पितृस्मरणमा सोह्रश्राद्धको महिमा – 710525

bishwonath-kharel(विश्वनाथ खरेल ) चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष हुन्छन्। यिनै पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औंसीसम्मका वा जमारे औंसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा बताइएको छ। यस श्राद्धमा चार जना ब्राह्मण चाहिने भएकाले ब्राह्मणको प्रतीकस्वरूप कुशको ब्राह्मण थापिएको हो। पहिले–पहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्धमण्डपमा कुशको ब्राह्मण राखिएको हो। दुबैपट्टि दुई⁄दुई ब्राह्मणलाई क्रमशः विश्वेदेवा र पितृब्राह्मण भनिन्छ।
अन्य श्राद्धको विधिजस्तै शुरुमा देव, मनुष्य, दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध शुरु हुन्छ। यसपछि प्रत्येक ब्राह्मणलाई निमन्त्रणा गरिन्छ। पहिले–पहिले अघिल्लै दिनमा गरिन्थ्यो। ब्राह्मण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राह्मणलाई विधिपूर्वक सिधादान गरिन्छ। यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदी बनाएर पूजा गरिन्छ। प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ। श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ तर घरमै भए पनि श्राद्ध गर्दा भूमिमै गर्नुपर्ने नियम छ। श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरीकन अपरान्हमा गर्नुभर्ने शास्त्रमा उल्लेख भएको पाइन्छ।
हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृतरूपमा अध्ययन गर्न नसके पनि सामान्य जानकारी लिई व्यावहारिक रूपमा आफ्नो जीवनमा उतार्ने प्रयास गर्नु अति जरुरी हुन्छ। श्राद्ध भन्नाले सामान्य अर्थमा बुझ्दा आ–आफ्नो गच्छेअनुसार श्रद्धासाथ गरिने कार्य भन्ने बुझिन्छ। यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन। ‘श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्’ अर्थात् पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ। देशे काले च पात्रे च श्रद्धया विधिना च यत्। पितृनुद्दिश्य बिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे’ देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राह्मणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ। यसबारे के प्रस्ट हुन्छ भने, पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो। श्रद्धापूर्वक गरिएको पितृकार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ। श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारणसहित श्राद्ध गर्नु हो। किनकि भनिएको पनि छ– “पितरो वाक्य मिच्छन्ति भाव मिच्छन्ति देवता’ अर्थात् पितृहरूलाई शुद्ध मन्त्र, शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ। श्राद्धकल्पका अनुसार पनि प्रेत र पितृलाई आपूmलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो। यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ।
हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन्। भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ। दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो। त्यस्तै दोस्रो वार्षिक एकोदिष्टदिनैमित्तिक श्राद्ध हो। तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनी गरिने काम्य श्राद्ध हो। चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो। पाँचौं सपिण्डि श्राद्ध हो। छैटौं पार्वण श्राद्ध हो। सातौं गोठमा गरिने गोष्ठी श्राद्ध हो। आठौं पितृ तृप्ति विद्वान्हरूको सुख प्राप्ति र शुद्धिका निमित गरिने ब्राह्मण भोजन शुद्धि श्राद्ध हो। नवौंमा सिमन्तोनयन, पुंसवन आदि संस्कारका निमित्त गरिने कमां· श्राद्ध हो। दशौं देवताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा घिउले गरिने यात्राश्राद्ध हो। र, बाह्रौंमा शरीर स्वस्थ होस् भनी गरिने पुष्टिश्राद्ध हो। त्यस्तै गरी अर्को पाँच प्रकारको श्राद्ध रहेको छ। यो श्राद्ध भने आजकाल धेरै आएको देखिन्छ। यसमा प्रथम नित्य हो भने दोस्रो नैमितिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौं पार्वण श्राद्ध हो। यी सबैमध्ये खास गरीकन हाम्रो समाजमा एकोदिष्ट श्राद्धले बढी महत्व भएको छ। आफ्ना पितृहरूका लागि वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोदिष्ट श्राद्ध भनिन्छ। पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ।
त्यस्तै वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ। यो खासगरी आश्विन कृष्ण पक्षमा आफ्नो पितृहरूको तिथि पारेर गरिन्छ। त्यस्तै एकापार्वण श्राद्ध पनि हुन्छ। औंसी तिथि र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एकापार्वण श्राद्ध भनिन्छ।
हिन्दू समाजमा सोह्र श्राद्धको आफ्नै महत्व छ। श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उद्धार गर्ने कार्य हो। हाम्रो समाजको सबैभन्दा ठूलो पर्व दशैं–तिहार हो। यो पर्व मनाउनुभन्दा पहिले आ–आफ्ना पितृहरूलाई श्रद्धापूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ। यसकारण परापूर्वकालदेखि नै पितृपक्षमा पार्वण श्राद्ध गर्ने संस्कार चलेको हो। यसरी पितृ पक्षमा आफ्नो बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ। आफ्नो गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ तर सकिँदैन भने कम्तीमा पनि आफ्नो बुबाको तिथिका दिन अनिवार्यरूपमा श्राद्ध गर्नुपर्छ।
श्राद्ध कसरी गर्ने भन्ने सन्दर्भमा भने श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने, लुगा तथा घरको सरसफाइ गर्ने, एक भक्त रही ब्रह्मचर्य आदिको नियमको पालना गर्ने नियम छ। यसै दिनलाई नै एकछाके अर्थात् हविष्य भनिन्छ। एकछाके भनेको यस दिन अपराह्नपछि मात्र एक छाक खानुपर्छ, श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्मणलाई निमन्त्रणा दिने गर्नुपर्छ। श्राद्धका दिन शौच स्नान नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ। ब्राह्मण, बन्धु, बान्धव, भान्जाभान्जी र छोरी–ज्वाइँलाई खाना ख्वाएपश्चात् दानदक्षिणा गर्ने गरिन्छ। यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ। तर तिथि बिसर्ने र यो क्रम तोडिनुचाहिँ हुँदैन। हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको कर्तव्य हो

Published Date: September 10, 2014

Source : http://www.newsofnepal.com/new/bichar/2014/09/70388

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s