सूर्य देवताको उपासना गर्ने छठपर्व – 710712

bishwonath-kharel(विश्वनाथ खरेल ) तराईमा बासोबास गर्ने हिन्दुहरूको महान् चाडको रूपमा लिइने छठपर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ। त्यसै गरी छठपर्व पनि मूलतः तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व हो। खासगरी कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व हो। यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वा, कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ। छठपर्वलाई ऐतिहासिकरूपमा अवलोकन गर्दा द्वापर युगबाट शुरुवात भएको देखिन्छ। त्यस बेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएका थिए। समयको गतिसँगै मुलुकको तराई भागमा बसोबास गर्ने प्रायः हिन्दू समुदायले यो पर्वलाई मनाउँदै आएका छन्। बिस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यकालगायत विभिन्न शहरी क्षेत्रमा पनि मनाइन लागेको छ।
यस पर्वमा पोखरी, नदी आदि जलाशयलाई झिलिमिली पारी सिँगारिन्छ। यसको धार्मिक मान्यताअनुसार सूर्यको पहिलो प्रकाश शरीरमा परेको खण्डमा रोगव्याधी नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ। यो पर्वलाई गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुवै पक्षहरूले भरिभराउ भएको पर्व हो।। यस सूर्य देवतालाई उपासना गर्नको लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरी–थरी र जात–जातका फूलहरूले बेहुलीभन्दा पनि राम्रोसँग सिँगारिएको हुन्छ। यस पर्वमा माटाका भाँडाकुडाहरूले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोलि तामा तथा पित्तलका भाँडाकुँडाहरू राख्ने चलनले गर्दा त्यति राम्रो र स्वभायमान देखिँदैन।
छठपर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि आधारित छन्। कतिपय वैज्ञानिक, ज्योतिष एवम् चिकित्सकहरूले सूर्यतत्वबाट ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको पाइन्छ। संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन।
कात्तिक शुक्ल षष्ठीलाई नै छठपर्व भनिन्छ। यो सूर्यको व्रत बस्ने वा उपासना गर्ने पर्व हो। हिन्दुधर्ममा छठपर्व कात्तिक र चैत महिना गरी वर्षको दुईपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत्रूपमा सूर्यनारायणको पूजा गरिन्छ। अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजाआजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौं दिनमा पर्दछ। यद्यपि पर्वको मुख्य विधि भने कात्तिक महिनाको चन्द्रोदयको चौथो दिनदेखि नै आरम्भ हुन्छ। चौथीको दिनलाई अरवा भनिन्छ, जुन दिन व्रतालु पुरुष वा महिलाको खोला, ताल तलाउ, नदी, पोखरीमा स्नान गरी शुद्ध भोजन गर्नुबाहेक अरु केही काम हुँदैन।
चौथीको भोलिपल्ट र षष्ठीको अघिल्लो दिनमा भने छठपर्वको तयारीको दिनको रूपमा लिइन्छ। यस दिनलाई खर्ना भनिन्छ। उक्त दिनमा दिनभरि उपवास बसेका व्रतालुको मुख्य काम साँझ पुनः स्नान गरी कुलदेउता रहेको कोठामा नयाँ माटोको चुल्हो प्रयोग गरेर सूर्यको पूजाआजाको लागि नैवेद्य, भेटी, विभिन्न किसिमका फलफूल, मिठाई तयार पार्नुपर्छ। नैवेद्यमा विशेषतः पाकेको केरा, शुद्ध घिउमा बनाइएको गहुँको पीठोको रोटी, अरुवा चामलको खीर पर्दछन्। यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्यपरिकार चोखो हुनुपर्ने, जुठो पर्न गए अनिष्ट हुने र कुष्ठरोगको सिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ। पूजा सकिएपछि ब्रतालुले यिनै प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने घरका सदस्यहरूलाई पनि खुवाउने चलन छ।
सयौं वर्षअघिदेखि यो पर्व खासगरी तराई भागमा बसोबास गर्ने हिन्दुहरूले मान्दै आएका छन्। यो पर्व कहिलेदेखि मनाएको भन्नेचाहिँ ऐतिहासिक लेखोट भने हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन। हाल यो पर्व के तराई, के पहाड, के काठमाडौं, सबै ठाउँमा मनाउन लागेको पाइन्छ। केही वर्षअघिसम्म काठमाडौंवासीहरूलाई छठपर्वका सम्बन्धमा केही थाहा थिएन। ८–९ वर्षयता यो यहाँका बासिन्दाका लागि पनि परिचित हुँदै गएको छ। यस व्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, स–साना बालबालिकासमेत पनि व्रत बसी पूजाआजा गर्न मन पराउनेको संख्यामा वृद्धि भएको पाइन्छ। राजधानीस्थित थापाथलीको वाग्मती किनार र पशुपतिनाथको बागमतीे किनारमा व्रत बस्ने व्रतालुहरूको संख्या बढ्दै गएको देखिन्छ। सबै उमेरका महिलाहरू सक्रिय रहने छठपर्वमा कात्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ। देवीभागवतमा बताइएअनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ। छठीमाईको व्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्बन्धी कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोक्ति जनमानसमा रहेको छ।
यो व्रतमा कडा नियम भएको कारणले गर्दा जसले व्रत बस्न सक्छ त्यो व्यक्तिले मात्र उपवास बस्नुपर्ने हुन्छ। तर आफू उपवास बस्न नसक्ने भए अरुलाई पनि राख्न सकिन्छ। अतः आर्थिक स्थिति कमजोर हुने व्यक्तिले पनि भिक्षा मागेर भए पनि व्रत पूरा गर्न सक्छन्। यो नै व्रतको रोचक तथा घोचक विशेषता रहेको छ। आ–आफ्नो धर्म–परम्पराअनुसारका विभिन्न पर्वहरू हाम्रो देशमा मनाइन्छ। देशमा एक समुदायले मनाउने पर्व अर्को समुदायले पनि स्वीकार गर्ने भएकाले नेपालमा जुनसुकै चाडपर्वको महत्व दिन–प्रतिदिन बढ्दै गएको छ। त्यसमध्ये छठ पर्व पनि एक हो।
यसरी छठपर्वमा आफू, श्रीमान् र छोराको लामो आयुको कामना गर्दै सूर्यदेवलाई पूजा गरिन्छ। यसबाहेक परिवारमा शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना पनि गरिन्छ। छठमा घरका पाका महिलाले चतुर्थीका दिन नुहाइवरि व्रत बस्छन्। पञ्चमीको राति खरना हुन्छ। छठको पूर्वसन्ध्यामा मनाइने खरनामा सख्खर, दूध र चामलले बनेको खिर तथा पाकेको केरा भगवान्लाई चढाई प्रसादको रूपमा व्रतालुहरूलाई बाँडिन्छ। तर खरनाको दिन बिहानैदेखि व्रतालुहरू उपवास बस्छन्। भोलिपल्ट साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गरिन्छ। सप्तमीको बिहान उदाउँदो सूर्यको उपासनापछि पूजा विधिवत्रूपमा समाप्त हुन्छ

Published Date: October 29, 2014

Source : http://www.newsofnepal.com/new/bichar/2014/10/73870

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s