स्वस्थानीको महत्त्व

bishwonath-kharel(विश्वनाथ खरेल ) श्रीस्वस्थानी व्रतकथा पुस सोमबारबाट शुरु भएको छ। माघशुक्ल पूर्णिमासम्म हिन्दू धर्मावलम्बीहरूले चोखो बसी घरमा स्वस्थानीको पूजा–आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ। व्रतालु महिलाहरूले पौषशुल्क पूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नान गरी चोखो लुगा लगाएर मध्याह्नमा महादेवको पूजा गरी व्रत शुरुवात गर्दछन्। माघशुक्ल पूर्णिमासम्म व्रत अवधिभर व्रतालुहरूले एक छाक चोखो खाई १०८ पान, त्यत्तिनै संख्यामा कुड्का सुपारी, रोटीलगायत सामग्रीले स्वस्थानीको पूजा गर्ने प्रचलन छ। व्रत समाप्तिको दिन एक सोय वडा रोटी, पान, सुपारी आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मितछोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी आफूले खाने चलन छ। स्वस्थानीको व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याधी पनि नष्ट हुने विश्वास गरिन्छ। काठमाडौंको साँखुस्थित शालीनदी, पशुपति, गौरीघाट, सतीदेवीको अंगपतन भएको मानिने धार्मिकस्थलहरू तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्छ। ती स्थानहरूमा एक महिनाभर मेला पनि लाग्ने गर्छ।
स्वस्थानी भगवतीको व्रत, पूजा र कथा नेपालीहरूको घर–घरमा गरिन्छ। नेपालबाहिर गएका नेपालीले पनि एउटा परमपवित्र सांस्कृतिक, धार्मिक, पारिवारिक, पारस्परिक पर्वको रूपमा मनाइने स्वस्थानी व्रत हो। यो नेपालमा स्वस्थानी भगवतीको पूजाको ठूलो महत्व छ। अखण्ड सौभाग्य, उत्तम पति, ऐश्वर्य एवम् शिवशक्तिको कृपा पाउनको निमित्त स्वस्थानी भगवतीको पूजन नितान्त जरुरी देखिन्छ। स्वस्थानीको पूजा ठूलो उत्साह, उल्लास र समारोहका साथ गरिन्छ। स्वस्थानी भगवतीको व्रतकथामा जम्मा ३१ अध्याय छन्। प्रतिदिन एक अध्यायलाई नियमपूर्वक कथा भन्ने र सुन्ने गरिन्छ। यो कथा एक महिनामा सक्नुपर्छ। नसकिएमा कुनै दिन २–२ अध्याय भनेर पनि सक्नुपर्छ।
यद्यपि माघस्नानको नियम र महत्व छिमेकी देश भारमा पनि देखिन्छ। प्रायः हिन्दू धर्मावलम्बी नेपालीहरूमा स्वस्थानीको कथाले महत्वपूर्ण प्रभाव पारेको देखिन्छ। स्वस्थानी व्रतको कथाअनुसार शिव शर्मा ब्राह्मण र उनकी सती नामकी ब्राह्मणीका सन्तान नहुँदा उनीहरू दुखित भएका थिए। उनीहरूको दानपुण्यले गर्दा त्यहाँ आइपुगेकी एउटी गाईको गोबरमा रूपवती कन्या उत्पन्न भइन्। तिनको गोमा नाम राखेर पाले। ठूली भएपछि संन्यासी भेषमा आएका भगवान् शिवलाई तुरुन्त भिक्षा नदिँदा ‘असी वर्षको बूढो तेरो पति होस्’ भन्ने श्राप पाइन्। आखिर त्यस्तै भयो। वृद्ध पतिबाट गोमाको गर्भ रह्यो। पति एक महिनाको अवधि राखेर विदेश गएकोमा उतै बितेछन्। गोमाले छोरो पाइन् र छोराको नाम नवराज राखियो। छोरा ठूलो भएपछि उनको विवाह गरियो। मेरो पिताजी कहाँ जानुभयो भनेर नवराजले सोधेकोमा गोमाले सबै वृत्तान्त बताइन्। छोरा पितालाई खोज्न हिँडे र मरेको थाहा पाएर किरिया गरी फर्के।
उता गोमाले ऋषिहरूको उपदेशले छोरा नवराज चाँडै आइपुगोस् भनी स्वस्थानीको व्रत गरिन्। नवराज पनि स्वस्थानीको प्रभावले घरमा आइपुगे। उनले भगवान् शिवको स्तुति गरी राज्य पाउने वरदान पाए। लावण्यदेशको देशको हात्तीले फूलमाला लगाइदिएकाले नवराज त्यस देशको राजा भए। त्यसपछि आमालाई बोलाए। नवराजले अर्की विवाह गरे। उनकी प्रथम पत्नीले उनकी आमालाई छाडेर माइत गएर बसेकी थिइन्। उनलाई बोलाउन पठाएकोमा स्वस्थानीको निन्दाले शालीनदीमा परी कुष्ठी भएर रहिन्। पछि स्वस्थानीको पूजाले स्वस्थ भइन् र पुनः पति प्राप्त गरिन्।
यो कथामा नवराजकी प्रथम पत्नीले स्वस्थानीको अपमान गर्दा उनी कुष्ठी भई पछि उनै भागवतीको व्रत र पूजाले पुनः आफ्नो स्थान पाइन्। त्यसो हुँदा स्थानच्यूत भएको व्यक्तिले स्वस्थान प्राप्त गर्न स्वस्थानीकै व्रत र पूजा गर्नुपर्छ भन्ने तथ्य पाइन्छ। स्वस्थानीको व्रतकथा सम्पूर्ण कामनालाई पूर्ण गर्नेवाला व्रतकथा हो। यसको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्यस्थान प्राप्त गर्न सकिन्छ। त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्यहरू गर्न छोड्नुहुन्न भन्ने शास्त्रको भनाइ छ।
सगम्रमा भन्नुपर्दा नेपाली समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण रहेको छ। यसका कारण घर–घरमा स्वस्थानी माताको विधिपूर्वक पूजा–आराधना गरी एक महिना कथावाचन गरी सुन्ने र सुनाउने गरिन्छ। हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत एवम् पूजा गर्ने परम्परा रहिआएको छ। यसै सन्दर्भलाई राम्ररी हेर्ने हो भने, स्वस्थानी माहात्म्यको पूर्वभागमा दक्षप्रजापतिकी पुत्री सतीदेवीको विष्णुको सहयोगमा महादेवको साथमा विवाह भएको अनि दक्षप्रजापतिले आफ्ना पति शिवको निन्दा गरेको सहन नसकी सतीदेवीले प्राण त्याग गरेको प्रसंग आउँछ। महात्म्यको मध्यभागतिर हिमालय पर्वतकी पुत्री पार्वतीको रूपमा पुनर्जीवन लिएकी सतीदेवीले स्वस्थानीको व्रत गरेको प्रभावले महादेवलाई नै पतिको रूपमा प्राप्त गरेको प्रसंग आएको छ।
स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगले हाम्रो समाजमा पनि नयाँ पुस्तालाई अधिकार हस्तान्तरण गरी मौका दिनुपर्छ भन्ने सन्देश दिन्छ। साथै काम र उमेरले पाको भएका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गर्नुपर्छ, अनि मात्र स्वस्थ समाज बन्ने कुराको अनुभूतिजस्ता दृष्टान्तहरू दिन खोजेको पाइन्छ।

Published Date: January 6, 2015

Source : http://www.newsofnepal.com/new/bichar/2015/01/80481

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s