तेलको मूल्य घट्दै गाडीभाडा बढ्दै – 710712

अजित अधिकारी/नयाँ पत्रिका
काठमाडौं, ११ कात्तिक

cover
नेपाल आयल निगमले पछिल्लो एक महिनामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य घटाइसकेको छ । १६ कात्तिकमा फेरि घटाउने तयारी छ । तर पनि सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ ।

१५ कात्तिकबाट लागू हुने गरी सरकारले सार्वजनिक सवारीसाधनमा साबिकको भाडामा कम्तीमा एक रुपैयाँ बढाउने निर्णय गरिसकेको छ । इन्धनको मूल्य घटिरहेका वेला भाडादर घटाउनुको सट्टा सरकार व्यवसायीको दबाबमा परेर भाडा वृद्धिको निर्णय कार्यान्वयन गर्ने दिन पर्खंदै छ ।

भाडादर पुनर्मूल्यांकन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएकाले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहाल बताए । ‘सार्वजनिक सवारीसाधनको भाडादर पुनर्मूल्यांकन नभएको लामो समय भएको र यस अवधिमा लागत बढ्दै गएको आधारमा आगामी १५ कात्तिकबाट लागू हुने गरी भाडा वृद्धि गर्ने निर्णय भएको छ,’ सोमबार संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा दाहालले भने । उनका अनुसार यात्रुबाहक सवारीसाधन (बस, मिनीबस, माइक्रो) मा ५ दशमलब ६३ प्रतिशतका दरले भाडा वृद्धि हुनेछ ।

नयाँ भाडादरअनुसार चार किलोमिटर वा सोभन्दा कम दूरी यात्रा गर्ने यात्रुले १६ रुपैयाँ तिर्नुपर्नेछ । हाल यो दूरीका लागि १५ रुपैयाँ भाडा तिरे पुग्छ । त्यस्तै, पाँच किलोमिटरसम्म यात्रा गर्दा १७ रुपैयाँ, ६ किलोमिटरसम्म यात्रा गर्दा १९ रुपैयाँ, आठ किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ तिर्नुपर्नेछ । १० किलोमिटरसम्मको २२ रुपैयाँ, १३ किलोमिटरसम्मको २४ रुपैयाँ, १६ किलोमिटरसम्मको २६ रुपैयाँ र १९ किलोमिटरसम्मको २७ रुपैयाँ भाडा तोकिएको छ ।

त्यस्तै, तराईमा गुड्ने मालबाहक ट्रक, ट्याक्टरमा ५ दशमलब २१ प्रतिशत भाडा वृद्धि गरिएको महानिर्देशक दाहालले बताए । काठमाडौं, पोखरा, नारायणगढ तथा पहाडी क्षेत्रमा गुड्ने मालबाहक ट्रक, ट्यांकरमा ५ दशमलब २१ प्रतिशत र मिटरजडित ट्याक्सी तथा विमानस्थलमा प्रयोग भइरहेका पर्यटक ट्याक्सीमा ६ दशमलब ५८ प्रतिशत भाडा वृद्धि गरिएको छ ।

सार्वजनिक सवारीको भाडादर औसतमा प्रति चार किलोमिटरमा एक रुपैयाँ वृद्धिको निर्णय भएको महानिर्देशक दाहालले बताए । त्यस्तै ट्याक्सीको भाडादर प्रतिकिलोमिटर एक रुपैयाँ बढी हुने गरी बढाइएको छ ।

सरकारले गत वर्ष २८ चैतमा सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेयता नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य दुईपटक घटिसकेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटिरहेका कारण १६ कात्तिकमा पुन: पेट्रोल, डिजेलको मूल्य घट्ने आयल निगमले जनाएको छ ।

गत २८ चैतमा सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्नुअघि ६ चैतमा आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको थियो । त्यसयता पनि निगमले १३ असोज र २ कात्तिकमा पेट्रोल, डिजेलको मूल्य घटाएको छ । निगमले १३ असोजमा पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्दै पेट्रोल प्रतिलिटरमा एक रुपैयाँ ४४ पैसा र डिजेल प्रतिलिटरमा २७ पैसा घटाएको थियो । त्यस्तै, २ कात्तिकमा पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ ५९ पैसा र डिजेल प्रतिलिटरमा २ रुपैयाँ ६ पैसा घटाएको थियो ।

निगमले मूल्य घटाउँदा पनि सरकारले व्यवसायीहरूको दबाबमा परेर भाडा वृद्धि गरेको उपभोक्ता अधिकारकर्मीको आरोप छ । ‘सवारीसाधनमा प्रयोग हुने पेट्रोल र डिजेलको मूल्य घटिरहेका वेला भाडा वृद्धि गर्न खोज्नु तर्कसंगत हुँदैन,’ उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले भने, ‘सर्वसाधारणको हितविपरीत गरिएको यस्तो निर्णयबाट सरकार पछि हट्नुपर्छ ।’

Source : http://enayapatrika.com/coverstory/13084.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s