युवतीको तीज : असल पतिको आशा

ललितपुर थसिखेलकी समीक्षा न्यौपाने अविवाहित छिन्। उनलाई सानोमा तीज मनाउन खुब रहर लाग्थ्यो। उनी आफ्नी आमाको लहैलहैमा व्रत पनि बस्थिन्। तर, पछि बिहानको १० नबज्दै भोक लागिहाल्ने हुनाले बाबासँगै बसेर खाना खाइहाल्थिन्।

नेसनल कलेजबाट डेभेलपमेन्ट स्टडिजमा स्नातक सकाएकी समीक्षालाई अहिले पनि तीज पर्व एकदमै रमाइलो लाग्छ। तर, उनले आफ्नो रक्तचाप कमी भएका कारण व्रत बस्न भने छाडेकी छन्। यो एक संस्कृति भएकाले यसलाई सम्मान गर्ने बताउने समीक्षा तीजमा व्रत बसेकै कारण राम्रो बर पाउने कुरामा भने विश्‍वास गर्दिनन्।

उनी भन्छिन्, ‘अहिलेको जमानामा त राम्रो पढाइ र करिअरले नै राम्रो श्रीमान् पाइन्छ। त्यसैले पहिले यिनै कुरालाई राम्रो बनाउनेतर्फ लाग्नुपर्छ।’ भविष्यमा भने स्वास्थ्यले साथ दिए व्रत बस्ने उनको इच्छा छ।

हिन्दू धर्मको मान्यता र चलनअनुसार रजस्वला भएपछि तीजको व्रत बस्नुपर्छ। त्यसैले आफूले पनि १० वर्ष पहिलेदेखि तीजको व्रत बस्दै आएको काठमाडौं रामकोटकी दीपा गोतामे पनि अविवाहित हुन्।

विश्‍व निकेतन कलेजमा १२ कक्षाको परीक्षा सकाएर बसेकी दीपालाई तीजमा आफन्त बोलाएर दर खुवाउने र खाने चलन असाध्यै रमाइलो लाग्छ। ‘सुरुमा ममीले गरेको देखेर देखासिकी गर्न मन लाग्थ्यो र व्रत बस्थेँ’, सानै उमेरमा दिनभरि पानी नखाई व्रत बसेको अनुभव सँगालेकी दीपाले अहिले भने बेलुकी पानी खाने गरेकी छन्।

उनलाई व्रत बसेर नै राम्रो श्रीमान् पाइन्छ भन्ने विश्वास नलागे पनि भगवान्प्रति एक किसिमको आस्थाचाहिँ छ। उनी भन्छिन्, ‘घरमा सबैले विश्वास गर्ने भएकाले म पनि त्यस्तै गर्छु। दिनभरि भोको बसेर भोलिपल्टमात्रै लसुनप्याज नभएको चोखो खाना खाने चलन हाम्रो घरमा छ।’

भक्तपुरकी सरु खड्का तीजको व्रतमा १२ बजेको आरतीपछि तुलसीको पूजा गरेर पानी पिउँछिन्। उनी आमसञ्चार तथा पत्रकारिता विषयको विद्यार्थी हुन्। बोडे क्याम्पसमा अध्ययनरत उनलाई पनि तीजको व्रत बस्दा राम्रो फल पाइने विश्वास लाग्छ।

घर र आफन्तको घरमा दर खाने गर्छिन् उनी। आफन्त बोलाएर खुवाउँदा पनि उनलाई रमाइलो लाग्छ। आस्थाका कारण नै व्रत बसे पनि व्रत बसेर नै राम्रो श्रीमान् पाउने कुरामा भने उनलाई विश्‍वास छैन।

संस्कृति र परम्परा अगाडि लैजान र मनोरञ्जनका लागि पनि तीज मनाउने गरेको उनी बताउँछिन्। ‘ममी झन् कडा खालको व्रत बस्ने गर्नुहुन्छ तर मचाहिँ त्यसो गर्न सक्दिनँ’, उनी भन्छिन्।

समीक्षा, दीपा र सरूले जस्तै अविवाहित युवतीहरूमा पनि तीज मनाउने र व्रत बस्ने लहड चलेको छ। कसैले धार्मिक आस्थाका कारण पनि तीजलाई विशेष रूपमा मनाउने गर्छन् भने कसैले तीजलाई मनोरञ्जनका रूपमा मनाउने गरेका छन्।

त्यसैगरी हिजोआज कतिपय अवस्थामा साथीभाइको लहैलहै र फेसनको रूपमा पनि तीज मनाउने चलन बढ्दो छ। तीजमा विवाहिता महिलाले श्रीमान्को लामो आयुका लागि व्रत बसेझैं अविवाहिताले व्रत बस्दा राम्रो श्रीमान् पाइन्छ भन्ने धार्मिक कथन छ।

यस विषयमा पण्डित कुलप्रसाद पराजुली भन्छन्, ‘अविवाहिताले राम्रो श्रीमान्‌को लागि व्रत बस्नु र विवाहिततले भएका श्रीमान्को स्वास्थ्यको कामना गर्नु राम्रो हुन्छ।’

उनका अनुसार साधना गर्नु नराम्रो होइन र भौतिक कुरा एक दिनका लागि त्यागेर साधना गर्दा केही बेफाइदा हुन्‍न। सकारात्मक सोचले गरेको काम राम्रो हुन्छ तर यसमा विधि पुर्‍याउन जान्‍नुपर्ने उनको भनाइ छ।

उनी भन्छन्, ‘व्रत बसे पनि शरीर र स्वास्थ्य कस्तो छ, ख्याल गर्नु भनिएको छ शास्त्रमा। रोगी तथा नसक्नेहरूलाई पनि व्रत बस्नु भनेर भनिएको छैन।’

एकल महिलाका तीज रमझम

साहित्यकार गीता केशरीले तीजको व्रत बस्न छाडेकी छैनन्। उनलाई तीजको व्रत भनेको श्रीमान्‌को लागि मात्रै नभई भगवान्प्रति आस्था हुने जो कोहीले आफ्नो सन्तान र परिवारको लागि बस्न सक्छन् जस्तो लाग्छ। उनी पनि तीजको व्रत बस्छिन्।

तर अन्‍नबाहेक अरू कुरा खाने गरेकी छन्। हिजोआज दर खाने, नाचगान गर्दै संस्कृतिभन्दा पनि रमझममै भुल्ने बानी चाहिँ उनलाई त्यति चित्त बुझ्दैन। वर्षभरिमा श्रीमान्को लागि पूजा गर्ने दिन, दाजुभाइको कामना गर्ने दिन, आमाबाबुको लागि दिन आए पनि श्रीमतीको लागि कुनै पनि दिन नआउने हुनाले यसमा श्रीमान्कै लागिभन्दा पनि भगवान्माथिको आस्था राख्दै तीज मनाउनुपर्ने उनको विचार छ।

हिजोआज एकल महिलाले पनि तीजलाई रमाइलो गर्दै मनाउने चलन बढेको छ। महिलाले श्रीमान्को लागि मात्रै नभई आफ्नो स्वास्थ्य र सुखको लागि पनि व्रत बस्ने हो भन्‍ने मान्यताको विकास हुँदै गएको देखिन्छ।

मानवअधिकारका लागि महिला एकल महिला समूहकी सुर्खेत शाखा अध्यक्ष रामकुमारी थापा आफ्नो स्वास्थ्यलाई राम्रो हुने भएकाले व्रत बसेर शिवको आराधना गर्ने गरेको बताउँछिन्। उनले एकल जीवन बिताउन थालेको करिब १२ वर्ष भइसक्यो।

बीचमा एक दुई वर्षमा व्रत टुटे पनि त्यसपछि उनले निरन्तरता दिँदै आएकी छन्। उनी पहिलेदेखि नै निराहार भने बस्दिनन्। वर्षभरिमा नभेटेका दिदीबहिनीसँग भेट हुने र नाचगान गर्दै रमाइलो गर्न पाइने हुनाले तीजको विशेष कार्यक्रम नै राखेर उनको संस्थाले मनाउँदै आएको छ।

यस वर्ष भने सुर्खेतमा बाढी पहिरोका कारण पूरै जिल्ला नै शोकमा डुबेकोले आफूहरूलाई यस्ता कुनै कार्यक्रम भने गर्न मन नलागेको उनी बताउँछिन्। एकल महिलाको हक अधिकारको लागि काम गर्दै आएको संस्था मानवअधिकारका लागि महिला एकल महिला समूहले हालै काठमाडौं तीजमेला आयोजना गर्‍यो।
मेलामा एकल महिलाले बनाएका हस्तकलाका सामग्रीहरू प्रदर्शनी गरिएको थियो। मेलाबाट उठेको रकम बालबालिकाको शिक्षा र बाढीपीडितलाई सहयोग गर्न उपयोग गरिने संस्थाकी अध्यक्ष चन्द्रिका भट्टराई बताउँछिन्।

उनलाई ‘तँ भन्दा म के कम’ भन्दै गहना र साडीमा प्रतिस्पर्धा गरेर तीजलाई खर्चिलो पारामा मनाएको पटक्कै मन पर्दैन। उनले पहिले निराहार नै व्रत बस्ने गर्थिन्। कुरा १५ वर्षअगाडिको हो।

तीजमा निराहार व्रत बसेर बिहान ४ बजेसम्म श्रीमान्को दीर्घायुको कामना गरिरहेकी चन्द्रिकाले ७ बजे श्रीमान्लाई गुमाउनुपरेको थियो। त्यसैले प्रत्येक वर्ष उक्त घटना सम्झेर तीजमा उनको मन भतभती पोल्ने गर्छ। तर पनि भगवान्प्रतिको आस्थाले गर्दा चोखो खाएर व्रत बस्न छाडेका छैनन्।

हिजोआज सहररिया एकल महिला आफ्नो इज्जतका कारण घर बाहिर निस्कन नचाहे पनि गाउँघरमा एकल महिलाप्रति हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन आइसकेको उनको भनाइ छ। पहिले यस्ता चाडपर्व र अन्य शुभसाइतमा एकल महिलालाई अगाडि पनि देख्‍न नचाहने गाउँ समाजमा हिजोआज महिला मजाले रातो पहिरनमा अरूसँगै घुलमिल भएर तीज मनाउने गरेका उनी बताउँछिन्।

एकाथरी एकल महिलामा समूहमा रहेर रमाइलो गर्दै तीज मनाउने संस्कृति बढ्दैछ भने अर्कोतिर यसलाई नमान्ने एकल महिला पनि समाजमा छन्। वरिष्ठ अधिवक्ता सविता भण्डारीले विगतमा तीज मनाउने गरे तापनि आफ्नो श्रीमान्को मृत्युपछि विगत १३ वर्षयता तीजमा व्रत पनि नबस्ने र अन्य कुनै पनि कार्यक्रममा सहभागी नहुने गरेकी छन्।

तीज ग्‍ल‍यामर: हिन्दू महिलालाई तीजको चटारो

हिन्दू महिलालाई तीजको चटारो लागिसकेको छ। बजारमा कपडा र शृंगार पसल रातैपहेँलै देखिन्छन्। चर्चित फेसन डिजाइनरदेखि साना टेलर सबैतिर तीजकै पहिरनका लागि धाइरहेका छन्, महिला। बजारमा थुप्रै डिजाइनका सारी, कुर्ता, वन पिस तीजलाई लक्षित गरेर भित्रिएका छन्।

तीज गीत गाउने गायिका तथा म्युजिक भिडियोमा अभिनय गर्ने मोडलहरूले डिजाइनर कपडा लगाएको देखिन्छ। गायिका सुनिता दुलाल, शोभा त्रिपाठी, डान्सर पार्वती राई डिजाइनर पहिरनमा सजिनेहरूमा पर्छन्। यस्तो माहोल देख्दा भन्‍न सकिन्छ, हिन्दू परम्परागत चाड सांस्कृतिक रूपमा मात्र नभएर फेसनको जगत्मा पनि महत्त्वपूर्ण बन्दै गएको छ।

पवित्र वर्कसप निवासी कान्ती थापाले तीजकै लागि भनेर एक महिनाअगाडि दिल्ली गएको मौका पारी रातो र पहेँलो रङ मिसिएको डिजाइनदार सारी किनेर ल्याइन्। उनी यसपालि तीजमा त्यही भारी लेहँगा सारी, कानमा मीना भरेको मयूर सेपको झुम्का लगाएर कम्मर मर्काउने योजनामा छिन्।

उनी भन्छिन्, ‘तीजको दिनमा लगनको पोते र छड्के तिलहरी लगाउनुपर्ने भएकाले धेरै भारी सुनका गहना लगाउँदिनँ।’

तीजको समयमा वर्षैपिच्छे नयाँ फेसन भित्रिन्छन्। यस पटकको तीज बजारमा डिजाइनरहरूले रातो, हरियो, नीलो, पहेँलो रङलाई विशेष प्राथमिकता दिएका छन्। फेसन डिजाइनर उत्तम बनेपालीले यस पटक धेरै लेहँगा सारी बनाएका छन्।

‘मोटो शरीर भएकालाई यसले पातलो देखाउँछ’, उनी भन्छन्, ‘लगाउन पनि सजिलो भएकाले धेरैले यस पटक यही सारी मन पराएका छन्।’ सधैं रातो सारीमात्र लगाएर तीज मनाइरहेका महिलालाई पहिरनमा फरक स्वाद दिन फरक रङ संयोजन गरेर तयार पारिएको छ।

उत्तमका डिजाइनमा नीलो र रानी, रातो र सुनौलो, रातो र हरियो रङ संयोजन भएका छन्। जसमा ढाकाका कपडा पनि प्रयोग गरिएको छ। डिजाइनरले बजारमा ल्याएको लोकप्रिय कपडा नेकलाइन ब्लाउज पनि हो। युवतीमा नेक लाइन ब्लाउज निक्‍कै लोकप्रिय छ।

यस पटक बजारमा आएका पहिरनमा हातले गरिएको कामभन्दा पनि रेडिमेड लेस जडान गरिएको कपडा बढी चलेको पाइन्छ। हातले काम गरेको पहिरनभन्दा यी पहिरन केही कम मूल्यमा मिल्ने हुनाले पनि यसको लोकप्रियता बढेको पाइन्छ।

 भाद्र शुक्‍ल तृतीयाको दिन पर्ने तीज नेपाली महिलाले परम्‍परादेखि मनाउँदै आएको पर्व हो। यो विशेषगरी तीन दिनसम्म मनाउने चलन छ। पहिलो दिन आफन्त सबै भेला भएर दर खाई भोलिपल्‍ट निराहार व्रत बसी भगवान शिवको पूजा आराधना गर्ने गरिन्‍छ भने तीजको अन्‍तिम दिन ऋषि पञ्‍चमीको दिन सप्‍तऋषिको पूजा गर्दै तीजको समापन गरिन्‍छ।

पतिको दीर्घायु तथा सुस्‍वास्थ्‍यको कामना गर्दै निराहार व्रत बस्छन् भने अविहिता महिला राम्रो वर पाउने कामनाका साथ यो व्रत गर्ने गर्छन। संस्‍कार यस्तो भए पनि अहिले तीज मनाउने तरिका फेरिएको छ। बजार अर्थतन्त्रको प्रवेशले तीजलाई बेग्‍लै बनाउँदै लगेको छ।

गैरीधाराकी इरु आचार्यले पनि एक महिनाअघिदेखि नै तीजको पहिरन तयार गरेकी छन्। उनले कुपन्डोलस्थित ओढनी बुटिकबाट डिजाइनर साडी खरिद गरेकी हुन्। रातो सारीमा सुनौलो रङको धागो र मोती भरिएको छ। उनले सारी सुहाउँदो मोतीका गरगहना पनि किनेर ठिक्‍क पारिसकिन्।

तीज केवल महिलाका लागि मात्र भनिन्छ। तर महिलाको जीवनमा पुरु षको महत्त्व हुन्छ भने चाडवाडमा पुरुषको पनि चासो हुनु स्वाभाविक हो। पछिल्लो पुस्तामा तीजप्रतिको चासो बढेको देख्न सकिन्छ।

त्यसैले पनाचे बुटिक दरबारमार्गकी फेसन डिजाइनर श्वेता सिरोहियाले यसपटक महिलाका लागि मात्र नभएर पुरु षका लागि पनि तीजका डिजाइनर कपडा बनाएकी छिन्। पुरुषका लागि लामो कुर्ता, जिन्समा लगाउने खालका कुर्ता र वेस्ट कोटका विभिन्न डिजाइन पनाचेले लिएर आएको छ।

उनले भनिन्, ‘भर्खरै विवाहबन्धनमा बाँधिएका नवजोडीमा दुवैजनामा तीजप्रतिको रुचि बढेको छ, उनीहरूका लागि तीजलाई मध्यनजर राखेर डिजाइन बनाएका हौं।’ महिलाका लागि भने उनले लेहँगा सारी नभई परम्परागत शैलीका साडीमा नयाँपन दिएकी छन्।

यसपटक उनले तीजको पहिरनमा रातो, रानी, सुन्तला, र सिल्भर रङको संयोजन गराइएको छ। आधुनिक पहिरन गर्न चाहनेलाई कुर्ता, अगाडि छोटो र पछाडि लामो भएको वन पिसका डिजाइन बजारमा आएका छन्। यी पहिरनमा वेस्टर्न वेयरलाई ट्रेडिसनल लुक दिइएको छ। श्‍वेता भन्छिन्, ‘युवतीहरू पूरै रातो लगाउन रुचाउँदैनन् त्यसैले फरकफरक रङ मिसाएर डिजाइन तयार गरिएको छ।’

अहिले महिला दसैंमा भन्दा तीजमा कपडा किन्न रुचाउँछन्। तीजमा किनेका कपडालाई दसैंमा पनि प्रयोग गर्न सकिन्छ। त्यसैले प्राय:ले यही समयमा भारी कपडा किन्छन्।

कुपन्डोलस्थित जर्दोजी बुटिकमा रातो, हरियो, पहेँलो रङका लेस प्रयोग भएका कुर्ती यस पटकको तीज फेसनमा भित्र्याइएको छ। अनारकली, अम्ब्रेला कुर्ता पनि फेसनमा छन्। डिजाइनर नवीना महर्जन भन्छिन्,’यस पटक हामीले ब्लाउज वा कुर्ता दुवैमा आकर्षक झुम्कालाई प्राथमिकता दिएका छौं, सारीमा सहज महसुस नगर्नेहरूका लागि झुम्का भएका कुर्ता राम्रो विक ल्प हुन सक्छ।’

डिजाइनर पोसाक लगाएर मात्र हुँदैन तीजमा पहिरन सुहाउँदो शंृगार पनि गर्नुपर्छ। डिजाइनर उत्तमका अनुसार नेकलाइन ब्लाउजमा घाँटीमा गहना नलगाउनु नै उचित हुन्छ। कानमा भारी गहना लगाएर घाँटीमा केही नलगाउन सकिन्छ। अहिले कपालमा गहना लगाउने चलन छ।

कपालको शृंगारले अनुहारको आकारलाई फरक देखाउन मद्दत गर्छ। लाम्चो अनुहार भएकालाई साइडबाट जुरो उठाउँदा राम्रो हुन्छ।

गोलो अनुहार भएकाले माथि जुरो उठाएको राम्रो देखिन्छ भने चेप्टो अनुहार भएकालाई पछाडिपट्टि जुरो बनाउँदा सुहाउँछ।

तीजको फेसनमा धेरै रुचाइने गहनामध्ये कमरबन्ध पनि एक हो। पहिलेपहिले चाँदीको कमरबन्ध लगाइन्थ्यो भने अहिले विभिन्‍न रङका पत्थर भएका कमरबन्ध लगाउने चलन छ। अघिल्लो तीजमा कमरबन्ध लगाएको कमै देखिएको थियो तर यस पटक यसको फेसन निकै चल्तीमा छ।

युवतीहरू आफ्नो छिनेको कम्मरलाई सजाउन कमरबन्ध लगाउन बढी रुचाउँछन्। तीज हिन्दू परम्परागत चाड त हो नै तर, तीजमा गरिने खर्चलाई आधार बनाएर कतिपयले यसलाई भड्किलो चाड पनि भन्छन्।

तर अहिले फेसन जगत्मा यसको व्यापकताले बजारलाई चलायमान बनाएको समाजशास्त्री प्राडा चैतन्य मिश्र बताउँछन्। पहिलेको तुलनामा महिला सम्पन्न हुँदै गएका छन्। उनीहरूमा शिक्षा र जनसम्पर्क बढेको छ।

मिश्र भन्छन्, ‘यसले गर्दा उनीहरू पनि आफ्ना साथीहरूसँग रमाइलो र खर्च गर्न थालेका हुन्। पहिले पुरुषहरूमात्र बाहिर निस्कन्थे, उनीहरूको मात्र साथीहरूसँग जमघट हुन्थ्यो।

यसरी नै आज महिला पनि नातागोतामा मात्र सीमित छैनन्।’ उनका अनुसार संस्कृति परिवर्तनशील हुन्छ। पहिलेको तीज मनाउने शैलीमा पनि सबै पक्ष राम्रा थिएनन्, अहिले पनि त्यस्तै छ। शैलीमात्र फेरिएको छ।

Source :- See more at: http://www.annapurnapost.com/en/news/specialpage/12772/.htm#sthash.3q0Z7ZN1.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s