नेपालको मुटुरोग सेवा विश्वकै उत्कृष्ट

nepalko(भगवती तिमल्सिना) बाथ मुटुरोग पहिला नेपालका धनीमानी र पाको उमेरका मानिसमा हुने रोगका रूपमा परिचित थियो । तर अहिले मुटुरोग पाको उमेरबाट युवा तथा बालबालिकातर्फ बढ्दै गरेको विशेषज्ञहरूको ठम्याई छ ।
पहिला धनी मानिसहरू कम व्यायाम गर्ने चिल्लो पदार्थका साथै, धुम्रपान, मध्यपानलगायतका वस्तु प्रयोग गरी आलिसन महलमा शोखका साथ बस्ने गरेकै कारण मुटुरोग लाग्ने गर्दथ्यो । तर अहिले त्यस्तो नभएर सम्पन्नहरूले स्वास्थ्यको ख्याल गरी खानपान, व्यायममा सुधार गरी निरोगी बन्न थाले भने गरिबहरू जे पायो त्यही खाने, स्वास्थ्यको ख्याल नगर्ने, जंकफुड, रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ बढी प्रयोग गर्नेतर्फ लम्किएकै कारण बढी मुटुरोगी गरिब हुन थालेको तथ्य सार्वजनिक हुनु अझ डरलाग्दो विषय हो ।
नेपालमा सञ्चालित बाथ मुटुरोग रोकथाम कार्यक्रम विश्वमा नै उत्कृष्ट भएकाले नमुनाका रूपमा नेपालकै मोडल विश्वमा लागु गर्ने विश्व मुटु महासंघका कार्यक्रम निर्देशक एलिस ग्रेन्जरले बताउनुभयो । दिनानुदिन बढ्दै गएको मुटुरोगका बारेमा नेपाल सरकारले विशेष कार्यक्रम नै बनाएर रोकथामका लागि लागिपर्ने प्रतिबद्धताका साथ अघि बढिरहेको अवस्थामा नेपालको अवस्था निरीक्षणका लागि आउनुभएकी एलिसले नेपालले अपनाएको बाथ मुटुरोग कार्यक्रम अत्यन्तै राम्रो भएको बताउनुभयो । उहाँले अब यो कार्यक्रमलाई नमुनाका रूपमा विश्वभरि लागु गर्न सिफारिस गर्ने बताउनुभयो ।
हृदयरोग प्रतिष्ठान नेपालका कार्यक्रम निर्देशक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी भन्नुहुन्छ– ‘नेपाल सरकारले बाथ मुटुरोग लागिसकेपछि उपचारका लागि धेरै पैसा बाँडेको छ रोकथामका लागि अत्यन्तै न्यून लगानी गरेको छ । नेपाल सरकारले देशभरिका अस्पतालहरू मार्फत् मुटुरोगको उपचारका लागि वर्षेनी २० करोड खर्च गरिरहेको छ । यसमध्ये गंगालाल हृदयरोग केन्द्र बाँसबारीलाई मुटुरोगको उपचारका लागि वार्षिक १० करोड उपलब्ध गराउँदै आएको छ ।’
पछिल्लो समय हृदयरोग प्रतिष्ठान नेपालले विशेष गरी बालबालिकाहरूमा हुने बाथ मुटुरोगको रोकथामले मुटुरागीहरूमा कमी ल्याउन सक्ने तथ्यांक नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयसमक्ष पेस गरेको थियो । सरकारले प्रतिष्ठानको राय सल्लाहलाई स्वीकार्दै बाथ मुटुरोग रोकथामका लागि प्रतिष्ठानसँग सहकार्य गर्दै आएको पनि डा. रेग्मीले जानकारी गराउनुभयो ।
नेपाल सरकारले अहिले प्रतिष्ठानसँग सहकार्य गरी बाथ मुटुरोग रोकथामका लागि वार्षिक ३० देखि ४० लाख सहयोग गर्दै आएको र उक्त सहयोगबाट बाथ मुटुरोगका २० प्रतिशत प्रभावित व्यक्तिहरूले लाभ लिइरहेको डा. रेग्मीले बताउनुभयो । उहाँ भन्नुहुन्छ– ‘नेपाल सरकारले रोग लागिसकेपछि उपचारका लागि मात्र सहयोग जुटाउने नभई रोगै लाग्न नदिने या लागिहाले पनि रोकथामका लागि वार्षिक १ करोड बजेट छुट्याउने हो भने ७५ जिल्लाका बाथ मुटुरोगीको मुटुरोग रोकथाम गर्न सकिन्छ । बाथ मुटुरोगका समस्या बढ्दै गएपछि नेपाल सरकार र प्रतिष्ठानलगायतका निकायले विद्यालय र अस्पतालमा बालबालिकाका बीचमा गरेको सर्वेले विगतमा १ हजार जनामा २ जना मुटुरोगी देखिएकोमा अहिले आएको नयाँ प्रविधिमा परीक्षण गर्दा १० गुना बढी बिरामी देखिने सम्भावना देखिएको डा. रेग्मीले बताउनुभयो ।
रोगीको संख्या बढ्नुको प्रमुख कारण खानपान, अस्वस्थ वातावरण, मोटरसाइकल प्रयोगकर्ता धेरै हुनु मुटुरोगले बढावा पाउँदै गएको छ । अहिलेसम्म पुरानो मेटडबाट परीक्षण गरेकै कारण रोगीको संख्या कम देखिएको हो यदि नयाँ प्रविधिबाट भिडियो एक्सरे गरेर हेर्ने हो भने १० गुना बढी बिरामी देशभरि फैलिएका छन् । काठमाडौंमा भने जनचेतनाकै कारण स्वास्थ्य परीक्षण गर्ने र उपचार समयमै गराउने परिपार्टी बढेकाले बाथ मुटुरोगीको संख्या कूल रोगीको दाजोमा १० प्रतिशत मात्र रहेको पनि डा. रेग्मीले बताउनुभयो ।

बाथ मुटु रोगका लक्षण तथा उपचारका उपायहरूः
बच्चालाई देखिने बाथ मुटुरोगको पहिलो लक्षण घाँटी दुख्नु, टन्सिल हुनु हो । रोगको संकेतका रूपमा घाँटी दुख्छ, टन्सिल हुन्छ, ज्वरो आउँछ यस्तो अवस्थामा तत्काल उपचार गरे मुटुरोगको रोकथाम गर्न सकिन्छ । यस्ता समस्या तत्कालका लागि आफैं भएजस्तो हुन्छ । तर २ सातापछि पुनः ज्वरो आउने, जोर्नीहरू दुख्ने, जोर्नीको वरिपरी सुन्निने, खुट्टा सुन्निने, मुटुको चाल बिग्रिने हुन्छ । यति बेला नै तीन–तीन हप्ताको फरकमा ३ सिलिङ जम्मा २५ रुपियाँ पर्ने पेनिसिलिङ इनजेक्सन लगाएमा रोग रोकथाम गर्न सकिन्छ । तर मुटुको भल्व फेर्नुपर्यो भने ३ देखि ५ लाख खर्च हुन्छ ।
पछिल्लो समय नेपाल सरकार र हृदयरोग प्रतिष्ठानले बच्चा जन्मने विबत्तिकै, विद्यालय शुरु गर्ने समय अर्थात् ५ वर्षको हुँदा र १८ वर्षको उमेरमा मुटुरोगको परीक्षण गराउनुपर्ने नारा अघि सारेको छ । यसो गर्नाले बच्चादेखि युवा अवस्थासम्मको समस्या पत्ता लाग्छ भने १८ वर्षपछि वर्षमा एकपटक ब्लडप्रेसर, ब्लडसुगर, एक्सरे, कोल्डस्टोर, पिसाब परीक्षण गर्नु रोगको पहिचान र समयमै बचावटको उपाय पहिलाउने माध्यम हो । यी सबै गर्न २ सय ५० रुपियाँको हाराहारीमा खर्च गरे पुग्ने पनि डा. रेग्मीको ठम्याइ छ ।

Source : http://www.newsofnepal.com/new/mahanagar/2014/11/75000

Published Date: November 11, 2014

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s