विकृतिलाई व्यङ्ग्य गाईजात्रा – 710428

 

bishwonath-kharel(विश्वनाथ खरेल) गाईजात्राको चलन नेवार समुदायमा मनाइने ठूलो पर्व हो। यो पर्व जहाँ–जहाँ नेवारहरूको बसोबास छ त्यहाँ विशेषरूपमा मनाइएको पाइन्छ। काठमाडौं उपत्यकामा यो पर्व ज्यादै रोचक तथा घोचकरूपमा मनाइन्छ। यो पर्व श्रावण पूर्णिमाको भोलिपल्ट भाद्र महिनाको परेवाका दिन पर्दछ। यस पर्वका दिन वर्ष दिनभित्र जस–जसको घरबाट मानिस मरेका छन् उसको सम्झनामा घरबाट गाईजात्रा निकाल्ने चलन रहिआएको छ। गाईजात्राको दिन गाई घुमाउनुको अर्थ हो मरेका व्यक्तिहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ र यमराजले पनि स्वर्गको ढोका खोलिदिन्छन् भन्ने जनधारणा रहेको छ। यस दिन गाई निकाल्ने घरमा आफ्नो छोरीबेटी, इष्टमित्र, गाउँटोलका सम्पूर्ण मानिसलाई बोलाई भोज खुवाउने गरिन्छ। काठमाडौंका टोल–टोलमा पुर्याएर नाच्दै–घुमाउँदै आफ्नो घरमा फर्कने गर्दछन्। यस दिन स्वर्गको ढोका खुला हुन्छ। गाईलाई यसरी घुमाउनाले मृतक स्वर्ग जान सक्छ भन्ने जनधारणा रहेको छ।

गाईजात्राको शुरुवात कहिलेदेखि नेपालमा भयो भन्ने कुराको चासो हुनु स्वाभाविकै छ। ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा भक्तपुरका मल्ल राजा जगतप्रकाश मल्लको पालादेखि यो पर्व चलेको पाइन्छ। तत्कालीन मल्ल राजाले जनताको अभिव्यक्ति के–कस्तो किसिमको छ ? भन्ने कुरा जान्नको लागि यो चलन चलाएका रहेछन्। त्यसपछि राजाले गाईजात्रा महोत्सव चलाई जनतालाई चित्त नबुझेका कुरा राजा, राज्य, शासन, समाज आदिका समसामयिक विषयमा निर्धक्कसाथ बोल्न र हिँड्न पाउने अधिकार दिए। यसप्रकार प्रजातन्त्रको आभास दिने खालको चलन राजा जगतप्रकाशले शुरुवात गरे। त्यस बेलादेखि जनताले गरेका आलोचनाहरू राजाका गुप्तचरहरूले बटुली राजासमक्ष पेस गर्दथे। त्यस बेलाका शासकहरूले आफूले गल्ती गरेको गलत कानुन र शासन व्यवस्थालाई सुधार गर्दै लग्ने अवसर पाएका थिए। यसबाट राजा र जनतामा राम्रो सम्बन्ध कायम भएको थियो। तसर्थ जनता र राजाका बीच सम्बन्ध सुमधुर भयो। पछि गएर राजा र जनताका बीच छलफलको लागि एक सन्देशमूलकरूपमा गाईजात्राको परम्परा शुरुवात भयो।

हाम्रो देशमा धार्मिक एवम् सांस्कृतिक विविधता रहेको छ। यहाँ भिन्न–भिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छन्। विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछन्। त्यसमध्ये गाईजात्रा पनि एक हो। यो चाड विशेषगरी काठमाडौं उपत्यकाका नेवार जातिले मनाउने गर्छन्। प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व हुन्छ। गाईजात्राको शुरुआत मल्ल राजा प्रताप मल्लले गरेका हुन्। उनले छोराको मृत्युमा शोक मनाइराखेकी रानीलाई खुशी पार्न गाईजात्राको शुरुआत गर्दै ‘हाम्रा घरमा मात्रै मान्छे मेरका होइनन्, अरुको घरमा पनि मरेका छन्’ भन्ने महसुस आफ्नी रानीलाई गराएका थिए। गाईजात्राका दिन वर्षभरि मरेका आफन्तका नाममा गाई वा मरेका मानिसको तस्वीर लिएर राजधानी घुम्ने चलन छ। यसलाई अत्यन्त महत्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ। किनभने यस दिन आफन्त र परिवारका सदस्यलाई गुमाएकाहरूले पनि दुःख प्रकट गर्ने अवसर पाउँछन्। त्यसै गरी मृत्यु भएका आफन्तको सम्झनामा दीनदुःखीलाई दान दिने चलन छ। गाईजात्राको अवसर पारेर थुप्रै कलाकारले विभिन्न हास्यव्यङ्ग्य कार्यक्रम प्रस्तृत गर्छन्। देशका विभिन्न क्षेत्रमा रहेका विकृति र विसंगतिमाथि व्यङ्ग्य गर्दै सबै नेपालीलाई मनोरञ्जन प्रदान गर्छन्। हाम्रा पुर्खाले गाईजात्रालगायतका अन्य थुप्रै संस्कृति र चाडवर्पको शुरुआत गरेर तिनको निरन्तरता एवम् संरक्षण गर्न हाम्रा हातमा सुम्पिएका छन्। त्यसैले देशमा विदेशी भाषा, शैली र परम्परा भित्रियो भन्दैमा आफ्नो देशको धर्म, संस्कृति, भाषा र शैलीलाई चटक्क बिर्सिन हुँदैन। गाईजात्रा त हाम्रो संस्कृतिको एक नमुना मात्र हो। यस्ता जात्रा हाम्रो देशमा थुप्रै छन् र तिनको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो।

अन्त्यमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न प्रकारका पर्वहरू छन्। त्यसमध्ये गाईजात्रा पनि एक हो। नेवारी समुदायमा अहिलेसम्म पनि एउटा लोकप्रिय जात्राका रूपमा यसलाई मनाइँदै आएको छ। गाईजात्रा हामी नेपालीको पहिचान हो। पहिले यो नेवार समुदायमा मात्रै मनाउने गरिएकोमा अहिले अन्य समुदाय पनि विभिन्न क्रियाकलापमार्फत यसमा सहभागी हुन्छन्। यहाँ छरिएर बसेका विभिन्न जातिजातिहरूले मनाउने पर्वहरूमा नेपाली रहनसहन, जीवनपद्धति, धार्मिक विश्वास, सहिष्णुता, सामाजिक परम्परा, आर्थिक सम्पन्नता आदिको चित्रण पाइन्छ। गाईजात्राले कुनै पनि सरकारको कार्यशैलीलाई जनमुखीरूपमा जस्ताको तस्तै रूपमा छर्लङ्ग उतार्नु यसको एउटा विशेषता हो। काठमाडौं उपत्यकाका नेवार समुदायमा हरेक वर्ष गाईजात्रा महोत्सव मनाइँदै आएको छ। यस पर्वले सामाजिक एवम् राजनीतिक विकृतिहरूलाई व्यङ्ग्यात्मकरूपमा प्रस्तुत गर्छ। हाम्रो देशमा पञ्चायती व्यवस्था अन्त्य गर्न र लोकतान्त्रिक व्यवस्था स्थापना गराउनसमेत गाईजात्रा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। अतः नेपालमा व्यक्ति, समाज, राष्ट्र आदिलाई सचेत र सजग बनाउने कार्य गाईजात्रा परम्पराले गर्दै आएको कुरामा कसैको दुई मत नहोला।

Published Date: August 13, 2014

Source : http://www.newsofnepal.com/new/bichar/2014/08/67168

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s