आतंकवादविरुद्ध सार्क राष्ट्रहरू

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शुक्रबार काठमाडौंमा भएको छैटौं गृहमन्त्रीस्तरीय बैठकका क्रममा तस्बिर खिचाउँदै सहभागीहरू । तस्बिर : कान्तिपुर

काठमाडौ, आश्विन ३ –
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को छैटौं गृहमन्त्रीस्तरीय बैठकले यस क्षेत्रको आतंकवाद, अतिवाद र नयाँ-नयाँ प्रविधि उपयोग गर्दै हुने गरेको अपराध नियन्त्रणमा साझा संयन्त्र तयार गरेर अघि बढ्ने सहमति गरेको छ । नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटानका गृहमन्त्रीहरू तथा पाकिस्तान र अफगानिस्तानमा गृहमन्त्रीको प्रतिनिधिले त्यस्तो सहमति गरेका हुन् । आतंकवाद, अतिवाद र असहिष्णुताले सबै क्षेत्र जोखिममा परेको भन्दै यसको नियन्त्रणका लागि एक मुलुकले अर्को मुलुकको राम्रा र सफल योजना अनुशरण गर्दै अघि बढ्ने सहमति भएको उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बताए । आतंकवाद सार्क विकासका लागि गम्भीर चुनौती रहेको भन्दै यसको नियन्त्रणका लागि सार्क अभिसन्धि र महासन्धिलाई जतिसक्दो छिटो व्यवहारमा उतार्ने सहमति भएको छ । त्यस्तै दक्षिण एसियामा व्याप्त भ्रष्टाचारलाई नियन्त्रण गर्न सामूहिक कदम चाल्ने सहमतिसमेत भएको छ ।

सार्क स्थापनासँगै दक्षिण एसिया अझ बढी प्रजातान्त्रिक बन्दै गएको अवस्थामा सुरक्षा चुनौती पनि हरेक वर्ष थपिँदै गएकाले यसप्रति साझा संयन्त्र आवश्यक भएकामा सबैको जोड रहेको बैठकमा सहभागीले बताए ।
सार्क राष्ट्रमा संगठित अपराध, सीमापार अपराध, मानव तस्करी, लागूऔषध व्यापार एवं महिला र किशोरीविरुद्धका हिंसा बढेको भन्दै यस्ता संयन्त्रको आवश्यक भएको पनि बताइएको छ । आपराधिक गतिविधि र चुनौतीको सामनाका लागि सामूहिक प्रयासमा सबैको ध्यान गएको हो । बैठकमा भारतले दक्षिण एसियाली सुशासन केन्द्रको प्रस्ताव राखेकामा सदस्य मुलुकले सकारात्मक धारणा व्यक्त गरेको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए ।
श्रीलंकामा महिला, बालबालिका ओसारपसार नियन्त्रण र लागूओषध कारोबारको नियन्त्रणका लागि कोलम्बोमा एक अनुगमन डेक्स राख्ने सहमति पनि भएको छ । उक्त डेक्सले यस क्षेत्रमा अनुगमन गर्ने र संयुक्त प्रयासका साथ रोक्नका लागि काम अघि बढाउनेछ । सामुदि्रक लुट, भ्रष्टाचार गरी अर्को मुलुकमा लुक्ने, साइबर क्राइम, लागूऔषध ओसारपसार नियन्त्रण, सीमा क्षेत्र हुने अपराध तथा उग्रवाद, महिला तथा बालबालिका ओसारपसार नियन्त्रण, साझा संयन्त्रको रूपमा हरेक मुलुकले समन्वयकारी भूमिकामा काम गर्नेमा सहमति भएको छ । अध्यागमन प्रमुखहरूको बैठकले सम्बन्धलाई विस्तार गर्न ‘सार्क भिसा एक्जिम्सन स्किम’ को दायरा बढाउने सहमतिलाई गृहमन्त्रीहरूले स्वीकार गरेका छन् । व्यापारी, खेलाडी र सञ्चारकर्मीले अब सार्क भिसा पाउने गरी प्रक्रिया अघि बढ्ने भएको छ । यसको अनुमोदन आगामी शिखर सम्मेलनले गर्नेछ ।
प्रधानमन्त्री सुशील कोइरालाले मंसिर १० र ११ मा हुने १८ शिखर सम्मेलनको तयारीबारे जानकारी दिँदै सार्कबाट नै यस क्षेत्रको साझा विकास सम्भव भएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कलाई महत्त्व दिएको भन्दै क्षेत्रीय सहयोगको प्रभावकारी एवं विश्व मामिलामा एकीकृत आवाज विश्वसामु जानेमा आफू ढुक्क भएको बताए । ‘साझा संस्कृति, सिद्धान्त, मान्यता र परम्परामात्र नभई दक्षिण एसिया प्राकृतिक एवं मानव संसाधनका दृष्टिले सम्पन्न छ । शान्त र समृद्ध तुल्याउन तिनको उपयोग गर्न आवश्यक छ,’ कोइरालाले भने, ‘सामूहिक प्रयासबाट दक्षिण एसियालाई अझ उपयुक्त र बस्न लायक क्षेत्र बनाउन सकिन्छ । तर सहकार्य आवश्यक छ ।’
शान्त र समृद्ध नै स्वस्थ समाजका आधार रहेकाले शान्तिपूर्ण र सुरक्षति वातावरणमा आथिर्क वृद्धि र सामाजिक प्रगति गर्न सकिने उनले बताए । दक्षिण एसियाका जनताको जीवनस्तरमा सुधार ल्याउन क्षेत्रीय सहयोगको अपरिहार्यतालाई दृष्टिगत गरी सार्क स्थापना भएकाले सम्झौता र अभिसन्धि कार्यान्वयनमा चुस्तता दिन पनि कोइरालाले जोड दिए । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले दक्षिण एसियामा शान्ति, सुरक्षा कायम गर्नेसम्बन्धी साझा स्वार्थका विषयमा सबै सदस्य राष्ट्रबीच सहयोग विस्तार गर्न नेपाल तत्पर रहेको बताए । सार्कका महासचिव अर्जुनबहादुर थापाले दक्षिण एसियामा शान्ति, स्थायित्व र विकास सुनिश्चित गर्न सार्कका दीर्घकालीन लक्ष्य हासिल गर्न गृहमन्त्री स्तरीय बैठक महत्त्वपूर्ण भएको बताए । क्षेत्रीय शान्ति र सुरक्षा व्यवस्थालाई अझ मजबुत तुल्याउन भविष्यमा तर्जुमा गरिने नीतिमा यो बैठकको निर्णय महत्त्वपूर्ण रहने उनले बताए ।

सिंहद्वारा दलहरूसँग भेटघाट
यसैबीच, सार्क बैठकमा सहभागी हुन काठमाडौंमा रहेका भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार अध्यक्ष केपी ओलीसहितको एमाले नेताहरूसँग पनि भेटवार्ता गरे । भेटमा दुई मुलुकको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो । एमाले नेताहरूका अनुसार सुरक्षाका सन्दर्भमा सार्क गृहमन्त्रीस्तरीय बैठक महत्त्वपूर्ण भएको उल्लेख गर्दै सिंहले नेपाल सरकारले सुुरक्षाबारे गरिरहेको कामको प्रशंसा गरेका थिए । उनले समयमै संविधान बन्नेमा विश्वास व्यक्त गरेका थिए । सिंहसँगको भेटमा एम्ााले अध्यक्ष केपी ओली, उपाध्यक्षद्वय विद्या भण्डारी र भीम रावल, उपमहासचिव विष्णु पौडेल, सचिव पृथ्वीसुब्बा गुरुङ र विदेश विभाग सदस्य युवराज बाँस्कोटा सहभागी थिए । यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित नेताहरूसँग भेट गरी सिंहले संविधान निर्माण र शान्ति प्रक्रिया टुंगोमा पुग्ने विश्वास व्यक्त गरे । उनले एमाओवादीलाई दुवै काम गर्न नेतृत्वदायी भूमिका खेल्न सुझाव दिएका थिए । ‘शान्ति र संविधान निर्माण प्रक्रिया सुरु गरेको दलको हैसियतले यो प्रक्रिया पूरा गर्न सुझाव दिनुभयो,’ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रोतर्फबाट पूर्ण प्रयास भइरहेको भन्यौं ।’ एमाओवादी नेताले दोस्रो संविधानसभा निर्वाचनपछि शान्ति र संविधान निर्माणमा थप जटिलता थपिए पनि दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको बताएका थिए । सिंहले मधेसवादी दलका नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।
प्रकाशित मिति: २०७१ आश्विन ४ ०९:५७

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=330117

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s