पलाञ्चोक भगवतीको ऐतिहासिक पक्ष -710525

bishwonath-kharel( विश्वनाथ खरेल) राजधानी शहर काठमाडौंबाट करिब ५५ कि.मि. पूर्व काभ्रेपलाञ्चोक जिल्लामा पर्ने मन्दिरहरूमा सबैभन्दा ठूलो मन्दिर पलाञ्चोक भगवतीको रहेको छ। यस मन्दिरमा रहेको मूर्ति करिब एक मिटर अग्लो र कालो चिल्लो ढुंगामा कँुदिएको छ। भगवतीको मूर्ति हेर्दा अलिकति बाङ्गिएको आकृतिमा देखिन्छ। अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी यी भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ। भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवं मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको देखिन्छ। एक हातको तीरले दैत्यलाई रोपेको छ। ढोकाको दायाँ–बायाँ प्रस्तर र धातुका सिंहहरू छन्। सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टँुडाल र झ्यालहरू भने कलात्मक काठका रहेका छन्। धातुले नै मोडिएका ढोकाहरू छन्। मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ। यी भगवती हिन्दूहरूकी आराध्यदेवी भए पनि यस मन्दिरमा वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी पूजाआजा नभई बौद्ध तान्त्रिक विधिअनुसार पूजा अर्चना गरिन्छ। यिनलाई बौद्धमार्गीहरूले पनि हिन्दूहरूले जस्तै श्रद्धाभक्तिले पूजा, अर्चना गर्दछन्। यस मन्दिरमा दर्शनार्थ काठमाडौंलगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्ती छ।
यस मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले विक्रम संवत् ४२५ मा गरेको कुरा लिच्छविकालीन अभिलेखहरूबाट थाहा पाउन सकिन्छ। नेपालका अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ। यो मन्दिर अनुपम् कलाकौशलले चमकदारपूर्ण तथा आकर्षित रहेको छ। मध्यकालको प्रारम्भमा यस जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरीनजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाई विकसित हुने अवसर पाएका थिए।
मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा थियो। जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात् शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो। उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरे। यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले। त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो। यसरी निजको मृत्युपछि सो राज्य भादगाउँअन्तर्गत गाभिएकाले सात गाउँ नै भक्तपुरको अधीनमा गयो। केही भाग मात्र कान्तिपुरअन्तर्गत रह्यो।
वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलाञ्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेको थियो। यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन्। वि.सं. १९९० मा केही भाग भत्केकोमा स्थानीय बासिन्दाबाट मर्मत भएको थियो। यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन्।
एक दिन काभ्रे जिल्लाको बुचाकोटका बासिन्दालाई सपनामा भगवती स्वयं उपस्थित भई मलाई यहाँबाट उत्तरतिर लैजाऊ भनिछन्। स्थानीयले सोही बमोजिम भगवतीको शिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास पर्यो। भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर यहाँबाट लैजाँदा मानिनन्। त्यसपछि त्यहाँ नै भगवतीको मन्दिर बनाएर राखियो। त्यस्तै अर्को रोचक तथा घोचक भनाइ के छ भने, एक स्थानीय अज्ञात पहरी थरका व्यक्तिले भोटबाट नेपालमा नून व्यापार गर्ने गर्दथे। उनले एक दिनको व्यापारबराबर नाफा भएको खण्डमा भगवतीलाई केही चढाउने बाचा गरेका थिए रे। सोही बाचाअनुरूप उनले भोलिपल्ट आफ्नो नूनको बोरामा हेर्दा पाथीभरि चाँदीको मोहोर भएको पाए। आफ्नो मनोकामना पूरा भएको हुँदा पलाञ्चोक भगवती मन्दिरभन्दा पूर्वपट्टि छेउमा ठूलो घन्टा स्थापना गरेका थिए। सो घन्टामा लेखिएको कुरा आजसम्म पनि सजिलैसँग पढ्न सकिन्छ। भगवतीको दिदी कालिकाको स्थान त्यहाँबाट केही पर छ। उनको पहिले दर्शन गरेर मात्र भगवतीको दर्शन गर्नुपर्ने जनधारणा आजसम्म पनि यथावत् कायम छ।
वि.सं. २०२४⁄२५ तिर तत्कालीन सहायक मन्त्री स्व. रन्नप्रसाद खरेलको सक्रियतामा लामिडाँडादेखि पलाञ्चोक भगवतीसम्मको दश कि.मि. बाटो रेखांकित भयो। त्यसकारण उहाँकै नामबाट उक्त बाटोको नामकरण रन्नमार्ग राखियो। वि.सं.२०४० मा उक्त बाटोलाई फराकिलो पार्ने कार्य भई २०४२ सालदेखि उक्त स्थानमा मिनिबस सेवा सञ्चालन भएको छ। हाल आएर यस स्थानमा काठमाडौंबाट दैनिक चार पटक बससेवा सञ्चालन भएको छ। यस मन्दिरदेखि पूर्वपट्टि डाँडागाउँमा पहरी थरका जनजातिहरू बसोबास गर्छन्। यिनीहरू नेवार जातिबाट अपभ्रंश भई पहरी जातमा आएको भन्ने भनाइ छ। यो डाँडालाई भगवतीको फूलबारी भनिन्छ। यहाँका प्रत्येक पहरीले दैनिक आलोपालो मिलाई भगवतीलाई फूलको गुच्छा प्रत्येक बिहानीमा चढाउनुपर्ने प्रचलन छ। यस मन्दिरमा सबैभन्दा ठूलो मेला बडादशैं र चण्डीपूर्णिमा (बुद्ध जयन्ती)का दिन लाग्छ। बुद्ध जयन्ती मेला लाग्नुभन्दा एक दिनअगावै देउता बैराउने भनिन्छ। त्यस दिन त्यहाँका पहरीहरूबाट नै भगवतीको रथ चलाउने परम्परा छ। यसरी यहाँ वर्षको दुई पटक रथ घुमाइन्छ।
यस मन्दिरमा जानको लागि राजधानीबाट करिब तीन घन्टा मोटरमा बसेर कोदारी राजमार्गको बनेपा, धुलिखेल, पाँचखाल र लामिडाँडा हुँदै उतरतर्फ उकालो चढ्दै जानुपर्दछ। मन्दिरको नजिकै सानो बजार, मा.वि., प्रहरी चौकी, टेलिफोन आदि छ। त्यस्तै यात्रुवर्गको हितलाई ध्यानमा राखेर बिजुली र खानेपानी मन्दिरको वरपर पुर्याइएको छ। यस स्थानको उचाइ समुद्र सतहबाट करीव ५,१२५ फिट रहेको अनुमान छ। मन्दिरको बाहिरी रूप हेर्दा निकै आकर्षक देखिन्छ। मन्दिरभित्र झन्डै एक मिटर कालो ढुंगामा कँुंदिएको भगवतीको सुन्दर मूर्ति छ। भनिन्छ, पलाञ्चोक भगवती दाहिने हातबाट, नक्साल भगवती देब्रे हातबाट र शोभा भगवती खुट्टाबाट कुँदिएको र तीनै मूर्ति बनाउने कलाकार एउटै थिए। यस्तो बहुचर्चित मूर्ति बनाउने कलाकारले तत्कालीन अवस्थामा सजायँबापत आफ्नो हात गुमाउनुपरेको कुरा निकै चर्चा हुने गर्छ।
काठमाडौं मखनटोलवासी वज्राचार्यहरूलाई परापूर्वकालदेखि नै यस मन्दिरकोृ पूजाआजाको लागि पुजारीको रूपमा राख्ने परम्परा आजसम्प पनि जस्ताको तस्तै रहेको छ। मन्दिरको पूर्वतर्फ रमणीय खरेलथोक गाउँ रहेको छ। खरेलहरूले देवीको नित्य पूजाको अलावा हिन्दूहरूको महान् पर्व बडादशैंको फूलपातीदेखि नवमीसम्म भगवतीलाई प्रत्येक वर्ष एक–एक वटा बोका बलि दिने प्रचलन अद्यावधि कायमै छ।
कुनै अनिष्ट हुने भएमा पलाञ्चोक भगवतीको मुहारमा पसिना आउने गर्छ। वि.सं. २०४५ भाद्र ५ गते भूकम्प जानुअघि भगवतीको अनुहारबाट पसिना आएको थियो रे। वि.सं. २०२९ मा एउटा सैनिक विमान धुलिखेल डाँडाको खोल्सामा दुर्घटनाग्रस्त हुनुभन्दा अगाडि पनि देवीको अनुहारबाट पसिना आएको थियो भनिन्छ। यसले गर्दा परापूर्वकालदेखि नै भगवतीप्रति जनआस्था र विश्वास बढ्दै आएको छ। यो मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ।

Source : http://www.newsofnepal.com/new/bichar/2014/11/75005

Published Date: November 11, 2014

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s