दूधमा मन्द विष !

 

काठमाडौ, श्रावण २६ –
लगनखेलस्थित एक एग्रोभेट स्टोरमा पुगेर विश्वास दिलाएपछि सञ्चालकले ५ सय ५० रुपैयाँमा ५० थान अक्सिटोसिन हर्मोन, एउटा सिरिन्ज र १० वटा सुई थमाए। गाईभैंसीको दूध बढ्ने विश्वाससहित चाहिएका बेला पगार्न उक्त औषधि प्रयोग हुँदै आएको छ। यसको वास्तविक प्रयोग गर्भवती महिलालाई बेथा लगाउन र बच्चा जन्माइसकेपछि अधिक रक्तस्राव रोक्नका लागि हो। स्वास्थ्यलाई हानि पुर्‍याउने भएकाले डाक्टरको सिफारिसबिना बेच्न पाइँदैन। यही औषधि गाईभैंसीमा प्रयोग गर्दा थुनको मांसपेशीमा कृत्रिम उत्तेजना पैदा भई तत्काल दूध निक्लिन्छ। दुरुपयोगको आधारै यही प्रभाव हो।
चरम दुरुपयोग
खुला सीमाबाट अवैध रूपमा समेत आयात हुने अक्सिटोसिन दुरुपयोगको मात्रा आकलन गर्न कठिन छ। औषधि व्यवस्था विभागद्वारा हालै संकलित तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपाली कम्पनीले उत्पादन गरेका करिब ७ लाख २५ हजार एम्पुल (सिसाको भाँडोमा राखिने एक मिलिलिटर) सहित १० लाख ५५ हजार एम्पुल अक्सिटोसिनको वैधानिक कारोबार भयो। तथ्यांक विभागको बालबालिका र बाल मृत्युदरसम्बन्धी तथ्यांकअनुसार नेपालमा हरेक वर्ष बढीमा ५ लाख महिलाले बच्चा जन्माउँछन्। करिब ३३ प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन्। भरतपुर अस्पतालका गाइनोकोलोजिस्ट जागेश्वर गौतमका भनाइमा ‘अस्पताल आएकामध्ये बढीमा ५० प्रतिशत महिलामा अक्सिटोसिन प्रयोग गरिन्छ।’ यसबाट गर्भवती महिलामा वाषिर्क करिब ८३ हजार एम्पुल अक्सिटोसिनमात्र प्रयोग हुने देखिन्छ।
गत वर्ष कारोबार भएका बाँकी ९ लाख ७२ हजार एम्पुल र अवैध रूपमा खुला सिमानाबाट भित्रिने अक्सिटोसिनको ठूलो हिस्सा कहाँ गयो त? पशु प्राविधिकहरूले ती अक्सिटोसिन गाईभैंसीमा प्रयोग भएको बताए। ‘गाईभैंसीमा अक्सिटोसिनको प्रयोग व्यापक छ,’ ललितपुरको बुङमती पशु सेवा केन्द्रका प्राविधिक नरेन्द्रबहादुर पाण्डेले भने, ‘गाईभैंसी भएको ठाउँमा जहाँ पनि अक्सिटोसिन प्रयोग हुन्छ।’
ललितपुर, हरिसिद्धिका विवेक लोहनीले दुइटा भैंसी पालेका छन्। घरनजिकैको डेरीमा उनी दूध बेच्छन्। पाँच रोपनी जग्गामा उनी खेतीपाती गर्छन्। गाईभैंसीलाई यस्तो इन्जेक्सन दिइने थाहा पाएको उनले बताए। ‘आधा दूध घरमै खाने भएकाले यस्तो इन्जेक्सन हान्दिनँ,’ उनले भने। उनका अनुसार दूध बेच्नैका लागि मात्र गाईभैंसी पाल्नेहरूले सुई हान्ने गर्छन्।
पशु प्राविधिकले दूध धेरै दिन्छ भनेर सिकाएपछि किसानले अक्सिटोसिन प्रयोग गर्न थालेको किसानहरूको भनाइ छ। छम्पी पशु सेवा केन्द्रका पशु प्राविधिक जयराम घिमिरेले अक्सिटोसिन खोज्दै किसानहरू आउने बताए।
सामान्य दुहुनेभन्दा अरू समयमा दूध बजार पुर्‍याउनुपर्ने अवस्थामा र बिरामी भएर वा अन्य कारणले गाईभैंसीले दूध नदिए अक्सिटोसिनको प्रयोग सामान्य हो। ‘बिहान ३ बजे वा दिउँसो ३ बजे गाईभैंसीले दूध दिँदैन,’ प्राविधिक पाण्डेले भने, ‘बजारमा छिट्टै दूध पुर्‍याउनुपर्ने किसानले अक्सिटोसिन हान्नैपर्छ।’ अक्सिटोसिनले ३ मिनेटभित्र गाईभैसीले दूध दिने बनाइदिन्छ। ‘ठेक्का लिएको ठाउँमा आज भैंसी बिरामी भयो भन्न पाइन्नँ। अनि के गर्ने?’ ललितपुर, ढोलाहिटीका एक किसानले सुनाए।
गाईभैंसीमा असर
पटकपटक प्रयोग गरेपछि गाईभैंसीमा अक्सिटोसिनको लत बस्छ। इन्जेक्सन नपाई दूध दिँदैनन्। ‘कृत्रिम रूपमा इन्जेक्सनमार्फत प्राप्त हुने भएपछि शरीरले अक्सिटोसिन उत्पादन गर्न आवश्यक ठान्दैन। त्यसपछि इन्जेक्सनबिना गाईभैंसीले दूध दिँदैनन्,’ पाण्डेले भने, गाईभैंसीले दूध नदिएको अवस्थामा भेटरिनरी डाक्टरको सिफारिसमा अक्सिटोसिन घटो मात्रामा तीन दिनसम्म प्रयोग गर्न सकिन्छ। ‘सधंै प्रयोग गर्नु हुँदैन,’ डा. पाण्डेले भने, ‘पशु र उपभोक्ता दुवैको स्वास्थ्यलाई असर गर्छ।’
अक्सिटोसिनले गाईभैंसीमा घातक असर गर्छ। पाठेघरको मांसपेशी खुम्चिने, फुल्ने भएकाले हरेक पटक अक्सिटोसिन प्रयोग गर्दा गाईभैंसीलाई अति पीडा हुन्छ। त्यही पीडाका कारण अक्सिटोसिन प्रयोगलगत्तै गाईभैंसीले पिसाब फेर्छन्। पाकिस्तानको लाइभस्टक एन्ड डेरी डेभलपमेन्ट र युनिभर्सिटी अफ भेटरिनरी एन्ड डेरी साइन्सेसले ५ वर्षअघि गरेको अनुसन्धानले अक्सिटोसिन प्रयोग भएका गाईभैंसीका बाछाबाछी र पाडापाडी रोगी हुने देखाएको छ। उक्त अध्ययनले ६० प्रतिशत पाडापाडी र १५ प्रतिशत बाछाबाछीको शारीरिक वृद्धि ढिलो भएको, वयस्क भएपछि पाडी र बाछीमा ४५ प्रतिशतसम्म गर्भाधान असफल भएको, ४० प्रतिशतसम्म गर्भ खेर गएको र बाछाबाछी/पाडापाडी मृत्युदर १५ प्रतिशतसम्म बढेको देखाएको छ।
अक्सिटोसिनले के गर्छ?
अक्सिटोसिन शरीरमै उत्पादन हुने एक प्रकारको हर्मोन हो। चिकित्सकहरूको भनाइमा यसको कृत्रिम प्रयोगले हर्मोन असन्तुलन, मस्तिस्कमा रक्तस्राव, रगतमा ढिक्का जम्मा भई नसा फुटेर मृत्यु हुनेसम्मका घातक परिणाम आउन सक्छन्। मुटुको धडकन ज्यादै बढ्ने वा घट्ने, पाठेघरमा रक्तप्रवाह नहुने, शरीरका विभिन्न भागमा रगत जम्मा भई दाग देखिनेलगायत यसका अरू अवाञ्छित असर पनि छन्। रोग प्रतिरोधात्मक क्षमता ज्यादै कमजोर हुने, वाकवाकी लाग्ने, रिंगटा चल्ने, एलर्जी हुने यसको प्रयोगबाट निम्तिन सक्ने अन्य समस्या हुन्। गाईभैंसीलाई सुईमार्फत दिइने यो हर्मोनको केही अंश दूधमा समेत बस्छ। दूध तताउँदा धेरै मात्रामा नष्ट हुन्छ। ‘तर, अवशेषचाहिँ रहन्छ,’ पशु सेवा विभागका भेटरिनरी डाक्टर जगदीश पाण्डेले भने, ‘खतरा त्यही अवशेष हो।’ उनका अनुसार लामो समय निरन्तर त्यस्तो दूध खाए पुरुषमा सुरुमा शुक्रकिट उत्पादन वृद्धि भई यौन क्षमता बढ्छ, तर पछि चाहिँ बाँझोपनासम्म गराउन सक्छ।
प्रकाशित मिति: २०७१ श्रावण २७ १०:१७

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=327194

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s