हिन्दू संस्कृतिमा नागपञ्चमी पर्व

 

bishwonath-kharel(विश्वनाथ खरेल) विश्वका अनेकौं धर्महरूमध्ये हिन्दूधर्म अति प्राचीन धर्म हो। सृष्टिको मिर्मिरेकालदेखि नै प्रारम्भ भएकाले यस धर्मलाई सत्य सनातन धर्म पनि भनिन्छ। नेपालमा विभिन्न किसिमका धर्मावलम्बीहरूको बासस्थान भएको हुँदा यहाँ विभिन्न प्रकारका चाडपर्वहरू पर्छन्। यहाँका मानवले विभिन्न समयमा विभिन्न किसिमका चाडपर्वहरू मनाउने गरेका छन्। यसमध्ये नागपञ्चमी पनि एक महत्वपूर्ण पर्व हो। यो पर्व प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीका दिन पर्छ। यस वर्षको नागपञ्चमी चान्द्रमासको आधारमा आज साउन १६ गते शुक्रबार पर्न गएको छ। यस दिन नागको राम्रो चित्र बनाई घर–घरमा वैदिक विधिपूर्वक टाँस्ने धार्मिक परम्परा रहेको छ। नागको चित्र घरको मूल ढोकामा टाँसी विधिपूर्वक दूध, गोबर, भेटी, दही, चन्दन, दुबो, लावा, अक्षता, धूपदीपसहित पूजा गरेमा नागदेवता प्रसन्न हुन्छन् भन्ने धार्मिक आस्था छ। यसले गर्दा मेघ, अग्नि र वज्रपातको समेत कुनै डर हुँदैन भन्ने शास्त्रीय कथन छ।
नागपञ्चमीका दिन नागको पूजा गर्दा मानिसले विभिन्न जात र आकृतिका सर्पहरूका चित्र र मूर्ति बनाएको, सर्पका चित्रहरू टाँसेको, सर्पलाई दूधको धारा दिएको अथवा सर्पकै चित्रहरू रथमा राखेर जात्राहरू चलाएको आदि हामीले देखेका छौं। यसले हाम्रो सांस्कृतिक धारणामा नाग भनेको सर्प हो, सर्पको पूजा गरेपछि वर्षदिनसम्म सर्पको डर हुँदैन भन्ने छाप परेको देखिन्छ।
प्रकृतिबाट नै नागले बहुमुखी प्रतिभा पाएको छ। विभिन्न धर्ममा नागलाई विभिन्न किसिमले व्याख्या गरिन्छ। नागको स्वरूपबारे विचार गर्दा यसको बाहिरी कान हुँदैन। तर पनि यसले सुन्छ, जसले गर्दा यसले आँखाले सुन्छ भन्ने जनविश्वास छ। यसले लगातार जिब्रो बाहिर निकालिरहने हुँदा यो हावा मात्र खाएर पनि बाँच्न सक्छ भन्ने विश्वासको जन्म भएको हुनुपर्छ। नागजातिको काँचुली फेरेपछि नागले लामो आयु पाउँछ भन्ने विश्वास प्रायः संसारभरि नै पाइन्छ। काँचुली फेर्ने क्रममा नागले बूढो रंगहीन छाला त्यागेर नयाँ, फूर्तिलो र चम्किलो जीवनाधार प्राप्त गर्ने हुन्छ। यो प्रक्रिया एकप्रकारले पुनर्जन्ममा वृद्ध शरीर त्यागेर आत्माले नयाँ शरीरमा प्रवेश गरेको जस्तो देखिन्छ।
मत्स्यपुराणमा प्राचीन पर्वतीय जातिहरूको वर्णन गर्दा गन्धर्व, किन्नर, यक्ष, राक्षस, विद्याधर, खस आदिको साथमा नाग जातिको पनि उल्लेख भएको छ। पुराणहरूले नाग जातिको सम्बन्ध शिवसित, गरुड जातिको सम्बन्ध विष्णुसित भएको र गरुड नागहरूको वैरभाव भएको सन्दर्भ पनि दिन्छन्। माथिको सन्धि सन्दर्भले शिव, विष्णु, नाग र बुद्ध संस्कृतिका अनुयायीहरूको बीच संघर्ष र सम्झौता भएको संकेत दिन्छ। तर, बुद्धधर्ममा भने नागलाई सकारात्मक दृष्टिले हेरिन्छ। कतै यसको दोष देखाइएको पाइन्न। बुद्ध धर्मका विभिन्न ग्रन्थ र जातक कथाहरूमा नागलाई मानवको भलो चाहने, दयालु, बुद्धिमान् र अमरताको प्रतीकको रूपमा पेस गरिएको छ।
हिन्दू धर्मशास्त्रका पुराणहरूमा नागले निश्चित किसिमको गुणको प्रतिनिधित्व गर्दैन। यसको क्षेत्र केही फैलिएको र मिश्रित गरिएको छ भने कतै–कतै देवीदेवताको अवतारको रूपमा पनि चित्रित गरिएको छ। शुरु–शुरुमा आर्यहरू नागपूजक थिएनन्। पछि आर्य संस्कृतिमा विभिन्न स्थानीय जातिहरूको प्रभावको रूपमा नागपूजा गर्ने प्रथा भयो। श्रावण महिनाको शुक्लपक्षको पञ्चमी तिथिलाई नागको जन्मदिन मानिन्छ। नागको जन्मदिन अर्थात् नागपञ्चमीलाई हिन्दू र बौद्ध दुवैले समानरूपले मान्छन्। हाम्रो देशको विभिन्न धर्मशास्त्र पुराण, वंशावली र अनुश्रुतिहरूमा प्राचीन नागजातिका चर्चा–परिर्चाहरू पाइन्छन्। प्राचीन कालमा नेपाललाई बासुकी क्षेत्र पनि भनेको देखिन्छ। विक्रमको चौधौं–पन्धौं शताब्दीसम्म नेपालीले धार्मिक काम गर्दा ‘जम्बुद्वीपे, भरत खण्डे, हिमवत्पादे, बासुकी क्षेत्रे, श्री नेपाल देशे’भनेर संकल्प पढ्ने प्रचलन थियो। तर अहिले बासुकी क्षेत्रे भन्ने गरेको थाहा छैन।
समग्रमा भन्नुपर्दा नाग भनेको सर्प मात्र हैन र यो मानवकै एउटा जाति पनि हो भन्ने कुरा प्रस्ट हुन्छ। घरमा नाग टाँस्नाले दैवी शक्तिबाट हुने विपत्तिबाट जोगिने लोकोक्ति रहेको पाइन्छ। यसबाट वर्ष दिनभरिमा कुनै किसिमको भय–त्रास र बिचल्लीबाट जोगिन सकिन्छ। नागलाई हिन्दूधर्ममा देवतासमान मानिएको छ। भगवान् विष्णु शेषनागलाई नै शय्या बनाएर विश्राम गर्नुहुन्छ। देवताहरूका पनि महादेवता महादेवको घाँटी र जट्टामा नाग नै नाग देखिन्छ। भगवान् श्रीरामलाई १४ वर्षको वनबासमा भाइ लक्ष्मण (शेषनाग अवतार) ले साथ दिई सेवा गर्नुभएको थियो। भगवान् श्रीकृष्णका दाजु बलराम शेषनागका रूप हुन। श्रीकृष्णको जन्मपश्चात् मथुराबाट गोकुल लैजाँदा मुसलधारे वर्षामा शेषनागले नै छाता बनी सुरक्षा गरेको हो। समुन्द्र मन्थन गर्दा बासुकी नागको डोरीको प्रयोग भएको थियो। त्रिपुरासुर राक्षसलाई मार्न शेषनागको धनुको ताँदो प्रयोग गरिएको थियो। हरेक मानवशरीरमा अवस्थित कुण्डलिनी शक्ति सर्पको आकारमा नै छ। खुला आकाशमुनि भगवान् बुद्ध समाधिमा लीन भएको अवस्थामा नागले नै सुरक्षा प्रदान गरेका थिए। विभिन्न देवीदेवताले प्रेमपूर्वक गहनाका रूपमा ग्रहण गरी नागको सम्मान गरेको धार्मिक मान्यता पनि छ।
नेपालमा प्रत्येक वर्ष विशेष गरी हिन्दूधर्मावलम्बीहरूले आ–आफ्नो घरमा नागको विभिन्न रूपका चित्रअंकित तस्वीर टाँस्ने प्रचलन रहेको कुरा सबैलाई अवगत नै छ। यसरी नागपञ्चमीको दिन नागपूजा गर्ने संस्कृति तिनै नागपूजक प्राचीन जातिहरूको संस्कृति हो। ब्रह्माले मानवजातिलाई श्रावण शुक्ल पञ्चमीका दिन श्रद्धा–भक्तिपूर्वक नागको पूजा गरेमा अनिष्टको निवारण र ऐश्वर्यको प्राप्ति हुन्छ भनेका थिए। त्यसैले अद्यापि हिन्दू समाजमा श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरेर नागपञ्चमी पर्व धूमधामपूर्वक मनाइन्छ।

Published Date: August 1, 2014

Source : http://www.newsofnepal.com/new/bichar/2014/08/65707

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s