नगरका चिटिक्क टोल

काठमाडौ, आश्विन ३ –

राजधानीस्थित बालुवाटारको सफा सडक । स्थानीयवासीको पहल र केही संघसंस्थाको सहयोगमा उपत्यकाका केही क्षेत्र नियमित सरसफाइले चिटिक्क छन् । तस्बिर : स्कन्द गौतम/कान्तिपुर
उपत्यकाको सबैभन्दा ठूला समस्यामध्ये एक हो, फोहोर व्यवस्थापन । यहाँको फोहोर लैजाने एउटै मात्र स्थल नुवाकोटस्थित सिसडोलको ल्यान्डफिल्ड साइड हो । झन्डै आधा करोड मानिस बसोबास गर्ने यहाँ फोहोर व्यवस्थापन हुन नसक्दा सर्वसाधारण वाक्क र दिक्क छन् । अझ फोहोर उठाउने कर्मचारीबाट पटक-पटक हुने गरेको आन्दोलनले उनीहरूलाई झनै सास्ती हुने गरेको छ । सम्बन्धित निकायले कानमा तेल हालेर बसिदिँदा सर्वसाधारण धेरै पटक दुर्गन्धित वातावरणमा बस्न बाध्य हुँदै आएका छन् । पछिल्लो समय भने जनता आफैं जुर्मुराएका छन्, फोहोर व्यवस्थापन गर्न । उनीहरू टोल-टोलमा स्थानीयस्तरमै सरसफाइमा जुटेका छन् । फलस्वरूप केही स्थान चिटिक्क मात्रै बनेका छैनन्, उदाहरणीयसमेत बनेका छन् । उपत्यकाका तीन मुख्य सहरका भित्री भागका अन्य स्थानको तुलनामा केही सफासुग्घर छन् । ती स्थानबारे कान्तिपुरका प्रशान्त माली, लीला श्रेष्ठ र जगदीश्वर पाण्डेको रिपोर्टिङ-

धोबीघाट पुरानो चोकका ५६ वषर्ीय तुलसीबहादुर श्रेष्ठ आफ्नो घरबाट दैनिक निस्कने फोहोरमध्ये कुहिनेलाई मल बनाई बोटबिरुवामा हाल्छन्, नकुहिनेचाहिँ झोला वा बोरामा सुरक्षित राख्छन् । जहाँ पायो त्यही फाल्दैनन् । फोहोर उठाउने रिक्सा वा गाडीमा मात्र पठाउने गर्छन् । उनी भन्छन्, ‘जताततै फालेमा आफैंले दुर्गन्ध सहनुपर्छ, विभिन्न रोगहरू निम्तिन सक्छ ।’

उनी एक्ला भने होइनन्, भनिमण्डल चोकका २९ वर्षीय व्यापारी निर्मला आचार्यले पनि त्यसै गर्छिन् । उनले पनि दैनिक पसलबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्याएर राख्ने गर्छिन् । कवाडी पसलले लैजाने प्लास्टिकका सामान बिक्री गर्छिन्, बाँकी फोहोर रिक्सावालालाई पठाउँछिन् । झम्सिखेलका ३१ वर्षीय सतिश महर्जन पनि आफ्नो घरको फोहोर जहाँ पायो त्यहाँ फाल्दैनन् । फोहोर उठाउन आउने रिक्सा वा गाडीमा मात्र पठाउने गर्छन् । शुक्रबार भेटिएका महर्जनले फोहोर उठाउन नआए फोन गरेर भए पनि बोलाएर पठाउने गरेको बताए ।

यी तीनजना प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै झम्सिखेल, भनिमण्डल, सानेपा र धोबीघाटका बासिन्दा सडकमा फोहोर फाल्दैनन् । घरको फोहोर घरमै सुरक्षित राख्छन् । फोहोर उठाउने रिक्सा वा गाडी आए मात्र पठाउने गर्छन् । यहाँका बासिन्दा सचेत भएकाले यो सम्भव भएको स्थानीयवासी बताउँछन् । उनीहरू भन्छन्, ‘फोहोर व्यवस्थापन गर्ने तरिका राम्रो छ । कम्पाउन्डभित्रै व्यवस्थापन गर्ने गरेका छौं ।’ कम्पाउन्ड नहुनेहरूले बोरा वा झोलामा सुरक्षित राख्ने गर्छन् । कुहिने र नकुहिने फोहोर छुट्याउँछन् । यति मात्रै होइन, प्रत्येक महिना उनीहरू फोहोरबारे स्थानीय क्लब र संस्थाहरूसँग अन्तक्रिर्या पनि गर्छन् ।
त्यसैले त, नख्खु दोबाटो-भनिमण्डल, एकान्तकुना-खरिबोट-जावलाखेल, धोबीघाट-झम्सिखेल, कुपन्डोल-कानदेवता-सानेपा, दमकल चोक-झम्सिखेल, झम्सिखेल चोक-चक्रपथ नयाँबाटोको सडकको ठाउँ-ठाउँ र चोकमा फोहोर थुपारेको देखिंदैन । यी ठाउँमा अन्तर्राष्ट्रिय संस्था, लाहुरे, रेस्टुरेन्ट, पार्टी प्यालेस, गेस्टहाउस, अफिसलगायत पर्यटक, राजनीतिक दलका प्रतिष्ठित व्यक्ति र व्यापारीहरू बस्ने गरेका छन् ।
यी ठाउँको फोहोर उठाउने जिम्मा नगरपालिकाले निजी संस्था ‘नेप्सेम्याक’ लाई दिएको छ । संस्थाले घरघरको फोहोर दिन बिराएर संकलन गर्ने गरेको छ । संस्थाका ललितपुर शाखा प्रमुख लक्ष्मीप्रसाद गेलालले दैनिक उठ्ने फोहोर सिसडोल पठाउने गरेको बताए । ‘पुन:प्रयोगमा ल्याउन मिल्ने कागज, प्लास्टिक, सिसी जस्ता फोहोर २० प्रतिशत बिक्री गर्ने गरेका छौं,’ उनले भने, ‘सबैभन्दा समस्या फोहोर जम्मा पार्ने ठाउँको छ । संस्थाले फोहोरको परिणामका आधारमा मासिक शुल्क लिने गरेको छ । मासिक २ सयदेखि ७/८ हजार रुपैयाँ तिर्ने पनि छन् ।’

फोहोरमैला महासंघका अध्यक्ष टीकाराम दाहालले जनतालाई फोहोर व्यवस्थापनसम्बन्धी चेतना फैलाउन संस्थाले जनचेतनामूलक कार्यक्रम बढी सञ्चालनमा ल्याउनुपर्ने बताए । ‘फोहोरसम्बन्धी कानुनी व्यवस्थालाई कडाइसाथ लागू गर्नसके यी ठाउँ जस्तै अन्य स्थान पनि सफा हुन सक्छन्,’ उनले भने ।
काठमाडौं महानगरपालिकाका ३५ मध्ये दुई वडा अन्यको तुलनामा बढी सफा छन् । यी दुई वडा हुन्, लाजिम्पाट (वडा २) र बालुवाटार (वडा ४) । लाजिम्पाट-महानगर र निजी क्षेत्र केपी क्लिन दुवैले फोहोरको व्यवस्थापन गर्छन् । पूर्वमा भाटभटेनी चोक, दक्षिणमा राजदरबारको उत्तर ढोका, पश्चिममा ठमेलसम्मको सीमा र उत्तरमा सांगि्रला होटलमाथिसम्म फैलिएको छ । दैनिक आगमन गर्दा यी स्थान महानगरका अन्य वडाभन्दा सफा छन् ।

यी वडामा कम फोहोर हुनुको कारणमा भीआईपी एरिया भएर पनि हो । यस क्षेत्रमा ठूला होटल र्‍याडिसन (५ तारे), सांगि्रला (५ तारे) र होटल शंकर (४ तारे) छन् । यस्तै, भारतीय, बि्रटिस, इजरायल, फ्रेन्च र डेनिस दूतावास पनि छन् । अपार्टमेन्टका साथै १० भन्दा बढी स्कुल र कलेज तथा करिब १० को हारहारीमा बैंकका कार्यालय छन् । सपिङका लागि डिपार्टमेन्टल स्टोर र रेस्टुराँ यस क्षेत्रका प्रमुख आकर्षण हुन् वडाका प्रशासकीय प्रमुख विमल ज्ञवाली । उनी भन्छन्, ‘मान्छे कम हुँदैमा फोहोर नहुने होइन, सफा नगरे कसरी सफा हुन्छ ।’
वडाले फोहोर व्यवस्थापनका लागि नियमित अनुगमन गर्ने र जथाभावी फोहोर फ्याक्नेलाई कारबाहीको दायरामा ल्याउने गरेको उनले बताए । वडामा सरसफाइका लागि महानगरका १५ कर्मचारी छन् । र, बाँकी प्राइभेट सेक्टरको । ज्ञवालीले भने, ‘एक वर्षअघिसम्म सामुदायिक फोहोर महिला समितिले पनि हेथ्र्योे । तर अहिले केपी क्लिनले हेरेको छ ।’ उनले टोल सफा राख्न विभिन्न क्लब र संघ-संस्थासँग समन्वय गर्दै वडा अघि बढेको जानकारी दिए ।
प्रधानमन्त्री निवास रहेको बालुवाटार अर्को परिचित ठाउँ हो । महानगरपालिकाभित्र कम फोहोर हुने यो अर्को भीआईपी एरिया हो । पूर्वमा चिनियाँ दूतावास, उत्तरमा सुकेधारा, पश्चिममा नारायणगोपाल चोक र दक्षिणमा गैरीधारा पेट्रोल पम्पसम्म फैलिएको यो वडामा महानगरका कर्मचारीसँगै चार प्राइभेट संस्था (फूलबारी, लोकसेनायक, बालुवाटार जागरण क्लब र सुसाल युवा परिवार) छन् । वडाका प्रशासकीय प्रमुख उदय पसखल भन्छन्,’हाम्रो क्षेत्रमा फोहोर फ्याल्न हुँदैन भन्ने मानिसको जमात बढी छन् । जसले गर्दा फोहोर कम हुने गर्छ ।’ उनले प्रधानमन्त्री कार्यालय, राष्ट्र बैंक तथा अन्य ठूला अफिस रहेको यो क्षेत्रमा दैनिक ध्यान दिएर सफा गरिंदै आएको जानकारी दिए । उनले समय-समयमा महानगरपालिका वातावरण विभागका निरीक्षकसँग निरीक्षण गर्दै आएको पनि बताए ।
महानगरले कानुनी रूपमा प्राइभेट संस्थालाई पैसा दिएर फोहोर उठाउने स्वीकृति दिएको छैन । तर वडाहरूमा प्राइभेट संस्थाले पैसा उठाएर फोहोर संकलन गर्दै आएका छन् । ‘यहाँ ३ सयभन्दा माथि फोहोरको भोलुम हेरेर १५ सयसम्म लिन्छन्,’ २ नम्बर वडाका प्रशासकीय प्रमुख ज्ञवालीले भने । पसखलले पनि महानगरपालिकाले फोहोर व्यवस्थापन र प्राइभेट सेक्टरबारे सोच्नुपर्ने बताए । पसल होस् या होटल वा कोठामा बस्नेले जथाभावी फोहोर फ्यालेको भेटेमा कारबाही गर्ने दुवै प्रमुखले बताए । यस्तै, दरबारमार्ग र ठमेललाई पनि केही सफा ठाउँका रूपमा लिइएको छ ।
भक्तपुरका दुई नगरपालिकालाई तुलना गर्दा भक्तपुर नगरपालिकाको स्मारक क्षेत्र अर्थात विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार, तौमढी, दत्तात्रय र पोटरी स्क्वायर नगरभरिकै सफासुग्घरका रूपमा परिचित छन् । सडक, बस्ती, पाटी, गल्लीमा खसेको फोहोर देख्नै नपाई सफा गर्ने नगर पनि यिनै हुन् । भक्तपुर नगरपालिकाभित्र सफा गर्न १ सय ७० कर्मचारी दैनिक खटिएका छन् ।
सरसफाइ गर्ने कर्मचारीलाई कामको बाँडफाँड गरी नियमित सफाइमा लगाउने गरेको छ । सफाइका लागि मात्र वाषिर्क साढे ५ करोड खर्च हुने गर्छ । नगर भएर बग्ने हनुमन्ते र खसाङखुुसुङ खोलाका लागि मात्र नगरपालिकाले ५ लाख छुट्याउने गरेको छ । तर नगरपालिकाको चुनौती भनेकै यी दुई खोला रहेको नगरपालिकाका अधिकारीहरू बताउँछन् । नियमित कर्मचारी २५, टिपनटापन ३३, टोल-टोलको फोहोर संकलन गर्ने, संकलन गरेको क्षेत्रबाट उठाएर डम्पिङ साइडसम्म पुर्‍याउने व्यवस्था भक्तपुर नगरपालिकाले गरेको छ । ९ गाडीले दैनिक फोहोर संकलन गरिरहेको नगरपालिकाले जनाएको छ ।
सिर्जनानगर, कमलविनायकको पूर्वी क्षेत्र, लिवाली, देकोचा लगायतको क्षेत्रमा भने अझ सोचेअनुरूप सफा गर्न नसकेको भक्तपुर स्यानिटेसन शाखा प्रमुख दिलीपकुमार सुवालले बताए । नगरपालिकाले फोहोरलाई कुहिने र नकुहिने छुट्याएर मात्र संकलन गर्ने थालनी गरेको छ । नगरपालिकाले फोहोरमैलालाई जैविक र अजैविक छुट्याएरमात्र संकलन गर्न टोल-टोलमा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम राख्ने, माइकिङ गर्ने, पर्चा वितरण गर्ने लगायतको कार्यक्रम भइरहेको सुवालले बताए । ल्यान्डफिल्ड साइड नहुँदा अहिले व्यवस्थापन गरेको सल्लाघारीमा दिगो रूपले लान सक्ने अवस्था नरहेकाले कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्ने गरिएको अधिकारीहरूले जनाए । ल्यान्डफिल्ड साइड नगरपालिकामा नभएको र नुवाकोटसम्म लैजान नगरपालिकाको क्षमताले नभ्याउने पनि उनीहरूले बताए ।
मध्यपुर थिमी नगरपालिकाको फोहोर व्यवस्थापन भने चुस्त हुन सकेको छैन । कारण हो, नगरभित्र न जनशक्ति छ, न त सफा गर्ने समयसीमा नै तोकिएको छ । सरसफाइमा १९ कर्मचारी मात्र छन् । दैनिक १९ टन फोहोर उत्पादन हुन्छ, तर १४ टन मात्र उठ्ने गरेको सामुदायिक विकास तथा फोहोर मैला व्यवस्थापन प्रमुख तुलसीभक्त तकोले बताए । ०५४ मा २० जना कर्मचारी थिए । जनसंख्याको अनुपात भने दोब्बरभन्दा बढी पुगिसकेको छ । फोहोर थेग्नै नसक्ने अवस्था छ । डम्पिङ साइडको व्यवस्था छैन । डम्पिङ साइडसम्म पुर्‍याउन सक्ने यो नगरपालिकाको पनि क्षमता छैन ।
नगरपालिकाले वाषिर्क नगरसफाइका लागि २० लाख खर्चने गरेको छ । मध्यपुर थिमी नगरपालिकाको सबैभन्दा ठूलो चुनौती नै फोहोर मैला व्यवस्थापन र विसर्जन भएको नगरपालिकाले जनायो ।
प्रकाशित मिति: २०७१ आश्विन ४ ०९:५३

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=330113

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s