पत्रकारिता शिक्षाको पक्षमा

हिजोआज पत्रकारिता पेसाप्रति आकर्षण कम हुन थालेको छ। परिणामस्वरूप पत्रकारिता शिक्षाप्रति पनि त्यसको असर परेको छ। यसका मुख्य दुई कारण छन्- पहिलो, पत्रकारिता दुख्याहा पेसा हो, समयमा तलबसमेत पाइँदैन तथा पत्रकारलाई सुरक्षा खतरा छ भन्‍ने सन्देश जानु। दोस्रो कारण, कलेजका संस्थापक एवं सञ्चालकबाट विज्ञार्थीलाई उचित सरसल्लाह प्राप्‍त नहुनु।

नेपालमा हाल अध्ययन-अध्यापन भइरहेको विषय ‘आमसञ‍चार र पत्रकारिता’ हो, पत्रकारितामात्रै होइन। पत्रकारिताको तुलनामा ‘आमसञ्‍चार’ शब्दले अझ बृहत् क्षेत्र समेट्छ, जस्तै- सञ्‍चार, सञ्‍चारमाध्यम, विज्ञापन, जनसम्पर्क, कूटनीति, अनुसन्धान, पत्रकारिता आदि। यसर्थ, आमसञ्‍चार र पत्रकारिता पढ्ने विद्यार्थीले यी विभिन्‍न पेसागत क्षेत्रमा विशेषज्ञता हासिल गर्न सक्छन्।

तर, धेरैजसो कलेजका संस्थापक व्यवस्थापन वा विज्ञान संकाय पढेका छन्, जसले नवआगन्तुक विद्यार्थीलाई विज्ञान र व्यवस्थापन संकाय नै उत्तम हो भनी उत्प्रेरित गर्नु स्वाभाविक हो। अझ कतिपय शैक्षिक परामर्शकर्ताले पत्रकारिता शिक्षा पढेर सरकारी जागिर खान पाइँदैन भन्‍ने भ्रम फिँजाएरसमेत इच्छुक विद्यार्थीलाई विज्ञान वा व्यवस्थापन पढ्न जबर्जस्ती गरिएको भेटिएको छ।

आमसञ्‍चार र पत्रकारिता विषय अध्ययन गरेर पत्रकार (संवाददाता वा सम्पादक) मात्रै भइने होइन। साथै, यस विषयका विद्यार्थीले पत्रकारै हुनुपर्छ भन्‍ने छैन। यस विषयले समाजशास्त्र (सोसियोलोजी)जस्तै विभिन्न पेसा वा व्यवसायको सम्भावना बोकेको छ। यो विषयका अध्येता लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सूचना अधिकृतलगायत सरकारी सेवाका विभिन्‍न पदहरूमा प्रवेश गर्न सक्छन्।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले दफा ६ मा हरेक सरकारी वा सार्वजनिक निकायहरूमा सूचना अधिकृतको अनिवार्य व्यवस्था गरेको छ। नेपालमा १६ हजार सरकारी निकाय छन्, निजी क्षेत्रबाट खुलेका सार्वजनिक संघसंस्था पनि हजारौंको संख्यामा छन्, जसका लागि आमसञ्‍चार र पत्रकारिता विषय पढेको व्यक्ति योग्य उम्मेदवार बन्‍नसक्छ।

यसै सभ्भावनालाई बुझेर अहिले धेरै सरकारी कर्मचारी आमसञ्‍चार र पत्रकारिता विषय पढ्न थालेको पाइन्छ। दक्ष सूचना अधिकृतको अभावमा सरकारी सूचना अधिकारीहरू (प्रवक्ता, सूचना अधिकृत, सञ्‍चार सल्लाहकार आदि) सर्वसाधारणलाई सूचना दिनभन्दा लुकाउन अग्रसर हुन्छन्। यो सरकारी प्रवृत्ति चिर्नसमेत दक्ष सूचना अधिकारीको खाँचो छ।

त्यसैगरी आमसञ्‍चार र पत्रकारिता विषय अध्ययन गर्नेका लागि अर्को उपयुक्त पेसागत क्षेत्र हो, जनसम्पर्क। जनसम्पर्कलाई व्यावसायिक सञ‍चारको महत्त्वपूर्ण हिस्साका रूपमा लिने गरिन्छ। बहुदलीय शासनव्यवस्थाको पुनर्बहाली भएयता नेपालमा जनसम्पर्कको दायरा बढ्दो छ।

निजी, सार्वजनिक तथा व्यापारिक कार्यालयहरूमा रिसेप्सनिस्ट, पब्लिक रिलेसन्स अफिसर, प्रोग्राम को-अर्डिनेटरजस्ता पदहरू सिर्जना गरी जनसम्पर्क प्रवर्द्धन गर्ने अभ्यास भइरहेको छ। त्यसैगरी राजनीतिक दल र गैरसरकारी संस्थाहरूका लागि आफ्ना उद्देश्य पूर्ति गर्न जनसम्पर्क ज्यादै महत्त्वपूर्ण रणनीति बनेको छ। बहुलवादी समाज र लोकतान्त्रिक शासनव्यवस्थामा कुनै पनि कार्यक्रम सफल पार्न प्रभावकारी जनसम्पर्क अत्यावश्यक छ।

हरेक वर्ष नेपालमा विज्ञापनको बजार बढिरहेको छ। विज्ञापन व्यवसायी संघका अनुसार सन् २०११ मा नेपालमा चार अर्ब ३२ करोड रुपैयाँबराबरको विज्ञापन कारोबार भएको थियो। हाल विज्ञापनको कारोबार आठ अर्ब रुपैयाँभन्दा माथि छ। यसरी हरेक वर्ष विज्ञापन कारोबारको दायरा बढ्दो छ, जसका लागि हजारौंको संख्यामा दक्ष व्यक्ति आवश्यक पर्छ।

विज्ञापनसम्बन्धी सिर्जनात्मक कार्य, प्राविधिक ज्ञान, बजार अनुसन्धान एवं प्रभाव मूल्यांकन गर्ने कार्यका लागि आमसञ्चार र पत्रकारिता विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादन हुनसक्छ। यो विषय बुझेका विज्ञापन एजेन्सी सञ्‍चालकहरूले समाचार र विज्ञापनको सीमारेखा छुट्‍याउन सक्छन् र भविष्यमा विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्ने परिपाटी घट्नसक्ने अपेक्षा गर्न सकिन्छ।

पत्रकारिता क्षेत्रमै पनि सैद्धान्तिक ज्ञान हासिल गरेको जनशक्तिको अभाव छ। नेपालमा हाल तीन हजार पाँच सय ८० पत्रपत्रिका, पाँच सय ४३ रेडियो र ३४ वटा टेलिभिजन दर्ता भएका छन्, जसमा संलग्न जनशक्तिमध्ये करिब ८० प्रतिशतभन्दा बढीले पत्रकारिता विषयको अध्ययन गर्न पाएका छैनन्। यसको मूल कारण अध्ययन गर्ने अवसरको अभाव हो।

अहिले काठमाडौं उपत्यकाभित्र र बाहिर पनि पत्रकारिता विषयमा विभिन्‍न तहमा अध्ययन गर्न सकिन्छ। हुन त कामकै सिलसिलामा वा कार्यगत अनुभवकै आधारमा पनि पत्रकारिता गर्न सकिन्छ तर त्यसबाट हुने सिकाइ अपूर्ण हुन्छ। पत्रकारिताको उद्देश्य, सिद्धान्त, आचारसंहिता, पत्रकारिताको नीति तथा कानुनसम्बन्धी ज्ञानका बारेमा नजानीकन पूर्ण पत्रकार भइँदैन।

‘अनुभवकै आधारमा म पोख्त भइसकेँ’ भनेर दाबी गर्ने कतिपय पत्रकारले पत्रकारिता विषयको अध्ययनपछि ‘जान्नुपर्ने कुरा धेरै रहेछन्’ भनेर आफ्ना सहकर्मीलाई पत्रकारिता विषय पढ्न उत्प्रेरित गरेका उदाहरणहरू यथेष्ट छन्। पत्रकारिता विषयमा शैक्षिक दक्षता हासिल गरेको जनशक्तिले पुरानो पुस्तालाई विस्तारै विस्थापित गरिरहेको छ।

हिजोआज मिडियाका लगानीकर्ता वा सञ्‍चालकहरूले समेत पत्रकारिता विषयको सैद्धान्तिक ज्ञान हासिल गर्नु आवश्यक छ भनी आवाज उठ्न थालेको छ। पत्रकारिता पेसाको व्यावसायिक आचरण र समाजप्रति यसको दायित्वलाई लगानीकर्ताहरूले बुझिदिने हो भने मिडियामा हुने कतिपय गलत अभ्यास वा दुरुपयोगलाई रोक्न सकिन्छ।

आमसञ्‍चारमाध्यममा गरिएको लगानीलाई तत्कालै नाफा आर्जन गर्न सकिने व्यवसाय भनी लगानीकर्ताहरूले सम्झिदिनाले सम्बन्धित मिडियामा सम्पादकीय स्वतन्त्रता कुण्ठित भएको पाइन्छ। आमसञ्चार र पत्रकारिताअन्तर्गत मिडिया व्यवस्थापन विषय पनि अध्ययन गराइन्छ, जुन मिडियाका व्यवस्थापकहरूका लागि लक्षित छ।

हिजोआज निजी कलेजहरूबाट मानविकी संकाय हटाइँदैछ। यो संकाय भएका कलेजहरूमा पनि ज्यादै कमजोर शैक्षिक स्तर भएका विद्यार्थीलाई थन्क्याउने गरिन्छ। तर, सन्तुलित आहार भनेजस्तै शिक्षा पनि सन्तुलित हुन जरुरी छ। यो देशका सबै विद्यार्थीले विज्ञान विषयमात्र पढे भने वा इन्जिनियरमात्रै बने भने वा व्यापारीमात्रै भए भने देश असन्तुलित हुन्छ र दुर्गतितर्फ धकेलिन्छ।

तसर्थ, समाजका सबै पक्षलाई सक्रिय बनाउन सबै विषयको अध्ययन-अध्यापन हुनुपर्छ र त्यसअनुरूपको जनशक्ति उत्पादन हुनुपर्छ।

हिजोआज मिडियाका लगानिकर्ता वा सञ्‍चालकहरुले समेत पत्रकारिता विषयको सैद्धान्‍तिक ज्ञान हासिल गर्नु आवश्यक छ भनी आवाज उठ्‍न थालेको छ।

आमसञ्‍चार र पत्रकारिता विषयले बोलीका साथै लेखाइमा समेत प्रभावकारिता बढाउँछ। राम्रो लेख्‍न र सम्पादन गर्नसक्ने मानिसहरू सबै पेसा वा व्यवसायमा खाँचो छ। सञ्‍चारको सीप आवश्यक नपर्ने कुनै पेसा वा व्यवसाय छैन। ‘बोल्नेको पीठो बिक्छ’ भनेझैं कुनै पनि विधामा सफलता प्राप्‍त गर्न प्रभावकारी सञ्‍चार आवश्यक पर्छ। उदाहरणका लागि चिकित्सक, उद्योग-व्यवसायी, नीतिनिर्माता, शिक्षक-विद्यार्थी सबैले प्रभावकारी सञ्‍चारको सीपबिना आफ्नो उद्देश्य हासिल गर्न सक्दैनन्।

Source :- See more at: http://www.annapurnapost.com/en/news/specialpage.htm#sthash.VtTvrCYP.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s