खुम्बु क्षेत्र ‘उत्कृष्ट गन्तव्य’

Khumbuकाठमाडौ, कार्तिक १३ – आगामी वर्ष २०१५ मा घुम्नका लागि उत्कृष्ट १० क्षेत्रमा खुम्बु परेको छ । विश्वभरका पर्यटकीय गन्तव्यबारे जानकारी दिने वेब पोर्टल लोन्ली प्लानेटले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वभरमा घुम्न सकिने उत्कृष्ट १० क्षेत्रको सूचीमा खुम्बु परेको हो । सबैभन्दा अग्लो शिखर सगरमाथाका कारण बढी चर्चित हुने गरेको खुम्बु क्षेत्र सूचीको छैटौं

नम्बरमा छ ।

यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । खुम्बुभन्दा अगाडि टर्कीको गल्लीपोली, अमेरिकाको ढुङे पर्वतीय राष्ट्रिय निकुञ्ज, बेलायतको टोलेडो, अस्ट्रेलियाको टास्मानिया र नर्वेको नर्वे आर्टिक परेका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जाने क्षेत्रमा पनि खुम्बु पर्छ । पर्वतारोहण र पदयात्रा दुवैका लागि यो क्षेत्र उपयोगी छ । ‘तेन्जिङ र हिलारीको पाइलाले चिनाएको सगरमाथाको यात्रा क्लासिक हुन्छ, जुन सबैभन्दा उच्च हिमालको घर पनि हो,’ प्लानेटले उल्लेख गरेको छ, ‘जसलाई प्रख्यात बनाउन बजारीकरण गरिरहनु पर्दैन, मात्र सगरमाथा भने पुग्छ । अनि सबैको ध्यान आफैं त्यता जान्छ ।’

सगरमाथा क्षेत्रको मात्र नभई

आफ्नो पदयात्रालाई अझै बढी रोचक बनाउनु छ भने त्यहाँबाट जिरी र तुम्लिङटारसम्मको यात्रा गर्न सकिन्छ । जो विश्वकै सबैभन्दा लामो पदमार्ग ग्रेट हिमालय ट्रेलअन्तर्गत पनि पर्छ । सन् २०१५ का लागि किन खुम्बु क्षेत्र रोज्नुपर्‍यो ? किनभने सगरमाथा त्यहाँ छ । यो भनाइ नेपालमा पहिलो कमर्सियल पदयात्रा गर्ने जिमी रोबर्टले भनेका हुन् । तर अन्नपूर्ण र सगरमाथा क्षेत्रमा भएको हिमपातका कारण धेरैको मृत्यु भइसकेकाले पदयात्रीको सुरक्षालाई नेपालले पहिलो प्राथमिकतामा राख्नुपर्ने भएको छ । ‘पदयात्राका क्रममा मान्छेहरूलाई बस्ने र अन्य सुरक्षाका सुविधा होस् भनेर ध्यान दिन जरुरी छ,’ प्लानेटले उल्लेख गरेको छ ।

खुम्बु क्षेत्रका लागि काठमाडौंबाट दैनिक ६० र मौसमको समय ८० उडान हुने गर्छ । उक्त क्षेत्र पर्यटकीय मौसममा सबैभन्दा बढी भिडभाड हुने क्षेत्र हो ।

प्रकाशित मिति: २०७१ कार्तिक १३ ०९:४६

ताल बन्यो चराको बासस्थान

birds

चितवनको रत्ननगर नगरपालिका ७ स्थित टिकौली तालको रूखमा गुँड बनाएर बसेका चरा । ताल वरपरका रूख अहिले चराका मुख्य बासस्थान बनेका छन् । तस्बिरः कान्तिपुर

चितवन, आश्विन ३० – रत्ननगर नगरपालिका ७ मा रहेको टिकौली ताल छेउका रूख चराका गुँडले भरिएका छन् । पहिला ३/४ वटा गुँड थिए । ताल बनाएपछि ३ सयभन्दा बढी छन् । ताल सञ्चालनमा आएको ८ वर्ष भयो । ‘पहिले कम चरा देखिन्थे,’ टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष बुद्धिमान विकले भने, ‘ताल बनाएपछि गुँड बनाएर बस्ने चराको संख्या बढेको छ ।’

उनका अनुसार जेठ महिनामा चरा आउँछन् । कात्तिक मध्यतिर बच्चा हुर्काएर फर्किन्छन् । चिल प्रजातिका चरा यसरी गुँड बनाएर बस्ने गरेका हुन् । यसरी बस्नेमा रैथाने चरा धेरै छन् । ताल वरपर दैनिक चराको आवाज गुन्जिन्छ । यसले निकुञ्ज घुम्ने पर्यटक लोभिन्छन् । बिसहजारी ताल जाने पर्यटक यहाँ नपसी अरू यात्रा तय गर्दैनन् । अघिल्लो वर्ष २७ हजार पर्यटकले यहाँका चरा अवलोकन गरे । ‘चरालाई प्रत्यक्ष रूपमा हेर्न पाउँदा पर्यटक खुसी हुन्छन्,’ विकले भने, ‘त्यही भएर उनीहरूलाई फोटो खिच्नसमेत भ्याइनभ्याइ हुन्छ ।’ यसले पर्यापर्यटन बढाउने काम गरेको उनी बताउँछन् । उनका अनुसार खेतबारीमा विषादीको प्रयोग जथाभावी गर्न थालेपछि चराको बासस्थान पनि संकटमा परेको हो । यहाँ विश्वका सबैभन्दा धेरै ६ सय २५ प्रजातिका चरा पाइन्छन् ।

नेपालमा ८ सय २५ प्रजातिका चरा छन् । १ सय ४९ लोप हुने अवस्थामा पुगेका छन् । त्यसमध्ये यहाँ २४ प्रजाति लोपोन्मुख अवस्थामा रहेको बर्ड एजुकेसन सोसाइटीले जनायो । जथाभावी विषादी प्रयोगले गर्दा चराको बासस्थान संकटमा पर्दै गएको हो ।

‘विषादी प्रयोग बढेसँगै चराको बासस्थान संकटमा पर्दै गएको छ,’ पन्छीविद् वासु बिडारीले भने, ‘त्यसैले बासस्थान जोगाउन आवश्यक छ ।’ उनका अनुसार पानी चराको बासस्थान संकटमा परेको हो ।

त्यस्तै तालहरू सुक्ने, आहाराको कमी र जथाभावी सिकारले पनि चरा लोप हुँदै गएका छन् । तथ्यांकअनुसार बर्सेनि २ प्रतिशत विदेशी पर्यटक चरा हेर्नकै लागि नेपाल आउँछन् ।

विश्वमा १ हजार २ सय १२ प्रजातिका चरा लोप हुने अवस्था छन् । विषादी प्रयोगले गर्दा अन्डा चाँडै फुट्ने र प्रजननमा समस्या हुने गरेको छ ।

संख्यात्मक रूपमा चराको संख्या बढे पनि प्रजातिका रूपमा घटै गएको बर्ड एजुकेसन सोसाइटीका अध्यक्षसमेत रहेका बिडारीले भने । उनका अनुसार बसाइँ सरेर आउने प्रजातिका चराको संख्या घटै गएको छ । सबैभन्दा बढी पानी चरा कोसी टप्पुमा पाइन्छन् । पर्यटक चरा हेर्नकै लागि समय छुट्याएर आउने गर्छन् । पानी चरा जाडोमा आउने भएकाले आउने क्रम सुरु भएको उनले बताए ।

प्रकाशित मिति: २०७१ आश्विन ३० १०:५३

ऐतिहासिक स्थल बेवारिसे

betrawati

सरोकार निकायको चासो नहुँदा ओझेलमा ऐतिहासिक बेत्रावती सन्धिस्थल । तस्बिरः कृष्ण/कान्तिपुर

बेत्रावती (रसुवा), आश्विन २९ – त्रिशूली नदी किनारको खेतमा दुई ठूला ढुंगा वर्षौंदेखि अलपत्र छन् । यस्तो दृश्य देशभर देख्न सकिन्छ तर रसुवाको नुवाकोट ४ दहमा रहेका यी दुई ढुंगाको कुरा बेग्लै छ । यिनै ढुंगामा बसेर नेपाल र चीनबीच युद्ध अन्त्य गर्ने सन्धि भएको थियो जसलाई ‘बेत्रावतीको सन्धि’ नामले चिनिन्छ । यी ढुंगाले नेपाल र चीनबीचको सन्धिलाई मात्र बुझाउँदैनन्, तिब्बत चीनमा गाभिएको समयको समेत प्रतिनिधित्व गर्छन् ।

सरोकारवाला निकायले चासो नलिँदा उक्त ऐतिहासिक स्थल चर्चामा छैन । विसं १८४९ असोज १५ मा नेपाल र चीनबीच सन्धि भएको थियो । तीमध्ये अग्लो कालो ढुंगामा चिनियाँ र तल्लोमा नेपाली पक्ष बसेर सन्धिपत्रमा हस्ताक्षर भएको थियो । तल्लो ढुंगा तुप्चे गाविसका दुर्गा पौडेलको जग्गामा परेको छ भने माथिल्लो सार्वजनिक जग्गामा । माथिल्लोभन्दा मास्तिर अर्को सानो ढ्यांग्रो आकारको ढुंगा पनि थियो । केही समय अघिसम्म सन्धिस्थल हेर्न स्थानीय बासिन्दा आउने गरेका थिए । ढ्यांग्रो भएको ढुंगा फालिदिएपछि कसैले चासो नदिएको पौडेलले बताए ।

सम्बन्धित निकायले चासो नलिएपछि उक्त स्थल गन्तव्य बन्न नसकेको विश्वहिन्दु महासंघ नुवाकोटका अध्यक्ष सोमप्रसाद पाण्डेले बताए । सन्धिस्थललाई व्यवस्थित गर्नसके स्वदेशी र विदेशी पर्यटकीय आकर्षणको केन्द्र बन्ने उनले बताए । ऐतिहासिक धरोहर जोगाउन सरकारी निकायले विशेष चासो दिनुपर्ने स्थानीय कृष्णप्रसाद रिजालले बताए ।

तिब्बतको आफ्नो मुद्रा नभएर नेपालबाट टकमारी गरेर लाने चलन थियो । उक्त मुद्रामा शुद्ध चाँदी नभएपछि तिब्बतसँग खटपट हुँदै दुई देशबीच युद्ध भयो । विसं १८४४ मा तिब्बतका काजी स्यामर्पा लामा त्यहाँ भएको खटपटका कारण शरण लिन नेपाल आए ।

उनलाई तिब्बत फिर्ता गर्नुपर्ने र मुद्राको विषय सुल्झाउनुपर्ने विवाद बढ्दै गयो । विसं १८४६ मा तिब्बतसँग गरिएको भोटको सन्धिले ५० हजार एक रुपैयाँ नेपाललाई बुझाउनुपर्नेमा दोस्रो वर्ष नबुझाई तिब्बतले सन्धि भंग गर्‍यो । त्यसपछि नेपालसँग युद्ध गर्न चीनको सहयोग माग्यो । विसं १८४९ असार १० मा टुंवाङको नेतृत्वमा आएको चिनियाँ सेना र नेपाली सेनाबीच रसुवाको धैबुङ तथा नुवाकोटका गेर्खु, चोकदे र दुधेलामाको डाँडामा युद्ध भएको इतिहासमा उल्लेख रहेको रिजालले बताए ।

प्रकाशित मिति: २०७१ आश्विन २९ १०:५६

Source : http://www.ekantipur.com/np/2071/6/29/full-story/397105.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s