लेखक–पात्र सम्बन्ध

 

  • 09 Aug 2014
  • २४ श्रावण, २०७१
  • फणीन्द्र संगम
  • लेखक–पात्र सम्बन्ध

    लेखक–पाठकको सम्बन्ध नङ र मासुजत्तिकै हो। तर, पाठकसम्म पुग्नुअगाडि नै लेखकले पात्रसँग निकट सम्बन्ध विस्तार गरिसकेको हुन्छ। पात्रलाई रिझाउन सके लेखक सफल बन्छ। पात्र जीवन्त बन्छन्। कतिपय कृतिका पात्र पाठकले पछिसम्म पनि सम्भि्करहने खालका हुन्छन्। कसरी तय हुन्छन् त पात्र? र, पात्र निर्माणमा लेखकले कस्ता उपाय अपनाउँछन्? साहित्यकार कृष्ण धरावासी र नयनराज पाण्डेले अनुभव बाँडेका छन्।

    • कृष्ण धरावासी भन्छन् : लेखकलाई थाहा नहोस् कि ऊ कहाँकहाँ पोखियो! बरु त्यसलाई पाठकले खोजेर निकालून् र त्यसमा ऊ आफैं छक्क परोस्।
    • नयनराज पाण्डे सुनाउँछन् : केही पात्र यस्ता हुन्छन्, जो कहिल्यै आफ्नो मनबाट मेटिँदैनन्। मानसपटलमा घुमिरहन्छन्। अस्तित्व दाबी गर्दै आउने त्यस्ता पात्रलाई म फेरि लेख्न बाध्य हुन्छु।

    krishnaएकान्तका साथी

    कृष्ण धरावासी

    पहिले लेखनलाई मनोरन्जनको साधनमात्र सोचिथ्यो। आख्यानलाई समय कटनी वा यात्रामा बाटो नाघ्ने मेलो ठानिन्थ्यो, अनि काव्यलाई उपदेशको ठेली। लेखक आफ्नो कृतिका माध्यमबाट समाजभन्दा आफूलाई विशेष ठान्न थाल्थ्यो। कल्पना र स्वैकल्पनाका माध्यमबाट कृतिलाई पाठकका बीचमा उभ्याइन्थ्यो।
    तर, अबको लेखनमा धेरै कुरा परिवर्तन भएको छ। लेखक अलग्गै विशिष्ट र पात्र एक्लै निरीह बन्न सक्दैन। लेखक र पात्रबीचको सम्बन्ध फराकिलो बनिसक्यो। अबका कृतिमा लेखक स्वयं पात्र भएर उभिने प्रयत्न गरिरहेको हुन्छ। कतिपय पाठकको धारणा हुन्छ– लेखकले आफूलाई नायकभित्रै ढालेको होला! तर कतिपय लेखक एकदम कमजोर र नगन्य पात्रभित्र आफूलाई लुकाएर रमाइरहेका पनि हुन्छन्। पाठकलाई एउटा चुनौती पनि हुन्छ, पात्रभित्र लेखकलाई खोज्नु। कतिपय लेखक एकैचोटि थुप्रै पात्रमा बाँडिएर आफैं दुखित पनि भइरहेका हुन्छन्। हामीले पढिरहेका थुप्रै नेपाली कृतिमा लेखकलाई पात्रभित्र सजिलै भेट्न सकिन्छ। कतिपय लेखकले त आफूलाई विपरीतलिंगी चरित्रभित्र पनि समावेश गरेका हुन्छन्। नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालालाई उनका नारी पात्रहरूभित्र बढी भेटिन्छ भने पारिजातलाई पुरुष पात्रभित्र। मदनमणि दीक्षितलाई (‘माधवी’ उपन्यासको सन्दर्भमा) कुनै बेला माधवीभित्र भेटिन्छ भने कुनै बेला गालवभित्र। कतिपय अवस्थामा लेखकहरू निरपेक्ष व्यक्तित्वले उपस्थित हुँदा पात्र र लेखकका बीच भेद नै नछुट्टिने पनि हुन पुग्छ।
    कृृति तयार हँुदा त्यो सामाजिक भए पनि लेखन प्रारम्भमा व्यक्तिगत रुचि र अनुभूतिकै विम्बका रूपमा अघि बढिरहेको हुन्छ। पात्र पनि एक्लै रमाउँदै हुन्छ तर कथा अघि बढ्दै जाँदा उसमा सामाजिक उत्तरदायित्व भरिँदै जान्छन् र अन्त्यसम्ममा त्यो एक परिपक्व जिम्मेवार नागरिकजस्तो उभिन पुग्छ।
    हरेक कृति पात्रकै शक्तिका कारण लेखकका प्रतिष्ठा बन्दछन्। तर लेखकले प्रारम्भमै कृतिमा आफूलाई ढाल्ने योजना बनाएमा कृति कमजोर र आत्मप्रशंसाको ठेली बन्न पुग्दछ। बरु यो कुरा स्वयं लेखकलाई थाहा नहोस् कि ऊ कहाँकहाँ पोखियो! बरु त्यसलाई पाठकले पाठकले खोजेर निकालून् र त्यसमा ऊ आफैं छक्क परोस्।
    मेरा अधिकांश निबन्धका पात्रहरूले मेरै विचार संप्रेषण गरेका छन्। निबन्धमा मैले आफ्नै कुरा भन्ने उद्देश्य राखेको छु। तर आख्यानहरूमा म सकेसम्म निरपेक्ष रहने प्रयत्न गर्दछु। लेखकीय निरपेक्षताले पाठकीय स्वतन्त्रताको संरक्षण गरेको हुन्छ। त्यसमा पात्रहरू पनि निजत्वको शक्तिले उभिने प्रयत्न गरिरहेका हुन्छन्। यो कुरा भन्नु त्यति पत्यारिलो नहोला कि, पात्रभित्र लेखक अवतरित हुन्न; बरु यसो भन्न सकिन्छ– लेखकले आफूलाई पात्रभित्र नदेखिने गरी छायामा लुकाउन सक्नुपर्छ। उत्कृष्ट कृति त्यो हुन्छ, जसमा लेखक पात्रभरि हुन्छ तर देखिँदैन। मलाई लाग्छ, मेरा अधिकांश पात्रका म कतै न कतै छिरेकै छु किनकि हरेक पात्रको कल्पना गर्दा मलाई आफूजत्तिकै मन परेकै हुन्थे। मैले आफ्नो गम्भीरतालाई सबैभन्दा बढी शरणार्थी उपन्यासको जयबहादुरमा भेटेको छु र बौद्धिकतालाई राधा उपन्यासको कृष्णमा। उसो त गेस्टापोको हैम्बर्ग र तपाईकी अस्मितामा पनि आफू देखिन्छु जस्तो लाग्छ।
    आफ्नै कृतिभित्रका पात्रहरू पनि आफ्नै परिवारजस्ता लाग्छन्। घरीघरी तिनीहरूको सम्झना आइरहन्छ र ती एकान्तका साथी बन्दछन्। एक्लै भइरहँदा पनि एक्लै छु जस्ता लाग्दैन। मेरा उपन्यासका पात्रमध्ये मलाई अत्यधिक सम्झना आइरहने पात्रचाहिँ आधाबाटोकी आता हो। त्यो यथार्थ पात्र पनि हो र कथा पनि।
    मैले आफ्नो लेखनमा सकेसम्म यथार्थ पात्रलाई प्रस्तुत गर्ने गरेको छु। यसो गर्दा मलाई कथा बुनोटको अतिरिक्त झन्झट गरिरहनुपर्दैन। समाज लेख्न समाजबाट पात्र उठाउनुपर्छ। त्यसो गर्न आफूले फेरि अर्कै कल्पनाको बिस्कुन किन सुकाउनु? मलाई त काल्पनिक पात्रको निर्माण गर्नुपर्दा पनि यथार्थकै रङ दिन मन लाग्छ। त्यसैले ‘शरणार्थी’मा अरूका कृतिका पात्रसँग समाजका यथार्थ पात्र मिसाइएको छ। ‘गेस्टापो’मा इतिहासको वास्तविक पात्रसँग त्यहीँभित्र काल्पनिक पात्र जन्माइएको छ। यथार्थ र कल्पनाको मिलावटबाट पाठकीय बोधमै भ्रम सिर्जना भइरहेको हुन्छ। यस्तो लेखन एकदम नै चुनौतीपूर्ण र खतरनाक हुन्छ। केही गरी सन्तुलन मिलाउन सकिएन भने त्यो सम्पूर्ण रूपमा अरूको अनुकृति वा चोरी गरिएको आरोप लाग्न सक्छ र मुद्दा बोक्नुपर्ने पनि हुन सक्छ।
     
     

    nayan-raj-pandeपात्रले अस्तित्व खोज्छन्

    नयनराज पाण्डे

    मेरा पात्रहरूलाई म सम्मान गर्छु। किनकि उनीहरूकै कारण म लेख्न बाध्य भएँ। मैले सुरुका तीन कृतिमा काल्पनिक पात्रलाई प्रयोग गरे पनि ‘उलार’, ‘लू’ र ‘घामकिरी’मा अधिकांश वास्तविक पात्र छन्, जहाँ तिनकै जीवनको विभिन्न पाटो नियालेको छु।
    काल्पनिक पात्रलाई जसरी पनि प्रयोग गर्न सकिन्छ तर वास्तविक पात्रलाई उभ्याउँदा ऊसम्म पुगेकै हुनुपर्छ। उसका जीवनका विविध आयाम देखेकै हुनुपर्छ। मैले कतिपय कृतिमा वास्तविक पात्रको नाम उल्लेख गरेको छु। जस्तोः उलारको प्रेमललवा, लूको इलैया, घामकिरीको राजु आदि…। प्रेमललवा यथार्थमा रिक्साचालक हो तर कथानकलाई न्याय गर्न उसलाई टाँगावालाको भूमिका दिएँ। उसलाई जसरी प्रयोग गरेको छु, त्यो उसको मात्र भोगाइ वा पीडा होइन। प्रतिनिधि पात्र पनि हो ऊ। उलारभन्दा अघि मैले लेखेका केही कथामा आइसकेको प्रेमललवा लूको अन्त्यतिर पनि देखा पर्छ।
    एउटै पात्र फरक भूमिकामा फरक कृतिमा आउनु स्वाभाविक हो तर अनिवार्य होइन। लेखकले एउटै चरित्रलाई धेरै कृतिमा प्रस्तुत गर्छ भने त्यो उसप्रतिको सम्मान हो। पटक–पटक उही पात्रलाई ल्याउँदा उसको संवेदनाअनुरूप आग्रह–पूर्वाग्रह, माया वा आक्रोश पोख्न सकिन्छ। निकटको साथीझैं बन्दो रहेछ। कोठा वरिपरि घुमिरहेझैं मनोविज्ञान बन्छ। त्यसले कथानकलाई अघि बढाउन घच्घच्याइरहन्छ।
    लूको करिमलाई नजिकबाट बुझेको छु। ऊ पहिले जुत्ता सिलाउँथ्यो। मैले उसका जीवनका विभिन्न पाटोलाई हेरेको छु। उधिनेको छु। उसका दुःखका धेरै प्रसंग आएका छन्। लेखिरहँदा ऊ नै फुत्त मेरोअगाडि आएर बसिदिएको अनुभूति हुन्छ। ‘मेराबारे अझै लेखिदे’ भनेझैं लाग्छ। त्यसले लेखनमा ऊर्जा भरिदिन्छ।
    धेरै पाठकलाई शंका छ, घामकिरीको पात्र राजु म नै त होइन!
    मेरो बाल्यकालको नाम राजु थियो। त्यो बेलाको मेरो भोगाइ, जिज्ञासा र रोमान्स यथार्थका रूपमा आएका छन्। राजु म हुँ तर सबै कथा मेरा होइनन्, मजस्ता आम राजुका कथा यहाँ मिसिएका छन्। आख्यानको धर्म निभाउने क्रममा कल्पनाको लेप आवश्यक पर्छ। तर, राजुको आधाभन्दा बढी कथा मेरै हो।
    लेखक कृतिमा आफू बढी हाबी हुनु राम्रो होइन। ऊ कल्पनाशील र स्वतन्त्र हुनुपर्छ। यसमा म सधैं सचेत छु। पाठकले मलाई नै कृतिभित्र भेट्टाउन मुस्किल पर्छ। किनकि लेखनको चिन्तन र विचार पात्रहरूमार्फत आउनुपर्छ लेखकले सिधै वर्णन गर्ने होइन। पाठकलाई थाहा नदिई लेखक पात्रहरूकै भीडमा कतै न कतै लुकेको हुनुपर्छ।
    म आफ्नै समाजमा देखेका पात्र र तिनका सामाजिक–सांस्कृतिक भोगाइ, दुःखपीडालाई छामेर प्रस्तुत गर्न रुचाउँछु। जब दिमागमा कथानकको प्लट तयार हुन्छ, त्यसपछि मात्रै चरित्र निर्माणबारे सोच बन्छ। कुन कथामा कुन पात्रलाई ल्याउने भनेर नोट तयार पार्ने बानी छ मेरो। त्यसपछि तिनै पात्रबारे घोत्लिन्छु। खण्ड–खण्डको नोटले मलाई व्यवस्थित लेखनका लागि सघाउँछ। सरर्र सुरुदेखि नै लेख्दै जाने हो भने पात्रलाई समेट्न गाह्रो पर्छ। लेखन अनियन्त्रित बन्छ।
    उलार, लू र घामकिरीको पृष्ठभूमि तराईको थियो। अबको कृतिमा यसभन्दा बाहिर निस्कनुपर्छ भन्ने लागेर म हिमालसम्म पुगेँ। त्यहाँको सांस्कृतिक–सामाजिक पक्ष र हिउँसँग खेल्ने नेपालीको कथाव्यथा अबको मेरो उपन्यासमा आउनेछ। सधैं एउटै ठाउँ र त्यहीँका पात्रसँग म धेरै नजिक रहेँ। तराईमात्रै किन? म पहाड र हिमालका पात्रसँग पनि घुलमिल हुन चाहन्छु। तर फरक परिवेशमा जाँदा जोखिम पक्कै हुँदो रहेछ। तर, जति जोखिममा काम गरिन्छ, त्यहाँ उति नै रमाइलो हुन्छ।
    लेख्दै जाने क्रममा केही पात्र यस्ता हुँदा रहेछन्, जो कहिल्यै आफ्नो मनबाट मेटिँदैनन्। पूर्ववर्ती चरित्रहरू मानसपटलमा घुमिरहन्छन्। उनीहरू ‘मलाई फेरि पनि अर्कै रूपमा लेखिदे’ भनेर पात्रहरू अनुरोध गर्न आइरहन्छन्। समाजका केही चरित्र, तिनको दुःख, पीडा र अभावले छोएपछि त्यो मनमा गडेर बस्छ। म तिनलाई फेरि लेख्न बाध्य हुन्छु, विभिन्न रूपमा, लबजमा, नाममा।
    पात्रहरू आफ्नो अस्तित्वको खोजीमा हुन्छन्। लेखकसँग आफ्नो भूमिका र हैसियत खोजिरहेका हुन्छन्। म सधैं प्रेमललवा सम्झन्छु। ऊ जीवन्त र सक्रिय भएर आइरन्छ। विविधताका हिसाबले इलैया औधी मन पर्छ। उसको रूप, आनिबानी र गतिविधिले मलाई प्रभावित बनाउँछ।
    मेरा वास्तविक पात्रहरू अधिकांश निरक्षर छन्, जो हातमुख जोर्नका लागि दिनभर पसिना बगाइरहेका छन्। विकट ठाउँमा छन्, जहाँ मैले उनीहरूबारे लेखेको कृति नपुग्न सक्छ। इलैया, सलिम, प्रेमललवा पढेका छैनन्। हाम्रोबारेमा लेखेको छ भन्ने उनीहरूलाई थाहा पनि नहोला। मलाई पीडाबोध हुन्छ– उनीहरूसामु पुग्न नसकेकोमा। लाग्छ– आफू त्यहाँसम्म पुग्न सकूँ। तर, उनीहरूलाई भनिदिने कसले?
     
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s