अनुगमन आउँदा सटर बन्द

  • सोमबार ६ असोज, २०७१
  • अनुगमन आउँदा सटर बन्दकाठमाडौं- राजधानीको न्युरोडमा दसैंको चहलपहल बढे पनि विशाल बजार भने आइतबार बन्द रह्यो। बन्दको कारण अरू कोही नभएर व्यापारी आफैं थिए। दसैंको छेकमा हुनसक्ने ‘उपभोक्ता ठगी रोक्न’ बजार अनुगमनमा गएको सरकारी टोलीलाई असहयोग गर्दै विशाल बजारका व्यापारीले सटर बन्द गरेका हुन्।
    वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोली आफ्नो नियमित कार्यअन्तर्गत आइतबार दिउँसो विशाल बजारका पसल अनुगमन गर्न पुगेको थियो। सरकारी अधिकारी ४२, ४३ र ४४ नम्बरको पसल अनुगमन सकेर ४५ नम्बरमा पुग्दा अगाडिका सटर धमाधम बन्द हुन थाले। विशाल बजार व्यापार संघका पदाधिकारीसहित बिक्रेताहरू ‘हाम्रो पसल अनुगमन गर्न पाइँदैन’ भन्दै टोलीलाई घेर्न आइपुगे। अनुगमन अधिकारी चार वटाभन्दा बढी पसलमा छिर्नै सकेनन्।
    ‘हामीले बिक्रेतासँग खरिद मूल्य, बिक्री मूल्य, भ्याट बिललगायत कागजपत्र माग्दै थियौं,’ वाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले नागरिकसँग भने, ‘यसको विरोधमा उनीहरूले धमाधम पसल बन्द गरे।’
    पसल बन्द हुनुअघि टोलीले ओक ल्यान्ड, रेडिमेड स्टोर, इन्टर सोप र आरएसएस त्रिसा पसल अनुगमन गरेको थियो। यी चार पसलमा कतिपय सामान वास्तविक मोलभन्दा १२ गुणा बढीमा बिक्री भइरहेको पाइएको छ। अनुगमन अधिकारीका अनुसार बिलमा ३ सय ७३ रुपैयाँ खरिद मूल्य रहेको ज्याकेट ३ हजार ५ सय ४० मा बिक्री गरिएको फेला पर्योा। बिलअनुसार २ सय ८७ पर्ने पाइन्टमा २ हजार २ सय ५० र १ सय ८७ मा ल्याएको सर्टमा १ हजार २ सय रुपैयाँको ट्याग झुन्ड्याइएको अनुगमन अधिकारीले जनाए।
    यतिमात्र होइन, खरिद बिलमा २ सय १ रुपैयाँ लेखिएको हाफ ज्याकेट २ हजार ७ सय र ७३ रुपैयाँ परेको टिसर्ट १ हजारमा बिक्री भइरहेको समेत टोलीले जनाएको छ।
    विभागले यी पसललाई सात दिनभित्र रेडिमेड कपडामा अनिवार्य मूल्य सूची राख्न र व्यवसाय दर्ता प्रमाणपत्र नवीकरण गर्न निर्देशन दिएको छ। ‘हामीले पसलमा गएर हिसाबकिताब हेर्दै निर्देशन दिन थालेपछि अरू बिक्रेता आपत्ति जनाएर विरोधमा ओर्लिएका हुन्,’ बिडारीले भने।
    व्यापारीले सरकारी अनुगमनमा असहयोग गरेको घटना यो पहिलो होइन। बिडारीका अनुसार तीन दिनअघि पनि विशाल बजारका दुई पसल अनुगमन गर्दा यसरी नै सम्पूर्ण सटर बन्द गरेर अवरोध गरिएको थियो।
    ‘उनीहरूले अवरोध गर्दैमा हामी पछि हट्दैनौं, यसलाई अझ तीव्रता दिन्छौं,’ उनले भने, ‘त्यहाँका पसलको खरिद र बिक्री बिल हेर्दा ठूलो अन्तर भेटिन्छ, त्यसबापतको भ्याट र अरू कर उनीहरूले तिरेका छन् कि छैनन् त्यसको पनि अनुगमन गर्नुपर्छ।’
    विशाल बजारका बिक्रेता भने सरकारी टोली ‘व्यापारीसँग पैसा खान दसैंको मुखमा मात्र अनुगमनमा आउने गरेको’ आरोप लगाउँछन्। ‘हामी वर्षैभरि पसल चलाएर बसेका छौं, दसैंमा ग्राहकको भीडभाड हुने बेला आएर व्यापार किन बिगार्ने?’ एक बिक्रेताले प्रश्न गरे।
    विशाल बजार व्यापार संघका पूर्व अध्यक्ष तथा त्यहाँका बिक्रेता गौतमलाल श्रेष्ठ आफूहरू अनुगमनको विरोधमा नरहेको दाबी गर्छन्। ‘अनुगमन हुनुपर्छ तर हात्ती छाड्यो, मुसा समात्यो भन्ने चालामा हुनुहुँदैन,’ उनले नागरिकसँग भने, ‘भन्सारमा पैसा खाएर कम मूल्यमा छाड्ने, अनि अहिले आएर हामीलाई समात्न मिल्छ?’ भन्सारमा कम मूल्यांकन गरेर सामान छाडिएकाले नै खरिद र बिक्री मूल्यमा अन्तर देखिएको उनको तर्क छ। यही तरिकाले अनुगमन गर्ने हो भने सोमबार पनि बजार बन्द गर्ने उनले बताए।
    आन्तरिक राजस्व विभाग महानिर्देशक चूडामणि शर्मा भने भन्सारमा न्यून मूल्यांकनको आरोप अस्वीकार गर्छन्। उनले सामानको वास्तविक मूल्य जति हो, त्यसैमा भन्सार निर्धारण गरिने बताए।
    ‘अहिले स्वयंकर घोषणा पद्धति लागू भएकाले व्यापारीले पेस गरेको कारोबार मूल्यका आधारमा भन्सार लिइन्छ,’ उनले भने, ‘व्यापारीले आफ्नो कमजोरीबाट पन्छिन अरूलाई दोष दिन मिल्दैन।’
    भ्याटको नियमअनुसार आयातकर्ताले आफैं कारोबार मूल्य पेस गरी त्यसैअनुसार राजस्व बुझाउँछन्। त्यसमा जति बढी नाफा लिएर बिक्री मूल्य राख्यो, उति बढी भ्याट र अन्य कर तिर्नुपर्छ। बिक्री मूल्यमात्र बढी देखाएर त्यो बराबर कर नतिर्ने भ्याटको नियमअनुसार स्वतः कारबाहीमा पर्नुपर्छ।
    ‘खरिदभन्दा बिक्री मूल्य धेरै हुनु स्वाभाविक हो, तर त्यसअनुसार कर तिरेको छ कि छैन हेर्नुपर्छ,’ उनले भने, ‘अस्वाभाविक रूपमा धेरै मूल्य निर्धारण गरिएको छ भने त्यसलाई सम्बन्धित निकायले अनुगमन गर्नुपर्छ।’ व्यापारिक मर्यादा कायम राखेर यथार्थ लेखा राख्नुपर्ने उनले बताए।
    महानिर्देशक बिडारी पनि व्यापारीको तर्कसँग सहमत छैनन्। बढी किनमेल हुने बेला नै बढी उपभोक्ता लुटिने हुँदा अनुगमनमा सक्रिय हुनुपरेको उनको भनाइ छ। ‘अहिलेजति कारोबार अरू बेला हुन्न, यस्तोमा कम समयमै ठूलो परिमाणको राजस्व नोक्सान हुनसक्छ,’ उनले भने, ‘खरिद र बिक्री बिलमा धेरै फरक रहेकाले व्यापारीले उपभोक्ता मात्र होइन, सरकारलाई पनि सरासर ढाँटेका छन्।’ अनुगमन गरिएका बिक्रेताको कसुर हेरेर कारबाही गरिने उनले बताए।
    विगतमा आन्तरिक राजस्व विभागको अनुगमन क्रममा पनि बिक्रेताले यसैगरी असहयोग गर्दै आएका छन्। सुनको गुणस्तरलाई लिएर अनुगमन गर्दा पनि सुन बिक्रेता एकजुट भएर विरोध जनाएका थिए।
    ‘आइतबारको घटना पुरानै प्रवृत्तिको पुनरावृत्ति हो,’ उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, ‘यो सरकार कमजोर हुँदाको परिणाम हो, सरकारी कार्यमा अवरोध गर्दा पनि कारबाही साटो भित्रभित्रै मिलापत्र गरिने हुँदा व्यापारीहरू प्रोत्साहित हुन्छन्।’
    भन्सार मूल्यको २० प्रशितभन्दा बढीमा बिक्री गर्नेलाई कालोबजारीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले अनुगमन क्रममा उच्च मूल्य लिइरहेका बिक्रेतालाई कालोबजारी, सार्वजनिक अपराध, राजस्व ठगीमा कारबाही गर्नुपर्ने बताए।

    Source : – See more at: http://www.nagariknews.com/main-story/story/25166.html#sthash.rGVULUND.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s