सिन्धुपाल्चोकमा भीषण पहिरो

माङ्खा (सिन्धुपाल्चोक), श्रावण १७ –
–    राति भएकाले हराउने र मृत्यु हुनेमा वृद्धवृद्धा, महिला र बालबालिका धेरै

–    नदीमा ५ सय मिटर अग्लो ढिस्को बन्यो, ११ घन्टामा बल्ल पानी खुल्यो

–    लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे, बलेफी, भैंसे, सुकुटे, चेहेरेलगायतका हजारौं बासिन्दा घरमा ताला लगाएर सुरक्षित स्थानतिर

–    दुई बस्तीका सबै घर, अरनिको राजमार्ग करिब १ किलोमिटर, चार विद्युत् आयोजना र एउटा मावि बगे

–    स्थानीय बासिन्दाका अनुसार अघिल्लो दिन देखिने १ सय ८० भन्दा बढी घर देखिँदैनन्

–    १३ परिवारजन गुमाइरहेका नैनबहादुरले भने, ँबेसीका १६ घरका २२ जना कता हराए, थाहा छैन’

–    दर्जनौं घर बगेको, सयौं गाउँले बेपत्ता भएको टेकनपुर गाउँमा शनिबार कोही उद्धारकर्ता पुगेनन्

–    शोकमग्न कमल खत्री भन्छन्- ‘रातभर आफन्तहरू के भए होलान् भनेर एकैठाउँ भेला भएर बस्यौं र बिहान ६ बजे करिब आधा घन्टा तल रहेको बेसी पुग्दा सबै पुरिएको पायौं।’
राम्चे ५ इटिनीमा शुक्रबार राति पहाड खसेर बस्तीहरू बगाउँदा ८ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता छन्। माङ्खा र राम्चेबीचको जुरेमा पहिरो थुप्रँदै ५ सय मिटर अग्लो ढिस्को खडा हुदा सुनकोसी नदी नै थुनिएको छ। पानी थुनिएर ठूलो तालै बन्दा आसपासका हजारौं गाउँले सुरक्षित स्थानतिर लागेका छन्। नदीको अवरोध खुलाउन सेनाले शनिबार मध्याह्न दुई पटक विस्फोट गर्‍यो। त्यसबाट जमेको पानी थोरै मात्र कटन थालेको छ।
घाइते दुर्गालाल श्रेष्ठका अनुसार राति १ बजे ठूलो आवाज निकाल्दै पहाड खसेको हो। अरनिको राजमार्ग, ड्यामसाइटको माथिल्लो भाग राम्चे ५ को इटिनी र कागुने बस्तीका सबै घर बगेर सुनकोसीमा पुरिएका छन्। पहिरोले ड्याम साइटकै बस्ती पनि बगाएको छ। राति सबै सुतिरहेको समय परेकाले हराउने र मृत्यु हुनेमा वृद्धवृद्धा, महिला र बालबालिका धेरै छन्।
प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराका अनुसार मृत्यु हुनेमा माङ्खा १ का ३२ वर्षीय श्याम श्रेष्ठ, ४० वर्षीया गणेशमाया श्रेष्ठ, १८ वर्षीया अस्ना श्रेष्ठ, १७ वर्षीया रामदेवी श्रेष्ठ, बतासे—१ की ३२ वर्षीया विमला श्रेष्ठ, ४ वर्षीय अभिषेक श्रेष्ठ, सनाखत हुन नसकेका एक बालक र एक पुरुष छन्। घाइते २७ जनामध्ये १५ को राजधानी र अन्यको स्थानीयस्तरमा उपचार भइरहेको छ। उनीहरूलाई हेलिकप्टर र एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको थियो। घाइते अधिकांशलाई टाउको र ढाडमा चोट लागेको छ। प्रमुख जिल्ला अधिकारी गोपाप्रसाद पराजुलीका अनुसार तीन बस्तीका ५२ घर बगाएको अनुमान जिल्ला सुरक्षा समितिले गरेको छ। स्थानीय बासिन्दाले चाहिँ एक सय घर बगाएको अनुमान गरेका छन्। घटनामा हताहत भएकाको यकिन विवरण आएको छैन। स्थानीय बासिन्दाले सयभन्दा बढी बेपत्ता भएको अनुमान गरेका छन्। अरनिको राजमार्गको करिब एक किलोमिटर खण्ड पनि बगेको छ। राम्चे, जुरेका २५ घर डुबानमा परेका छन्। धुस्कुनका केही घर पनि पहिरोमा परेका छन्।
पहाड फुटेको ठूलो आवाज आएपछि गाउँलेहरू भागाभाग गर्दागर्दै चट्टान र लेदो माटोको विशाल पिण्ड सुनकोसी नदीपारिको टेकानपुर जंगलमा ठोक्किएर फर्केको थियो। ‘समयमै सूचना पाए पनि राति भएकाले तत्काल घटनास्थल पुग्न सकिएन,’ लामोसाँघुस्थित सशस्त्र प्रहरीका उपरीक्षक लक्ष्मणबहादुर सिंहले भने, ‘पहिले आफ्नै सुरक्षा गर्नुपर्ने अवस्था आयो। हेर्दाहेर्दै कल्पना पनि गर्न सक्ने अवस्था देखियो।’ उनका अनुसार खासै पानी पनि परेको थिएन, पहरो सुख्खा पहिरो जसरी फुटेको देखिन्छ। हिउँदमै पहरोको केही भाग चर्केको थियो। ‘कौसीमा सुतेको थिएँ, रुखले ड्याम्म लाग्यो, भाग्दा भाग्दै परिवारका ४ जनालाई बचाउन सकिएन,’ ड्यामका घाइते कृष्णराम श्रेष्ले भने। उनले भाग्दै गर्दा हिलोमा गाडिएका एक बालकलाई निकालेका थिए। ती बालक सामान्य अवस्थामा छन्। ‘बेलुकी भेटेर राजधानी फर्किएँ,’ बिचारी पराजुलीले भने, ‘राति बाबुआमा, दिदी र भान्जाभान्जी गरी ६ जना एकै ठाउँमा पुरिए। आमालाई आजै काठमाडौं जाऔं भन्दा पछि आउँछु भन्नुभयो, गएको भए बाँच्नुहुन्थ्यो।’
ड्याम साइटका सामान्य घाइतेलाई सशस्त्र प्रहरीको क्याम्पमा राख्ने व्यवस्था मिलाइएको छ। शनिबार साँझतिर खोला थुनिएको स्थानबाट साविक बहावमा पानी बग्न थालेको स्थानीय भूपेन्द्र भण्डारीले जानकारी दिए। त्यसका कारण बाह्रबिसे बजार डुब्ने जोखिम टाढिँदै गएको छ। एकै पटक खोलिए ड्याम साइटको तल्लो भागका सबै बस्ती बगाउने जोखिम भएपछि स्थानीयवासीलाई सुरक्षित स्थानतिर लाग्न स्थानीय प्रशासनले माइकिङ गरेको छ। अरनिको राजमार्गको लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे, बलेफी, भैंसे, सुकुटे, चेहेरेलगायतका हजारौं बासिन्दा घरमा ताला लगाएर अन्यत्र गएका छन्। सुनकोसीमा जमेको पानी बाह्रबिसे नजिकै सुनकोसी बजारसम्म पुगेको छ। ड्याम साइटको वनसाँघु मावि बगाएको छ।
पहिरोले ४५ मेगावाटको भोटेकोसी जलविद्युत् आयोजनाका ४ वटा ट्रान्समिसन टावर बगाएको छ। आयोजनाको उत्पादन बन्द भएको छ। सानिमा हाइड्रोको पावर हाउस सुनकोसीले बनाएको तालमा डुबेको छ। १० दशमलव ६ मेगावाटको सुनकोसी आयोजनाको उत्पादन पनि बन्द भएको छ। जिल्लाको पूर्वी भाग र सदरमुकाममा विद्युत् आपूर्ति बन्द भएको छ। करिब ५७ मेगावाट विद्युत् उत्पादन बन्द हुँदा आइतबारदेखि देशैभर दैनिक डेढ घन्टा लोडसेडिङ बढ्ने भएको छ। प्राविधिकका अनुसार रातिदेखि ११ घन्टामा तालमा ७६ लाख ४२ हजार ८ सय क्युविक मिटर पानी जम्मा भएको थियो।
प्रकाशित मिति: २०७१ श्रावण १८ ०९:५८

Source : http://www.ekantipur.com/kantipur/archive.php

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s