‘दैनिक १ अर्ब ४८ करोड रेमिट्यान्स नेपाल भित्रिन्छ’

‘दैनिक १ अर्ब ४८ करोड रेमिट्यान्स नेपाल भित्रिन्छ’

काठमाडौं : गत आर्थिक वर्षमा नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७०/७१ मा पाँच खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो। जुन उक्त आर्थिक वर्षको बजेटभन्दा २६ अर्ब बढी हो। गत आवमा नेपालको बजेट पाँच खर्ब १७ अर्ब २४ करोड थियो।

केन्द्रीय बैंकका अनुसार नेपाली रुपैयाँ अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने संख्या पनि निरन्तर बढेकाले रेमिट्यान्स प्रत्येक वर्ष बढ्दै गएको छ। आव २०६९/७० मा चार अर्ब २५ अर्ब ९० करोड रेमिट्यान्स भित्रिएको थियो।

विश्‍व बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषले नेपालमा भित्रिने रेमिट्यान्समा सुस्तता आउने बताउँदै गर्दा विप्रेषण आप्रवाह आव २०६९/७० को २०.९ प्रतिशत वृद्धिको तुलनामा आव २०७०/७१ मा २५ प्रतिशतले वृद्धि भएको हो।

यसैगरी अमेरिकी डलरमा भने विप्रेषण आय अघिल्लो वर्षको ११.७ प्रतिशत वृद्धिको तुलनामा गत आवमा १२.३ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५४ करोड अमेरिकी डलर पुगेको छ।

रेमिट्यान्स भित्रिने क्रम बढ्दै गर्दा त्यसको असर समग्र शोधनान्तर स्थितिमा पनि परेको छ।

राष्ट्रबैंकका अनुसार २०७०/७१ मा समग्र शोधनान्तर स्थिति एक खर्ब २७ अर्ब १३ करोडले बचतमा छ। २०६९/७० मा शोधनान्तर बचत ६८ अर्ब ९४ करोड थियो। यसैगरी चालू खाता पनि ८९ अर्ब ८५ करोडले बचतमा छ।

केन्द्रीय बैंकका अनुसार नेपाली रुपैँया अमेरिकी डलरको दाँजोमा कमजोर भएको र विदेशमा काम गर्न जाने पनि बढेकाले रेमिट्‍यान्‍स वृद्धि भएको हो।

२०६९/७० मा ५७ अर्ब ६ करोडले बचतमा रहेको चालू खाता गत आर्थिक वर्षमा विपे्रषण आप्रवाह, पर्यटन आय र अनुदानमा भएको उल्लेख्य वृद्धिका कारण अघिल्लो वर्षको तुलनामा उच्च रहेको हो।

रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिले कुल विदेशी मुद्रा सञ्चिति पनि बढेको छ। राष्ट्रबैंकका अनुसार २०७१ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०७० असार मसान्तको पाँच खर्ब ३३ अर्ब ३० करोडको तुलनामा २४.८ प्रतिशतले वृद्धि भई ६ खर्ब ६५ अर्ब ४१ करोड पुगेको छ।

‘आर्थिक वर्ष २०७०/७१ को आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्‍चितिको विद्यमान स्तर ११.५ महिनाको वस्तु आयात र १०.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ’, बैंकका एक अधिकारीले भने।

तर रेमिट्यान्स वृद्धिसँगै नेपालीको उपभोग प्रवृत्ति पनि बढेको छ। २०७०/७१ मा कुल गार्हस्थ्य उत्पादनमा कुल उपभोग अंश ९१.१ प्रतिशत र कुल बचतको अंश ८.९ प्रतिशत छ। २०६९/७० मा कुल उपभोगको अंश क्रमश: ८९.९ प्रतिशत तथा कुल बचतको अंश १०.१ प्रतिशत थियो।

रेमिट्यान्सबाट भित्रिएको रकमको कारण २०७०/७१ मा कुल राष्ट्रिय खर्चयोग्य आय २०.४ प्रतिशतले वृद्धि भएको अनुमान राष्ट्रबैंकको छ। २०६९/७० मा कुल राष्ट्रिय खर्चयोग्य आय अघिल्लो आवको तुलनामा १२.३ प्रतिशतले वृद्धि भएको थियो।

गत आवमा पाँच लाख २७ हजार आठ सय १४ नेपाली वैदेशिक रोजगारीमा गएको केन्द्रीय बैंकको अनुमान छ। २०६९/७० मा चार लाख ५३ हजार पाँच सय ४३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए।

तीजमा सांस्कृतिक आक्रमण

यसपालिको तीजमा ससुराली जानी हो
दुलही पनि लानी हो,
दर होइन साथी हो, ह्वीस्की खानी हो।

यी तीज गीत हुन्। एल्बमहरू पनि तीज गीतका हुन् वा रत्यौलीका, ठम्याउनै गाह्रो। अश्‍लीलताको हद नाघेको छ। नाम चलेका गायक-गायिकाले दामको लागि अश्‍लीलताको हद नाघिरहेका छन्।

एक किसिमले उनीहरूले हाम्रो संस्कृतिमाथि आक्रमण गर्दै पश्चिमा छाडा संस्कृति जबर्जस्ती थोपरिरहेका छन्। यस्ता अश्लीलता भरिएका गीत सुनेर तथा नृत्य हेरेर हुर्किरहेका हाम्रा साना नानी, युवा पुस्ताबाट कस्तो नेपाल निर्माण होला?

महिलाहरू पुरुष अत्याचारको विरोध गर्छन्। बलात्कार हुँदा पुरुषलाई मात्र दोषी देख्दछन्। के यस्ता गीतहरूले नयाँ पुस्तालाई अश्‍लीलतातर्फ डोराउँदैन?

अचेल विभिन्‍न संघसंस्थाले सञ्‍चालन गर्ने तीज गीत प्रतियोगितामा तीज गीतको सट्टा अश्‍लील गीतहरू नै गाइन्छ र त्यस्ता गीत सर्वोत्कृष्ट ठहरिन्छ। हालै नेपालगन्जमा ‘महिला उद्यमी प्रर्दशनी र तीज गीत महोत्सव’ मा ‘उध्रेको चोली’ गीतमा नृत्य गर्ने किशोरी सर्वोत्कृष्ट छानिइन्।

के यो तीज गीत हो? महिला कार्यक्रममा छाडा गीतले प्रोत्साहन पाए पछि पुरुषलाई दोषी चश्माले हेर्ने किन?

एक वर्षको तीजमा म काठमाडौं थिएँ। म बस्ने डेरानजिकैको पार्टी प्यालेसमा तीज समारोह चल्दै थियो। भाग्यवश त्यो हेर्ने ‘सौभाग्य’ जुर्‍यो। दर खाने दिनको त्यो कार्यक्रममा महिला रक्‍सी खाएर मातेका थिए। र मातेको सुरमा छाडा गीत अश्लील तरिकाले गाउँदै नाचिरहेका थिए।

नाच्दा तिनीहरूका वस्त्रले शरीर छोडिरहेको थियो।मलाई लाग्छ, रत्यौलीमा पनि यतिसाह्रो अश्‍लीलता हुँदैन। दर त गोरसबाट बनाएका मीठा-मीठा परिकार खानेकुरा हो, रक्सी त होइन।

दर खाने दिन होसै गुमाउने गरी रक्सी खाए तीजको व्रत कसरी बस्न सक्छन्? सायद ती महिला व्रत नबस्ने हुनाले रक्सीको दर खाएका हुन सक्छन्।

आँगनीमा ओझेलै पर्‍यो बरीलै कदमको छायाले
दिनको बाटो छिन गरी आएँ बरीलै आमाको मायाले

पुराना तीज गीतहरूमा मनका वेदना छचल्किएको हुन्छ, माया पोखिएको हुन्छ। सुन्दा मन हुरुक्क हुन्छ, आँखा रसाउँछ, तर अचेलका…। पुरना तीज गीत खोज्नु शीला खोजेजस्तो भइसक्यो। अश्लील गीतहरूले मनमा कामभावना भड्काउने, अश्लील हर्कततिर मन बरालिने हुन्छ।

तर दु:खको कुरा, हाम्रा राष्ट्रिय स्तरका गायक-गायिका पनि समाजमा अश्‍लीलता पोखेर दाम कमाउनेतिर लागेका छन्। देश र समाज जाओस् भर्सेलामा। हाम्रो परम्परा र संस्कृति जाकियोस् खाडलमा, मतलब छैन। युवा पुस्तालाई बिगार्न हाम्रा गीतकार, गायक-गायिका कम जिम्मेवार छैनन्।

तीज आयो जउन बाबु दिदी लिनलाई
खुट्टैमा ढोग् गरे है भेट्दा भिनालाई

हुन्छ आमा दिदी लिन जान्छु जान त,
कोसेली पो के लाने हो पर्छ लान त

दुब्लाएर भएकी रहिछ, छैन बरा जिऊ
अनदीको चामल र लइदे बाबु घ्यू।

यस्ता गीत सुन्‍न त अब कान सुकिसक्‍यो। आज छाडा अश्लील तीजको गीत सुन्दा म आफ्नो बालापन सम्झिन्छु। असमको एउटा सानो सहर। आमाको हात समाउँदै मनजिकको धुबडी सहरस्थित सशस्त्र प्रहरीको फ्यामिली क्वार्टरमा जाने गर्दथें।

पुराना तीज गीतमा मनको वेदना छचल्किएको हुन्छ, माया पोखिएको हुन्छ। सुन्दा मन हुरुक्‍क हुन्छ, आँखा रसाउँछ। तर अचेल अश्लील गीतहरू कामभावना भड्काउने र मन बरालिने हुन्छन्। हाम्रा राष्ट्रिय स्तरका गायक-गायिका पनि यस्तै गीतलाई प्रोत्साहित गरिरहेका छन्।

जहाँ नेपालीको बाक्लो उपस्थिति थियो। मध्यरात्रिमा मीठामीठा दर खान आमाले, गाँसेको साइनोको सानीमा, ठूलीआमा, माइज्यूहरू मलाई उठाउनु हुन्थ्यो। रातभरि तीजका मीठामीठा गीत गाउँदै आमाहरू नाच्नुहुन्थ्यो। नेपाल मैले सुनेको थिएँ।

कतै नेपाल भन्‍ने देश छ, जहाँबाट मेरा बा-आमा आउनुभएको थियो भन्ने थाहा थियो। आफू नेपाली भएकोमा गर्व लाग्थ्यो। नेपालीको जस्तो चाड अरू कसैको हुँदैन भन्‍ने विश्‍वास थियो ‘तीजको लहर आयो बरीलै’ भन्दै आमाहरूले गाउँदै नाचेको राम्रो लाग्थ्यो।

अहिलेको तीजमा बाबा लिन आएका
पठाएनन् घरकाले फर्के फरक्‍क

लिन आउँदा नपठाउने कस्तो कर्रो घर पनि
रुँदैरुँदै पकाउ आमा तीजको दर पनि।

पहिला-पहिला तीजमा भड्किलोपन थिएन।पार्टी प्यालेस, ठूला होटेलमा मनाइँदैन्थ्यो। आफ्नो माइती मावलीमा, साथीसंगीकहाँ गएर मनाइन्थ्यो। नयाँ लुगा र गहना त लगाउँथे तर प्रदर्शनीका लागि होइन। न लुगा र गहनाको मूल्यांकन हुन्थ्यो।

मेरी आमा पनि तीजमा नयाँ लुगा लगाउनु हुन्थ्यो। नयाँभन्दा तीजमा चोखो लुगा लगाउनुपर्ने भएकोले नयाँ लगाउनुपर्ने थियो। गहनामा पारम्परिक गहनाहरू लगाउँथे। मेरी आमा र अन्य सानीमा, माइजूहरूले पनि लगाउने गहना मारवाडी, नौगेडी, बुलाकी, चन्द्रमाजस्ता हुन्थे।

नेपालीपन झल्किने गहना। परदेशमा गहनाले नै नेपाली भनेर चिनिन्थ्यो। तर आज नेपालीपन मेटिने कोसिस हुँदैछ कथित गणतन्त्रमा। गणतन्त्र हो वा भाडतन्त्र? काठमाडौंको भद्दा तथा अश्‍लील खर्चिलो विकृति अब त गाउँघरसम्म फैलिँदो छ।

०४७ सालपछि विस्तारै-विस्तारै तीजका गीतमा अश्‍लीलताले प्रवेश पाउन थालेको हो। त्यो पनि उतिसाह्रो थिएन। यस्ता गीतले कस्तो प्रतिक्रिया दिन्छ त्यो हेराइमा थिए संगीतका व्यापारी।

०४७ सालको संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन खोजेका पश्‍चिमा राष्ट्रको षड्यन्त्रलाई राजा वीरेन्द्र र प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सत्प्रयासले असफल भएपछि नेपाललाई ख्रिस्तानीकरण गर्ने पश्चिमा शक्तिको चाहनामा तुषारापात भयो। अवसरको पर्खाइमा थिए तिनीहरू।

०५२ सालमा जनयुद्ध सुरु भयो। के खोज्छस् कानो आँखा। माओवादीले ल्याएको गणतन्त्र र जातीय संघीयताको नाराले पश्चिमा राष्ट्रलाई नेपाललाई ख्रिस्तानीकरण गर्ने र संघीयताको निहुँमा अमेरिकालाई फ्री तिब्बतलाई मूर्तरूप दिने मौका दिलायो।

झन् त्यसमाथि बाबुराम भट्टराई क्याथोलिक ख्रिस्तान परे। माओवादीले जनयुद्धको बेला धमाधम गाई काटेर खान थाले। ख्रिस्तानीकरणको सुरुआत माओवादी जनयुद्धले गर्‍यो।

नेपालमा गाई काट्न प्रतिबन्ध छ र अद्यापि यो कानुन यथावत् छ। तैपनि माओवादी जनयुद्धमा गाउँगाउँमा गाई काटेर खान एकातिर सुरु भयो भने अर्कोतिर ख्रिस्तानीकरण पनि बढ्दै गयो। ख्रिस्तानीकरणको सहयोगी माओवादी बने।

कुनै जाति र धर्मलाई समुल नष्ट गर्नु छ भने उसको संस्कृति समाप्त पार्नुपर्छ। ख्रिस्तानीकरणमा अवरोधको रूपमा हाम्रो मौलिक संस्कृति थियो। यसलाई मास्न सांस्कृतिक क्षेत्रमा ख्रिस्तानीकरणको अभियन्ताले हात हाले।

पैसाको लोभमा फसाए हाम्रा संस्कृतिकर्मीलाई। हाम्रो संस्कृतिको आवरणमा छाडा पश्चिमा संस्कृति थोपर्न लगाए। जसको फलस्वरूप हाम्रा संस्कृतिकर्मी बिके र आज सुनिने तीजको गीत पनि त्यसैको परिणाम हो।

हाम्रो परम्परागत संस्कृति बचाउनु छ भने नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ र छाडा संस्कृतिमाथि कानुनीरूपमा कडा प्रतिबन्ध लगाउनुपर्छ। नत्र भने हाम्रा भावी पुस्ता पतनको खाल्डोमा खस्नेछन्।

झन् अहिले त बाढीले नेपालको एकतिहाई जिल्ला क्षतिग्रस्त छ। धनज्यानको ठूलै क्षति भएको छ। अन्नपात बाढीले बगाएको छ। चाडपर्व मुखैमा छ। घर छैन, गाँस छैन। यस्तो अवस्थामा चाड घाँडो भएर आएको छ।

यस्तो अवस्थामा पनि सहर बजारमा भड्किलो र खर्चिलो तीज मनाउनेहरूको प्रतियोगिता छ। यसरी तीज मनाउन खर्च हुने पैसा बाढीपीडितको सहयोगमा दान गरे कतिको कल्याण हुन्थ्यो। तर साँस्कृतिक आक्रमणकारीको मन यति ठूलो छैन।

अर्कोतिर सरकारी र मानवतावादी संघसंस्थाहरू चाउचाउ र च्युरा बाँडेर आफ्नो दायित्वबाट मुक्ति पाएका छन्। हेलिकोप्टरमा आउनेहरू रमिता हेरेर फर्किने गर्छन्। दैवी प्रकोप राज्य, नेता र रेडक्रसजस्ता संस्थाहरूलाई ठूलै चाड भएर आएको छ।

कमाउने मौका यही हो तिनीका लागि। जे भए पनि हिन्दु महिलाका लागि जसरी भए पनि तीज मनाउनुपर्ने भएको छ दु:खजिलो गरेर भए पनि। यस्तो विपद्को घडीमा पनि छाडा संस्कृतिकर्मीहरूद्वारा गाइएका अश्लील तीजका गीतहरूले पीडितहरूलाई जिस्काइरहेको छ।

अहिलेको तीजमा पर्‍यो धेरै आपत्
ऋण खोज्न जाँदा पाइन सापट

बाबा मेरा साठीवर्षे साहुका घरमा कमारा
भोकै प्यासै हलो जोत्छन् छैन सहारा

आमा मेरी थला परिन् शोकैशोकले
भाइ बैनी खान नपाई बस्छन् भोकले।

आठ वर्षमा एक लाख १३ हजार महिला वैदेशिक रोजगारमा
  • 25 Aug 2014 | 16:40pm
  • सोमबार ९ भाद्र, २०७१
  • किरण भट्टराई
    आठ वर्षमा एक लाख १३ हजार महिला वैदेशिक रोजगारमाकाठमाडौं– नेपालमा दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापनासँगै नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाउँदा उनीहरूले विदेशमा अनेक दुःखकष्ट पाएका खबर आउने क्रम पनि बढेको छ।
     आर्थिक वर्ष २०६३/६४ मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारमा गएकामा आव २०७०/७१ सम्म आइपुग्दा सो सङ्ख्या बढेर २८ हजार ९६६ पुगेको छ। वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०६३/६४ अघिकोे वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या राखे पनि महिला र पुरुषको छुट्टाछट्टै सङ्ख्या राखेको छैन।
    विभागले तथ्याङ्क राख्न थालेयताको आठ वर्षमा एक लाख १३ हजार ७७८ जना महिला वैदेशिक रोजगारीमा गएका छन्। सो अवधिमा वैदेशिक रोजगारमा जाने पुरुषको सङ्ख्या भने २५ लाख ७४ हजार ६०३ रहेको छ।
    आव २०६३/६४ तीन हजार ६०५, आव २०६४/६५ मा चार हजार ६८५, आव २०६५/६६ मा आठ हजार ५९४, आव २०६६/६७ दश हजार ५६ र आव २०६७/६८ मा १० हजार ४१६ जना महिला वैदेशिक रोजगारमा गएका छन्। आव २०६८/६९ मा २२ हजार ९५८, आव २०६९/७० मा २७ हजार ७१३ र आव २०७०/०७१ मा २८ हजार ९६६ जना महिला वैदेशिक रोजगारीमा गएका छन्।
    सो अवधिमा सबैभन्दा बढी कुवेतमा ३७ हजार १०२ जना महिला वैदेशिक रोजगारीमा गएका छन्। त्यसैगरी, क्रमशः युनाइटेड अरब इमिरेट्स (दुबई)मा २२ हजार ६६५, मलेसिया १७ हजार ३२२, लेवनानमा १० हजार ८५८, कतारमा पाँच हजार ५०१, इजरायलमा तीन हजार ८६३, बहराइनमा तीन हजार २८६, कुवेतमा दुई हजार ३८४, दक्षिण कोरियामा ८५९, जापानमा ५८० र अन्य मुलुकमा छ हजार ७३६ जना महिला वैदेशिक रोजगारमा गएका छन्।
    द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमासमेत ३४ जना महिला श्रम विभागबाट स्वीकृति लिएर रोजगारमा गएका छन्। विभागबाट स्वीकृति लिएर जानेको सङ्ख्याभन्दा ठूलो सङ्ख्यामा नेपाली महिला अवैधानिक ढङ्गले भारत हुँदै खाडीलगायतका मुलुक जाने गरेका छन्।
    द्वन्द्वको चपेटामा रहेको मुलुक इराकमा समेत पाँच हजारभन्दा बढी नेपाली महिला अहिले अवैधानिक रूपमा रोजगारीमा रहेको विवरण सार्वजनिक भइरहेको छ।
    इराकमा सङ्कट बढ्दै जाँदा नेपाल सरकारले उद्धारकार्य अगाडि बढाउने क्रममा अनुसन्धान गर्दै जाँदा त्यहाँ रहेका १० हजार नेपालीमध्ये आधा महिला रहेको कहालीलाग्दो विवरण बाहिर आएको हो।
    भारत हुँदै खाडीलगायतका मुलुक जाने नेपाली महिलालाई त्यहाँ पुग्नेबित्तिकै महिलाहरूको राहदानीलगायतका सामग्री जफत गर्ने र उनीहरूलाई बलजफ्ती काममा लगाउने गरिएको छ।
    खाडी मुलुकमा जाने महिलालाई यौन व्यवसायमा लाग्न बाध्य पार्ने, रेष्टुराँमा नाङ्गो नाच्न बाध्य पार्ने, घरेलु कामदारका रूपमा रहेका महिलालाई मालिकले बलत्कार गर्ने, तातो पानी खन्याइदिनेलगायतका कार्यहरू हुने गरेको छ।
    पछिल्लो समय खाडीमात्रै होइन नेपाली महिलालाई मानव तस्करले रोजगारका नाममा अफ्रिकी मुलुक पुर्‍याउन थालेका छन्।
    देशमा पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। केही समय अघिसम्म पुरुषमात्रै वैदेशिक रोजगारमा जाने गरेकामा पछिल्लो समय महिला पनि वैदेशिक रोजगारीमा जाने प्रचलन बढ्दै गएकोे देखिएको छ।
    गएको आठ वर्षमा विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जाने महिलाको सङ्ख्या एक लाख १३ हजार ७७८ जना भए पनि सोभन्दा दोब्बर सङ्ख्या अवैध रूपमा खाडी, मलेसियालगायतका देशमा पुगेको अनुमान वैदेशिक रोजगारमा कार्यरत कर्मचारीहरू बताउँछन्।
    खाडी, मलेसियालगायतका मुलुकबाहेक युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायतका मुलुकमा पनि नेपाली महिला पर्यटक भिसा, व्यापार भिसा र विद्यार्थी भिसाका नाममा गएर अवैध किसिमले काम गरी बस्ने गरेका छन्। ती मुलुकहरू तुलनात्मक रूपमा महिलाका लागि सुरक्षित मानिएका छन्।
    श्रम विभागका प्रवक्ता बद्रीकुमार कार्की घरेलु कामदारका रूपमा खाडी मुलुकमा गएका नेपाली महिलामाथि श्रम शोषण हुने गरेको, समयमा तलब नदिने गरेको, बढी समय काममा लगाउने गरेको तथा कतिपय ठाउँमा यौन शोषणसमेत हुने गरेको गुनासो आएपछि गत चैतदेखि ती मुलुकमा घरेलु महिला कामदारलाई पठाउन बन्द गरिएको बताउँछन्। कतिपय महिला मालिकबाट बलात्कृत भएपछि गर्भवती भएर नेपाल फर्कने गरेका छन्।
    खाडीलगायतका देशमा रोजगारका लागि जाने नेपाली महिला कामदारमाथि नेपाल सरकारले कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन्।
    भारत मात्रै होइन नेपालबाटै पर्यटक भिसा, व्यापार भिसा र विद्यार्थी भिसा लिएर खाडी, मलेसियालगायतका मुलुकमा गएर अवैध रूपमा बस्ने महिलाको सङ्ख्या उल्लेख्य मात्रामा छ।
    सरकारले अर्को निर्णय नभएसम्मका लागि भन्दै गत चैत्र महिनादेखि खाडी मुलुकमा महिला घरेलु कामदार लैजान रोक लगाएपछि भारत हुँदै महिलालाई ती मुलुक पुर्‍याइन थालिएको हो।
    वैदेशिक रोजगारमा गएर विपत्मा परेका महिलाको उद्धारमा सक्रिय संस्था …पौरखी’ नेपालकी अध्यक्ष मञ्जु गुरुङ सरकारले घरेलु कामदारका रूपमा खाडी, मलेसियालगायतका मुलुकमा जान महिलाको उमेर अनिवार्य रूपमा ३० वर्ष हुनैपर्ने प्रावधान राखेका कारण पनि महिला बाध्य भएर भारत हँुदै अवैधानिक रूपमा गइरहेको बताइन्।
    उमेर हद तोकेर महिलामाथि भेदभाव गरेको बताउँदै राज्यले वैदेशिक रोजगारमा जान चाहने महिलालाई तालिम दिएर दक्ष बनाउनुपर्ने तथा पर्याप्तमात्रामा कामका बारेमा अग्रिम सूचना दिनुपर्ने उनी बताउँछन्।
    नेपालका म्यानपावरमार्फत अवैध रूपमा नेपाली महिलालाई कामदारका रूपमा विदेश पठाइने गरे पनि त्यसबारे सरकार र सम्बन्धित निकाय श्रम विभाग मौन छ। विभागले अवैध रूपमा महिला कामदार पठाउने म्यानपावरलाई कारबाही गर्न सकेको छैन।
    विभागका प्रवक्ता कार्की महिला कामदारलाई अवैध रूपमा पठाउने कार्यमा संलग्न भएकै कारण कुनै म्यानपावारलाई पछिल्लो समय कारबाही भएको थाहा नभएको बताउँछन्।
    म्यानपावरमार्फत महिला कामदारको माग आए पनि उनीहरूका स्थानीय दलालमार्फत त्यसरी अवैध रूपमा जाने महिला कामदारलाई पठाइने गरेकाले म्यानपावर व्यवसायी संस्थागत रूपमा सुरक्षित हुने गरेका छन्।
    अध्यक्ष गुरुङका अनुसार अधिकांश महिलालाई उनीहरूको नजिकका नातेदार र म्यानपावरका स्थानीय एजेन्टमार्फत भारत हुँदै लैजाने गरेको र त्यसरी जानेहरूसँग जाँदा कुनै कागजात प्रमाणका रूपमा नरहने भएकाले पनि दुःख पाएर नेपाल फर्किएपछि कानुनी कारबाही गर्न कठिनाइ हुने गरेको छ।
    त्यस्तै, अवैध रूपमा जाने महिला आफू पनि कारबाहीमा पर्ने डरले उजुरी दिन हिच्किचाउने गरेका छन्।
    नेपाली महिला कम पढेका र आधुनिक प्रविधिसँग हेलमेल गर्न नजानेकै कारण पनि विदेशमा बढी दुःख पाउने गरेका छन्।
    घरायसी काम गर्दा भाषाको समस्यादेखि इस्त्री लगाउने, भ्याकुम क्लिनर लगाउनेसम्मको सामान्य काम गर्ने अनुभव नहुँदा उनीहरू मालिकको आक्रोशमा पर्ने गरेका छन्।
    महिला कामदारलाई रोक लगाएपछि भिसा आइसकेका महिला कामदारको विचल्ली परेको गुनासो बढ्दै जाँदा सरकारले जेठ ३१ गतेभित्र भिसा आइसकेका महिला कामदारलाई भने ती मुलुकमा जाने अनुमति दिने निर्णय गरेको छ।
    विदेशमा नेपाली महिला घरेलु कामदारको सहज रोजगारी र आत्मसम्मानको प्रत्याभूत हुने गरी व्यवस्थित गर्न श्रम सचिवको संयोजकत्वमा सुझाव समिति गठन गरिएको र त्यसले दिएको सुझावको आधारमा ती मुलुकमा कामदारको रोकलाई खुल्ला गरिने प्रवक्ता कार्की बताउँछन्। रासस

– See more at: http://www.annapurnapost.com/en/news/business/12764/.htm#sthash.sXV3DHgP.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s