व्रतको महिमा – 710512

 

bishwonath-kharel(विश्वनाथ खरेल) नेपाली जनजीवनमा चाडपर्वहरूको ठूलो भूमिका छ। यी चाडपर्वहरूमध्ये कुनै नारीका पर्व छन्। कुनै पर्व नारी–पुरुष दुवैले मान्नुपर्ने पनि छन्। विशेष गरी स्त्रीजातिहरूले विभिन्न मनोकामना पूरा गर्ने उद्देश्यले भगवान् शिवको व्रत बस्ने चलन परापूर्वकालदेखि नै चलिआएको छ। यो पर्व अरुभन्दा धेरै कष्टदायी व्रत भएकाले भोक, प्यास लागेको थाहा नहोस् भनी मन बहलाउन नाचगान गर्ने चलन चलेको छ। हिजोआज भने तीजको गीतमा सामाजिक मौलिकपन, भाका, शब्द बिस्तारै लोप हुँदै गएका छन्। आजका तीज गीतमा सकेसम्म युवायुवतीलाई मात्र लक्षित गरी शब्दचयन गरिएको छ। तर तीज मनाउने कुरामा भने बिलकुल फरक छ। तीज पर्वले पनि हुने–नहुने वर्गलाई छुट्याएको छ। महिलाको यो उत्सवमा महिला–महिलाबीच नै वर्गीय भिन्नता नै मान्नुपर्छ।
त्यस्तै गरी अर्कोतर्फ हेर्ने हो भने गहनाको होडबाजी, महँगो सारीको प्रस्तुति, महँगो सामानको उपहार आदानप्रदान गर्ने प्रचलन रहेको छ। यो उत्सवमा महिला–महिलाबीच नै वर्गीय भिन्नता देख्नु विडम्बना नै मान्नुपर्छ। यस्ता किसिमका कुप्रथाले यो पर्व दिनपरदिन झन् फिका हुँदै गएको छ। तीज एउटा पर्व हो, राष्ट्रियता बोकेको संस्कृति हो। नेपाली संस्कृतिमा प्रमुख आधार भनेकै विभिन्न धर्मका धर्मशास्त्र, ग्रन्थ, प्राचीन लिपिहरू, पुराणहरू र ऋषिमुनि एवम् प्राचीन दार्शनिकका दर्शनहरू हुन्। यिनै दर्शन तथा धर्मशास्त्रलाई आधार मान्दा तीज नितान्त महिलाहरूको पर्व हो, जहाँ दाजुभाइले दिदीबहिनीलाई माइतीमा आमन्त्रण गरी मीठो पक्वान्न खुवाउने, नाचगान गर्ने र वर्षभरिका पीडाहरू बिर्साउने गरी तीजे लयमा आफ्ना वर्षभरिका पीडाहरू व्यक्त गर्ने पर्वका रूपमा यस पर्वले महत्व पाएको छ। यसरी प्रत्येक वर्ष भाद्र शुल्क तृतीयाका दिन मनाइने तीज स्त्रीजातिका लागि महत्वपूर्ण चाड मानिन्छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि नित्यकर्म सकेर निराहार भई शिवजीको आराधना गर्नाले जन्म–जन्मान्तरको पाप नाश हुने र भाग्यको वृद्धि, सन्तानको कल्याणका साथै इहलोकदेखि परलोकसम्म कल्याणकारी मानिने यो पर्व सामाजिक सन्दर्भका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ। यो चाड विशेष गरी महिलाहरूको हो। पहिले यो पर्व हिन्दू महिलाहरूको मात्र मानिथ्यो तर हिजोआज यसले सबै वर्ग र समूहलाई समेट्न थालेको छ। अब यो हिन्दू महिलाहरूको मात्र पर्वको रूपमा सीमित रहेन। सबै जातजाति, भाषाभाषीका महिलाहरू रातै सारीमा विशेष गरी तीजकै पहिरनमा ठाँटिएका देखिन्छन्। यसपालि पनि तीजको रौनकले एक महिनाअघिदेखि नै हाम्रो घरआँगन ढाकिसकेको छ।
हरितालिका पर्व नेपाली नारीहरूको अत्यन्त ठूलो पर्व हो। तीजको अघिल्लो दिनलाई ‘दर खाने’ दिनले चिनिन्छ। जसमा मीठा–मीठा तागतदार भोजन तयार गरेर खाइन्छ। आजकाल यो दर खाने दिनको समय बढेर तीज आउनुभन्दा २०–२५ दिनअगाडिदेखि नै आफ्ना चेलीबेटीहरू एवम् आफन्तहरूलाई डाकेर ख्वाउने प्रचलन काठमाडौंमा बढी देखिएको छ। महिलाहरूको लागि यो पर्व ज्यादै कठिन मानिन्छ। यस पर्वका दिन बिहान महादेवको पूजाआजा गरी नजिकको शिव मन्दिरमा गएर पूजा–अर्चना गरेर सम्पन्न गरिन्छ। यस दिनमा प्रत्येक विवाहित नारीहरूले आ–आफ्नो पुरुषको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछन् भने अविवाहित स्त्रीहरूले राम्रो पति पाइयोस् भन्ने कामनाका साथ यो व्रत बस्ने गर्दछन्।
शास्त्रीय विधानअनुसार तीज पर्वका दिन नारीहरूले पानीसमेत नखाई उपवास बस्छन्। यस दिन कुनै नारीले पानी खाएमा उसले आफ्नो पतिको रगत पिएको बराबर पाप लाग्छ भन्ने किंवदन्तीे रहेको पाइन्छ। तसर्थ उक्त अवसरमा पानीसमेत नखाई उपवास बस्ने प्रचलन छ। प्राचीन समयमा पार्वतीले शिव वर पाऊँ भनी तीजको व्रत गरेको हुनाले नै पार्वतीले शिव वर पाएकी हुन् भन्ने धार्मिक शास्त्रमा उल्लेख छ। विवाहपूर्वका कन्याकेटीहरूसमेत हरितालिका व्रत बस्छन्। किनकि पार्वतीले शिव वर पाएजस्तै आफूले पनि चिताएको, सुयोग्य वरको कामनाका साथ उपवास बस्ने प्रचलन छ। विवाह गरेर आफ्नो घरमा गएका चेलीहरूले घरमा सबैको बुहार्तन, अपमान सहनुपथ्र्यो। यो क्रम अहिले पूरै सकिएको छ भन्न सकिन्न। यस्ता किसिमका विगतका दुःख–पीडालाई पोख्ने माध्यम यस अवसरमा मिल्छ।
यस पर्वमा महिलाहरूले आफ्नो जन्मघर छोडी कर्मघर जाँदा भोग्नुपरेका दुःख–वेदनाहरूलाई लयात्मक ढंगबाट गीतको माध्यमबाट व्यक्त गरी रमाइलो गर्ने गर्दछन्। नारीहरूलाई आफ्नो माइतीप्रतिको माया, मोह र स्नेह ज्यादै गहिरो रहेको छ भन्ने कुरा पनि यस पर्वबाट स्पष्ट हुन्छ। आफ्नो माइतीघरमा सँगै खेलेर बसेका संगिनीसँग भेटघाट गरी विगतका मीठा–नमीठा भोगाइलाई गीतको रूपमा व्यक्त गर्दछन्। धेरै दिनसम्म छुट्टिएर रहेका साथी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीको मिलन हुने दिन हो तीज। अनि राम्रो मीठो खाने र वर्षदिनको मनको बह पोख्ने दिन पनि हो। त्यसैले यो दिनलाई नारीहरूको दुःख पोख्ने दिनको रूपमा चिनिन्छ।
समग्रमा भन्नुपर्दा प्राचीनकालमा यो पर्व धार्मिक एवम् सांस्कृतिकरूपमा विकसित थियो भने हाल आएर सुनको गहना प्रदर्शन गर्ने पर्वको रूपमा विकसित हुन थालेको देखिन्छ। तर पनि नेपाली ग्रामीण जीवनका नारीहरूको लागि जीवनकथाको सिंगो अभिव्यक्ति हो यो पर्व। देश, विदेश जहाँ भए पनि समग्रमा नेपालीहरूकै प्रिय पर्व तीज हो। यसरी परम्परागतरूपमा चल्दै आएको पर्व तीजलाई भावी पुस्ताहरूका लागि समेत जगेर्ना गर्नुपर्ने आजको टड्कारो आवश्यकता देखिन्छ।

Published Date: August 28, 2014

Source : http://www.newsofnepal.com/new/bichar/2014/08/68930

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s