश्वर गाविसमा असिनाले बढी क्षति पु-याएको अनुमान गरिएको छ । व्यापारीले किसानहरुको बगैंचामा गएर खरिद गरेको जुनारको स्वादमा कमी आउने भएकाले यस वर्षदेखि जुनार सहकारीमार्फत बजारमा लैजान तयारी गरिरहेको छ । सिन्धुलीका ४५ गाविसमा जुनार खेती गर्ने गरिन्छ भने रतनचुरा, जलकन्या, तिनकन्या, मझुवा, बाशेश्वर, भुवनेश्वरी र वितिजोर गरी सात ओटा गाविसहरुलाई जुनार पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

समग्रमा भन्नुपर्दा सिन्धुलीमा गत वर्षभन्दा यस वर्ष २० देखि २५ प्रतिशतले जुनार उत्पादनमा कमी आउने जुनार विकास संघले अनुमान गरेको छ । यसको मुख्य कारण जुनारको लागि यस वर्ष मौसम प्रतिकूल भएकोले उत्पादनमा कमी आएको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । सिन्धुलीमा यस वर्ष जुनारबाट २२ करोड भित्रिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जानकारी दिएको छ । गत वर्ष जुनारबाट २६ करोड भित्रिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देवराज अधिकारीले बताए । उनका अनुसार यस वर्ष ८ हजार ४ सय मेट्रिकटन जुनार उत्पादन भएको छ । १२ सय हेक्टर क्षेत्रफलमा जुनार खेती गरिए पनि ७ सय हेक्टरमा राम्रोसँग जुनार फल्ने गरेको अधिकारीले बताए । उत्पादन भएको जुनारमध्ये २० देखि २५ प्रतिशत जुनार कोसेली र खानको लागि प्रयोग भएकाले गत वर्षको तुलनामा यस वर्ष जुनारको कारोबार कम देखिएको उनले जानकारी दिए । सिन्धुलीको जुनार सहकारी संघमार्फत चीनसम्म पुग्ने गरेको छ । छिमेकी देश चीनमा सिन्धुलीको जुनार तीन सय रुपैयाँ केजीले बिव्रmीवितरण हुने गरेको जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष कृष्णप्रसाद गौतमले बताए । पछिल्लो समयमा सिन्धुलीमा जुनार खेती गर्ने किसानहरुको संख्या बढ्दै गएको छ ।

जिल्लामा तीन हजार चार सय बेरोजगार समुदायले जुनारखेतीमा रोजगारी पाएका कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाको ४५ गाविसमा जुनार खेती हुने गरेको भए पनि हालसम्म व्यावसायिक खेती भने आधादर्जन गाविसमा मात्र भइरहेको छ । जुनार विकास संघ, सिन्धुली उद्योग वाणिज्य संघ र जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको पहलमा आगामी वर्षदेखि ४५ गाविसमै जुनारको व्यवसायीकरण गरिने जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दिपकप्रसाद

कोइरालाले बताए । सिन्धुलीका किसानहरुले ४ महिना दुःख गरेर लाखौँ आम्दानी गर्ने गरेका छन् । किसानहरुको लागि जुनार व्यवसाय आम्दानीको दरिलो माध्यम बन्दै गएको छ । पहिला सडक सञ्जाल र बजारको अभाव हुँदा जुनारखेतीबाट आम्दानी लिन नसकेका किसानले सडकको पहुँचसँगै हाल छिमेकी देश चीन र भारतसम्म जुनार निर्यात गर्ने गरेका छन् । जुनार पनि अमिलो जातको फलफूलमा पर्न आउँदछ । जुनारको बिरुवा लगाइसकेपछि फल लाग्न लामो समय कुर्नुपर्ने भएकाले पनि जुनार

उत्पादनमा चाहे जति प्रगति हुन नसक्दा यो फल अल्प उपभोग्य फलको रुपमा रहिरहेको थियो । त्यस्तै गरी माटोमा सुन फलाउन सकिने आत्मविश्वासका साथ व्यावसायिक रुपमा जुनार खेतीमा विशेषगरी रामेछाप र सिन्धुली जिल्लाहरुमा धेरै पहिलेदेखि नै जुनारको व्यावसायिक रुपमा उत्पादन हुने र यसलाई फलको रुपमा सिधै खाने चलन अधिक मात्रामा रहेको पाइन्छ । सुन्तलाभन्दा जुनारमा पौष्टिकतत्व बढी हुन्छ । यसैले जुनारलाई फलको रुपमा बढी उपभोग गरिने र प्रशोधन गरी उपभोग कम गरिने चलन छ । भिटामिन सीको मात्रा प्रचुर मात्रामा भएकोले यो फल खानमा गुलियो स्वादको छ ।

गुलियो स्वादकै कारण यसको प्रयोग तथा प्रशोधन गरी चिसो पेयपदार्थको रुपमा सर्वत, जाम, जेली, मार्मलेट, चाना (प्रशोधित) र जुनार धुलो (पाउडर) आदिको रुपमा काठमाडौंलगायत देशका अन्य विभिन्न सहरहरुमा समेत उल्लेखनीय रुपमा बिक्रीवितरण भइरहेको छ । धेरैजसोले यो फलको बोक्रा सुन्तलाको तुलनामा बाक्लो भएकाले छोडाएर खान रुचाउँदैनन् भने पाकेको जुनारको रस निचोरी सर्वत बनाई पिउने चलन बढ्दै गएको छ । यस व्यवसायबाट साना तथा मझौला किसानहरुको आयआर्जनमा सहयोग गरिएको बुझिन्छ । आर्थिक वर्ष २०६४/०६५ मुलुकमा अमिलो जातका फलफूलहरुको कुल क्षेत्रफल ३० हजार ७ सय ९० हेक्टर थियो भने त्यस्तै गरी उत्पादन भने २ लाख २६ हजार ४ सय ४ मे.टन थियो । त्यस्तै प्रतिहेक्टर उत्पादकत्व ११ दशमलव ३७  मे.टनमा रहेको कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाले अनुमान गरेको थियो । जुनार खेती विस्तारका लागि जापान सरकारले आर्थिक वर्ष २०३८/०३९ मा सहयोगको हात बढाएको थियो ।  उक्त सहयोगले जुनार उत्पादन गर्न बोट बेर्नाबाट रोपेको ३/४ वर्षपश्चात् फल दिने र हरेक वर्ष एउटा रुखबाट ४ सयदेखि ६ सय किलोसम्म जुनार फल लिन सकिएको थियो । एक रोपनी क्षेत्रफलमा ४० वटा जुनारको बोट लगाउन सकिन्छ । साथै सुन्तलालाई भन्दा असिनाले जुनारलाई बोक्रा बाक्लो भएको कारणले खासै नोक्सानी नपु¥याउने र स्वाद गुलियो हुने यस फलबाट विभिन्न परिकारहरु तयार गर्न सकिने भएकाले यसको महत्व दिनानुदिन बढ्दै गएको छ । समयानुसार बजारहरुमा यसको उपभोग विस्तारै बढ्न गई यसको माग पनि बढ्न थालेको छ ।

Source : http://www.aarthikdainik.com.np/news_details/12566/–.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s