नेपाली महिलाको तीज: संस्कृतिसँगै सशक्तीकरण

मिति : २०७१ भदौ, ९ सोमबार

हालै विवाहबन्धनमा बाँधिएकी कलाकार मिथिला शर्मालाई तीजप्रति आस्था छ तर अन्धविश्‍वास छैन। त्यसैले त उनी तीज परम्परागत ढंगमा नै मनाए पनि निराहार व्रत बस्नुपर्छ भन्नेमा विश्वास गर्दिनन्। एकदमै बनिबनाऊ भएर शृंगार गर्नुपर्छ जस्तो पनि लाग्दैन उनलाई।

उनी भन्छिन्,’पहिरनमा सिन्दूर, पोतेबाहेक खासै ठूलो परिवर्तन केही हुँदैन।’ कलाकार शर्मालाई तीज प्रेम दर्शाउने माध्यम हो जस्तो लाग्छ। आफ्नो प्रेमी, श्रीमान् र परिवारका लागि महिलाले कठोर तपस्या गर्न सक्छन् भन्ने कुरा तीजको व्रतले जनाउने उनको धारणा छ।

संस्कारका राम्रा पक्षलाई जोगाउनुपर्छ भन्‍ने मिथिला पञ्‍चमी पर्व पनि महिलाको शरीरको शुद्धीकरणसँग जोडिएको हुनाले यसलाई पनि सामान्य पाराले मनाउने बताउँछिन्। तीज एउटा आडम्बरी पर्व नभई मिलनको पर्व हो भन्‍ने मिथिला यसलाई महिला अधिकारसँग जोडेर हेर्न रुचाउँदिनन्।

उनी भन्छिन् ‘श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्दा हामीमाथि अन्याय भयो भन्‍ने सोच राख्‍नेले व्रत नबसे पनि हुन्छ।’ महिला नेत्री प्रतिभा राणालाई थुप्रै दिन अघिदेखि तीज लागिसकेको छ।

आफन्त र साथीभाइलाई मीठो पकाएर दर खुवाउने र आफूले दर खानको लागि कहिले भक्तपुर त कहिले गोकर्ण जाँदैमा भ्याइनभ्याइँ छ उनलाई। ४० वर्षसम्म निराहार व्रत बसेकी प्रतिभाले केही वर्षयता भने बिहानको ठूलो पूजा गरेपछि नै फलफूल र जुस खान थालेकी छन्।

पञ्‍चमी पूजा पनि पहिले बिहानभरि पूरै विधि पुर्‍याएर गर्ने गरेकोमा हिजोआज आधुनिकीकरण समयको अभावले गर्दा विधि अलि छोट्ट्याएको उनी बताउँछिन्। तीजको वास्तबिक महत्त्व भनेको सहरिया महिलालाई भन्दा गाउँघरका महिलालाई बढी हुने उनको धारणा छ।

निकै टाढा माइत भएका महिलालाई तीजले वर्षमा एक दिन भए पनि माइती गएर आफन्तलाई भेटघाट र रमाइलो गर्ने अवसर जुराइदिने उनको भनाइ छ।
त्यसैगरी पञ्‍चमीमा पनि कैयौं वर्षदेखि भेट नभएका संगीहरूसँग भेट हुने र आफ्ना दु:खसुख बाँड्ने अवसर मिल्ने हुनाले तीजले महिलाको पीडामा मलम लगाउने उनी बताउँछिन्।

त्यसैले रातदिन गाईभैंसी र खेतीपातीमै जीवन बिताउने महिलालाई रमाइलो गर्ने अवसर दिने भएकाले यसले महिला सशक्तीकरणमा पनि सहयोग पु:याउने उनको तर्क छ। ‘व्रत बसेर श्रीमान्को खुट्टाको पानी खानु भनेको नराम्रो चलन हो’, उनी भन्छिन्,’ तर व्रतै बस्नु हुँदैन भन्‍ने होइन।

व्रतले हाम्रो शरीरको सम्पूर्ण प्रणालीको शुद्धीकरण गर्छ। भोलिपल्ट केरामा तुलसीपत्ता हालेर खाँदा पनि यसले फाइदा गर्छ। योगा र लौकाको झोल खान तयार हुने हामी महिलालाई एक दिनको व्रत बस्दा पुरुषको दासत्वसँग जोडेर हेर्न मिल्दैन।’

पहिले तीजको छुट्टै रौनक हुन्थ्यो। वर्षभरिमा एक दिन तीजमा माइत गएर दिदीबहिनी, आमाभाउजू र साथीसंगीसँग आफ्ना वेदना पोख्‍ने र नाचगान गरेर रमाइलो गर्ने अवसर जस्तो हुन्थ्यो।

सोही अवसरमा गाइने तीज गीतले पनि महिलाको मनको पीडा पोख्न मद्दत पुर्‍याउँथ्यो। तर हिजोआज तीज मनाउने बदलिँदो परिपाटीसँग तीज गीतका शब्द र भाकामा पनि परिवर्तन हुँदै गएको गायिका सुनिता दुलाल बताउँछिन्।

गीतमार्फत आफ्नो वेदना पोख्ने र अरूको गीत सुनेर महिलाले आफूमा साहस जुटाउने हुनाले यसले अप्रत्यक्ष रूपमा महिलालाई अगाडि बढाउन मद्दत पु:याएको उनको धारणा छ। यद्यपि हिजोआज तीज गीतलाई रत्यौली गीत झैं गाइने परम्परा बढेको उनको बुझाइ छ।

उनी भन्छिन्,’गाउँघरतिर जाँदा धेरै आमाहरूले मलाई नानी तीज गीत त रत्यौली गीतजस्तै भयो नि भन्नुहुन्छ। अनि यसमा तयार पारिने भिडियोमा पनि धेरै तडकभडक र उच्छृंखलता देखाइन थालेको उहाँहरूले गुनासो गर्नुहुन्छ।

तीजले ग्रामीण महिलाको सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका निभाएको भए तापनि सहरमा तीज संस्कृति अलि भड्किलो बन्दै गएको अधिवक्ता शान्तिदेवी खनाल बताउँछिन्। नेकपा एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्यसमेत रहेकी खनालले गाउँघरमा आफूले मनाएको तीज अझै बिर्सेकी छैनन्।

‘नन्दआमाजू, भान्छाभान्छी, देउरानी जेठानी सबै जम्मा भएर तीजको दर खाँदा र रमाइलो गर्दा छुट्टै आनन्द आउँथ्यो’, खनाल भन्छिन् ‘घरका सबै काम भ्याइसकेर भए पनि त्यो दिन माइत जाँदाको उत्साह र उमंग मनमा अर्कै किसिमको हुन्थ्यो।’

माइती र चेलीबीचको सम्बन्धलाई स्थापित गर्ने पर्व तीज भए तापनि पछिल्लो समयमा यसले लक्षित वर्ग नै को हुन् भन्‍ने बिर्सिएको उनको भनाइ छ।
पहिलेको जमानामा तीजमा व्रत बसेर अविवाहिताले महादेवजस्तै पति पाऊँ भनेर कामना गर्थे र विवाहिताले श्रीमान्‌को लामो आयु र प्रगतिको कामना गर्थे। तर हिजोआज सोचमा परिवर्तन आइरहेको छ।

महिलाले श्रीमान्‌को दीर्घायुको साथै आफ्नो अस्तित्व, खुसी र रमाइलो पनि त्यत्तिकै महत्त्वपूर्ण छ भनेर बुझेर यसमा तीज मनाउने गरेकाले यसले महिला सशक्तीकरण र विकासमा टेवा पुर्‍याएको महिला अधिकारकर्मी सलोनी सिंह बताउँछिन्।

उनी भन्छिन्,’ महिलाले आफ्नो शरीर, पहिरन र आत्मसन्तुष्टिप्रति चासो देखाउनु भनेको अधिकारप्रति सचेत हुनु हो, यो तीजको राम्रो पाटो हो।’

Source :- See more at: http://www.annapurnapost.com/en/news/specialpage/12794/.htm#sthash.8XLglKoi.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s